ब्लग - साहित्य / हाम्रो लेख

मेरी आमा र म




   नरेन्द्रराज प्रसाई - Apr 16 2018

मेरी पूज्य आमा !
तिमीले मलाई २०६८ सालको सरस्वती पूजामा छाडेर गयौ । तिमी बाँचुञ्जेल तिमीले नै मेरो ढाकछोप गर्यौ, मेरा हरेक आवश्यकता पुर्याउने प्रयास गर्यो र तिम्रा अरू छोराछोरीभन्दा पनि मलाई नै धेरै माया गर्यौ । त्यतिमात्र होइन, तिमीले छाडेर जाँदा पनि सकेसम्म मलाई जिताएर नै गयौ ।

मेरी आमा !
हरदिन तिम्रो तस्विरमा शिर नराखी र तिम्रा लागि पीपलमा जल नचढाई आजसम्म मैले अन्न खाएको पनि छैन ।

आमा !
तिम्रो कोठा उही छ; ओछ्यान पनि त्यस्तै छ । तिमी हुँदा तिम्रो कोठाको साजसज्जा जस्तो थियो अहिले पनि त्यस्तै नै छ । त्यो कोठा अहिले केही थोरै फरक त देखिन्छ नै ! अथवा भनौं त्यसको दक्षिणतिरको भित्तामा निक्कै ठूलो आकारमा तिम्रो तस्विर टाँगिएको छ । त्यसैले हरदम मैले तिमीलाई हेरिरहन पनि पाएको छु । अनि घर बाहिर जानु परे पनि तिम्रो त्यही बडेमाको तस्विरको दर्शन गरेर मात्र म निस्कने गर्छु । साथै हर रात मेरी आमाको तस्विरमा शिर राखेर मात्र म मेरो शयनकक्षमा प्रवेश हुने गर्छु ।

त्यसैले मेरा लागि हरेक दिन मातातीर्थ मेरै मन, वचन र कर्ममा आबद्ध छ; मेरी आमा !

मेरी आमाको जीवनी
मेरा बुबा आमाको जन्म र पेट विवाह:
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम ईवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भएको थियो ।

एउटै प्रकृतिको काम भएकाले प्रसाई र उप्रेतीहरुवीच घनिष्ठता पनि बढ्दै गयो । उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए । त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो पनि गरे । यथासमय उप्रेतीका घरमा छोरी र प्रसाईका घरमा छोरा जन्मे ।

मेरी आमा भागीरथाको जन्म १९७६ साल जेठ ८ गते बुधवार आठराई ईवामा भएको थियो । मेरी आमा जन्मेको डेड महिनाअघि नै मेरा बुबा जयप्रसाद प्रसाईको जन्म भैसकेको थियो । अथवा १९७५ साल चैत २९ गते आठराई हाङपाङमा मेरा बुबाको जन्म भएको थियो । पूर्ववचन पालना गर्दै सात वर्षका जयप्रसाद प्रसाई र भागीरथा उप्रेतीको लगनगाँठो कसिएको थियो ।

मेरा बाजे नरध्वजको कथा:
मेरा बाजे नरध्वज प्रसाई त्यस भेककै कहलिएका धनी थिए । त्यस युगमा कागजी पैसा थिएन, धातु मुद्राको चलन थियो । अनि हाम्रो घरमा पैसा हातले गन्ने चलन थिएन । धातुका पैसा एक पल्ट गनेर पाथीमा भरिन्थ्यो । अनि हरेक पल्ट पाथीले भरेर हिसाब राख्दै ठूलाठूला घ्याम्पामा थन्काइन्थ्यो । यसै प्रसङ्गमा मेरी आमा भन्थिन्- "त्यस बेला पैसा गन्दा म थाक्ने गर्थें ।"

नरध्वजका सन्तान:
नरध्वजका पाँच भाइ छोरामध्ये जेठा खडानन्दलाई युधिष्ठिर, माइला मानबहादुरलाई भीम र मेरा बुबा जयप्रसादलाई अर्जुन भनिन्थ्यो । मानबहादुर भन्नु नरध्वजका कान्छी पत्नीका छोरा थिए । त्यसबखत यी तीनको मतो मिल्थ्यो । भनौं ती भाइमध्ये एउटाले बोलेपछि अरु दुई भाइले बूढीऔठा थिच्थे । अनि सानै उमेरमा ज्ञानको प्रखरता भएकाले मेरा बुबालाई जिजू पनि भनिन्थ्यो ।

जसरी तीन भाइ बुबाहरू (खडानन्द, मानबहादुर र जयप्रसाद) एउटै शक्ति भएर हिंड्थे त्यसै गरेर मेरा ठूला बुबा र काका वेनुप्रसाद अनि रूपनारायण दुई जना पनि एक अर्कामा खुबै मिल्थे ।

बुबाहरूको समाजसेवा:
हाम्रा बुवाआमा सामाजिक काममा नै धनखर्च गर्थे । उदाहरणका लागि भन्ने हो भने- काठमाडौंबाट घर फर्केपछि मेरा बुवाले मेरी आमालाई पशुपतिनाथको महिमा, गरिमा र महत्ताको बेलिबिस्तार लाए । अनि त्यसै वर्ष अर्थात् १९९५ साल कृष्ण अष्टमीमा हाम्रा बुवाआमाको जेठो छोरा विष्णुभक्त प्रसाईको जन्म भयो । अति खुसी भएर मेरा बुवाले मेरी आमालाई सोधे, 'तिमीले छोरो पाएको उपलक्ष्यमा म तिमीलाइ के उपहार दिउँ ?' मेरी आमाले पनि आफ्ना पतिसँग पशुपतिनाथ झैं सानो मन्दिर आफ्नै घरपरिसरमा थापिमागिन । मेरी आमाको इच्छालाई साकार पार्न युधिष्ठर, भीम र अर्जुन लागिपरे । जसअनुरुप उनीहरुले हाङपाङमा चार ढोका भएको शिवालय बनाए । यतिमात्र होइन यी तीनै भाइ मिलेर हाङपाङको मेलेमा च्यादरपाटी र तीनधारेहिटी पनि बनाए । अनि ठाउँठाउँमा मूलबाटो बनाउन पनि यी तीन भाइ नै अग्रसर हुन्थे ।

हामी पहिलो च्यादरघरे:
मेरा बुवाले १९९० सालअघि नै त्यस दुर्गम ठाउँमा आफ्नो घरको छाना च्यादरले छाएका थिए । त्यसबेला जस्ताको छानोलाई च्यादर भनिन्थ्यो । त्यतिबेला त्यतातिर च्यादरघरे भनेपछि हामीलाई नै चिनिन्थ्यो । हाम्रा घरमा च्यादर लगाएपछि दिलबहादुर विष्टहरूले पनि आफ्ना फुसका घरको लाछीमा च्यादर जोड्न थाले । त्यसपछि त्यो ठाउँलाई च्यादर गाउँ भन्न थालियो ।

मेरी आमाको सेवा:
धनीमानी, समाजसेवी र दानीका कारण गाँउमा मेरी आमाको निकै ठूलो इज्जत थियो। तर उनीमा धनको कहिल्यै अभिमान आएन । उनीभित्र केवल सेवाभाव नै ओतप्रोत थियो ।

