ब्लग - साहित्य / हाम्रो लेख

अर्थतन्त्र: मुगाबी र नेपाल




   Bishwa Raj Adhikari - Nov 27 2017

यो आलेख तयार पारिरहँदा जिम्बाब्वेको राजधानी हरारेका सडकहरूमा नागरिकहरू खुशीले नाचिरहेका छन्। देश दोस्रोपटक (मुगाबीको) उपनिवेशबाट मुक्त भएको, देशमा दोस्रोपटक प्रजातन्त्र आएको भन्दै विजय उत्सव मनाइरहेका छन्। कोही खुशीले हाँसिरहेका छन् भने कोही ज्यादै खुशी भएर रोइरहेका पनि छन्। खुशीले गाडीहरूको हर्न बजाउनेहरूको सङ्ख्या पनि कम छैन। नागरिकहरूले यस्तो विशेष उत्सव मनाउनुको कारण भने विगत ३७ वर्षदेखि निरन्तर शासन गरिरहेका जिम्बाब्वेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मोगाबीले राजीनामा दिनु हो। सत्ताबाट बहिर्गमन गर्नु हो। प्रजातान्त्रिक–निरङ्कुश मुगाबी युगको समाप्ति हुनु हो।

यति मात्र होइन, मुगाबीले पठाएको राजीनामापत्र संसद्मा सभामुखले पढेर सुनाउँदा सांसदहरू खुशीले उफ्रेका थिए, संसद्भित्र नाचेका थिए। ठूलो हर्ष मनाएका थिए। मुगाबी पदमा रहिरहँदा उनले संसारको नै जेठो शासकको उपाधि पाएका थिए। बेलायतको उपनिवेश रहेको जिम्बाब्वे, तत्कालीन रोडेसिया, लाई स्वतन्त्र तुल्याउन (सन् १९६५) तथा अल्पसङ्ख्यक गोराहरूको सत्तामाथि रहेको पकड समाप्त पारी (सन् १९८०) बहुसङ्ख्यक कालाहरूको सत्तामा वर्चस्व कायम गराउन विशेष भूमिका खेलेका, कुनै समयका स्वतन्त्रतासेनानी मुगाबी, सत्ता पाएपछि चास्नीमा मौरी टाँसिएझै सत्तामा (कहिले पनि नछोडनेगरी) टाँसिएका थिए। जतिसुकै ठूलो स्वतन्त्रतासेनानी (Freedom Fighter) भए तापनि सत्ता पाएपछि कुनै व्यक्ति कतिसम्म स्वार्थी र निरङ्कुश हुन सक्छ भन्ने तर्कको ज्यादै बलियो प्रमाण मुगाबीले प्रस्तुत गरेका थिए। प्रजातान्त्रिक प्रक्रियाबाट पदमा पुगेका मुगाबी, पद पाएपछि अति नै निरङ्कुश हुन पुगेका थिए। अनेक षडयन्त्र गरेर करिब चार दशक पदमा रहन सफल भएका थिए। सम्भवतः नमरुन्जेल राष्ट्रपति हुने उनको धोको थियो।

मुगाबीले स्वेच्छाले राजीनामा दिएका भने होइन। पछिल्लो समयमा एक हप्ता पहिले निरङ्कुश मुगाबीको मनपर्दो राजको समाप्ति गर्न सेनाले धम्की दिएपछि उनी एक्लिएका थिए। तैपनि सेनाको धम्कीको बेवास्ता गरेर बसेका मुगाबी आफूविरुद्ध संसद्ले पनि अविश्वास प्रस्ताव पास गर्ने थाहा पाएपछि मात्र, निर्विकल्प भएर राजीनामा दिन बाध्य भएका थिए। अर्थात् सेनाको समर्थन नपाएपछि, राजीनामा गर्न विवश भएका थिए। सत्तारूढ पार्टी जानु–पिएफका उपसभापति इमरसन मनान्गवालाई मुगाबीले हटाएर आफ्नी दोस्रो पत्नी ग्रेस मुगाबीलाई राष्ट्रपति बनाउने षडयन्त्र गरेपछि सेनाले गएको हप्ता उनलाई पद छाडन दबाब दिएको थियो। सेनाले अहिले पदमुक्त भएका उपसभापति इमरसन मनान्गवालाई समर्थन गरिरहेको छ। सम्भवततः उनी नै राष्ट्रपति नियुक्त हुनेछन्।

