२०७३ बिशेष : सर्वाधिक रुचाइएका १० नेपाली चलचित्रहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

२०७३ बिशेष : सर्वाधिक रुचाइएका १० नेपाली चलचित्रहरु




   मन्दिप गाैतम - Apr 12 2017

तपाईहरुको मन पर्ने चलचित्र कुन हो त ?



नेपाली चलचित्र जगतको लागि वर्ष २०७३ निक्कै सफल वर्ष रह्यो । नेपाली चलचित्रप्रेमीहरुले यस बर्ष नेपाली चलचित्रहरुमा थुप्रै फरक शैली का चलचित्रहरुको स्वाद चाख्न पाए । कमेडी , एयाक्सन , रोमान्टिक सबै जनराका स्तरीय सिनेमाहरु यो वर्ष रिलिज भए ।

एकातिर कमर्सियल “छक्का पन्जा” , “लूट २” जस्ता सिनेमा थिए भने अर्कोतिर “सफर” र “लप्पन छप्पन” जस्ता सिनेमा जुन हेर्दा दर्शकलार्इ समेत नेपाली चलचित्रको स्तर बढेको अनुभव भयो । त्यसबाहेक, यो वर्ष एकातिर “कालो पोथी” , “सेतो सुर्य” र “निभ्नलागेको दियो” जस्ता चलचित्र जसले अन्तराष्ट्रिय बजारमा समेत नेपाली सिनेमालार्इ एक खुड्किलो माथि उकाल्ने काम गर्यो भने अर्कोतिर "किस्मत २” र "राधा" जस्ता ट्रेन्डमा चलिआएका सिनेमाहरुले पनि निरन्तरता पाइराखे ।

फरक शैलीका चलचित्रहरुको सन्तुलन भएकै कारण सायद यो वर्ष पहिला भन्दा धेरै नेपाली दर्शकहरुलाई बिदेशी छाडेर नेपाली फिल्म हेर्नको लागि हलसम्म पुगेको देख्न सकियो । हुन त हल सम्म थुप्रै अपेक्षा बोकेर गएका दर्शकहरुले केहि चलचित्र हेरेपछि निराश पनि हुनपरेको थियो । तर समाग्रमा धेरै बर्षपछी २०७३ सालमा नेपाली चलचित्रप्रेमीहरु स्वदेशी चलचित्रहरुबाट सन्तुष्ट भएका छन् । यो कुरा त पक्का छ ।

२०७३ को अन्त सम्म आइपुगेको अवस्थामा आज हाम्रो पात्रो यहाँहरुमाझ यो बर्षका १० हेर्नैपर्ने चलचित्रहरुको सुची प्रस्तुत गर्दछ । यी चलचित्रहरुमध्य यहाँहरुले थुप्रै या भनौ सबै चलचित्रहरुनै हेरिसक्नु भएको होला । तर यदि यहाँहरुले कुनै कारणबस यी १० चलचित्र हेर्नपाउनु भएको थिएन भने भोलिको दिनमा यी चलचित्र कतै हेर्ने मौका जुर्दा , अवश्य पनि नछुटाउनु होला ।

१० . बिर बिक्रम



चलचित्र बिर बिक्रमको समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

एउटा ग्रामिण र गाडी कुदाउने सडक सम्म नपुगेको गाँउको कथा हो यो । जब एकदिन गाउँमा वाटो पुग्छ तब मान्छेहरुको जनजीवन अलि सहज र व्यवसायीक गतिविधतर्फत केहि परिवर्तन हुन्छ । एउटा अनपढ खच्चर गोठाला जो बाटो नपुग्दा गाउँको एकमात्र सामान ढुवानीकर्ता र माध्यम हुन्छ उसको मित्रता अनि प्रेमको कथाबिचको सेरोफेरो हो यो चलचित्र ।
जनै पूर्णिमा र गाईजात्रा जस्तो चाडवाडको माहोलमा रिलिज भएको यो फिल्म 'चपली हाइट-२' संग जुधेको थियो । प्रतिस्पर्धाको बावजुत यो चलचित्र हेर्न थुप्रै दर्शकहरु हल सम्म पुगेका थिए । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ्ग राई , नाजिर हुसैन, दिया पुन, अर्पण थापा र अनुप विक्रम शाहीको अभिनय रहेको छ । अहिले यो चलचित्रले युट्युबमा पनि राम्रो प्रतिकृया पाइरहेको छ ।



९ . लप्पन छप्पन


चलचित्र लप्पन छप्पनको समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

स्टारकास्ट देखि लोकेसन उच्चस्तरको रहेको यो चलचित्रमा एउटा फुल अन कमर्सियल सिनेमामा हुने लगभग सबैकुरा छ । अझ पनि थुप्रै सिनेमाघरहरुमा प्रदर्शन भैरहेको यो चलचित्र खासगरी अहिलेका युवा पुस्ताले रुचाउन सक्छन् । स्टाइलिस ग्यांग्स्टर फिल्म हेर्न रुचाउने दर्शकको लागि यो चलचित्र उत्कृष्ट रहन्छ , नेपालमा सायदै एसअघी यतिको स्टाइलिस ग्यांग्स्टर फिल्म बनेको छ । दयाहांग राई , सौगात मल्ल, वर्षा सिवाकोटी, अर्पण थापा, डेब्युटाँट प्रकास जंग शाह र सिड खरेलले अभिनय गरेको यो चलचित्रलार्इ थुप्रै दर्शकले रुचाए ।


८. किस्मत २
  
चलचित्र किस्मत २ को समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

सन २००७ मा रिलिज भएको रेखा थापा, आर्यन सिग्देल आदि अभिनीत चलचित्र किस्मतको सिक्वल किस्मत २, दशैंको मौका पारेर रिलिज भएको थियो । जोमसोममा बस्ने एउटा दृष्टिविहीन युवतीको भूमीकामा निभाएकी शिल्पा पोखरेलको पृथ्वीराज प्रसाइ र किशोर खतिवडा संगको त्रिकोणात्मक प्रेम यो चलचित्रमा देख्न पाइनेछ । छवीराज प्रोडक्शनले निर्माण गरेको यो चलचित्रलार्इ चलचित्रकी नायीका शिल्पाले स-शक्त अभिनय गर्दै आफ्नो काधँमा बोकेकी छिन् । व्यापारिक सफलता समेत चुम्न सफल भएको यो चलचित्र शिल्पाको फ्यानहरुलाई मात्र हैन, मसालेदार सिनेमा रुचाउने दर्शक सबैलाई उतिकै मन पर्न सक्छ ।


७. गाजलु


अनमोल केसी , श्रिष्टि श्रेष्ठ , गौरब पहारी ,मेनुका प्रधान र सलोन बस्नेत स्टारर गाजलु प्रदर्शनमा आउदा सिनेमा घरमा घुइचो नै लाग्ने गर्थ्यो । रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रलार्इ हेम राज बि सीले निर्देशन गरेका हुन् । समाजमा कुमारीसंग बिबाह गर्न नहुने चलन हुदाहुदै अनमोल के सीले श्रिष्टि श्रेष्ठसंग प्रेम गर्दा आउने समस्याहरुको बारेमा यो चलचित्रको कथा बगेको छ । अहिले युट्युबमा रिलिज भैसकेको यो चलचित्रले हलमा जस्तै युट्युबमा पनि राम्रो चर्चा बटुली रहेको छ ।



६ . चपली हाइट २


चलचित्र चपली हाइट २ को समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

विनिता बराल अभिनित २०१२ को सुपरहिट र सुपर विवादास्पद चलचित्र 'चपली हाइट'को सिक्वेल 'चपली हाइट-२' भने अश्लिल हैन थ्रिल छ । नेपाली चलचित्र इतिहासमैं एउटा कलाकारको उत्कृष्ट डेब्यू गर्दै आयूष्मान जोशी , यो चलचित्रका प्रमुख आकर्षण हुन् । दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्र २०१२ को 'चपली हाइट'को तुलनामा वास्तवमैं २ गुणा पूर्ण मनोरञ्जनात्मक र २ गुणा बढि थ्रिलिगं छ । यदि तपाइँहरुले यो चलचित्र छुटाउनु भएको छ भने मौका जुर्ना साथ् अवश्य हेर्नुहोला ।


यो पनि हेर्नुहोस् : २०७३ सालमा सर्वाधिक रुचाइएका १० नेपाली गीतहरु

५ . लूट २



चलचित्र लूट २ को समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

२०१२ मा प्रदर्शनमा आएको चलचित्र "लुट"ले नेपाली चलचित्र जगतमा एउटा यस्तो हुरी ल्यायो जुन सम्पूर्ण चलचित्रप्रेमीले बिर्सन सक्दैनन् । चलचित्र लूट २ लूटको एउटा पर्फेक्ट सीक्वल हो । लूट सकिएपछीको पाच वर्ष पछी भूकम्प आएर जेल भत्किएर भागेका ४ साथि दयाहाङ राई , कर्म , सुशील राज पाण्डे र प्रतीक न्योपाने हाकु काले अर्थात् सौगात मल्लको खोजीमा रहेको कथा चलचित्र लूट २ ले बोकेको छ । यहाँहरुमध्य धेरैले लूट २ हेरिसक्नु भएको छ होला तर यदि छैन भने हाकु काले र गोफ्ले जस्ता रोचक पात्रहरु लूट सकिएपछी के गर्दै छन् त , त्यो जान्नको लागि नि यहाँहरुले यो चलचित्र अवश्य हेर्नपर्ने हुन्छ ।


४ . जात्रा


चलचित्र जात्राको समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

जात्रा कथा हो, तीनजना पसले साथीको अर्थात विप्पिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको । यो चलचित्रको स्क्रिप्ट यो वर्षको उत्कृष्ट स्क्रिप्ट मध्य पर्न जादँछ । नव निर्देशक प्रदीप भट्टराईको उत्कृष्ट प्रस्तुति यो चलचित्र प्रदर्शनमा आउदा सम्पूर्ण दर्शकहरुले यो चलचित्रबाट खुब मनोरञ्जन पाएका थिए । चलचित्रले पाएको अपार माया र व्यापारिक सफलता पछी निर्माण पक्षले यस चलचित्रको सिक्वल समेत बनाउने पक्का पक्कि गरेका छन् ।



३ white sun अर्थात "सेतो सूर्य"


चलचित्र सेतो सूर्यको समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

२७औ सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा "बेस्ट एसिएन फिचर फिल्म" को उपाधि जितेको "white sun" अर्थात "सेतो सूर्य" ले आजसम्म अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा थुप्रै अवार्डहरु हात पारिसकेको छ । कहिले निर्देशक त कहिले फिल्म , प्राय सबै जसो ठुलाबडा फिल्म फेस्टिवलहरुमा आफ्नो प्रवाभ छोड्न सफल यो चलचित्रलार्इ दीपक रौनियारले निर्देशन गरेका हुन् ।

द्वन्द्वकाल देखि फाटो आएको दाजु र भाइको कथामा आधारित यो चलचित्रमा जब दुवैका बुवाको मृत्यु हुन्छ तब बुवालाई संस्कारमा चलिआएको चलन अनुसार दागबत्ती दिन लग्दा आइपर्ने समस्याको सेरोफेरोमा यो चलचित्र बनेको छ । दयाह्याङ राईको करियरकै अहिले सम्मको उत्कृष्ट काम सेतो सुर्य उत्कृष्ट सिनेमाको उदाहरण हो । यो सबै दर्शकले हेर्ने पर्ने खाले चलचित्र हो ।


२. कालो पोथी
 
चर्चित फिल्म महोत्सव “भेनिस फिल्म फेस्टिभल” मा स्क्रीनिंग गराइएको पहिलो नेपाली चलचित्र, यो मिन बहादुर बाम निर्देशित चलचित्र कालो पोथीले देश विदेश थुप्रै ठाउँमा नेपालि चलचित्रको एउटा बेग्लै पहिचान बनाउन सफल भएको छ । कालो पोथी यो वर्ष नेपालले अस्कर अवार्डको लागि पनि पठाएको थियो , तर दुर्भाग्यबस अस्करको मनोनयनमा यो उत्कृष्ट चलचित्र भने पर्न सकेन । जनयुद्धको परिवेशमा निर्माण गरिएको यो चलचित्रमा दुर्इ साथिले गुमाएको कुखुराको कथालार्इ देखाइएको छ ।


१ छक्का पन्जा
  
चलचित्र छक्का पन्जाको समीक्षा यहाँ हेर्न सक्नुहुनेछ ।

यो वर्षको ब्लक्बस्टर छक्का पन्जाले बनाएको किर्तिमानहरु को बारेमा कुरा गर्न त थुप्रै समय लाग्नेछ । फेरी छक्का पन्जाको बारेमा यहाँहरुलाई कसलाई चाही थाहा छैन र । सायद यो चलचित्र हलमै पुगेर नहेर्नुभएको दर्शक नि कम नै हुनुहुन्छ होला किनकि चलचित्र १०० दिन सम्म सिनेमाघरहरुमा प्रदर्शन भैरहेको थियो, त्यो पनि हाउसफुल । छक्का पञ्जाको दुइघन्टा मनोरञ्जनले भरपुर छ र यदि कसैले यो चलचित्र अझै पनि हेर्नु भएको छैन भने फुर्सदमा यो चलचित्र हेरिहाल्न हामि सल्लाह दिन्छौ ।


यी चलचित्रहरु मध्य तपाईहरुको मन पर्ने चलचित्र कुन हो त ? हामीलाई कम्मेन्ट गर्न नभुल्नु होला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.