मेरी आमा निरक्षर थिइन् । तर उनी आफ्ना छोराछोरी लगायत गाँउका बालबच्चाको समेत शिक्षाका लागि मरिमेट्थिन् । त्यस ठाँउमा शिक्षाको ज्योति फैलाउने काम पनि मेरी आमाबाटै भयो । उनैले आफ्नै गोदाममा स्कूलको स्थापना गरिन् । त्यसबेला स्कुल पढ्ने परिपाटि नभएकाले स्कुल खोले पनि बालबालिका पढ्न आउन मान्दैनथे । त्यसैले मेरी आमाले धनीका छोरालाई मीठाई खुवाएर र गरीबका छोरालाई खानापिनाको समेत प्रबन्ध गरेर स्कुल आउन पल्काएकी थिइन् । मेरी आमाको स्कुलमा थुप्रै नन्दकुमार प्रसाईहरूले पढेका थिए । साथै पछि हाइस्कुल पढ्नेहरुका लागि पनि मेरी आमाले त्यहाँ निश्शुल्क छात्रावास बनाएकी थिइन् । जिजु हाउस नाउँको उक्त छात्रावास मेरी आमा कै घर थियो । त्यसैले उनका बारे तेजबहादुर प्रसाईले लेखे- 'हाम्री आमा भागीरथा प्रसाई निरक्षर भएर पनि चेतनाकी प्रखर नारी थिइन् । सङ्घर्षपूर्ण जीवन यापनका साथै उनमा भएको सामाजिक भावनाको प्रचुरता स्तुत्य छ ।'

युवा अवस्थामा मेरी आमाको स्वास्थ्य राम्रो थियो । आफ्ना शिशुलाई चुसाई सकेर बाँचेको दूध आमाको दूध नपुगेका गाँउका शिशुहरुलाई चुसाउन पनि उनी पुग्थिन् । साथै उनी धनीगरीव सबैलाई एउटै आँखाले हेर्थिन् । कसैलाई अन्याय परेको देखेपछि उनी न्याय दिलाउन पनि तम्सिन्थिन् । उनको हकी स्वभावका अघि अत्याचारीको सातो जान्थ्यो । उनको उपकारी व्यक्तित्वको परिचय पाएका मानिसले उनका अघि शिर निहुर्‍याउँथे ।

बुवा जोगी भएपछि आमाको हालत:
शिवालय वनेपछि हाम्रा घरमा प्रायः जोगीहरूकै बास हुन्थ्यो । अनि मेरो जन्म पूर्व मेरा बुवा पनि जोगी भएरै हिंडे । बुवाको मन फर्काउन मेरी आमालाई १२ वर्ष लागेको थियो । तर त्यसपछि मेरा बुवा क्रमशः क्रमशः सिथिल हुँदै गए । त्यतिन्जेलसम्ममा मेरी आमापटि्टबाट हामी पाँच छोरा र एउटी छोरी जन्मिसकेका थियौं । अन्ततः मेरा बुबा २०२० साल असार ४ गते स्वर्गीय भए । चौवालीस वर्षको उमेरमै मेरी आमा विधवा भइन् र उनले अर्थिककष्ट पनि खेप्न थालिन् । यसै प्रसङमा नन्दकुमार प्रसाईले लेखे 'त्यसपछि उहाँकै आफन्तले उहाँको सम्पत्तिमा गिद्दे दृष्टि लगाई आर्थिक धक्का पुर्‍याएका थिए । त्यस्तो अवस्थामा पनि साइँली आमाबाट सौता र सौतापटि्टका छोराछोरीहरूका साथै आफ्ना लालाबाला स्याहार्ने काम भयो ।' (नन्दकुमार प्रसाई भन्नु मेरी आमाकी सौताकी दिदीका छोरा अर्थात मेरा बुबाका साढुदाइका छोरा हुन्।)

त्यसबेलाको सामाजिक मान्यता अनुरुप मेरी आमालाई माइतबाट मैतालु पठाँउदा 'कि घर गरेर खानू, नसके तमोरमा हाम फालेर मर्नु' भनिएको थियो । त्यसैले आफ्ना पतिको निधनपछि उनी आर्थिक दृष्टिले तलतल र तल झर्दै जाँदा पनि सङ्घर्ष नै गरिरहिन् तर उनले माइती कहिल्यै गुहारिनन् । खनूपरुदे रामबाबू प्रसाईले लेखे अनुसार उनले 'सुनसरीको सुख्ख र पितलसरिको दुक्ख पाइन् ।' वास्तवमा उनी जीवनसँगको सम्झौताको पूर्ण निष्ठामा बाँधिएकी थिइन् ।

मेरी आमाकी सौता:
तत्कालीन सामाजिक कुरितिको प्रताढनाका कारण मेरी आमाले सौता पनि बेहोर्नु परेको चाहिं थियो । तर उनले सौता दीव्यरुपालाई आजीवन आफ्नी बहिनीतूल्य स्नेह दिइन् । मेरी सौतेनी आमाले पनि मेरी आमाको खुट्टा नढोगी अन्न खान्न थिइँन् ।

मेरी कान्छी आमाले हामी (सौताका छोराछोरी) उपर कहिले भेद गरिनन् । हामी पनि उनीसँग झुम्म पर्थ्यौं । मेरो चेतनामा बुबा आमाको खुट्टा ढोग्नु पर्छ भन्ने अनुभूत हुन थालेपछि म मेरी आमा र सानी आमाका पाउमा शिर राखेर मात्र मेरो दैनिकीतिर लाग्थें । मानौं उनी हाम्री सौतेनी आमा थिइनन् । वास्तवमा यो आत्मीयताको सूत्र नै मेरी आमा थिइन् ।

मेरी कान्छी आमापट्टिबाट तीन छोरी चन्द्रावती, रामकुमारी र गौरी अनि एउटा छोरा लक्ष्मी प्रसाई जन्मे ।

मेरी आमाको सीप:
मेरी आमा एकैछिन पनि फुर्सतमा बस्तिन थिइन् र हात बाँधेर बस्नेलाई पनि मन पराउँदिन थिइन् । उनी हरेक प्रकारका सीपले सजिएकी थिइन् । उनले समयसन्दर्भ अनुसार नजानेको र नगरेको कुनै काम पनि थिएन । साथै उनी आशुकवयित्री पनि थिइन् । मेरा बुवाले वाचन गरेका पुस्तकहरुका सैयौं श्लोक उनलाई कण्ठाग्र थिए । सुरिलो भाकामा उनी गीत पनि गाँउथिन् । उनी चार्डपर्वमा साथीसँगीसँग नाचगान गर्न पनि औधी मन पराउँथिन् । साथै उनीमा बरबगैंचाको निर्माण गर्ने सीप पनि थियो । चाहे ताप्लेजुडमा होस् र चाहे झापामा होस् उनले आफ्नो घरमा लोभलाग्दो बरबगैंचा बनाएकी थिइन् । उनको जिन्दगानीका सम्पूर्णपाटो एकएक केलाएर इन्दिरा प्रसाईले 'मेरी सासू' नाउँको ग्रन्थमा समेटिन् ।

मेरी आमाको दुर्घटना र मेरो जन्म:
मेरी आमा ३५ वर्षकी थिइँन्; घर लिप्ने रातोमाटो खन्न गएकी मेरी आमालाई त्यति बेला पहिरोले पुरेको थियो । कपाल बाटेको धागोको रातो फुर्कोका आधारमा वीरमान भुजेलहरू भएर विस्तारै खनेर उनलाई पहिरोबाट निकालिएको थियो । त्यसबेला उनका पेटमा सात महिनाको नानी थियो ।

मेरी आमालाई डोलीमा बोकेर घरमा ल्याइयो ।अनि दिलबहादुर विष्टहरू मौवाको रूख खोज्न जङ्गल पसे । मौवाको रूखको बोक्राले भाँच्चिएका हाड पनि जोडिन्थ्यो रे । अनि विष्ट दाइहरूले मौवाको बोक्रा खुर्केर घरमा ल्याएछन् । मौवाको बोक्रा कुटेर खड्कुलोमा दुई घन्टा उमालिन्थ्यो रे ! अनि त्यो बोक्राको छोक्रा सेलाएपछि मेरी आमाका शरीरभरि टाँसेर कपडाले बानिन्थ्यो रे !

दुईतीन घन्टा, दुईतीन घन्टामा आमाका शरीरभरिको बोक्रा अख्रक्क परेर सुक्थ्यो । अनि हरेक २/२ घन्टामा मेरी आमाको शरीरमा पानी राखेर चिस्याउनु पर्थ्यो रे !

पहिरोले पुरेको दुई महिनासम्म मेरी आमा जिउँदो लासझैं घरैमा लडिरहिन् । महिना पुगेपछि उनले स्वभाविक प्रसवपिडामा अर्ध बेहोसमै एउटा बालक जन्माइन् । ज्योतिषीले ती बालकको नाउँ नरेन्द्रराज प्रसाई राखे ।

मेरी आमाको शल्यक्रिया:
नइ प्रकाशनका संरक्षक मेरी आमा भागीरथा प्रसाई २०५६ सालदेखि काठमाडौंमा नै बसिन् । मेरी आमा नइ गृहमा बस्न थालेपछि आमाको प्राय: हर सुविधाका लागि हामी समर्पित थियौं । तर आमा क्रमश: अचेतन हुन थालिन् ।

ब्लडक्लटका कारणले रहेछ मेरी आमाको चेतनाको पूर्ण जीवन थिएन । भनौं उनी केही पनि चाल पाउँदिन थिइन् । कतिसम्म भने उनले मलाई समेत चिन्न गाह्रो मान्थिन् । आमाको अवस्था हेरेर रूनुको विकल्प मसँग केही थिएन । केही दिनपछि इन्दिराले भनिन्- "आमालाई मस्तिष्कको नसा सम्बन्धि केही भएको छ । म विजया (डा.वसन्त पन्तकी श्रीमती प्रा.डा.विजया पन्त) भाञ्जीसँग कुरा गर्छु ।" डा.पन्तकोमा पुग्ने क्रममा हामी डा.कपिलदेव उपाध्याय समक्ष पुग्यौं । त्यसपछि डा.वसन्त पन्त छेउ हामीले आमालाई पुर्यायौं । डा.पन्तले २०६२ साल जेठ २७ गते आमाको टाउकाको शल्यक्रिया गरेका थिए । त्यसपछि मेरी आमाको जीवन पूर्ण रूपमा पहिलाकै जस्तो सग्लै भयो ।

मोडेल अस्पतालमा मेरी आमाको सेवार्थ छोरा छोरी कञ्चनजङ्घा र अनुकृतिका अनि भाञ्जा अर्जुन सिटौला अहोरात्र जुटेका थिए । साथै मेरी साली कल्पना र भतिज माधव नेपालले पनि त्यस बेला फेरि पनि अर्को गुन लगाएका थिए । साथै प्रा.डा.भीष्मराज प्रसाई र प्रा.डा.रामप्रसाद उप्रेतीले पनि मेरी आमाको निग्रानी राखिरहे ।

मेरी आमा र मेरी पत्नी इन्दिरा:
मेरी पत्नी इन्दिराले मेरी आमाका हर इच्छा पूरा गरिदिन्थिन् । आमाको औषधी, खानापिना, लुगाफाटाका लागि इन्दिरा सधैं अग्रसर हुन्थिन् । आमालाई के मीठो लाग्छ र कुन लुगा मन पर्छ भन्ने कुरा मलाई थाहा हुँदैनथ्यो । आमाका लागि सबैसबै उनैबाट नै काम सम्पन्न हुन्थ्यो । आमा केही अस्वस्थ हुँदा पनि इन्दिराको पूर्ण समय आमाकै कोठामा वित्ने गर्थ्यो । अनि आमा अझ अस्वस्थ हुँदा उनी आमासँगै सुत्ने गर्थिन् । वास्तवमा उनी मेरी आमाकी करूणाकी देवी थिइन् । मेरा ठूल्दाइ र ठूली भाउजू अनि भरत दाइ र रूपा भाउजूले पनि यस विषयलाई समेत लिएर सधैं इन्दिराको वयान गर्थे । साथै मेरी आमाले घरीघरी भन्ने गर्थिन्- इन्दिरा मेरी बुहारी होइन, आमा हो ।"

मेरी आमालाई मधुमेय, उच्चरक्तचाप, दम र अल्जाइमरले सताएको थियो । अन्तत: उनी २०६८ सालको मङ्सिर २४ गतेदेखि शारीरिक रूपमा अशक्त नै भइन् । आमाको जीवनरक्षार्थ म र इन्दिरा धेरै समर्पित भयौं । तर हामी हार्न थालिसकेका थियौं ।

मेरी आमा घाम तापेर घरकै छतमा बस्थिन् । तर मङ्सिर २४ गते उनी हिंडेर तल कोठामा पुग्ने अवस्थामा थिइनन् । अनि आमाको भदा प्रा.डा.रामप्रसाद उप्रेतीले पिठ्युमा बोकेर आमालाई कोठासम्म ल्याए । त्यस दिनदेखि मेरी आमाले कहिले आकाश देख्न सकिनन् । अनि मेरी आमाकै सेरोफेरोमा केन्द्रित भएर डा.उप्रेतीले "अन्तिम आकाश" नामक निबन्ध सङ्ग्रह प्रकाशनमा ल्याए ।

मेरी आमा र मेरो छोरो कञ्चनजङ्घा:
मेरी आमाको मेरो छोरो कञ्चनजङ्घा अति भक्त थियो । हर साँझ ऊ आमाका खुट्टामा तेल लगाउन आमाको कोठामा जान्थ्यो । जीवनको अन्त्यमा मेरी आमाले पनि आफ्नो नाति कञ्चनजङ्घा खोजिरहिन् । आमालाई भेट्न जोजो पुगे पनि उनी अर्ध चेतनामा बोल्थिन्- "कञ्चनजङ्घा आयो ?" अर्को एक दिन ठूल्दाइको छोरा सन्देश नर्वेबाट कोसेली बोकेर आमालाई भेट्न आउँदा आमा बेहोसीमै बोलेकी थिइन्- "कञ्चनजङ्घा हो!"

कञ्चनजङ्घा अमेरिकामा भएपनि हरदिन आमासँग स्काइपमा बोल्थ्यो । आमा अर्ध चेतनामा हुँदा पनि उसले आमालाई हेर्ने गर्थ्यो । अन्तत: आमा स्वर्गीय भएको दिन पनि उसले स्काइपमा नै आमालाई हेर्यो ।

मेरी आमाको निर्वाण:
मेरी आमाले आजीवन भौतिक, शारीरिक र मानसिक सङ्घर्ष खेपिन् । मङ्सिर २४ गतेदेखि सिथिल, सिथिल र सिथिल हुँदै गइँन् । खास गरेर त्यस बेलादेखि हामी प्राय: एक जना चाहिं आमाकै छेउमा मात्र बस्ने गर्थ्यौं ।

आमालाई गाह्रो भएछ । इन्दिराले आमाका छाती सुम्सुम्याउन थालिन् । मेरी आमाका गालामा मैले म्वाईँ खाएँ । अनि आमाका दुबै गालामा मेरा दुबै हात राखें । अनि मैले भक्कानिएर इन्दिरालाई भनें "आमा जानु भयो ।" अन्तत: त्रियानब्बे वर्षको उमेरमा काठमाडौंको आफ्नै घरमा मेरी आमा ब्रम्हलिन भइन् ।

मेरी आमा सरस्वतीकै स्वरूप थिइँन् । त्यसैले जति सिथिल भए तापनि सरस्वती पूजाकै दिन कुरेर उनी बसिरहिन् । अनि त्यो पल आउने साथै उनी स्वर्गीय भइन् । त्यो मिति या समय थियो- २०६८ सालको श्रीपञ्चमीका दिन माघ १४ गते बिहान ठीक आठ बजे!

दाजुभाइको उपस्थिति:

झापामा एक महिनादेखि कुइरो लागेर हवाई जहाज बस्न सकेको थिएन । तर माघ १४ गते चाहिं झापामा घाम लागेछ । अनि मेरो ठुल्दाजु विष्णुभक्त प्रसाई र मेरी दिदी नीरा सिटौलाका साथमा कान्छो भाइ गङ्गाराज काठमाडौंमा आए ।

मेरी आमालाई ठूल्दाजुले दागवत्ती दिएपछि आमासँग मेरो भौतिक सम्बन्ध पनि आर्यघाटमा नै विश्रान्ति भएको थियो ।

ठूल्दाइ, भरत दाइ, म र कान्छाले नइ गृहमा नै बसेर आमाको १३ दिनसम्म क्रिया बार्यौं । हामीसँगै नीरा दिदी र रूपा भाउजू पनि साथै थिए ।

मेरी आमाको सुमी चौधरीसँग पूर्व जन्ममा के नाता थियो कुन्नि! उनले झन्नै १० वर्षसम्म आमाको अटुट सेवा गरिन् । अन्तत: उनले मेरी आमाको स्वर्गारोहणमा पाँच दिन चोखी भएर सम्पूर्ण कर्म गरिन् ।

कञ्चनजङ्घाबाट सम्पूर्ण खर्च:
मेरो छोरो डा. कञ्चनजङ्घा प्रसाई म‌ैले एक पैसा पनि पैत्रिक सम्पति नलिएकोमा गौरवीवोध गरिरहन्छ । उसले पनि कसैको लोभ र आश गरेको मलाई थाहा छै‌न । आमा स्वर्गीय हुनुभन्दा छ महिनाअघि नै ऊ अमेरिकाको सरकारको छात्रवृत्तिमा पिएचडी गर्न लुइजियना राज्य विश्वविद्यालयमा पुगिसकेको थियो । तर पनि उसले आफ्नो निष्ठा प्रकट गर्यो- "माता (मेरी आमालाई सबै बुहारी र नाति, नातिनाले माता भन्थे) को म पनि नाति हुँ । त्यसैले माता उपर मेरो पनि जम्वेवारी र कर्तव्य रहन्छ । मेरी माताको १३ दिनसम्म र बरखी अनि पुराणका लागि लाग्ने सम्पूर्ण खर्च म नै बेहुर्छु ।" छोराको कुरा मलाई र इन्दिरालाई मनासिव लाग्यो र दाजुभाइलाई पनि मैले त्यही सन्देश दिएँ । त्यसै अनुसार आमाका नाउँमा गरिने सबै कृत्यका लागि सम्पूर्ण खर्च छोराले नै पठाई दियो ।

आमा, बुबा र दाजुका नाउँमा पुरस्कार:
नइ प्रकाशनले मेरी आमा भागीरथा प्रसाई, मेरा बुबा जयप्रसाद प्रसाई र दाजु पद्मराज प्रसाईका नाउँका अघिल्ला अक्षरहरू जोडेर "नइ भाजप पुरस्कार" स्थापना गरेको छ । यस पुरस्कारको निर्माणमा मेरो छोरा कञ्चनजङ्घाको पनि बलियो साथ रहेको छ । यो पुरस्कार नेपाली भाषाको सेवामा समर्पित एक जना प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिदै आएको छ । मेरी आमाको जीवनकालमा नै स्थापित नइ भाजप पुरस्कारको राशि हाल एक लाख रूपियाँ रहेको छ ।

आमा भन्ने सगर हुन्
सधैं स्वच्छ हुने
छोराछोरी भित्रभित्रै
सधैं आफू हुने !

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 106.51
  • 107.11
  • European euro
  • 129.77
  • 130.5
  • UK pound sterling
  • 148.69
  • 149.52
  • Swiss franc
  • 108.33
  • 108.94
  • Australian dollar
  • 80.75
  • 81.21
  • Canadian dollar
  • 83.03
  • 83.5
  • Singapore dollar
  • 80.39
  • 80.84
  • Japanese yen (10)
  • 9.76
  • 9.81
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.94
  • Saudi Arabian riyal
  • 28.4
  • 28.56
  • Qatari riyal
  • 29.25
  • 29.42
  • Thai baht
  • 3.38
  • 3.4
  • UAE Dirham
  • 29
  • 29.16
  • Malaysian ringgit
  • 27.19
  • 27.34
  • Korean Won (100)
  • 9.88
  • 9.93
  • Swedish Krone
  • 12.42
  • 12.49
  • Danish Krone
  • 17.42
  • 17.52

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम