आजको सिरिया | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

आजको सिरिया




   Suyog Dhakal - Feb 27 2018

अब सीरियन युद्ध दोश्रो विश्वयुद्ध भन्दा धेरै लम्बिइसकेको छ । सिरिया बाहेक विश्वका कुनैपनि कुनामा सुरक्षा खोज्दै सीरियन शरणार्थी युरोप अनि अन्य देशहरुमा जीवनको जोखिम मोल्दै भौतारी रहेका छन् । युएनएचसिआर को प्रतिवेदन अनुसार ५५ लाख सीरियन शरणार्थीहरु दर्ता भएका देखिन्छन् । लेवनान र टर्कीले सबैभन्दा धेरै सीरियन शरणार्थीहरु राखेका छन् ।



फेब्रुअरी २६ सोमबारका दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनो गुट्रीसले सिरियामा सुरक्षा परिषदको कार्य लागू गर्न अनि कम्तीमा ३० दिनको युद्धबिराम लागू गर्न आव्हान गरेका छन् । स्वीजरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा बोल्दै महासचिवले पूर्वी घोउटा सिरियालाई पृथ्वीको नर्कको संज्ञा दिएका छन् । घोउटामा अहिले सीरियन सरकारका हवाइजहाजहरुले बमबारुद आक्रमण गरिरहेका छन् । घोउटाकै बिभत्स फोटोहरु अनि मानव चिहानहरु अहिले विश्वभरिकै सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिँदै युद्ध रोक्न दबाब भइरहेको पनि छ ।

आखिर के भएको हो त सिरिया मा? 


यस वर्षको मार्च महिनामा सिरियाको युद्ध ८ वर्षमा प्रवेश गर्दैछ । यिनै ७ बर्षमा ४६५००० बढि सीरियन नागरीकहरुको मृत्यु भएको छ । यता एक करोड बढि सीरियनहरु आफ्नो घरबार विहीन भएका छन्, देशको आधा जनसख्याँ नै आफ्नो घरबार विहीन भएका हुन् । सिरियाको युद्धको इतिहास सन् २०११ बाट सुरु हुन्छ, जब इजिप्ट अनि ट्युनीसियाको आन्दोलनको परिणामबाट सुरु हुन्छ । यिनै आन्दोलनहरुले प्रो डेमोक्रेटिक सीरियनहरुलाई प्रेरित गरेको हो । त्यसै वर्षको मार्चमा प्रजातन्त्रको आन्दोलन सिरियामा सुरु भएको हो । भन्नेहरुले यस आन्दोलनलाई पश्चिमाहरुको समर्थनले भएको र असादको विरोधमा भएको भनेर पनि आरोप लगाएका छन् । असाद अहिलेका सिरियाका राष्ट्रपति हुन् जो धेरै अघिदेखि पश्चिमा लगायत अन्य धेरै देशहरुका आँखाका तारा र दुश्मन मानिन्थे । सन् २०११ मा प्रजातन्त्रको नाममा गरिएको आन्दोलनमा सिरियामा एक जना १३ वर्षे बालकलाई अत्याधिक दुव्र्यवहार गरेर हत्या गरिएको थियो । त्यसपछि क्रमशः बसर अल असादको सरकारले निर्ममतापूर्वक हत्या अनि दमन गरेको अनि गर्दै आएको छ ।

फ्री सीरियन आर्मी 


जुलाई सन् २०११ मा सीरियन आर्मीको दमन विरुद्ध फ्री सीरियन आर्मी नामक समुह गठन भयो । यसैसाथ देशमा संगठनात्मक विरोध क्रम अनि सशस्त्र विद्रोह सुरु भयो । सिरिया विद्रोहको अर्को पक्ष सेक्टेरियन विभेद पनि हो । सिरियाका अधिकांश जनताहरु सुन्नी मुसलमान हुन् तर सिरियाको सुरक्षा अनि प्रतिरक्षामा भने सेक्टेरियनहरुको बाहुल्यता छ, अलावी सेक्ट भनिने यस धारका सदस्य अहिलेका राष्ट्रपति असाद पनि हुन् । असादका बुवाले सन् १९८२ मा सैनिक परिचालन गरेर मुसलमान भातृत्वमाथि धावा बोलेका अनि हजारौंको सेक्ट र नन् सेक्ट विभेदका कारणले हत्या गरिएको बताइन्छ । त्यसपछि सिरियामा सेक्ट विभाजन बढेर गएको हो । सन् २००७ देखि सन् २००९ सम्म सिरियामा भयंकर खडेरी र सुख्खापन भएको थियो, यसकारणले पनि जर्जर भएको सीरियन अर्थतन्त्र अनि बसाईसराईको क्रम त्यसपछि झनै बढेर गयो । अहिले आएर सिररियामा विद्रोहीहरु, आईसीस, अमेरिका अनि रुसको एउटा भयंकर युद्धमैदान बन्न गएको छ ।

सिरिया युद्धमा वैदेशिक हस्तक्षेप 


ईरान, ईराक अनि लेवनानका सरकारले असादलाई समर्थन गरेका छन् । यी देशहरुमा सीया समुदायका मुसलमानहरुको बाहुल्यता छ । जबकि टर्की, कतार, साउदी अरब लगायतका सुन्नी बहुसङ्ख्यक भएका देशहरु असादको सरकार विरोधमा उत्रिएका छन् । सन् २०१६ पछि त टर्कीले आफ्नो सिमा क्षेत्रमा अमेरिका समर्थित कुर्दिश सैन्य दस्ता लगायत आईसीसको प्रतिरोधमा विभिन्न सैन्य कारवाही नै गरेको छ । उता अमेरिकाले भने असादको सैन्य दस्ता विरुद्धमा विभिन्न विद्रोही समुह गठन अनि तिनलाई हातहतियार प्रवाह र प्रविधि सुसम्पन्न गराउँदै आएको सन् २०१४ देखि नै हो । इज्रायलको युद्ध विमानलाई यसैवर्ष फेब्रुअरी महिनामै हजिबोल्लाह लगायत असाद सर्मथित दस्ताले झारेका हुन् । ईज्रायल अनि अमेरिका सिरियाको मुद्दामा एकै धारमा देखिएको छ । अमेरिकाले पटक पटक अनौपचारीक रुपमा रुसको असाद प्रतिको समर्थनलाई उठाउने गर्दछ, आउनुहोस् अब कुरा गरौं रुसको संलग्नताका बारेमा । सन् २०१५ मा रुसले बम्बिगं मिसन सुरु गर्यो तर उसको यो मिसन सिरियाको असाद सरकार विरुद्ध नभई त्यहाँ रहेका अन्य विद्रोही समुह विरुद्ध थियो । यस्ता असाद विरुद्धका अधिकांश समुहहरु अमेरिकाले सहयोग गरेका समुहहरु थिए । उता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भने सदैव चीन र रसियाले सिरियाबाट पश्चिमाहरुलाई हटाउने पक्षमै वकालत गरेको पाइन्छ ।

सिरियामा शान्तिका कदमहरु


सन् २०१२ मा स्वीजरल्याण्डको जेनेभामा सीरियन सरकारपक्ष अनि विद्रोही बीच वार्ता भएपनि असफल भएको हो । सन् २०१७ मा पनि यस्तै शान्ति बैठक बसे तापनि संक्रमणकालीन सरकारमा असादको संलग्नताको विषयमा कुरा नमिलेपछि फेरि हात लाग्यो शुन्य भएको हो ।

अहिलेको सिरिया 


पूर्वी घोउटामा रुसी विमानका साथ सहायता प्राप्त सीरियन सरकारी सैन्य दस्ताले विद्रोही विरुद्ध व्यापक हमला गरेका छन् । यस हमलामा सैयौं निहत्था सर्वसाधरण मारिएका छन् । सन् २०१३ देखि नै यस क्षेत्र द्वन्द्वग्रस्त छ । राजधानी दमास्कस नजिकै भएपनि यस क्षेत्रमा विद्रोहीको अझै पनि बाहुल्यता छ, सरकारीपक्षले यस संवेदनशीलतालाई जसरी पनि हटाउन चाहन्छ । उता अमेरिकाले राष्ट्रपति बाराक ओबामा कै समयबाट सिरियालाई जैविक हतियार प्रयोगको आरोप लगाँउदै आएको छ ।

अब सीरियन युद्ध दोश्रो विश्वयुद्ध भन्दा धेरै लम्बिइसकेको छ । सिरिया बाहेक विश्वका कुनैपनि कुनामा सुरक्षा खोज्दै सीरियन शरणार्थी युरोप अनि अन्य देशहरुमा जीवनको जोखिम मोल्दै भौतारी रहेका छन् । युएनएचसिआर को प्रतिवेदन अनुसार ५५ लाख सीरियन शरणार्थीहरु दर्ता भएका देखिन्छन् । लेवनान र टर्कीले सबैभन्दा धेरै सीरियन शरणार्थीहरु राखेका छन् । अबका सिरियामा युद्ध बन्द भएपनि देशको पूर्ननिर्माणमा अत्याधिक समय लाग्ने पक्का छ । अहिलेको अवस्थामा सिरियामा सरकारी असाद समर्थित दस्ताहरुले विद्रोही माथि हवाई आक्रमण गरिरहेका छन् र सर्वसाधरणहरु मरिरहेका छन् । असादका दुई रुप संसारले देखेका छन्, कसैले उनलाई तुलनात्मक रुपमा कम तानाशाह अनि सिरियाका रुचाइएका अनि पश्चिमा विरुद्धमा डटेर अघि आउन सक्ने रुसका समर्थक शासक भन्दछन् । अनि कतिले भने असादलाई तानाशाह, क्रुर र अतिवादीको संज्ञा पनि दिएका छन् । जे होस् ? सिरिया आज मुस्किलमा छ । सिरियामा शान्ति आवोस् ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.