यात्रा संस्मरण: क्यूवा ; हरियो नीलो समुद्र सम्मको स्वर्गिय यात्रा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

यात्रा संस्मरण: क्यूवा ; हरियो नीलो समुद्र सम्मको स्वर्गिय यात्रा




   Mukti Gautam - May 29 2018

“जीवन अत्यन्त छोटो छ । म परिवारको लागि यसो उसो गर्छु भनेर योजना न बनाउ, बरु छिटै गरी हाल । हैनभने एक दिन म जस्तै ९० वर्षको बूढो भएपछि महशुष गर्नेछौ र त्यतिबेला ढिलो भइसकेको हुनेछ ।” – टोरण्टोमा एकजना मेरा छिमेकी रसियन वृद्धले यसो भनिरहँदा मलाई एकदम घत लागेको थियो । हामीलाई थाहा भएका कतिपय कुराहरू पनि कुनै भुक्तभोगीको मुखबाट नसुनुञ्जेल हैन हैनजस्तो लागि रहन्छ तर सुनेपछि यती धेरै विश्वास लाग्छ की भुल्नै मन लाग्दैन ।

मैले बेलुका बूढीलाई त्यही कुरा सुनाएँ । दुबै जनाले बितेको समयको केही हिसाब ग-यौं । एक अर्काको अनुहारमा हेरेर फिस्स हाँस्यौं । योजनामै बितेको समय प्रतिको ब्यंग्य थियो त्यो अनायास फुत्किएको हाँसो सायद !

अहिलेका नयाँ पुस्ता घुम्ने, रमाइलो गर्ने, रहर पुरा गरिहाल्ने खालका छन् । पढेर, देखेर या सुनेर अथवा चाहेको गर्न सहज भएर होला अलि रसिक छ नयाँ पुस्ता । हाम्रो पुस्ता अलि फरक संस्कृतिमा हुर्किएर हो की चाम्रै त नभनौ तर बढि मितब्ययी जस्तो लाग्छ । त्यसैले घुम्ने, रेष्टुरेन्ट जाने अथवा मन परेको कुरा आजै किनी हाल्ने स्वभाव हामीहरूमा त्यति धेरै देख्दिन म ।

छोरीहरूसङ्ग यस्ता कुराहरूमा सहजै विवाद भईहाल्छ हाम्रो । उनीहरू पाए घुम्ने र बाहिरै खाने, हामी पाए घरमै बस्ने र पैसा जोगाउँने । कहिले कही भने छोरीहरूको करले बाहिर जाँदा यति मजा आउँछ की फर्केर आएपछि भने बुढा बुढी छोरिहरुले नसुन्ने गरेर यो पैसा बचाउँने कुराको खुलेर बिरोध गर्छौं, आफ्नै धज्जी उडाउँछौं । यस पटक लामो विदेश बसाइ पछिको औपचारिक “भ्याकेसन” मा गइयो क्यूवा । उत्तरी क्यारेवियन सागरको बीचमा रहेको सानो र सुन्दर क्यारेबियन राष्ट्र क्यूवा घुमेर आएपछि अहिले फेरी छोरिहरुले नसुन्ने गरेर खासखुस भयो बूढाबूढीको ।

विदेश बसेको लगभग १८ वर्ष लाग्यो । घुम्दै नघुमेको त हैन, थुप्रै देश, सुन्दर ठाउँहरू घुम्ने अवसर आयो । कहिले घुम्ने नाउँमा साथीहरू भएको शहर खोज्दै जाने, कहिले के कहिले के मिलाएर जाने । तर यस पटक भने अगाडी नै टिकट लिएर, कोही नचिनेको, केही थाहा नभएको नितान्त फरक परिवेशमा औपचारिक पर्यटक, औपचारिक “भ्याकेसन” मा पहिलो पटक गइयो । त्यो पनि ठूली छोरी एक्लै स्कटल्याण्ड र जर्मनी घुम्न जाने भएपछि माइली छोरीको कर करले टिकट नलिई धरै पाईएन । जानू केही दिन अघि बुवा ससुराको बिरामीको खबर आयो, फेरि केही पछि मृत्युको । झण्डै नजाने भइसकेको यात्रा फेरि गर्ने सल्लाह भयो सबै जनाको, क्यानडाको सुन खानीको सहर टिमिन्सबाट ईयर क्यानडाको फ्लाईटबाट शुरु भयो फेब्रुअरी १६, २०१८ को क्यूवाको यात्रा ।

सानो छोरीलाई भने रोमाञ्चक भयो उडान । आफूलाई भने अलिकता हल्लिँदा पनि सातो जाने । म सानो छँदा रुकुमको चौरजहारी बाट काठमाडौंको यात्रा करिब १, सवा घण्टाको हुन्थ्यो । रमाइलो लाग्थ्यो प्लेन चढ्न, अहिले बुढेसकाल लागेर हो की डर लाग्ने भएछ । आमा छोरीलाई म डराएको देखेर राम्रै मनोरञ्जन भयो, दोहोरो मनोरञ्जन ।

टोरण्टोमा एक रात बिताएर अर्को दिन क्यूवाको सान्ता क्लाराका लागि उडियो । सान्ता क्लारा क्यूवाको क्रान्तिकारी इतिहास बोकेको प्रादेशिक राजधानी पनि हो । यस शहरलाई “चे को शहर” भनेर पनि चिनिन्छ, चे ग्वेभारा अर्जेन्टीनाका प्रख्यात कम्युनिष्ट क्रान्तिकारी थिए जो फिडेल क्यास्ट्रो सँगै क्यूवाली क्रान्तीमा सामेल भएका थिए ।

उडान समय साढे ३ घण्टा । स्न्याक्स बाहेक किन्नु पर्ने । उडानको थकान र डर मेट्न पनि आफूले बियर घुट्क्याउँन थालियो । यात्राको सबैभन्दा आकर्षक पक्ष मेरो लागी प्लेनको पेय नै हो । मन्द नशामा डर मात्रै भुलिने हैन, छुट्टै मजा बहन्छ मस्तिष्कमा । मन उड्न थाल्छ प्लेनसँगै बादल माँथिको निर्जन आकाशमा । न हिजो, न भोली- साँच्चै उड्दा पाईने यो रक्सीको मजा नहुँदो हो त मेरो लागी यात्राको मजा नै आधा घट्थ्यो होला ।

प्लेन बस्यो । केही कुराहरुले नेपाल सम्झाए । यो सम्झने कुरा पनि अचम्म लाग्छ मलाई । आफ्नो मन सँग जोडिएको चीज दुःखमा र सुखमा पनि सम्झिदो रहेछ । राम्रो देख्दा पनि सम्झिन्छ र खराब देख्दा पनि सम्झिन्छ । त्यसैले होला यात्रामा धेरै सम्झिनेमा देश या छुटेको परिवारको सदस्य नै हुन्छ । अहिले भने हामीसँग आउन नसकेकी जेठी छोरी र नेपाल नै फनफनि घुमिरहेको थियो दिमागमा ।

१० बजिसकेको थियो रातीको । भोक र थकानले होटेल खोजिरहेको थियो । अझै साढे एक देखी दुई घण्टाको हाम्रो होटेल रहेको टापुसम्मको बस यात्रा बाँकी नै थियो । तर बीचैमा अर्को समस्या आई लाग्यो, हाम्रो एउटा सुटकेस नै आएन । सुटकेस हराएको जानकारी गराएर हाम्रो यात्रा शुरु भयो सान्ता मारिया तर्फ ।

कायो सान्ता मारिया सत्रवटा सुविधा सम्पन्न रिसोर्ट (अल ईन्क्लुसिब रिसोर्ट) भएको १३ वर्ग कि. मि. क्षेत्रमा फैलिएको टापु हो । कोठाहरूको संख्या करिब १०००० रहेको छ । यसमा अरू कुनै बस्ती छैनन् र धेरै क्षेत्र अरू मानवीय विकास नगरि संरक्षित राखिएको छ । यहाँ समुद्री तटको न्यानो वातावरण र टापुका क्यारेबियन वनस्पतिहरू जस्तै पाल्म ट्री, नरिवल, फलफूलका बोटहरू र साना होचा वनस्पतिहरूले भरिएको हरियो अत्यन्त सुन्दर जङ्गलको मजा लिन विशेष गरि दक्षिण र उत्तर अमेरिकाबाट बर्षेनी थुप्रै पर्यटकहरू आउँने गरेका छन् ।  यो टापुमा आउँदाको अर्को आकर्षण समुद्रमै बनाएको मोटर चल्ने मार्ग पनि हो ।

अँध्यारो बाटो, झ्यालको सिसाबाट देखिने स- साना घरहरू र कता कता नेपालको तराई जस्तो लाग्ने बाहिरको मधुरो दृश्यले कौतुहलता थपिरहेको थियो । त्यो कौतुहलतालाई थकाईले जित्न थालिरहेको बेला आएको बियरको अफरले केही शक्ति थपिए जस्तो भयो । क्यूवान संगीतको मजा लिँदै थकाइ मेट्ने प्रयत्न गर्दा गर्दै रिसोर्टमा पुगेको पत्तै भएन ।

त्यहाँको यात्राको एउटा राम्रो पक्ष भनेको सबै चीज एउटै मूल्यमा समावेश गरिएको हुन्छ । खानेकुरो, बस्ने, पिउने, मनोरञ्जन सबै । त्यसैले खाने र पिउने विषयमा केही चिन्ता नलिएर सिर्फ मनोरञ्जन । समुद्र तटको बालुवामा हिँड्नु, छालहरूसङ्ग खेल्नु, होचा, घना झाडीहरू, नरिवलका रुखहरू हुँदै हिँड्नु हात समातेर । बालुवासँग खेल्नु, बच्चाहरू झैँ । चराका चिरबिर सङ्ग रम्नु, बिर्सनु सबै थोक र मस्त सँग प्रकृतिसँग खेल्नु – आहा !

समुद्र को छेउ, समुन्द्रितट । हरियो नीलो रङ्ग (Turquoise) समुद्रको, फोटो जस्तै सुन्दर ! आँखाको दूरीसम्म फैलिएको, क्षितिजको नीलो आकास सम्म । गहिरो, भावना झैँ । कुरा गर्न सके त कैयौँ रातहरू सहजै जाँदा हुन् यही किनारामा ! या सुन्न सके सागर कति रोमाञ्चक हुँदो हो यो तट ! हेरेरै मैले त यती धेरै खुशी सँगालेँ यो किनारामा यति छोटो समयमै ।

हाम्रो पाँच दिन इन्टरनेट र फोनबाट पुरै टाढा भयो । बरु छोडेको धूम्रपान क्यूवाको सिगार अघि टिक्नै सकेन, बुढी र छोरीहरू मेरो खुशीमा दङ्ग परे । मुखभरिको सिगार च्यापेर हिड्नुको मजा अर्कै ।

सुटकेस हराएपछि सधैँ उही कट्टु धुँदै सुकाउँदै गरेर लाउँदाको दुःख पनि बिर्सियो, हाम्रो २४ औं बिबाहोत्सब, माईली छोरीको २०औं जन्म दिन र एक हप्ता अघिको कान्छी छोरीको १०औं जन्मदिन सँगै मनायौं माईलीको जन्म दिनमा । सहृदयी क्यूवालीहरु र सुन्दर टापु बाँची रहने भो मनमा अनन्तसम्म । सामाजिक र आर्थिक पक्षमा भने आ आफ्नै तर्कहरू होलान् क्यूवाको विषयमा । मैले भने क्यूवाको सुन्दर पक्षमा चर्चा गरेँ, सुन्दर क्यूवा फेरी घुम्ने अवसर आओस् ! जय होस् !

मुक्ति गौतम
मार्च २०, २०१८
टिमिन्स, क्यानडा



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.