इतिहासमा २०७४ (फर्केर हेर्दा) | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

इतिहासमा २०७४ (फर्केर हेर्दा)





वर्षको अन्तिम महिना चैत्रले अनुभूत गराउने बदलिंदो माैसमको स्पर्षसंगै नेपाली लहरा पहरा, खेत खलिहानदेखि हिमालको टाकुरादेखि तराइमा हाँस्दै गरेका विभिन्न स्वादिष्ट माैसमी फलफूलका मुजुराहरूको बाटो हुँदै नयाँ वर्ष अागमनको बेग्लै सुगन्ध हरेक नेपालीको दैलोमा छरीसकेको छ । नयाँ अाशाको विगुल फुक्यो अब; भित्ता अनि फित्ताहरुमा नयाँ वर्षका मितीहरु कुद्न थाल्नेछन् ।

अब बानी पर्न मुश्किल हुनेभयो केही समय । बिसं. २०७४ लेख्न बल्ल तल्ल बानी परेको अब फेरि एक कदम अघि बिसं. २०७५ मा पुग्ने भयो । यस वर्ष २०७४ अरु वर्षहरु झैं टेम्प्लेटमा वितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलार्इ उपहार दिंदै अनि हरेक उपहारसंगका अनुभवहरू छाडेर गएको छ ।

अाउनुहोस्, हाम्रोपात्रोमा अब हामी प्रस्तुत गर्दछाैं विसं. २०७४ नेपालीजनले सम्झिनुपर्ने, विर्षिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका महत्वपूर्ण प्रसङ्गहरूः

१) चुनावको वर्षः नेपालको प्रजातान्त्रिक इतिहासमा अत्याधिक महत्व बोकेका वर्षहरु जस्तैः ७ साल, ३६ साल, ४६ साल हुँदै ६२ र ६३ साल पछिको कालखण्डबिच भएका अनेक आन्दोलन तथा जनयूद्धले दिएका जन-परिणामहरूलार्इ सस्थांगत गर्न सफल सालका रुपमा विसं. २०७४ ले अमिट छाप छाडेर गएको छ । इतिहासले विसं. २०७४ लार्इ सित्तेमित्ते बिर्सन सक्नेछैन ।

बिभिन्न ज्ञात-अज्ञात शहीदका वलिदान अनि आन्दोलनका मर्महरुलार्इ सम्वोधन गर्दै यसवर्ष नेपालीहरुको निर्णय अधिकारको नङ ३ पटक रंगीएको छ ।

प्रजातन्त्रको रंगले मत पत्रमा सर्वप्रथम स्थानीय निकाय चुनाव अनि प्रतिनीधि तथा प्रदेशसभा चुनावमा नेपालीहरुले स्वर्णिम छाप भरेका छन् । राजनैतिक रंगमञ्चमा नेपाली कांग्रेस अनि नेकपा माओवादीको स्थानीय निकायको चुनावमा भएको तालमेल अनि तत्पश्चात् भएका वाम गठबन्धनले ठूलो हलचल ल्याएको थियो, यसवर्षमा । वाम गठबन्धनको बहुमत अनि नेकपा एमालेको नेतृत्वको सरकारले अबको ५ वर्ष नेपाली शासन सत्ताको स्थायी बागडोरको अगुवार्इ गर्ने अधिकार पनि यसै वर्षले दिएको हो ।

२० औं वर्षपछि देशका गाउँ तथा नगरहरूले जननिर्वाचित जनप्रतिनिधिहरूको नेतृत्व पाएका छन् भने संसदमा दुबै सदनले पूर्णता पाएका छन् । यी सबैकुरा यसै वर्ष २०७४ मा सम्भव भएको हो । विश्वमै सशस्त्र द्वन्दबाट फर्किएको देशले यति छिटै यतिको शान्ति अनि स्थायित्व प्राप्त गरी लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न पाएको कमैमात्र उदाहरणहरू छन् । नेपाल यी मध्ये एक दूर्लभ उदाहरणको देश बन्न सफल भएको छ ।

२) उज्यालो वर्षः गएको वर्ष झैं यस वर्ष पनि लोडसेडिङ्गको सामना त्यति गर्नु नपरेपनि तुलनात्मक रुपमा गत वर्षभन्दा केही बिजुलीको उपलब्धतामा कमी भने अवश्य रह्यो, अझै पनि विगतमा नेपाली जनतामाथि लादिएको अनावश्यक लोडसेडिङ्गको नियत पछाडिका मतियारहरूका किताब खुल्दैछ ।

३) भुकम्प पीडितका पीडाः ०७२/बैशाखको भुकम्प पछि भत्किएका घरका छानाहरुमा अनि त्रिपालमा हिँउदको सिरेटो, बर्षाका बाछिटाले दिएको कष्टहरु हटन भने सकेन । भुकम्प पीडितका पाल अनि छाना भित्र सरकार पस्न नसकेको हो अथवा नचाहेको हो विसं. २०७४ मा यो ठूलो प्रश्न बनिरह्यो ।

४) वैदेशिक रोजगारीको क्रमः वैदेशिक रोजगारका लागि यूवाहरु विदेश जाने दर विसं. २०७४ मा बढोत्तरी भएको छ, घटेको छैन । देशमा स्वरोजगार अनि अवसरहरु भने यस वर्ष श्रृजना हुन नसकेकै हो । तर मन न दुखाअाैं हामी; नेपालीहरू अत्यधिकमात्रामा बाकस बन्द भएर नेपाल फर्किए । धेरै वैदेशिक रोजगारीमा ठगीए, बेचिए, कुटिए-पिटिए, बन्धक बने ।

५) विश्वः वर्ष २०७४ भरिनै अमेरिकी अनि उत्तर कोरियाली राष्ट्राध्यक्षबीच कुटनितिक तथा शक्तिकेन्द्रित जुहारी चलेको थियो । दुर्इ परमाणु शक्तिकेन्द्रबीचको यो तनावले विश्वको अस्तित्वमाथि नै प्रश्न चिह्न नल्याएको हैन् । तथापी यसै वर्ष विसं. २०७४ को उत्तरार्धमा यी दुबै राष्ट्राध्यक्षले सम्वादकालागि सम्झौताको कदम अघि बढाएका छन्, आगामी वर्षले पक्कैपनि विगतको डरलाग्दो भविष्यलार्इ मेट्नसक्ने छ । उता खाडी मूलुकमा कतारलाई गरिएको अमानवीय नाकाबन्दिले ठूलै चर्चा पायो भने केही अन्य आतंकवादी क्रियाकलाप र आक्रमणका श्रृंखलाहरू यस वर्षपनि भएका थिए ।

विगतमा झै अमेरिकामा यस वर्षपनि थुप्रै पटक बन्दुकधारीले सर्वसाधरण भएका ठाँउमा, स्कूले केटकेटी भएका ठाउँमा अन्धाधुन्ध गोली वर्षा गरेर थुप्रैको हत्या गरेका घटनाहरु भए ।

वर्षको मध्यतिर इज्रेलको राजधानी जेरुसलेमवाट तेलअबिबमा सार्ने अमेरिकी निर्णयलाई संयूक्त राष्ट्र संघका सदस्य देशहरुले अनुमोदन गरेनन् । जसमा नेपालले पनि यस प्रस्तावको बिपक्षमै मतदान गरेको थियो ।

वेलायती राजकुमारको विवाहको प्रसंगले पनि यस वर्ष थुप्रै चर्चा पायो र आउँदो वर्ष राजकुमार ह्यारीले हलिउड अभनेत्री मेगन मारक्लेसंग विवाह गर्दैछन् ।

६) मृत्यू अनि दुर्घटना: विसं. २०७४ मा नेपाली साहित्यले साहित्यकार इन्द्र बहादुर राइको निधनको सामना गर्यो । अनि कान्छी बेगम जस्ता अब्बल समालोचनात्मक कृतीका सर्जक साहित्यकार मनु बाज्राकीको पनि यसै वर्ष निधन भएको हो ।

राष्ट्रवादी नेता पूर्व प्रधानमन्त्रि किर्तिनिधी विष्टलार्इ ९० वर्षको उमेरमा कात्तिक २५ का दिन गुमाउनु पर्यो । वि.सं. २०२५, २०२८, २०३४ मा गरी विष्ट तीनपटक नेपालको प्रधानमन्त्री बनेका थिए । विष्ट पछिल्लो समय ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि २०६१ सालमा मन्त्रिपरिषद् उपाध्यक्ष भएका थिए ।

पूर्व प्रधानमन्त्रि कमरेड प्रचण्डका पुत्र प्रकाश दाहाल र नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको असामहिक निधनले राजनैतिक क्षेत्रमा नमिठो वर्ष बनाएर गयो ।
विश्व परिपेक्ष्यमा यस वर्ष स्टेफेन हकिंग्स जस्ता महान वैज्ञानिक संसारबाट यसै वर्ष बिदा भएका छन् ।

सडक दूर्घटनाका खबरहरु अनि क्षतीका विवरणहरु वर्षभरिनै भइरहे भनें वर्षको उत्तरार्धमा बंगलादेशमा मेडिकल अध्यनरत नेपाली बिधार्थि लिएर आएको यूएस-बंग्ला हवाइजहाजको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दर्दनाक हवाई दूर्घट्नाले ठूलै चोट दिएको छ ।

यसै वर्ष बलिउड अभिनेत्री श्रीदेवीको असायमीक निधनले नेपाली दर्शकका समेत आँखा भिजाएर गयो भने बलिउड अभिनेता शशी कपुरले पनि यसै वर्ष प्राण त्याग गरेका हुन् ।

७) केही हाँस्यास्पद विवादः ललितपुरको टीकाथली भुतकाण्डले पनि विसं. २०७४ सालमा निकै चर्चा पायो । सामाजिक सञ्जाल र मूलधारका सञ्चार माध्यममा पनि निकै चर्चा पाएको यस भुतकाण्डको पर्दाफाश पनि कम रोचक रहेन ।

पूर्व प्रधानमन्त्री शेर वहादुर देउवा कहिले आफ्नो अभिव्यक्ति त कहिले प्रश्नोत्तरका लागि यस वर्ष अधिकांश समय सामाजिक सञ्जाल र मीडियामा छाइरहे । गलत भाषण् पढेको र हेयभावका साथ प्रश्नकर्तालाई सार्वजनिक सुनुवाईमा उत्तर दिएको घटनाहरू गहन भन्दा पनि सतही रुपमा बढि हाँसोमजाक अनि ट्रोलको कारण बन्न पुग्यो ।

वर्तमान प्रधानमन्त्रि केपी शर्मा ओलीको सीटिइभिटीलाई सीसीटिभी भनेको कुरा पनि निकै चर्चा भयो ।

८) चर्चाका व्यक्तिः ०७२/बैशाख पछिको विनासकारी महाभूकम्प पछि आफ्नो एकीकृत बस्ती निर्माणका चरणहरु मार्फत् कहिले माँझीगाँउ त कहिले मुसहबस्ती पुग्दै अनि सामाजिक कार्यप्रतिको लगावका कारणले धुर्मुस तथा सुन्तली यस वर्ष पनि चर्चाको शिखरमा रहे । 

यता पत्रकार रवी लामीछाने आफ्नो मिशन पत्रकारितामार्फत् सरकार र जनताबीचको प्रभावकारी पुल बन्न सफल तथा न्यूज24 को चर्चित कार्यक्रम 'सिधा कुरा'का कारण उनी यस वर्ष पनि चर्चामा रहे ।

भारतीय सरकारको तर्फबाट नेपाली नागरिकले पाएको पद्धमश्री पदकको चर्चा पनि खुब रह्यो । समाजसेवी तथा माइती नेपालकी अनुराधा कोइराला तथा नेपाली चिकित्सक डा. सन्दुक रुइत अाँखाको ज्योति फर्काउने अाफ्नो अभियान मार्फत् यस वर्ष चर्चाको विषय बने र यसअघि पनि आफ्नो अध्ययन र सेवामा लगावका कारणले डा. सन्दुकले म्यागसेसे अवार्ड पनि पाइसकेका छन् ।

यस वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता प्राप्त नेपाली टीमका चर्चित क्रिकेटर सन्दीप लामीछाने विश्वकै सर्वाधीक महँगो क्रिकेट प्रीमीयर लिग मध्यको एक आईपीएलमा दिल्लीकालागि छानिएका हुन् ।

९) समाज र विभिदः यस वर्ष पनि अन्य वर्षहरु झैं धर्म प्रचार र सामाजिक बिखण्डनका क्रियाकलापहरु प्रत्यक्ष अनि परोक्ष रुपमा निर्वाध चलिरहे नेपालमा । अन्य वर्षका तुलनामा यस वर्ष धेरै नारी विरुद्धका हिंसा र बलात्कारका घटना दिनहुँजसो सुन्नमा अाए ।

यसै वर्ष नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शंकराचार्य इतिहासमा प्रथम महिला शंकराचार्य हुनका लागि चयनमा पर्नुभएको छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंकराचार्य हुनका लागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो । तर जे होस् यसपाला वैदिक सनातन संस्कारमा १२०० बर्षको शंकराचार्यको इतिहासमा प्रथम महिला शंकराचार्यको सूचीमा पर्न सफल हुनु पनि गौरवको बिषय हो ।

सर्वोच्च अदालतको प्रमुख न्यायधीश शुसिला कार्कीमाथि महाअभियोगको मुद्दाले यस वर्ष निकै चर्चा पायो । डाक्टर केसीको आन्दोलन र चिकित्सा शास्त्र अध्ययन प्रणालीबारे मांगहरुको अनुमोदन यसै वर्षको उत्तरार्धमा भएको हो । त्रिबीको अध्ययन शुल्क र स्वास्थ अध्यादेश यस वर्षका नेपाली जनस्वास्थ क्षेत्रका सफलता हुन भने स्वास्थ्य क्षेत्रमा हुनेगरेका बेथिति ब्यवस्थापनबारे मागहरु उपर सम्बोधन भएकाले यस वर्षबाट शायद् डाक्टर गोबिन्द केसीका आमरण अनसनका चरणहरुका पीडादायी श्रृंखला हामीले सुन्न नपर्ला । तथापी न्याय क्षेत्रमा भने वहाँका असन्तुष्टिका केहि कारण बाहेक अब पनि जोखिमपूर्ण अनसनका श्रृंखलामा अर्को नम्बर नथपिएला ।

बर्षाको पानीले सप्तरीको तिलाठी लगायतका धेरै गाँउ डुबाए, पहिरोले बगाए अनि साथसाथै सिमानाको पिलरहरु यस वर्षपनि सारिएका छन् । तिलाठीका चर्चित व्यक्तित्व देवनारायण यादव भारतीय प्रहरीद्वारा अपहरित हुनुभएको र फेरि छाडिनुभएको थियो । नेपाली कुटनीती र नेतृत्वको दासता यसवर्ष पनि उस्तै नै पाइयो ।

१०) प्रविधीः चीनबाट ल्याइएको इन्टरनेट यसैवर्षवाट सेवामा आयो । नेपालको आफ्नै स्याटलाइटकालागि यसै वर्ष नेपाल सरकारले बोलपत्र आव्हान गरेको हो ।

११) कुटनीतीः अमेरिकी राष्ट्रपतीको इज्रेलको राजधानी तेलअबीबमा सार्ने निर्णयप्रति संयूक्त राष्ट्रसंघमा भएको चुनावमा नेपालले असहमतीमा मत दिएको थियो ।

पाकिस्तानका प्रधानमन्त्रीको अचानकको नेपाल भ्रमण पनि चाँसोको विषयमा रहेको थियो यस वर्ष ।

थाइल्याण्डका नरेश भूमिवोलको वार्षिकीका विभिन्न परम्पराहरु नेपालकै लुम्बीनीमा उनको छोरीको अग्रसरतामा यसै वर्ष भएको हो ।

वर्षको उत्तरार्धमा भएको प्रधानमन्त्रीको भारत भ्रमणले पनि निकै चर्चा पायो । प्रधानमन्त्रिको भारत भ्रमणबाट नेपालले अाफू अनुकूल प्रभावकारी तर्क तथा नयाँ महत्वाकांक्षी सम्झाैता गर्न सफल भयो ।

सडक विस्तार अनि सांस्कृतिक धरोहरहरुको संरक्षणमा लापरवाहीले यस वर्ष निकै चर्चा पायो । रानीपोखरीमा न पानी रसायो न त वास्तविक भौतिक संरचनामा सिन्को भाँच्ने नै काम भयो । तर कराडौं रकमको तिलाञ्जली भने भइसकेको छ ।

उता धरहरामा केवल त्यही ठुटों छ भने अन्य पुरातात्वीक संरचनादेखि मन्दिर एंव दरबारहरु अनि घरहरु संरक्षणको आशमा वर्षभरि टुलुटुलु हेरिरहे ।

खोकनावासीको आन्दोलनले व्यापक चर्चा पाएको छ अनि सडक र पार्किङ्ग विस्तारका लागि भौतिक संरचनाको निर्माणमा प्राचिन सम्पदा भत्काउने दुस्साहस वर्षैभरि भइरहे ।

मनी लन्डरिंगका समाचारदेखि केही व्यबसायिक कम्पनीमा अरबौं पैसाका खाताहरु पत्रिकाका हेडलाइनमा लामै समय रहे । एक्ला अर्बपती बिनोद चौधरी विश्वका धनीका सूचीमा आफ्नो नाम अझ अघि लैजान सफल भए भने केही नेपाली नवप्रवर्तनात्मक उद्यमीहरु यसै वर्ष फोर्बसको सूचीमा पनि पर्न सफल भए ।

१२) खेलकुद तथा मनोरञ्जनः नेपालको खेलकुदले भने यसवर्ष निकै फड्को मारेको हो, सन्दीप लामीछानेको आईपीएलमा छनौट, नेपालले अन्तराष्ट्रिय क्रिकेटको एकदिवसिय मान्यता पाउनु अहिलेसम्मकै ठुलो उपलब्धि प्राप्त भयो ।

नेपाली टेलिभीजन इतिहासमै पहिलोपटक एपी १ टेलिभीजनले फ्रान्चाइजका रुपमा लोकप्रीय अमेरिकन आइडलको नेपाली संस्करण नेपाल आइडल सफलतापूर्वक सम्पन्न गर्यो । जसबाट गायक बुद्ध लामा पहिलो नेपाल आइडलका रुपमा बिजयी हुनुभएको थियो । साथै वर्ष अन्त्यतिर अर्को ठूलो फ्रान्चाइज 'BOOGIE WOOGIE' पनि AP1 बाट प्रारम्भ भयो भने अर्को रियालीटि शो 'The VOICE' पनि विसं. २०७५ मा प्रारम्भ हुने अाैपचारीक घोषणा भइसकेको छ ।

गत वर्ष भने धेरै राम्रा र हेर्न लायक चलचित्रहरु पनि नेपाली सिने जगतमा ठाँउ पाएको छ । उता ओडीसी नेपालले नेपालमा आयोजना गर्ने भनेको दबङ्ग टुर स्थगित भयो, यससंगै बलिउड स्टार सलमान खानले नेपालीमाझ पूर्वतय मनोरञ्जन कार्यक्रम पनि तुहियो ।

वर्ष २०७४ ले धेरैको सपना बुन्यो होला अथवा बिगार्या होला तर यति भन्दैमा समय ठप्प हुँदैन, हावा चल्न बन्द हुँदैन्, सूर्य आफ्नै समयमा उदाकै छ, अस्ताकै छ । पन्छीहरुले विश्व वन्धुत्वमा खिचिएका सीमाको परिधी नाघेकै छन् र त हरेक वर्ष विभिन्न देशका पंक्षीहरू नेपालको अावुहवामा रमाउन अाइपुग्छन् र केही नेपाली पंक्षी देश बाहिर ।

यसर्थ २०७४ को अनुभवले, अनुभूतिले, कोशिशले जगाएको हरेक साना, मसिना अाशाका किरणलार्इ ताप लिनमिल्ने स्वरूपमा ढाल्न मिल्ने बाटोतर्फ लगाैं, बैचैन मनहरूलार्इ सकारात्मक उर्जा थप्नतर्फ लागाैं । छाडिएका, अधूरा रहेका, अन्याैल रहेका कुनै पनि सपना छन्, रहर छन् भने अघि बढ्नुस्, पुरा गर्नुस् रङ्ग भर्न बाँकि एक एक सोंचका चित्रहरूमा । सबै पूरा गर्न नसकिएला केहि त होलान, जसले तपाइलार्इ अर्को अधूरो रहर पुरा गर्न हाैसला प्रदान गर्नेछ ।

तपार्इ सकारात्मक्ता तर्फ अघि बढेकैले गर्दा होला अब त देश पनि सकारात्मक दिशातर्फ अघि बढ्दैछ । यो वर्ष हाम्रो देश नेपालले स्थायित्व अनि बिकासको व्यापक आशा राखेको छ । सपनाका बिकास, रोजगार अनि शान्ति बोकेका नेपाली आँखा आँउदो वर्ष हर्षका साथ रहन सकुन् ।

नेपाली आँखाले राम्रा दृश्य देखुन्, कानले मीठा सुन्न पाउन्, हातले सुकर्म गर्न पाउन अनि पाईला सदैव प्रगतीपथमा लम्कीरहोस् । नव वर्ष विक्रम सम्वत् २०७५ को हार्दिक मंगलमय शुभकामना !

:: हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.