सत्ताको लोभी भनेर विश्व परिचित मुगाबी सत्तालोभमा यति अविवेकी हुन पुगे कि आफ्ना विरोधीहरूको आवाजलाई निस्तेज पार्दै लामो समयसम्म सत्तामा बसे। त्यतिले पनि नपुगेर आफ्नी पत्नी ग्रेस मुगाबीलाई शक्तिमा ल्याउने षडयन्त्रमा लागे। पत्नी ग्रेसलाई राष्ट्रपति बनाउने मुगाबीको ठूलो सपना थियो।

३७ वर्षसम्म निरन्तर सत्तामा रहन मुगाबीले आफ्ना विरोधीहरूको हत्या गर्न लगाए, साथै जिम्बाब्वेको अर्थ व्यवस्था जर्जर तुल्याए। मुद्रास्फितिले देशलाई आक्रान्त पारिरहँदा देशलाई आर्थिक सङ्कटबाट जोगाउनेतर्फ ध्यान दिनुको सट्टा सत्ताको आयु लम्ब्याउने उद्योगमा लागिरहे। आफ्नो शासनकालभरि आफूले बर्बाद गरेको देशको अर्थ व्यवस्था सुधार्नेपट्टि ध्यान दिनुको साटो मुगाबे केवल सत्ता टिकाइराख्ने षडयन्त्र मात्र गरिरहे। जिम्बाब्वेमा अहिले चरम गरिबी छ। देशको ९० प्रतिशत जनता बेरोजगारी छ। बेरोजगारले आक्रान्त भएर लाखौं जिम्बाब्वेका नागरिक नोकरीको खोजीमा दक्षिण अफ्रिका पुगेका छन्। संसारका अनेक देश पुगेका छन्।

मुगाबीको कार्यकालमा जिम्बाब्वेको अर्थ व्यवस्था तहसनहस भयो। कुनै समयमा अफ्रिकाको दोस्रो ठूलो अर्थ व्यवस्था कहलिएको मुलुक जिम्बाब्वे संसारमैं सर्वाधिक मुद्रास्फिति भएको देश हुन पुग्यो। जिम्बाब्वेले औपचारिकरूपमा १९८० मा स्वतन्त्रता प्राप्त गरेपछि, मुगाबीको कुशासन आरम्भपूर्व, जिम्बाब्वेमा मुद्रास्फिति ७ प्रतिशतको हाराहारीमा थियो। तर मुगाबीको सत्तामा आगमनसँगै, उनको कुशासनको प्रारम्भसँगै, मुद्रास्फितिको क्रम ह्वातै वृद्धि हुन थाल्यो। सन् २००७ मा जिम्बाब्वेको मुद्रास्फिति ६६ हजार २१२ प्रतिशत हुन पुग्यो भने सन् २००८ को जुलाईमा आश्चर्यको सीमा नाघ्दै जिम्बाब्वेको मुद्रास्फिति २३ करोड ११ लाख ५० हजार ८८९ प्रतिशत हुन पुग्यो। नागरिकहरूले सामान खरिद गर्न ठेला गाडामा पैसा बोकेर हिंडनुपर्ने स्थिति भयो भने जिम्बाब्वे सरकारले अति उच्च मूल्य (High value) को मुद्रा (नोट) हरू निष्कासन गर्नुपर्यो। एकपटक (सन् २००८ मा) सरकारले बजारमा विनिमयका लागि १०० ट्रिलियन मूल्यको जिम्बाब्वे डलर निष्कासन गरेको थियो।

तर जिम्बाब्वेको त्यो १०० सय ट्रिलियन डलर नोटको मूल्य अमेरिकी डलर ००.४० अर्थात् केवल ४० सेन्ट मात्र थियो। अहिले जिम्बाब्वेमा यस देशको आफ्नो मुद्रा छैन र बजारमा विनियमका लागि सरकारी मान्यता प्राप्त मुद्राको रूपमा अमेरिकी डलर प्रयोग हुन्छ। यसबाहेक साउथ अफ्रिका, बोत्सवाना, भारत, ग्रेट ब्रिटेन, अस्ट्रेलियाको मुद्रा प्रयोग हुन्छ। साथै जिम्बाब्वियन वौण्ड सिक्काको पनि प्रयोग हुन्छ।

अब, अहिले मुगाबीको पतनसँगै, जिम्बाब्वेमा आर्थिक प्रगतिको लहर चल्ने आश त्यहाँका नागरिकहरूले गरिरहेका छन् तर कुनै समयमा, मुगाबीले एक स्वतन्त्रतासेनानीको भूमिका बलियो गरी निर्वाह गरेका थिए। जिम्बाब्वेलाई बेलायती उपनिवेशबाट मुक्त पार्न मुगाबीले पुर्याएको योगदान सामान्य थिएन, अहम् थियो। तर अफसोच उनले आफ्नो त्यो खास भूमिका, विशेष प्रसिद्धिको प्रयोग सत्ता पाउन र सत्तामा टिकिरहनका लागि गरे। देश र जनतालाई गरिब तुल्याए। स्वेच्छाले सत्ता हस्तान्तरण गरेनन्। जिम्बाब्वेको सत्ता केवल आफ्नो परिवार भित्र सीमित पार्न खोजे।

यहाँ मुगाबीको लामो प्रसङ्ग हाम्रा नेताहरूमा देखिएको सत्तालिप्सा देखाउनका लागि उल्लेख गरिएको हो। जसरी मुगाबीले सत्ता केवल आफ्नो हातमा सीमित राख्न अनेक षडयन्त्र गरे, देशलाई गरिब तुल्याए, हाम्रा नेताहरू पनि सत्तामा सधैं रहन त्यसै किसिमका अनेक षडयन्त्र गरिरहेका छन, मुलुकलाई आर्थिक प्रगतिको दिशमा दौडाउनुको साटो विपरीत दिशामा दौडाइरहेका छन्, देशलाई गरिब तुल्याइरहेका छन्। स्वतन्त्रतासेनानीको भूमिका निर्वाह गरेका मुगाबीले जसरी त्यस भूमिकाको (दुर) उपयोग केवल सत्ता आफ्नो हातमा सीमित राख्न गरे, हाम्रा नेताहरूले पनि २०४६–४७ सालमा राजनैतिक परिवर्तन ल्याउन खेलेको भूमिकाको प्रयोग सत्ता केवल आफ्नो हातमा राख्नका लागि गरिरहेका छन्। उनीहरूप्रति जनताको सकारात्मक भावनाको शोषण गरिरहेका छन्। नेपालको राजनीतिमा अहिले पनि ती दल र नेताहरूको राजनीतिमा बलियो पकड छ ज–जसले २०४६–४७ सालमा राजनैतिक परिवर्तन ल्याउन उल्लेख्य भूमिका खेलेका थिए। नेपालको शासकीय सत्ता अहिले पनि तिनै केही सीमित दल र नेताहरूको हातमा छ। एउटै व्यक्ति चार–पाँचपटक प्रधानमन्त्री भएको छ र सातपटक प्रम हुने सपना देखिरहेको छ।

तर यी लामो समयसम्म सक्रिय राजनीतिमा रहेका नेताहरूले मुगाबीले झै राजनीतिबाट संन्यास लिने बेला आइसकेको छ। यी पुरानाहरूले नयाँ नेताहरूलाई शक्ति हस्तान्तरण गर्ने बेला भइसकेको छ। देउवा, माधव नेपाल, झलनाथ खनाल, विजय गच्छदार, रामचन्द्र पौडेल, महन्त ठाकुर, विमलेन्द्र निधि, कमल थापा, पशुपति राणा, पुष्प कमल दहाल, बाबुराम, किरण, राजेन्द्र महतो, सुरेन्द्र चौधरी आदिजस्ता नेताहरूले सक्रिय राजनीतिबाट संन्यास लिएर सामाजिक सेवा कार्यमा लागे हुन्छ जसरी बिल क्लिन्टन, जिम्मी कार्टर, आदि सामाजिक सेवामा लागेका छन्। त्यसरी पनि यिनीहरूले देश र जनताको सेवा गर्न सक्छन्।

साथै नेपालको संविधानमा एकपटक मात्र राष्ट्रपति हुन पाउने, दुईपटक मात्र प्रम हुन पाउने, पार्टी सभापति पनि एक पटक मात्र हुन पाउने, मन्त्री दुईपटक हुन पाउनेजस्ता व्यवस्था हुनु आवश्यक छ। यस्तो भएमा सत्तामा रहिरहने नेताहरूको महत्वाकाङ्क्षाले मूर्त रूप लिन पाउँदैन। देशमा आर्थिक विकासको बलियो वातावरण निर्माण हुन बल पुग्नेछ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम