विश्व दूरसञ्चार दिवस
हेल्लो हेल्लो, आउनुहोस् आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ । हुन्न र ? विश्वमा सबैभन्दा बढी बोलिने शब्द हो, ‘हेल्लो ।’ के गाउँ, के शहर ? सबैतिर हेल्लो नबोल्ने कोही छैन । हेल्लो आजको नारा हो ।
उनीहरू कहिले मोबाइलमा, त कहिले मेसेन्जरमा आउने कलहरूमा हेल्लो गर्दै बसेका छन् । अस्पतालको शैयाको उपलब्धतादेखि भेन्टिलेटरको अवस्था, डाक्टरको परामर्शदेखि परिवारका सदस्यहरूको स्वास्थ्यसम्म घरै बसी बसी बुझ्न सम्भव भएको छ ।
फोन अर्थात् दूराभाष यन्त्रको आविष्कारसँगसँगै हेल्लो शब्दले एउटा विश्वब्यापी आकार पायो । अनि सबैतिर गुञ्जियो हेल्लो, के छ ? हेल्लो नमस्ते । सञ्चै आदि इत्यादि हेल्लोका त्यान्द्रा–म्यान्द्राहरू ।
फोन अथवा दूरसञ्चारको गहकिलो साधन, कर्ण फुसफुस, फोनबाजा या अन्य धेरै नामले परिचित पनि । हो, यसै फोनका जन्मदाता वैज्ञानिक ग्राहम बेल हुन् । तथापि हेल्लो शब्दको आविष्कार या शुरुवाती श्रेय चाहिँ अर्का महान वैज्ञानिक थोमस एडिसनलाई जान्छ भन्ने तर्कहरू छन् ।
अब गएको शताब्दीको कुरा न हो । कतिले भने ग्राहमबेल कि प्रेमिकाको नाम हेल्लो भएकाले उनले यस नामलाई फोनको सम्बोधनमार्फत् संसारभरि अमर बनाउन हल्लो नामको प्रयोग गरेको बताउँछन् । कुरा जे होस्, तर आजको युग मोबाइल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरूको युग हो जहाँ एउटा क्लिकमा संसार उपलब्ध छ ।चलचित्रदेखी गीतसम्म, खानादेखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मानिस या विषयसँग इन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ ।
पुराणहरूमा कल्प वृक्षको अवधारणा छ । यस्तो वृक्ष जसले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प–वृक्ष भनिन्छ । यसअर्थमा सञ्चारको युगले पनि इ्न्टरनेट रूपी कल्पवृक्ष पाएको छ । अनि विभिन्न ग्याजेटहरू प्रयोगले हामी स्वतन्त्र इन्टरनेट संसारमा विचरण गर्दछौँ । हैन त ? दूरसञ्चार अर्थात परपरसम्म सञ्चार गर्ने प्रविधिको यो युगान्तकारी परिवर्तन १९औँ शताब्दीको अन्त्यबाट अझ धेरै प्रगतिउन्मुख भएको हो ।
नत्र हाम्रै समाजमा शनिवारको दिन एकफेर एक कल फोन गर्न पालो कुरेर बस्ने चलन थियो । अनि मानिस बोलाउन पनि मानिस पठाउनुपथ्र्यो । अनि महिनाँै लगाएर डाँक सेवामार्फत्, हुलाकमार्फत् चिठी पठाएका, आकाशवाणीमार्फत् सन्देश पठाएका र पाएका पुस्ताहरू जीवितै छन् ।
त्यति धेरै पुराना कुरा पनि पल्टाउन पर्दैन, किनभने सामान्य मोबाइलको सिम लिन रातभरि जाग्राम बसेका हामीमध्य धेरै छौ । धेरै पछिसम्म पनि मोबाइलको रोमिङ्ग शुल्क तिर्नुपथ्र्याे, यदि एक क्षेत्रको मोबाइल अर्को क्षेत्रका लगिएमा ।
दूरसञ्चार दिवसले मानवताका यी आयामहरू पहिचान गरोस् । समाजलाई गज्जबको ‘च्याट’ गर्ने हैन सहृदय बोल्न सक्ने मानिसको पनि उत्तिकै खाँचो छ । पोष्ट शेयर मात्र हैन पिडा र खुशी शेयर गर्ने मित्रको खाँचो छ । फेसबुक या यूट्यूबका पेज मात्र नभई सबै जना बसेर चिया खाने र गफ गर्ने पाटीहरू पनि चाहिएको छ ।
दूरसञ्चारले निकट सम्बन्धहरूको अवहेलना र आत्मीयताको हत्या नगरोस् । यसको सही प्रयोग अनि सीमाहरू सबैलाई थाहा होस् । दिनभरिमा हाम्रा फोनहरू कैयन पटक बज्नेछन्, हरेक पल्ट सुखद खबर पाइयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोबाइल र कम्प्युटर स्क्रिन बाहिरका संसार देखून् र बुझू्न् । ग्राफिक्सभित्रका गहिरा कुराहरूका साथै खेतका गह्रा, वास्तविक खेल, दौड, समाज अनि मानिसको माया बुझून् ।
दुरसञ्चार दिवस अनि सूचना प्रविधि समाज दिवसको शुभकामना !
विश्व उच्च रक्तचाप दिवस
सबैजनाले समयसमयमा रक्तचाप मापन गर्नुपर्ने जरुरतलाई पैरवी गर्दै
‘हाइपर–टेन्सन’ के हो ?
उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, ब्यस्त जीवनशैली अनि चाहनाहरूको गुणन गर्ने र नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई ‘हाइपरटेन्सीभ’ बनाउँदैछ । हामीसबै सतर्क हुन जरुरी छ । हामी सबै ‘हाइपरटेन्सन’कै जोखिममा छौं ।
‘हाइपर–टेन्सन’ आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । ध्यान पु¥याउन जरुरी छ । पाउने र गुमाउने होडबाजीमा जीवन बाँच्न बिर्सिएका यी पुस्ताहरूमा शान्ति अनि समानताको एउटा मोडको खाँचो छ । ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न जरुरी छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ ।
आजको दिन थोरै समय निकालेर एकफेर ‘ब्लडप्रेशर’ जचाउने पो हो कि रु स्मरणरहोस् हृदय रोगका कारक तत्वहरूमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण मानिन्छक । यसका कारण मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।
ओखतीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुको साटो समय समयमा आफै शरीरलाई जाँच गराउन ठीक हुन्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।
‘हाइपर–टेन्सन’ बाट जोगिने उपाय
धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो । तथापि त्यसबाट पूरै टाढा बस्न नसकेको खण्डमा कम प्रयोग गर्नुपर्छ । दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ ।
दैनिक ब्यायामहरूले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालीन समयमा धेरै बेर बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’को सम्भावना धेरै हुन्छ ।
रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुवै हानिकारक हो ।
आफ्ना लागि समय निकाल्नु र तनावरहित जीवनको खोजमा रहनुपर्छ । बैंकका ब्यालेन्सले सुख त देलान्, तर स्वास्थ्य भन्दा ठूलो सुख केही छैन । आहार, बिहार अनि विश्राममा ध्यान दिनुपर्छ नै ।
तपाई–हामी सबैजना स्वस्थ भएको हेर्न रहर छ । सबैको जय होस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: