ब्लग - साहित्य / हाम्रो लेख

गमलाकी पीपलको भूल




   नरेन्द्रराज प्रसाई - Aug 06 2018

गायत्री घर्तीमगरको ‘एक भूल’ औपन्यासिक पारामा लेखिएको छ । यस कृतिलाई निबन्ध भनेर पढे पनि हुन्छ र उपन्यास मानेर पढे पनि हुन्छ । तर जेजस्तो मनले पढे पनि यस कृतिलाई गायत्रीको मानस चीत्कार ठहर गर्न सकिन्छ । मान्छेको मनमा डँढेलो लागेपछि त्यसको नतिजा कसरी देखा पर्छ भन्नेको गतिलो प्रमाणका रूपमा ‘एक भूल’ लाई अघि सार्न सकिन्छ ।



गायत्री घर्तीमगर समकालीन पुस्ताकी सुप्रसिद्ध स्रष्टाको नाउँ हो । नेपालको अति विकट र दुर्गम ठाउँ अर्थात् रोल्पाको लिवाङमा जन्मेकी घर्तीमगरले आफ्नो जीवनको पैँतालीसौँ वर्षमा फेरि अर्को चमत्कारी कृति लेखिन् ‘एक भूल’ (२०७५) ।

गायत्री घर्तीमगरका दुई कृति ‘जिन्दगी’ (गजलसङ्ग्रह : २०६२) र राप्तीका छालहरू (शास्त्रीय छन्दोबद्ध कवितासङ्ग्रह : २०७०) प्रकाशित भइसकेका छन् । उनका दुवै कृति आआफ्नै ठाउँमा उल्लेख्य छन् तापनि गजलसङ्ग्रह प्रकाशित गर्ने उनी पश्चिमाञ्चलकी प्रथम नारी हुन् भने भानुभक्तीय छन्दमा कविता लेख्ने नारीमा अग्रपङ्क्तिकी स्रष्टा हुन् । उनले जुनजुन विधामा आफ्ना रचना प्रकाशित गरिन् त्यहीत्यही विधामा वर्चस्वसमेत कायम गरेकी छिन् ।

गायत्री घर्तीमगर भानुभक्त आचार्यको दुई शतवार्षिकी समारोह समितिमा नेपाल सरकारबाट राप्ती अञ्चल प्रमुखमा मनोनीत भएकी थिइन् । साथै उनी विश्व नारी नेपाली साहित्य सम्मेलनका राप्ती अञ्चल अध्यक्ष पनि रहेकी छिन् । एकातिर उनी साहित्य सिर्जनामा प्रखर छिन् भने अर्कातिर साङ्गठनिक गतिविधिमा पनि उतिक्कै सक्रिय मानिन्छिन् ।

साहित्य सिर्जना र सङ्गठनका माध्यमबाट नेपाली भाषाको श्रीवृद्धिका लागि मन, वचन र कर्मले सेवा गरेबापत गायत्री घर्तीमगरले मिलन स्मृति पुरस्कार, नेपाल कला साधक सम्मान, डोमादेवी साहित्य पुरस्कार, प्रज्ञा सम्मान, त्रिमूर्ति पुरस्कार, विश्व नारी नेपाली साहित्य पदक, भानुभक्त काव्य पुरस्कार, भानुभक्त स्वर्ण पदक प्राप्त गरेकी छिन् । साथै उनले नृत्यकारितामा पनि प्रसिद्धि कमाएकी थिइन् र प्रतियोगितात्मक राष्ट्रिय लोकनृत्यमा प्रथम भएकी थिइन् ।

गायत्री घर्तीमगर प्रतिभासम्पन्न साहित्यकार हुन् । उनको लेखनशैली, लेखनप्रस्तुति र लेखनसीप उच्चस्तरीय मानिन्छ । उनको गाउँठाउँ, उनको परिवेश र उनको आकाश नाप्दा उनी जति उचाइकी हुनुपथ्र्यो त्यसभन्दा धेरै माथिको उचाइमा पुगिसकेकी छिन् । रोल्पा जिल्लामा जन्मेर, हुर्केर, पढेर, बढेर पनि आफ्नो लेखकीय शैलीका कारण उनी देशदेशान्तरमा परिचित भइसकेकी छिन् । एमएको शैक्षिक योग्यता हासिल गरेकी गायत्रीको उमेरले उनलाई युवा अवस्थाबाट प्रौढतातर्फ धकेल्दै गरे तापनि उनको कर्ममा मस्त युवाको जोस र जाँगर यथावत पाइन्छ । उच्चस्तरीय विश्वमानवीय चेतकी धनी गायत्री यथार्थको धरातलमा भने गाउँकै थिइन् र गाउँकै हुन् । यति हुँदाहुँदै पनि उनको कलम, उनको विचार र उनको दृष्टिकोण सहरका नाउँ चलेका अनेकौँ स्रष्टाहरूभन्दा माथिल्लो कोटिको पाइनु उनको अर्को विशेषता हो ।

रोल्पाली नवपुस्तामा शिक्षाको ज्योति फैलाउने उपक्रममा वर्षौदेखि समर्पित गायत्री घर्तीमगरमा विद्याकी देवी सरस्वतीको प्रसादको अधिकता रहेको सहजै देखिन्छ । शैक्षिक सेवाको पेसामा जीवनयापन गरेकी गायत्रीले आफ्नो अनन्य सखीका रूपमा साहित्य सिर्जनालाई रोजेको पाइन्छ ।

स्रष्टाका मानस तरङ्गको प्रदर्शनी गरिने माध्यम अक्षर हो । अक्षर भनेको नास नहुनका लागि हो । त्यसैले अक्षर भनेको ईश्वर, परमात्मा र ब्रह्म हो । यही तत्वमा गायत्री घर्तीमगरले आफ्नो हैसियत स्थापित गर्ने प्रयत्न गरिरहेकी छिन् । गद्य र पद्यमा बराबरी बग्ने गायत्रीको सिर्जनायात्रा सफलताको बाटोमा अग्रसर भइसकेको पाइन्छ । किनभने उनको सिर्जनामा बिहानीको सूर्योदयमा कर्कलाको पातमाथि टलक्कै टल्किने पानीको थोपाको मोहनीले झैं पाठकलाई मोहित पारेर लठ्याउने तŒव समाविष्ट छ ।

गायत्री घर्तीमगरले आफ्नो लेखनीको आफ्नै कित्ता स्थापना गरेकी छिन् । उनको भाषा, शैली र प्रस्तुति आफ्नै पाराको छ । थोरै लेखेर पनि उनले गायत्रीय शैलीको परिचय दिइसकेकी छिन् । उनको लेखनीको सीप हेर्दा उनी नेपालको दुर्गम ठाउँकी लाग्दिनन् । तर उनी गमलामा रोपिएकी पीपल भने भएकी नै छिन् । किनभने आज गायत्री साँगुरिएर, चाउरिएर र चेपिएर पनि डाँडापारिदेखि डाँडावारिसम्म नै आफ्नो सिर्जनालाई बराबरी पारिरहेकी छिन् । यदि त्यस पीपलले उदाङ्गो भूमिमा रोपिन पाउँथ्यो भने झाङ्गिएर पक्कै विराट् वृक्ष पनि हुने थियो । जे भए पनि गायत्री एउटी यस्ती स्रष्टा हुन् जो जेमा देखिए तापनि साहित्य, साहित्य र साहित्यमा नै समर्पित छिन् ।

