'देवकोटाको जीवनशैली' केन्द्रित प्राज्ञिक मत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

'देवकोटाको जीवनशैली' केन्द्रित प्राज्ञिक मत




डा.मोदनाथ प्रश्रित: महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे धेरैले कलम चलाए; तर यस विषयमा नरेन्द्रराज प्रसाईबाट व्यापक र सूक्ष्मतम अन्वेषण भएको छ । देवकोटाबारे अहिलेसम्म प्रायः कसैले थाहा नपाएका र गलत ढङ्गले प्रचार गरिएका विषयमा समेत केन्द्रित भएर गहिरो खोज र प्रमाणीकरणसहित देवकोटाको जीवनशैली प्रस्तुत भएको छ ।



• डा.इन्द्रबहादुर राई (अति विशिष्ट समालोचक)
पुनर्जीवित हुनुभएको छ महाकवि लक्ष्मीप्रसाद देवकोटा नरेन्द्रराज प्रसाईकृत देवकोटाको जीवनशैलीमा । हाम्रा आँखाअघि घट्छन् कविका जीवनक्रम, हात लम्काई छुन सकौंला लाग्दा । देवकोटा कति महान् र प्रिय उभिनुहुन्छ हाम्रा नेपालीय यथार्थ र दैनन्दिनतामाथि । कति कालभरि देवकोटा नै आफ्नो विश्व बनाई प्राप्त शिलवृत्तिले अनुपम लिखित छ प्रसाईबाटको यो कृति ।

• कञ्चन पुडासैनी (देवकोटाका सहायक)
महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा अहिलेसम्म फुटकर एवम् औपचारिक व्याख्या नै बढी हुँदै आएको थियो । अहिले नरेन्द्रराज प्रसाईमार्फत् देवकोटाका सम्बन्धमा एउटा विशाल पर्दा उघारिएको देखिन आयो । देवकोटाको जीवनशैलीको न्वारनपूर्व नै म यस कृतिभित्र पसेको छु र मैले यस ग्रन्थको पाण्डुलिपि नै दुईचोटि पढिसकेको छु । तर अझै मलाई यस कृतिको पठनबाट धीत मरेको छैन । सँगै हुँदा देवकोटालाई मैले जसरी चिनेको थिएँ ती कुरा त यस कृतिमा आएकै छन्; तीबाहेक श्रुतिमा रहेका अनि लिपिबद्ध नभएका अनेकौं तथ्यसत्य पनि मर्मस्पर्शी रूपमा देवकोटाको जीवनशैलीको एउटै बोटमा फक्रेका देखिन्छन् । महाकवि देवकोटाका पारखीहरूबीच यस ग्रन्थबाट सधैं मोहक सुरभि बग्नेछ भन्ने विश्वास मैले लिएको छु ।

• प्रा.डा.कुमारबहादुर जोशी (देवकोटाबारे प्रथम विद्यावारिधि)
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमा केन्द्रित सबैभन्दा पछिल्लो ऐतिहासिक महत्वको ग्रन्थका रूपमा नरेन्द्रराज प्रसाईद्वारा लिखित देवकोटाको जीवनशैली देखा परेको छ । यसअघिका देवकोटाकेन्द्री जीवनी ग्रन्थहरूभन्दा प्रसाईको यो ग्रन्थ विविध दृष्टिले व्यापक एवम् अग्रगामी ठहर्छ । यतिन्जेलसम्म अन्यत्र नपाइने देवकोटाका कृतिविवरण र उनीबारेका नवनव प्रसङ्ग, सूचना र जानकारीहरू सोधखोज गरी स्रोत उल्लेखसहित समावेश गरिएको यो कृति वस्तुतः देवकोटाकेन्द्री नवीनतम, अनुपम जीवनीग्रन्थ बन्न पुगेको छ ।

• डा.मोदनाथ प्रश्रित (देवकोटा साहित्यका विशिष्ट विशेषज्ञ)
महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे धेरैले कलम चलाए; तर यस विषयमा नरेन्द्रराज प्रसाईबाट व्यापक र सूक्ष्मतम अन्वेषण भएको छ । देवकोटाबारे अहिलेसम्म प्रायः कसैले थाहा नपाएका र गलत ढङ्गले प्रचार गरिएका विषयमा समेत केन्द्रित भएर गहिरो खोज र प्रमाणीकरणसहित देवकोटाको जीवनशैली प्रस्तुत भएको छ ।

• प्रा.डा.वासुदेव त्रिपाठी (महासमालोचक)
कुनै पनि लेखकको आफ्नो मूल धन भनेको आफ्नै भावमण्डल (र विचारपरिमण्डल) का साथै आफ्नै शैलीगत अन्तर्विकास हुँदै रहनु हो । नरेन्द्रराज प्रसाईका समष्टि वैशिष्ट्यमध्ये दृढ राष्ट्रवादी विचारधाराका साथै रोचक र खिरिलो भाषाशैलीगत र उक्तिगत प्राञ्जलता पनि उनका लेखकीय मूल धनका अंशका रूपमा रहने गर्छन् । देवकोटाको जीवनशैली प्रसाईको विशेष मिहिनेत र सूक्ष्म दृष्टि प्रधानपूर्ण रहेको पाइन्छ भने शैली र प्रस्तुतिका दृष्टिले पनि यहाँ नरेन्द्रीय मीठो प्राञ्जल शैलीको मिठासमहक आद्योपान्त महकिएको पाइन्छ ।

• श्यामदास वैष्णव (देवकोटाका गणेश र छाया)
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यजगत्का विभूति हुनुहुन्छ । देवकोटाबारे औपचारिकता दर्शाउनुबाहेक अहिलेसम्म जागृतिपूर्ण कार्य हुन सकेको थिएन । ज्यूँदोजाग्दो सङ्कल्प नगरी साहित्यक्षेत्रमा लहर उत्पन्न हुने देखिँदैन । नरेन्द्रराज प्रसाईले महाकवि देवकोटाबारे उत्सुकता जगाउँदै आन्दोलन नै गरेजस्तो अनुभूति गरेको छु मैले ।

नरेन्द्रराज प्रसाईद्वारा लेखिएको देवकोटाको जीवनशैलीनामक कृतिले देवकोटालाई पुनर्जीवित झैं गरी चेतानाको लहर फैलाएको छ । यस ग्रन्थले देवकोटालाई घामछायाबीच ज्यूँताएको देखिन आउँछ, जसलाई ‘देवकोटा रहस्यम्’ भन्न पनि सकिन्छ । प्रसाईले महाकवि देवकोटालाई अक्षरअक्षरमा ब्यूँझाइराख्नुभएको उदाहरण यस ग्रन्थबाट स्पष्ट हुनेछ । स्रष्टाको महत्व बुझ्नेले सर्वसाधारणलाई समेत जगाउन सक्छ । अन्यथा कविशिरोमणि लेखनाथ पौड्यालको शब्दमा ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि’ हुन जाने हुन्छ । यसैले जनस्तरमा महाकवि देवकोटाको विशेषता दर्शाउनमा यस कृतिले महत्वपूर्ण कार्य गरेको मान्नुपर्छ ।

• हरि श्रेष्ठ (देवकोटा साहित्यका मर्मज्ञ तथा देवकोटाका प्रिय पात्र)
महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे मैले तीनवटा कृति लेखें । देवकोटाका विषयमा लेख्नुपर्ने धेरै कुरा थिए, तर ती कुरा लेख्न मेरो हिम्मत र तपस्या पुगेको थिएन । नरेन्द्रराज प्रसाईले महाकवि देवकोटाका प्रायःजसो सबै कथा लेखेर देवकोटाको एउटा धर्ती नै बोकेजस्तो लाग्यो मलाई । प्रसाईको देवकोटाको जीवनशैली मैले जति पढें ती शब्दहरूमा देवकोटाबारे मेरो मनको अन्तरकुन्तर बोलिरहेको मैले पाएँ । यति धारिलो र प्रस्ट रूपमा यस ग्रन्थलाई देख्ता महाकवि देवकोटाका जीवनकालमा देवकोटासँगसँगै हिंडिरहेको अनुभूति मलाई भएको छ । प्रसाईको यो ग्रन्थ साहसको एउटा पराकाष्ठा पनि हो । त्यसैले यो कृति नेपाली भाषासाहित्यको एउटा अविस्मरणीय ग्रन्थका रूपमा स्थापित हुनेछ भन्ने मलाई लागेको छ ।

•••
नरेन्द्रराज प्रसाई: मेरो जीवनीलेखनको यात्रामा मलाई अत्यधिक आत्मसन्तुष्टि दिने कृतिको नाउँ हो ‘देवकोटाको जीवनशैली’ । वास्तवमा यो कृति मैले अशान्त मनमा पौडिएर लेखेँ, मनमा विरहका इन्द्रेणी सिउरिएर लेखें र मनभित्र एकपछि अर्को गरी क्रमशः पलाएका रोदनका बिम्बहरूसँग मितेरी लगाएर पनि लेखेँ । त्यसैले यस कृतिमा आबद्ध प्रायः हरेक बुँदामा मेरा आँसु लिपिएका छन् । साँच्चै हो, यस कृतिको आविष्कारका क्रममा मलाई प्रसववेदनाले मर्मान्त पार्यो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आधा सय वर्षको जीवनको सेरोफेरोले मलाई आक्रान्त, दुःखी र मर्माहत बनायो । ‘देवकोटाको जीवनशैली’को निर्माणपछि पनि मेरो हृदयमा एउटा कुराको पछुतोले भने ठाउँ ओगटिरहेको छ । त्यो के हो भने मैले पनि कवि, कवि र कवि अर्थात् महाकवि देवकोटाकै जन्म पछ्याएर त्यही कालमा जन्मन सक्नुपर्थ्यो । अनि मैले महाकवि देवकोटाको साहचर्यमा यस कृतिलाई जनमाझ ल्याउनुपर्थ्यो । त्यसपछि मात्र नेपाली भाषासाहित्यमा जीवनीकृतिको पनि सग्लो मौलिकता भेटिन सक्थ्यो ।

देवकोटा शताब्दी महोत्सव (२०६६) : चित्रकलातर्फ सर्वोत्कृष्ट चित्रकार राजन काफ्लेद्वारा निर्मित चित्र)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.