ब्लग - साहित्य / मनोरञ्जन

डेब्यु गरेका सपनाहरु-‘यो साइनो मायाको’




   सुरज सुवेदी - Mar 16 2017

‘सवैभन्दा धेरै सोधिएको प्रश्न के हो?’ अन्तर्वार्ताको सुरुमै मैले सोधेँ ।
‘फिल्मप्रति एक्सपेक्टेसन कस्तो छ भन्ने प्रश्न धेरैले सोध्नुहुन्छ’ रेश्माले हाँस्दै भनिन् ।
‘यो चलचित्र दर्शकले किन हेर्ने भन्ने प्रश्न धेरै परेको छ मलाई चाँहि’ जतिन बोले ।

म ‘यो साइनो मायाको’ चलचित्रबाट डेब्यु गरेका पूर्वी शहर बिराटनगरका रेश्मा घिमिरे र जतिन ताम्राकारसँग कुराकानी गर्न पुगेको थिँए । अगिल्लो दिन नै भेट्ने भनेपनि काठमाण्डौको पानीले रोकेको थियो । म पुग्दा उनिहरु दुवैजना भर्खरै रेडियो कान्तिपुरमा अन्तर्वार्ता दिएर फर्किएका थिए ।

‘उसो भए जवाफ दिनु ‘यो साईनो मायाको’ दर्शकले किन नहेर्ने?’ भनेर मैले गरेको दोस्रो प्रश्न भुँईमा नझर्दै रेश्माले भनिहालिन् ‘ल किन नहेर्ने? हेर्ने नि ।’ जतिनले पनि हौसिँदै उनलाई साथ दिए ।
मेरो माईक र फोटोग्राफर भाई सिमोनको क्यामेरा टेष्टिङ सफल भयो ।



काठमाण्डौभन्दा बाहिर बसेर ग्ल्यामर क्षेत्रमा संघर्ष गर्न गाह्रो छ । प्रमोसन¸ कभरेज¸ बजार तथा एक्सपोजर सवै कुरा काठमाण्डौ केन्द्रित छ । फिल्मको बजार उपत्यकाबाहिर भएपनि त्यो बजारले काठमाण्डौबाट गरेको प्रमोसन मात्र देख्ने बाध्यताले रेश्मा र जतिनलाई काठमाण्डौ बोलाएको थियो ।
खुशीको कुरा मुलधारको नेपाली चलचित्रमा डेब्यु गरिरहेका जतिन र रेश्मा आफ्नो काममा कन्फिडेन्स सुनिए । केहिदिन अगाडी सार्वजनिक भएको ट्रेलरले ८५ हजार प्लस अर्ग्यानिक क्लिक्स जितिसकेको खुशी उनिहरुको आँखामा थियो ।
  


अन्तर्वार्तामा कथाको पात्र र रियल मान्छेसँगको भलाकुसारी सँगै दुवैजनाको डेब्यु अनुभव सुन्नु थियो मलाई ।

‘उसोभए मुभि किन हेर्ने त?’ मैले पुरानै प्रश्न दोहोर्याएँ । दुवैले एकअर्कालाई हेरे ।
जतिन बाठा रहेछन् । भनिहाले ‘पहिला तँ आफ्नो भन् अनि म मेरो भन्छु ।’
रेश्मा हाँसिन् र बोल्न थालिन् ।

मलाई उनिहरुको केमेस्ट्रि मन पर्यो ।

‘माया गर्न र माया गरेको मान्छेलाई गुमाउनुको पीडा थाहा पाउन पनि हेर्नुपर्छ ।’ रेश्माको जवाफमा कथाको भाव झल्किन्थ्यो । उनि थोरै अक्मकिएको पनि सुहायो । भन्न खोजेको कुरा शव्दमा नआईपुगेको महशुस गरेँ मैले ।

भन्न खोजेर बोलीमा नआएका शव्दहरु बाचाल हुन्छन् । रेश्माले प्रमाणित गरिन् । मैले अरु -यान्डम प्रश्न थपेँ ।

-‘मुभिमा कस्तो पात्र हो रेश्मा?’
-‘रोस्नी । मायाको लागि सपना पनि साट्न पछि नपर्ने मान्छे’
-‘रोस्नी भर्सेस रेश्मामा के फरक छ?’
-‘सेम टु सेम । फरक यहि छ रेश्मा गीत गाँउछे¸ रोश्नी जतिनको गीतमा हराउँछे’
-‘उसो भए त अभिनय गर्नुपरेन कि के हो?’
-‘पर्यो तर आफुसँग धेरै मिल्ने पात्र भएकाले धेरै गाह्रो भएन ।’
हाम्रो यति छोटो कुराकानी हुन्जेल जतिनले पान खाँदै थिए । अब तपाईको पालो भन्दै मैले प्रश्न गरेपछि उनको पान अभर पर्यो । हामी हाँस्यौ ।

जतिनको नाम फिल्ममा पनि जतिन नै छ । फिल्मको जतिन संगीतमा केहि गर्नको लागि संघर्ष गरिरहेको छ ।

खासमा रिल र रियलका पात्रहरु धेरै हदसम्म नजिक छन् । धेरैपटक फिल्मको डायलगमा उनिहरुले आफुलाई पाएका छन् । आफ्नो कथाको नजिक हुँदै बग्ने फिल्म आफैले खेल्न पाँउदा ऐना हेरेजस्तो लाग्छ दुवैलाई ।
यसो भनौ फिल्ममा भएका पात्रमार्फत रियल पात्रले फिल्मको पर्दामा पुग्ने सपना पुरा गर्छन् । यसकारण पनि यो फिल्म रेश्मा र जतिन दुवैको लागि महत्वपूर्ण छ ।
-‘अनि दर्शकको लागि नि?’
मैले सोधेको प्रश्नमा एकछिन रोकिँदै रेश्मा बोलिन् हामी जस्तै सपना भएका दर्शकहरुले रोस्नी र जतिन (रिल) मा आफुलाई कतै न कतै पाँउछन् ।

२०१४ मा पूर्वाअञ्चल सुपर मोडलको अडिसन हुँदै थियो । जतिन आयोजकमध्ये एक थिए । उनको लामो कपाल थियो । दारी झप्प पाल्थे । मकालू टेलिभिजनमा डायल मकालू कार्यक्रम चलाउँथे । पूर्वाअञ्चलमा त्यो कार्यक्रम लोकप्रिय थियो ।
प्याजेन्टको लागि आएका एप्लिकेसनहरु उनि आफै केलाउँदै थिए । एउटा फर्मको सानो फोटोमा उनको आँखा गयो । एकदमै सानो अनुहारकी राम्री मान्छे । त्यो पासपोर्ट साईजको फोटोले उनको मनमा एक्पेक्टेसन बढायो । फर्ममा भरिएका बाँकी अक्षरहरु पढेपछि उनले मनमनै सोचे, ‘यो केटीले चाँहि केहि गर्छे है ।’
भयो पनि त्यस्तै । रेश्माले २०१४ को पूर्वाअञ्चल सुपर मोडलको उपाधि जितिन् ।
जतिनले यति सुनाईरहँदा हाँसिरहेकी उनले थपिन्
-‘दाईलाई पहिलोपटक देख्दा सुरज सिंह ठकुरी जस्तो लागेको थियो ।’
जतिन पनि लजाए ।

फिल्म साईनको कथा रोमांचक छ ।
‘डायल मकालु’ कार्यक्रम चलाएर निस्किएका थिए । बाहिर फिल्मका निर्देशक अरुण कुमार प्रधान जतिनलाई कुरिरहेका रहेछन् । उनले भेटेर फिल्म खेलाउन चाहेको कुरा सुनाए । भिडियो जक्किसँगै मोडलिङमा करियर बनाईरहेका उनलाई सुहाँउदो प्रस्ताव थियो त्यो । फिल्मको प्रस्ताब नाई भनेनन् । स्कृप्ट बोकेर घर गए ।
हिरोईन को हुने भन्ने टुंगो थिएन । अरुण प्रधान पूर्वकै कसैलाई साईन गर्न चाहान्थे । कोहि छ कि भनेर उनलाई सोधे पनि । तर त्यसबेला उनको दिमागमा रेश्मा आईनन् ।
बेलुका रातभर बसेर फिल्मको स्कृप्ट पढिसकेपछि भने कथाले खोजेकी पात्र उनले रेश्मामा देखे । निर्देशकलाई त्यो कुरा सुनाए । अडिसन भयो तर रेश्माको अभिनयले सोचेजस्तो प्रभाव पार्न सकेन ।
यसले गर्नसक्छे भनेर विश्वास जतिनले दिलाईदिए । रेश्माले पुर्वाअञ्चल सुपर मोडलको यात्रामा देखाएका क्षमताहरुमा विश्वास थियो उनलाई ।
एकदिन अरुण प्रधानलेनै रेश्मा घिमिरेको घरमा लिएर जाउ भने । जतिनले लिएर गए । दुवैजनाले परिवारलाई संझाए । ग्ल्यामर क्षेत्रको लागि सपोर्ट गरेपनि फिल्मनै खेन्ने निर्णय लिन परिवारलाई सोध्नुपर्छ भनेकी रहिछन् रेश्माले । उनको नर्सिङको पढाई चल्दै गरेकाले पनि लामो समय लाग्ने फिल्ममा काम गर्न परिवारले स्वीकृति दिन्छ कि दिँदैन भन्ने डर लागेको थियो उनलाई ।
निर्देशकनै पुगेर सबैकुरा बुझाएपछि घरबाट पास भयो । रेश्माले फिल्म साईन् गरिन् ।
उनले देखेको ठुलो सपना आँखैसम्म आईपुगेको थियो । अव त्यसलाई साकार पार्न मेहनेत गर्नुथियो ।
त्यसको प्रभाव उनले देखाईन् । दुई हप्ताको बन्द प्रशिक्षणजस्तो अभिनय वर्कसपमा उनले सवैलाई प्रभाव पारिन् । ‘यसले राम्रो गरेपछि मैले पनि राम्रो गरेँ’ जतिनले भने ।
बाँकी फिल्म हाँस्दै खेल्दै सकियो ।

सुटिङ अविस्मरणीय भयो ।
धरानमा सुटिङ सकिएपछि भएको क्याम्पफायर कहिल्यै भुल्दिनन् रेश्मा । फिल्मको पुरै युनिट सहभागी भएको थियो । त्यसमा उनले गीतार बजाएर गीत गाएकि थिईन् ।

भन्छिन् ‘फिल्मलाई सफल पार्न भुमिका खेल्ने सबैसँग सेलिब्रेट गर्दा रमाईलो भएको थियो । नँया घर बनाईसकेजस्तो खुशी थियो सबैको आँखामा ।’

जतिनको लागि पनि ठुलो पर्दाको यात्रा रोमाञ्चक रह्यो । सुटिङका सवै पलहरु आँखामै बोकेर हिँडेजस्तो लाग्छ उनलाई । बाटो लागिएकोमा खुशि छन् तर आगामी दिनका चुनौतिहरु पनि देखिरहेका छन् ।
चुनौती सामना गर्न कत्तिको तयार छन् त ?

-‘यो फिल्ममा सँगै हिँडियो¸ फेरि पनि हिँडिन्छ कि हिँडिदैन थाहा छैन तर साथीसँग मिलेर हिँडियो भने यात्रा सजिलो हुँदोरहेछ भन्ने थाहा भयो । आगामी यात्राका साथीहरुसँग हिँड्न पक्कै पनि यसले सघाउँछ ।’
२६ दिनको सुटिङ सकिएपछि रेश्मा घर पर्किदै थिईन् । सुटिङ युनिटका सवैसँग विदा हुने कार्यक्रम बनाएको थियो । जतिन हेर्न चाहान्थे रेश्माले सुटिङ अवधिलाई कसरी लिएकी थिईन् । त्यसैले उनि रेश्मा जाने बाटोको सवैभन्दा अन्तिममा उभिएका थिए । तर रेश्माले सवैसँग बिदा मागेर गईन् । उनलाई हेर्दै हेरिनन् ।

- ‘फोन गरेर पछि सुनाई, आँखामा आँशु लुकाएर गएकी रैछे ।’

सुटिङ संझिदा दुईवटा सिन संझिन्छिन् रेश्मा ।
झगडा परेको सिन थियो । जतिनले उनलाई यस्तरी कराए कि उनि त साँच्चै रुन थालिछन् । संयोगले उनले फिल्ममा गर्नुपर्ने पनि त्यस्तै नै रहेछ । उनको टेक एकैपटकमा ओके भयो ।

 ‘हुनत यो मान्छे अलिक रुन्ची रुन्चीनै छे । अलिक जोडले करायो भने रोईहाल्छे ।’ जतिनले हाँस्दै भने ।
सुनेर रेश्मा पनि मुस्कुराउँदै भनिन् ‘सारै रुन्ची छु हौ म ।’

सुटिङमा सवैभन्दा धेरै टेक लिएको सिन ।
रेश्माले कसैलाई झापड हान्नुपर्ने सिन थियो । रिसाएर हान्नुपर्ने, उनले एकचोटी हानिन् । तर रिस नदेखिएको भनेर ओके भएन । दोस्रो तेस्रो चौथो अँह भएन । रुन्ची मान्छेलाई रिसाउन आएन । दशचोटीसम्म कट खाएपछि उनलाई पनि रिस उठ्यो । त्यहि झोँकमा जोडले हिर्काईन् । अनि बल्ल ओके भयो ।

तर उनलाई कुटाई खाने मान्छेको सारै माया लागेको थियो रे । भन्छिन् ‘गाला रातो भएको देखेर पनि हान्न नसकेकी रहेछु क्यार ।’

-‘हरेकचोटी झापड हान्दै सरि भन्दै गरेँ ।’

रेश्मा अभिनय मात्र गर्दिनन् । नर्सिङ पेशामा कार्यरत र अध्ययनरत छिन् । गितार बजाउँछिन् । गीत पनि गाँउछिन् । युट्युवमा भिडियो बेलाबेला अपलोड पनि गर्छिन् ।

-‘ह्वाई रेश्मा अनप्लग्ड?’

‘किनकी संगीत रगतमै दौडिन्छ’ उनले हाँस्दै भनिनन् र घाँटीमा लगाईरहेको गीतार आकारको सिक्रि देखाईन् । आमाले गिफ्ट दिनुभएको रे ।
  
संगीतमा शोख सानैदेखिको थियो । स्कुलका कार्यक्रमहरुमा पनि गाँउथिन् । पछि दाईहरुले गीतार बजाएको देखेर सिकिन् । सिकेपछि बिर्सिनन् ।

-‘सवै कुरा कसरी म्यानेज हुन्छ?’

-‘खै कसरी हुन्छ गरिरहेको छु । थाहा भएको दिन अल्मलिन्छु होला ।’


-‘आपसमा के भन्दै बोलाउँछन् त जतिन र रेश्मा?’

‘धेरै ओई भन्छे । कहिलेकाँहि ‘ओई दाई भन्छे । (अनि हाँस्दै) हुनत म पनि यसलाई ओई नै भन्छु। ’
-‘दाईपनि भन्छे तँ पनि भन्छे ।’

रेश्माले विरोध गरिनन् वरु कम्प्लेन गर्दै भनिन् ‘मलाई त झन् ओई बच्चा भन्नुहुन्छ । मैले केहि भनेको छु ?’
‘बच्चालाई बच्चा भन्दा के हुन्छ त?’ जतिनले यसो भन्दा सवै हाँस्यौ ।

फिल्मको प्रमोसन राम्रो भईरहेको छ । मिडियामा राम्रो प्रतिकृया गईरहेको छ । नँया कलाकारले गरेको प्रयत्नलाई मिडियासम्म पुर्याउन सवैले सहयोग गरिरहेका छन् । होलिमा प्रमोसन स्पेशल होली प्रोग्राम भएको थियो । फिल्म युनिटले रमाईलो गर्दै मनाएका थिए ।

कलाकारिता क्षेत्रमा अगाडी बढ्न गाह्रो पर्नेरहेछ भन्ने थाहा भएको छ । कहिलेकाँहि बेकार आएछु पनि लाग्छ तर छोडेर हिँड्ने पक्षमा दुवैजना छैनन् ।

पनि केहि पात्रहरु छन् जसले उनिहरुलाई प्रेरित गर्छन् । अफ्ट्यारो समयमा जतिन अहिलेका चर्चित कलाकार जीवन लुँईटलेलाई संझिँदा रहेछन् । उनिहरु महेन्द्र मोरङमा सँगै पढ्थे । नेपाली फिल्म जगतमा आउन जीवनले गरेको संघर्षले नजिकबाट देखेका उनलाई लुँईटेलको संघर्षले उर्जा दिन्छन् ।
रेश्मा भने बिराटनगरकी कलाकार दीपाश्री निरौलाको कथाले प्रेरित हुन्छिन् ।

-‘दुवै मोरङकै मान्छे किन त?’
‘किनकी उहाँहरुले मोफसलबाट गरेको संघर्ष र हामीले गरेको संघर्ष लगभग मिल्छ । उहाँहरुको सपना हिँडेको बाटो र हामीले हिँड्न खोजेको बाट पनि धेरैथोरै मिल्छ ।’ दुवैले यहि आशयको जवाफ दिए ।
अन्तिम प्रश्न सोधेँ ‘आगामी योजना के छ?’

‘त्यस्तो बन्ने कि भविष्यमा हामीलाई हेरेर कोहि प्रेरित होस् ।’

‘यो साइनो मायाको’ चलचित्र यहि चैत्र ४ गते शुक्रबारदेखि नेपालका विभिन्न हलहरुमा लाग्दैछ ।

टुईटरमा: @skyasesh

*हाम्रो पात्रोको लागि सुरज सुबेदीले तैयार पर्नुभएको ।
 तस्वीर सिमोन आत्रेय

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53