गायत्री घर्तीमगर १३ वर्षकी किशोरी हुँदा ३० वर्षको युवकको मायाको जालमा जेलिन पुग्दा ‘एक भूल’ जस्तो अमर कृतिको जन्म भएको छ । ‘एक भूल’ गायत्रीको जीवनको त्यही भूलकै आविष्कार हो । यदि उनले त्यति ठूलो भूल नगरेकी भए यति राम्रो कृतिको जन्म पनि हुँदैनथ्यो । त्यस मायालाई नक्कली मयूरको अनुभूत गरे तापनि उनले त्यही मायामा ठेस लागेपछि ‘एक भूल’ लेखिन् । त्यसैले आवरणीय उक्त प्रेम पनि एउटा उपलब्धिमा रूपान्तरित भएको छ । त्यस बेला उनको प्रेममा हरियाली छाएको भए उनको भौतिक देह पक्कै पनि रमाउने थियो होला तर नेपाली भाषासाहित्यमा उनीबाट यस्तो कृतिको लेखन हुन सक्तैन पनि थियो होला । त्यसैले उनको अपेक्षाअनुरूप उनले नपाएको त्यो माया, प्रेम र समर्पण पनि अन्ततः नेपाली साहित्यका लागि चाहिँ सुखद् प्राप्तिमा अनुवाद भएको छ ।

गायत्री घर्तीमगरको ‘एक भूल’लाई साहित्यिक मूल्यमा जति महत्व दिन सकिन्छ त्यसैको हाराहारीमा यस कृतिमा समाजशास्त्रीय विशेषता पनि रहेको छ । गायत्रीको ‘एक भूल’ले घर, परिवार र समाजमा एउटा ठूलो उपदेशसमेत दिएको छ । एकातिर एउटी केटीले सौतामाथि बिहे गर्नुको भूलले उसले जीवनभरि पछुताउनु पर्छ भन्ने मान्यता यस कृतिले पस्केको छ । साथै अर्कातिर पुरुषको स्वार्थपरक प्रेमको पटाक्षेप पनि गराएको छ ।

हुन त परापूर्व कालदेखि नै पुरुष भँवरोका रूपमा लाक्षणिक रूपले परिभाषित छ । एउटा पुरुष एउटै नारीको मायाको सागरमा मात्र चिरकालसम्म तृप्त नहुने सत्यसँग पनि कसैको दुईमत हुन सक्दैन । विवाहित पुरुष नै भँवरोको स्वरूपमा युवती वा नारीको रसमा लालायित भएर भुनभुनाउनु कुनै अनौठो कुरा होइन । यस्तो बखतमा कसैको लोग्ने भइसकेको व्यक्ति हरेक युक्ति अपनाएर आफूले रोजेकी युवती वा नारीसँग लहसिन सक्छ । कुनै पनि युवती या नारीलाई नजिक ल्याउनुपर्दा त्यस्ता पुरुषहरूले ती नवयुवतीसमक्ष घरकी पत्नीको नाङ्गो विरोध गरेरै भए पनि आफूलाई प्रस्तुत गरेका हुन्छन् । त्यस केटी या नारीलाई आफ्नो कब्जामा ल्याइसकेपछि ती पुरुषले आफूमा आक्रान्त तृष्णाको प्यास बुझाउँछन् । यसरी आफ्नो क्षणिक स्वार्थपूर्तिपछि ती पुरुषको स्वप्न भङ्ग हुन्छ । यस्ता अधिकांश पुरुषहरू नव व्यवस्थापनको झन्झटमा लाग्नुको साटो आफ्नो पूर्वव्यवस्थित गृहस्थीको मोहमा क्रमशः फर्कन आतुर हुन्छन् । फलस्वरूप नवपत्नीको तुलनामा त्यस्ता पुरुष आफ्नै प्रथम श्रीमतीतिर पुग्छन् । यस्तो अवस्थामा प्रेमिका वा विवाहिता कान्छी श्रीमतीहरू अलपत्र परेका घटनाहरू पनि हाम्रो समाजमा छताछुल्लै देखिन्छन् । गायत्रीको ‘एक भूल’ ले यस्तै किसिमको सरल नेपाली पाठ पढाएको छ ।

‘एक भूल’मा पत्नीप्रति पतिको घातको परिस्थिति साह्रै जटिल देखिन्छ । यस्ता बेहोराले समाजमा द्वन्द्वको स्थिति आउनु पनि अस्वाभाविक हुँदैन । जसका कारणले पनि पारिवारिक वा सामाजिक हिंसा वृद्धिका घटनाहरू हामी बेलाबखतमा सुन्छौँ, देख्छौँ र पढ्छौँ । त्यसैले नारी वा किशोरीहरूले कुनै पनि पुरुषले फकाउनेबित्तिकै उसका सबै कुरा पत्याउनु हुँदैन भन्ने व्यवाहारिक ज्ञान ‘एक भूल’ले दिएको छ । यदि ती युवतीले त्यस्ता पुरुषहरूका कुरा पत्याएर प्रेम गर्न थाले र बिहेसमेत गरे भने उनीहरूको हालत गायत्री घर्तीमगरको जस्तै हुन्छ भन्ने सत्यतथ्य यस कृतिले बोलेको छ । साथै एउटी केटीलाई झुक्याएर बिहे गर्ने पुरुषको मान, मर्दन र हैसियत भुइँमा कसरी बजारिन पुग्छ भन्ने कुराको अर्को शिक्षा ‘एक भूल’ले दिएको छ । जसले गर्दा पनि गायत्रीको ‘एक भूल’ सफल कृतिका रूपमा प्रस्तुत भएको छ ।

यहाँनेरि साहित्यकार हुनु र सामान्य मानव हुनुको अन्तर पनि प्रस्ट देखिन्छ । गायत्री घर्तीमगर साहित्यकार हुनुको अर्थले उनीभित्र उम्लिएको वेदना, विरह, घृणा, छटपटी, अप्राप्ति आदि विकारहरू पनि समष्टिगत रूपमा ‘एक भूल’मार्फत निष्कासित भएको छ । गायत्रीका झैँ परिस्थितिमा अन्य साहित्यकारइतर व्यक्तिले ती विकारहरूको प्रस्तुति जुन रूपले गर्छन् तिनले समाज वा परिवारमा हिंसाको स्वरूप लिएको हुन्छ । तर गायत्रीको जीवनमा परेको चोटले एउटा कृतिको आविष्कार गरिदिएको छ ।

गायत्री घर्तीमगरको ‘एक भूल’ उनकै आत्मकथा हो । यो आत्मकथा पनि एउटा केटा र एउटी केटी अथवा प्रेमीप्रेमिका या लोग्नेस्वास्नीभित्रको एउटा सशक्त कथा हो । एकालाप शैलीमा लेखिएको यस कृतिमा ‘म’ पात्र र ‘सर्वनाम’ पात्रहरू मात्र हुनु पनि यसको अर्को विशेष पहिचान हो । गायत्रीले आफ्नो मनको अथाह पीडा ‘सर्वनाम’मा खन्याएर उनी विरेचित हुनु यस कृतिमा लेखिकाको थप उल्लेखय विशेषता बनेको छ । तर यस कृतिलाई गायत्रीले जति माया दिनुपथ्र्यो त्यति माया दिएको चाहिँ देख्रिँदैन । उनी यस कृतिमा पसेर कतै आफ्नो अस्मितालाई बढाउँदै गएकी पाइन्छिन् भने घरीघरी आफ्नो प्रेमी या पतिप्रति वितृष्णा र घृणा छर्दै गरेकी पाइन्छिन् । फेरि कतै उनै प्रेमीप्रति आशाका किरणहरू पनि छरिरहेकी पाइन्छिन् । कतै उनले आफ्नो लेखनीलाई सरलीकृत व्याख्या गरेकी छिन भने कतै फट्का हानेर कथावस्तुलाई नै छिन्नभिन्न पार्न पनि उनी उद्धत भएको पाइन्छ । समग्रमा भन्नुपर्दा चाहिँ ‘एक भूल’ पठनीय छ । यो कृति पठनीय मात्र होइन मननीय र शिक्षाप्रदसमेत छ । तर गायत्रीले यसलाई अझै मलजल गरेकी भए यस कृतिलाई खोटरहित पार्न सकिन्थ्यो । अथवा भनौं उनले अझै खिप लगाएकी भए ‘एक भूल’ नम्बरी छापावाल सुन पनि हुन सक्ने थियो ।

गायत्री घर्तीमगरको ‘एक भूल’ औपन्यासिक पारामा लेखिएको छ । यस कृतिलाई निबन्ध भनेर पढे पनि हुन्छ र उपन्यास मानेर पढे पनि हुन्छ । तर जेजस्तो मनले पढे पनि यस कृतिलाई गायत्रीको मानस चीत्कार ठहर गर्न सकिन्छ । मान्छेको मनमा डँढेलो लागेपछि त्यसको नतिजा कसरी देखा पर्छ भन्नेको गतिलो प्रमाणका रूपमा ‘एक भूल’ लाई अघि सार्न सकिन्छ ।

एउटा मान्छेको आशामा झुन्डिएर बितेको ३२ वर्षको पीडा गायत्री घर्तीमगरले ‘एक भूल’मा पोखेकी छिन् । वास्तवमा मानवजीवनमा गायत्रीले झैँ पीडा नै पीडा कसैले प्रायः भोगेको पनि त्यति सारो हुँदैन । तर उनीप्रति यति गौरव लाग्छ, उनले आफ्नो जीवनलाई अकालमा नै समाप्त पारिनन् । उनी घर, परिवार र समाजसँग जुधिन् । पीडामा नै होमिएर उनले पौरख गरिन् । परिवारका सबै जना सदस्यलाई पनि उनैले उकासिन् । अर्काका लागि उनले आँसुको पोखरीमा आफूलाई डुबाइरहिन् । त्यसपछि उनले प्राप्त गरेको फल हो ‘एक भूल’ ।

किशोरी अवस्थामै प्रेमीको छलको सिकार भएकी गायत्री घर्तीमगरको हृदय प्रेमी वा पतिको बेवास्ताले वेदनामय भएको थियो । त्यसरी भत्रभित्रै पीडाको पोखरीमा डुबेर मरणान्त बनेकी गायत्री तिनै निर्दयी पतिकी पत्नी नै रहेर पत्नीकै दायित्व निर्वाहमा कटिबद्ध भएकी देखिइन् । पतिपत्नीबीचका ससाना अनमेलमै चटाचुन्न पारिने दाम्पत्यको दारुण अवस्था भएको अहिलेको समाजमा परिवारको सुदृढताका लागि गायत्री ‘एक भूल’मा स्त्री सहनशीलताको गतिलो नमुना बनेकी छिन् । गायत्री नारीको महानताको असली स्वरूपमा कुँदिएकी पाइन्छिन् । अझ यस प्रकारका आदर्श विचारक नारीको खडेरी परेको वर्तमान समाजका लागि गायत्री एकादेशकी नारीपात्र लाग्छिन् । चेतनाले भरिएकी नारी भएर पनि अन्यायको विरुद्धमा जुलुस वा नारामा नलागेर अँध्यारोमा चुपचाप आँसु बगाउँदै कर्तव्य, कर्तव्य र कर्तव्यमा डटेकी गायत्रीको भूमिका अत्यन्तै प्रेरक, अनुकरणीय र स्तुत्य देखिन्छ । त्यसैले पनि उनले अँधेरी रातमा जति कष्टका साथ पाइला चालिन्, आज जुनेली रात भएर ‘एक भूल’ नाचिरहेको छ ।

‘एक भूल’ पढेपछि कुनै लेखकले यदि भूलै गर्छ भने गायत्रीको जस्तै भूल गरे पनि हुन्छ भन्न पनि मन लाग्छ । जुन भूलहरूले जीवन जीवन्तर रहने एउटा चिनो छाड्न सकोस् । मानवको अस्थायी चोलालाई स्थायी बनाउने नै यही अक्षर हो । यिनै अक्षरको चाङ लागेर ‘एक भूल’ शिखर भएर ठडिएको छ । साथै पश्चात्तापको समेत रापमा अजर र अमर भएर यो कृति स्थापित भएको छ ।

‘एक भूल’ लेखिन्थ्यो अनि प्रकाशित नहुन पनि सक्थ्यो । किनभने नारी लेखकका लागि आफ्नो परिवारसँग सामञ्जस्य नहुने कुरा प्रकाशित गर्न सहज पनि छैन । पति, घर र परिवारप्रति नकारात्मक शैलीका रचना प्रकाशित गर्ने नारी साहित्यकारले घरबाटै विमुख हुनुपर्ने परिस्थिति पनि आउन सक्छ । अथवा भनौं कृतिकारले घर या कृति दुईमध्ये एक मात्र रोज्नुपर्ने अवस्था पनि आउन सक्छ । तर यहाँनेरि ‘एक भूल’ प्रकाशनका लागि सहज स्वीकृति दिने गायत्री घर्तीमगरद्वारा ‘भूल’ ठहर गरिएका उनका पतिप्रति नेपाली साहित्यसंसार कृतज्ञ हुनुपर्ने देखिन्छ । किनभने ‘एक भूल’ भित्रै समाप्त प्रायः भएका अनायक अस्तित्वधारी पतिले ‘एक भूल’की कृतिकारलाई आफ्नो कृति जनमाझ पुर्‍याउन सहज भूमिका निर्वाह गरिदिए । अथवा भनौं गायत्रीका पति महोदयले नेपाली साहित्यसंसारमा आफ्नी पत्नीलाई बचाउने स्तुत्य कार्य गरेका छन् । यस अर्थमा ‘भूल’ गर्ने गायत्री घर्तीमगर भूलैका कारण भाग्यमानी साहित्यकार भएको पनि मलाई ठहर गर्न मन लागेको छ । अनि गायत्रीले गरेको ‘भूल’ नेपाली साहित्यका पाठकहरूमाझ ‘मीठो भूल’ भएको कुरा पनि मलाई उद्घोष गर्न मन लागेको छ ।

गायत्री घर्तीमगर ‘गमलामा रोपिएकी पीपल’ हुन् भनेर मैले केही वर्षअघिदेखि नै लेख्तै आएको थिएँ । भनौं मैले उनका लागि रोल्पा जिल्ला सानो ठाउँ भएको छ भन्दै आएको हुँ । तर उनको प्रतिभा, इमानदारिता र लगनशीलताका कारण पीपलको जराले गमला फुटाएरै भए पनि आफ्नो फैलावट रोक्न सकेन । अब पीपलले गमला फोरिसकेको छ र जमिनमा आफ्नो जरा गाडिसकेको छ । अर्थात् उनले लेखनमा आफ्नो पखेटा फिजाइसकेकी छिन् । उदाहरणका लागि भन्ने हो भने यस कृतिको अन्र्तकथावस्तु, लेखनशैली र लेखन हिम्मतले नै गायत्रीभित्र प्रतिभाको ज्वारभाटा दन्केको पाइएको छ । प्रतिभाकी एउटी सशक्त मुहान गायत्रीको विस्तारित ढाँचा क्रमशः थप झाङ्गिदो छ । ‘एक भूल’ पढेपछि गायत्रीको लेखनको विकसित स्वरूपद्वारा नेपाली साहित्यभण्डारमा विशेष कृतिहरू भित्रिँदै जानेछन् भन्ने मैले बलियो अडकल काटिसकेको छु ।

---
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.02
  • 117.62
  • European euro
  • 135.5
  • 136.19
  • UK pound sterling
  • 154.58
  • 155.37
  • Swiss franc
  • 118.08
  • 118.69
  • Australian dollar
  • 83.44
  • 83.86
  • Canadian dollar
  • 89.95
  • 90.41
  • Singapore dollar
  • 84.98
  • 85.41
  • Japanese yen (10)
  • 10.42
  • 10.47
  • Chinese renminbi (Yuan)
  • 16.92
  • 17.01
  • Saudi Arabian riyal
  • 31.2
  • 31.36
  • Qatari riyal
  • 32.14
  • 32.3
  • Thai baht
  • 3.58
  • 3.59
  • UAE Dirham
  • 31.86
  • 32.02
  • Malaysian ringgit
  • 28.17
  • 28.31
  • Korean Won (100)
  • 10.34
  • 10.4
  • Swedish Krone
  • 13.07
  • 13.14
  • Danish Krone
  • 18.16
  • 18.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम