'नेपालीहरू निसासिएर मरेको देखियो': गोवामा बीभत्स घटना भएको क्षेत्र 'सुरक्षित मानिन्थ्यो'
भारतीय राज्य गोवाको एक नाइटक्लब तथा रेस्टुराँमा शनिवार राति भएको आगलागीमा परी ज्यान गुमाउने पाँच नेपाली कामदारमध्ये दाङको घोराही घर भएका ३१ वर्षीय चुर्नबहादुर पुन पनि थिए।
गोवामै काम गर्ने उनका आफन्त पदम रावतले पुनको सनाखत गरे। उनले शव पहिचानदेखि शव नेपाल पठाउनेसम्मको प्रक्रियामा सहयोग गर्दै आएका छन्।
"निकट परिवारजनसँग समन्वय गरेर एनओसी (नो अब्जेक्शन सर्टिफिकेट) बनाएर सोमवार अपराह्ण उनको शव हामीले बुझ्यौँ अनि नेपालतर्फ पठायौँ। गोवा सरकारले नेपालसम्मै शव पठाउन सहयोग गरेको छ। यहाँबाट लखनऊसम्म एअर एम्बुलेन्स अनि त्यहाँबाट नेपालमा घरसम्म पठाउने व्यवस्था मिलाइएको छ," रावतले बीबीसी न्यूज नेपालीसँग भने।
गोवामा ज्यान गुमाएका पाँच नेपाली 'आगलागी भएको नाइटक्लबका कर्मचारी'
गोवाको नाइटक्लबमा 'ग्यास सिलिन्डर पड्किँदा' पर्यटक र कर्मचारीसहित २५ जनाको मृत्यु
अर्का नेपाली मृतक विवेक क्षेत्री पनि भनिने लिलबहादुर कटवाल जम्मा २८ वर्षका थिए। सिन्धुलीको दुधौली नगरपालिकामा घर भएका कटवालले निकै वर्ष दिल्लीमा काम गरेका थिए।
उनी झन्डै पाँच वर्षअघि गोवा गएको उनकी एक छिमेकीले बीबीसी न्यूज नेपालीलाई बताइन्। "केही आम्दानी गर्न भनेरै विदेशिएको हो। आर्थिक अवस्था कमजोर छ," सबी थापाले भनिन्।
उनका अनुसार कटवालको घरमा उनकी पत्नी र चारवर्षे छोरा छन्। "बाआमा बितिसकेका थिए। साह्रै नराम्रो भयो," थापाले भनिन्।
कटवालका दाजु शव लिन भारत गएका छन्। स्थानीय वडा कार्यालयले उनका सहोदर दाजु गिरिमान कटवाललाई शव जिम्मा दिन सिफारिस गर्दै सम्बन्धित पक्षलाई पत्र लेखिदिएको छ।
दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गोवाको आगलागीमा मृत्यु हुनेहरूमध्ये झापाका दुई जना छन्। उनीहरूको नाम सबिन विश्वकर्मा र सुदीप गुरुङ हो। पाँचौँ व्यक्ति चाहिँ डडेलधुराका मनोज जोरा हुन्।
उक्त घटनामा दार्जिलिङ घर भएका एक नेपालीभाषीको पनि ज्यान गएको बताइएको छ।
आगलागी हुँदा नेपालीहरू कहाँ थिए
कटवाल र पुनका आफन्तहरूका अनुसार उनीहरू दुवै जना गोवाको उक्त नाइटक्लबमा खाना पकाउने 'शेफ' थिए।
रावतका अनुसार 'बर्च बाइ रोमियो लेन' नाइटक्लबमा अचानक आगलागी हुँदा नेपाली कामदारहरू तल्लो तलामा काम गर्दै थिए।
"शव पहिचान गर्न जाँदा अधिकांशको मृत्यु निस्सासिएर भए जस्तो देखियो। शवमा जलेको क्षति देखिएन," रावतले भने।
भारतीय सञ्चारमाध्यमहरूले पनि गोवा प्रहरीलाई उद्धृत गर्दै अधिकांश मृतकहरूको शरीरमा जलेको सङ्केत नभेटिएको जनाएका छन्। गोवाका मुख्यमन्त्रीले तीन जनाको जलेर मृत्यु भएको बताएका छन्।
अन्डरग्राउन्ड किचेनमा हावा प्रवाहको पर्याप्त व्यवस्था नदेखिएको अनि बाहिरिने बाटो साँघुरा रहेको पनि तिनले उल्लेख गरेका छन्।
काठमाण्डूका अग्ला भवनमा आगो लागे निभाउन न दमकल छ, न भर्याङ नै
कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्
विगत छ वर्षदेखि गोवामा नेपाली समुदायका निम्ति लक्षित सञ्चारकर्म गर्दै आएको बताउने पुरन विश्वकर्मा पनि माथिल्लो तलामा रहेको डान्स फ्लोरबाट आगो फैलिएपछि तल भएका धेरै जना धुवाँमा निस्सासिएका हुन सक्ने ठान्छन्।
"तल किचेनमा भाग्ने ठाउँ पनि रहेनछ," उनले भने।
भारतको केन्द्र सरकार तथा राज्य सरकारले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। नेपालीहरूका हकमा पनि क्षतिपूर्तिको अपेक्षा गरिएको छ।
गोवामा कति छन् नेपाली
प्रगतिशील नेपाली समाज समिति, भारतका अध्यक्ष तथा हाल गोवाका बासिन्दा लोकेन्द्र सेर्पालीका अनुसार त्यहाँ ५० हजारको हाराहारीमा नेपालीहरू बस्दै आएका छन्। तर यसको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन।
"कोभिडभन्दा पहिलेको समयमा अझ धेरै नेपालीहरू यहाँ थिए। अहिले पनि होटेलहरूमा, रेस्टुराँहरूमा, सुरक्षा गार्ड, ड्राइभर अनि घरायसी सहयोगीका रूपमा थुप्रै नेपाली यहाँ काम गर्छन्," पुरन विश्वकर्माले भने।
गोवा तुलनात्मक रूपमा नेपाली श्रमिकहरूका निम्ति सुरक्षित र आकर्षक नै गन्तव्य रहेको उनले बताए।
"यो त दुर्घटना भयो। नत्र भने यो तुलनात्मक रूपमा सुरक्षित नै ठाउँ हो। अहिले पनि पीडितहरूका निम्ति राज्य सरकारले सहयोग गरिरहेको पाएका छौँ," विश्वकर्माले भने।
गोवामा १० वर्षदेखि काम गर्दै आएका 'शेफ' पदम रावतको भनाइ पनि उस्तै छ। "यहाँ काम गर्न सहज नै छ। हावापानी पनि राम्रै छ," उनले भने।
भारतमा सहज आवतजावत गर्न सकिने हुनाले निकै पहिलादेखि नेपालीहरू त्यहाँ विभिन्न क्षेत्रमा रोजगारीका निम्ति जाने गर्छन्। खास गरी पश्चिम नेपालबाट भारतमा काम जाने प्रचलन निकै धेरै छ।
रुसको श्रम स्वीकृतिमा लगाइएको रोक नहटाउने मनस्थितिमा सरकार
दक्षिण कोरिया रोजगारीमा जानुअघि ध्यान दिनुपर्ने चार विषय
हाल भारतबाहेक वैदेशिक रोजगारमा गएका नेपालीहरूको कुल सङ्ख्या ६३ लाख रहेको र गत आर्थिक वर्षमा मात्र नयाँ श्रम स्वीकृति लिनेहरूको सङ्ख्या आठ लाख रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
"भारतमा चाहिँ कोही तीन महिनाका निम्ति कोही छ महिनाका निम्ति भनेर पनि जाने गर्छन्। त्यहाँ जानेहरूको आँकडा राख्ने गरी नयाँ श्रमनीति आएको छ तर अहिले ठोस काम भइसकेको छैन," मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए।
भारतमा गएका नेपालीहरूको यकिन सङ्ख्या उपलब्ध नभएपनि श्रमविज्ञ जीवन बानियाँका अनुसार विगतका श्रम सर्वेक्षण तथा जनगणनाहरूका रिपोर्ट हेर्दा त्यो सङ्ख्या पाँच लाखदेखि नौ लाखजति हुने देखिन्छ।
नेपाल सरकारले हालसालै ल्याएको नयाँ राष्ट्रिय श्रम आप्रवासन नीतिले कम्तीमा भारत गएकाहरूको अभिलेख राख्ने र उनीहरूलाई पनि सामाजिक सुरक्षाका कार्यक्रममा समेट्ने उद्देश्य राखेको अधिकारीहरूले बताउँदै आएका छन्।
विगतदेखि नै भारतमा काम गर्दै आएका नेपालीहरूले त्यहाँ गरिने कामलाई पनि अन्य देशमा गर्ने कामलाई जस्तै वैदेशिक रोजगारीको मान्यता दिन सरकारले पहल गर्नुपर्ने माग गर्दै आएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: