ब्लग - साहित्य / हाम्रो लेख

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेम




   नरेन्द्रराज प्रसाई - Jul 30 2018

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको चिनजान २०१९ सालको आरम्भमा काठमाडौँमा भएको थियो । त्यस बेला प्रेमा आइए पढ्ने गर्थिन् । साथै पुरुषोत्तम बस्नेत सेन्ट्रल होस्टेल, लालदरबारमा बस्थे । केटाहरू बस्ने सो सरकारी छात्रावास अहिलेको याक एन्ड यति होटेल भएको ठाउँ लालदरबारमा थियो । पछि सो होस्टेल केन्द्रीय छात्रावासका नाउँमा ताहाचलमा सरेको थियो ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको उमेर मिल्थ्यो, मन मिल्ने क्रममा थियो र वचन पनि क्रमशः मिल्दै गएको थियो । त्यसैले उनीहरूको सम्पर्क बढोत्तरीकै क्रममा थियो । त्यस बेलासम्ममा प्रेमा साहित्यिक कार्यक्रमहरूमा पनि आउजाउ गर्न सक्रिय थिइन् । त्यस समयसम्ममा उनको साहित्यप्रतिको रुचि, झुकाव र समर्पणको बस्नेतले पारख गरिसकेका थिए । साथै प्रेमा पनि पुरुषोत्तमको सहयोगी, मिलनसार र साहित्यप्रतिको मोहबारेको शैलीमा निमग्न हुन थालिसकेकी थिइन् । मानौँ यी दुई अब एक हुन थालिसकेका थिए ।

सेन्ट्रल होस्टेलमा बसेताका पुरुषोत्तम बस्नेत र हेमराज सापकोटाको सम्पादनमा ‘मुकुट’ साहित्यिक पत्रिका प्रकाशित हुन्थ्यो । त्यस बेला प्रेमा पनि आफ्ना साहित्यिक लेखरचना पत्रपत्रिकामा छपाउने हैसियतमा पुगिसकेकी थिइन् । त्यस घडी उनलाई यसरी पत्रपत्रिकामा लेखरचना छाप्न प्रोत्साहन गर्ने केदारमान व्यथित, विजय मल्ल र रत्नध्वज जोशी थिए । ‘शारदा’ मा उनका रचना छापिन थालेपछि उनलाई आफ्ना लेखरचना अन्य साहित्यिक पत्रिकामा छाप्ने नशा पनि लागिसकेको थियो । अनि उनी ‘मुकुट’ मा आफ्ना रचना छपाउने उपक्रममा नै बस्नेतको पनि नजिकमा पुगेकी थिइन् । त्यसपछि ‘मुकुट’ मा पनि उनका रचनाहरू प्रकाशित हुन थालेका थिए ।

त्यसबेला प्रेमा शाहले लेखेपछि आफ्ना रचना बस्नेतलाई देखाउने गर्थिन् । भनौँ बस्नेत प्रेमाका रचनाका प्रथम पाठक हुन्थे । त्यस बेलासम्ममा प्रेमाको साहसीपन, निर्भीकता र प्रतिभासँग पनि बस्नेत प्रभावित भइसकेका थिए । साथै प्रेमाको साहित्यिक व्यक्तित्वसँगसँगै उनको शारीरिक सौन्दर्यले पुरुषोत्तम बस्नेत पनि प्रेमाप्रति थप आकर्षित हुन थालिसकेका थिए । प्रेमा पनि बस्नेतको इमान, स्वच्छ मन र उच्च बौद्धिकताका साथै उनको शालीन व्यक्तित्वप्रति भुतुक्कै हुन थालेकी थिइन् ।

२०२१ सालको कुरा होस राष्ट्रिय नाचघरमा एउटा साहित्यिक समारोह भएको थियो । त्यस समारोहमा प्रेमा शाहले ‘आऊ मलाई सम्भोग गर’ भन्ने कविता सुनाएकी थिइन् । अधिकांश महिलाहरू घुम्टोभित्रै बस्ने त्यस जमानामा एउटी युवतीले समारोहमा उच्च शिर राखेर सम्भोगका लागि आह्वान गर्नु भनेको चानचुने साहसको कुरा थिएन । यो कविता लिपिगत रूपमा कतै प्रकाशित भएन तर यसै कविताको भावलाई प्रेमाले गद्यमा रूपान्तरित गरेर अर्को वर्ष ‘मुकुट’ मासिकमा प्रकाशित गराएकी थिइन् ।

प्रेमा शाहको ‘आऊ मलाई सम्भोग गर’ भन्ने संवादबाट केदारमान व्यथितले समारोहमा नै उनलाई स्याबास् र बधाई ज्ञापन गरेका थिए । साथै विजय मल्ल पनि प्रेमाको यो आँटलाई बधाई ज्ञापन गर्न पछि परेका थिएनन् । अनि उनको साहसीपनसँग अन्तर्हृदयले बधाई दिने युवक पनि देखा परे र ती स्रष्टा पुरुषोत्तम बस्नेत थिए । बस्नेतको ढापको प्रोत्साहनले त्यस बेला प्रेमा साहसको अर्को शिखर आरोहित भइन् । त्यसपछिका दिनहरूमा उनीहरूको सम्पर्कप्रति समकालीन नेपाली साहित्यजगत् अनभिज्ञ हुन सकेको नै थिएन ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतबीचको प्रेमसम्बन्ध दिनहुँ बढोत्तरीको गतिमा अघिअघि बढिरहेको थियो । त्यसै समयमा बस्नेतले सेन्ट्रल होस्टेल छोडेका थिए । त्यसपछि उनी सिफलको डाँडामा अवस्थित आफ्नो निवासमा बसोवास गर्न थाले । त्यस बेला उनी जापानी १६१ सिसीको होन्डा मोटरसाइकलमा सवार हुन्थे । उनी पैतृक रूपबाटै सम्पन्न थिए । त्यसैले उनी आफ्नो इच्छाअनुसारको दामी सवारीसाधन चढ्ने गर्थे । त्यतिखेरसम्ममा काठमाडौँमा त्यसरी मोटरसाइकल चढ्ने मान्छे निकै खानदानी नै हुनुपथ्र्यो । कृष्णभक्त श्रेष्ठका अनुसार ‘पुरुषोत्तम बस्नेत भनेका धेरै नै धनी थिए । उनैका बुबाले तारिणीप्रसाद कोइरालालाई समेत मद्दत गरेका थिए । त्यतिखेर तारिणीकै घर चाबेलमा विश्वेश्वरप्रसाद कोइराला पनि बस्थे । साथै बस्नेतका बुबाले कोइरालालगायत नेपाली काङ्ग्रेसका कार्यकर्तालाई पनि आर्थिक सहयोग गरिरहन्थे ।’

त्यस समय काठमाडौँ सहरमा मोटर र मोटरसाइकल फाट्टफुट्ट मात्रै कुद्थे । पुरुषोत्तम बस्नेतको उ। का। (उपत्यका अञ्चल कार्यालय) ११०५ नम्बरको गाडा रातो रङ्गको मोटरसाइकलमा प्रेमा शाह पछाडि बसेको देख्ता र सुन्दा केदारमान व्यथित, विजय मल्ल, पारिजात, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ र मदन रेग्मीहरूले प्रेमालाई भाग्यमानी युवती भन्थे । साथै प्रेमाजस्ती जल्दीबल्दी युवतीलाई लिएर हिँडेकोमा बस्नेतलाई हिम्मती, पुरुषार्थी र भाग्यमानी भन्नेहरू पनि थिए ।

पुरुषोत्तम बस्नेत र प्रेमा शाहको प्रेमप्रसङ्गको हल्लाले त्यस बेलाको साहित्यिक मञ्चहरू रङ्गिसकेका थिए । साहित्यिक सभा, समारोहमा जानेआउने सन्दर्भले उनीहरू एकअर्कामा मात्र होइन जनमाझ पनि प्रेमीप्रेमिकाको सुललित स्थानमा पुगिसकेका थिए । कृष्णभक्त श्रेष्ठका अनुसार ‘त्यस घडी प्रेमा र बस्नेत श्रीमान्–श्रीमतीजस्तै भएर हिँड्ने गर्थे ।’ वास्तवमा ईश्वरीय अनुकम्पा प्राप्त भएझैं एकअर्काका लागि जीवन बाँच्ने उनीहरूको अनुपम जोडी देखिन्थ्योे । त्यस बखत प्रेमा बस्नेतसँगको प्रेममा नै समर्पित थिइन् । त्यति खेर उनले बस्नेतकै माया, प्रेम र स्नेहमा आबद्ध कविता पनि लेखिन्स

ए लोभ लाग्दो मान्छे !
धरती र आकाशको सामञ्जस्यमा
ती लामा परेला खोलेर नहेर्नू
किनकिन मलाई विचित्रको मायाले छोप्छ ।

तिम्रा नानीको लामो पथमा
जीवन यो डोरिएर लम्मिँदै जान्छ
भरखरै उघ्रेको प्रातः
हलुका कुहिरोसितै
थकानको लामो सुस्केरा उड्दै जान्छ
अनि—
पुराना खण्डहरझैं
यी अपाङ्ग कल्पना
स्वस्थ लयमा एउटा सुन्दर गीत बन्छ ।

जिउँदो तहमा
गाँसिएको बिपना प्रिय लाग्दालाग्दै
एउटा डर जान्छ कतै
यही बिपना सपनाझैँं
मेरो निद्राको पहिलो रात
रुङ्नलाई नझुल्कियोस् ।

यसैले ए लोभ लाग्दो मान्छे !
मेरो अगाडि नपर्नू
कहिल्यै हेर्दै नहेर्नू ।

काफलझैं तिम्रा नीला आँखा
बाह्रै महिना फुलेको देख्ता
अन्तर यो पुतलीको पखेटाझैँ
तिम्रै प्यारको मध्याह्नमा
सधैँसधैँ भट्किरहन्छ
उड्दै जान्छ ।

तर
यो सूक्ष्म मोह कहिल्यै नष्ट हुँदैन
तिम्रै नेत्रको झ्याउ र टल्कने बालुवा सतहमुनि
यी मेरा स्नेहका अविरल थोपा
सिपीझैं तैरिरहन खोज्छन् ।

आहा १ तर, विशद यी कामनामा
त्यसै शङ्काको साँझ पर्छ
त्यसैले—
ए लोभ लाग्दो मान्छे !
आँखाका यी प्यालामा
अनुराग लिई पियाउन नआउनू
मेरो आफ्नै जीवन बग्ने
एकाङ्की यो गोरेटोमा
जूनकीरी आँखामा टाँसी बाटो कुर्ने नगर्नू
स्मृतिको यो स्निग्ध दीप
उज्यालैमा फुकिदिनू ।

पुरुषोत्तम बस्नेत प्रेमा शाहलाई भेट्न प्रायः दैनिकजसो ललितपुरस्थित विज्ञानशमशेर जबराका घर जाने गर्थे । बस्नेत राणापरिवारमा त्यति रुचाइएका व्यक्ति भने थिएनन् । किनभने उनी राणापरिवारका लागि विवाहित देखिएका थिए । तर उनको विवाहचाहिँ नाउँ मात्रको बिहे थियो भन्ने कुरा राणाहरूले बुझ्नै चाहँदैनथे । बस्नेतको विवाह १४ वर्षको उमेरमा उनकै गाउँ ओखलढुङ्गामा भएको थियो । तर विवाहपछि पत्नीसँग उनको कहिल्यै सम्पर्क भएन । बस्नेत र प्रेमा शाहको प्रेम प्रसङ्गको चर्चा व्यापक भएताका बस्नेतका ससुरालीले प्रेमा शाह र उनका मावलीलाई ‘यदि बस्नेतसँग प्रेमाले विवाह गरेमा बहुविवाहमा हामी मुद्दा हाल्छौ’ भनेर थर्काउने, तर्साउने र कुर्लने काम गरेका थिए । बस्नेत एकातिर क्षत्री र अर्कातिर पञ्चायत व्यवस्थाका विरोधी राजनीतिक कार्यकर्ता भएकाले प्रेमासँग विवाहका लागि राणापरिवारमा उनी अयोग्य ठहरिएका थिए । त्यति मात्र होइन बस्नेतका ससुरालीतिरबाट पनि राणापरिवार आतङ्कित हुन थालेकाले बस्नेत राणाका झनै ठूला आँखी भइसकेका थिए ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेम एकोहोरो रूपमा नै चुलिँदै थियो । तर उनीहरूको प्रेम जोगाउन उनीहरूलाई फलामको चिउरा चपाएसरि थियो । प्रेमाका मावलीले बस्नेतलाई कुनै प्रकारले पनि मान्यता, स्नेह र स्वागतका भाव प्रदान गर्दैनथे । उनीहरूले त्यस प्रकारका कुनै शिष्टाचार नदर्साए तापनि बस्नेतचाहिँ राणागृह जान छाडेका थिएनन् ।

पुरुषोत्तम बस्नेत पुग्ने समयमा राणागृहमा प्रायः मानिस हुँदैनथे । जसले गर्दा प्रेमा शाह र बस्नेतका लागि त्यस घरमा पर्याप्त प्रेमिल वातावरण हुने गथ्र्यो । तर पछिपछि राणापरिवारको निकै खप्की खानुपरेकाले प्रेमाले बस्नेतलाई राणागृहमा नआउन नै अनुरोध गर्न थालेकी थिइन् । एउटी शुद्ध ठकुरी र अर्का पक्का क्षत्री परिवारका भएका कारण कतिपय व्यवहारमा यिनीहरूको सहयात्रा अत्यन्तै अप्ठ्यारो किसिमको थियो ।

दिनभरि, दिनभरि सँगसँगै समय बिताउँदा पनि प्रेमा शाहका मनमा पुरुषोत्तम बस्नेतप्रतिको र बस्नेतका हृदयमा प्रेमाप्रतिको प्रेमको फोहरा बहिरहेकै हुन्थ्यो । ती फोहोरा समेटेर प्रेमाले बस्नेतलाई धेरै चिठी लेखेकी थिइन् र बस्नेतले पनि प्रेमालाई त्यसै गरेका थिए । मौखिक बोलीचालीमा प्रेमा पुरुषोत्तमलाई ‘डियर बस्नेतजी’ नै भन्थिन् भने बस्नेत चाहिँ ‘प्रेमा’ नै भन्थे । अनि प्रेमाको बस्नेतउपरको चिठी ‘डियर बस्नेत’ बाट सुरु हुन्थ्यो । उनले बस्नेतलाई लेखेका चिठी ‘तिम्री प्रेमा’ मा पुगेर समाप्त हुन्थ्यो । कविताभन्दा गद्याख्यानमा प्रबल प्रेमाको लेखनका चिठी पढ्दा बस्नेत समय बितेको पनि पत्तो पाउँदैनथे । तर दुर्भाग्य १ बस्नेतका ती अमूल्य प्रेमपत्रहरूलगायत बीपी कोइराला, धरणीधर कोइरालाले उनलाई लेखेका चिठीपत्रहरूसमेत खानतलासीका क्रममा २०२७ सालमा नै पुलिसले जफत गरेको थियो ।

सुरुमा प्रेमप्रसङ्ग चलिरहेका बेला प्रेमा शाह र पुरुषोत्तम बस्नेत उन्नाईस, बीस वर्षका थिए । त्यो क्रम झाँङ्गिँदै गएपछि उनीहरू भविष्यमा वैवाहिक जीवनमा बाँधिने बलियो योजना बुन्ने क्रममा अघि बढिरहेका थिए । त्यसो त विज्ञानशमशेरलगायत राणाका परिवारजनलाई आफ्नी नातिनी अथवा भान्जीले विवाहित अनि क्षत्रीको छोराको दौराको फेर समातेको मन परेकै थिएन । त्यसैले उनीहरू प्रेमालाई बस्नेतसँग सङ्गत नगर्नका लागि घरीघरी सल्लाह दिने गर्थे । तर प्रेमा आफ्नो तनमनमा बसिसकेका बस्नेतबाट टाढा नजाने निर्णयमा नै थिइन् । बस्नेतसँगको प्रेममा प्रेमा डुबेताका एक पटक राणागृहमा बस्नेतविरोधी खुबै ठूलो रँडाकोसमेत मच्चिएको थियो । त्यस घडी बस्नेतका विरुद्धमा दमनशमशेर राणाले आगो ओकलेका थिए ९राणा भारतका लागि राजदूत पनि भइकेका थिए० । आफ्ना प्रेमीका विरुद्ध दन्केका दमनमाथि प्रेमाले पेस्तोलसमेत उठाएकी थिइन् । भनौँ यिनले एक चोटि हातमा पेस्तोल बोकेर आफ्ना जिजुबुबा विज्ञानशमशेर राणाका दाजु दमनशमशेरलाई हान्न पनि गएकी थिइन् । तर उनलाई अरूले छुट्ट्याएर गोली लाग्नबाट दमनशमशेरलाई बचाएका थिए । त्यसैले यिनका मामा वरुणशमशेर राणाले यिनलाई कम्युनिस्ट पनि भन्ने गर्थे । प्रेमाका जिजुबुबा विज्ञानशमशेर राणाले चाहिँ प्रायः यिनलाई कम्युनिस्ट नै भनिरहे ।

प्रेमा शाह त्रिभुवन विश्वविद्याययमा पढ्न थालेपछि बस्नेत पनि उनलाई भेट्न विश्वविद्यालयमै पुग्थे । उनीहरूको प्रेमकथा पनि उनीहरूको उमेरसँगसँगै छिप्पिने क्रममा थियो । साथै उनीहरूबीच प्रेमको बलियो धागो बाँधियोस् भन्ने चाहना गर्ने नेपाली साहित्यका अर्का सबल हस्ती थिए— विजय मल्ल । मल्ल प्रायः बस्नेतलाई प्रेमाको र प्रेमालाई बस्नेतको प्रशंसा गरिरहन्थे । उनी दुवैको जोडीको बखान दुवैसँग गरिरहन्थे । अर्थात् उनी प्रेमा र बस्नेतको प्रेमले सार्थक रूप लेओस् भन्ने चाहना राख्थे ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेमको दुनियाँ खुबै रङ्गीन थियो । यसलाई थप गाढा रङमा रङाउने काम न्युरोडस्थित इन्दिरा रेस्टुराँले पनि गरेको थियो । यी युगल जोडी कहिले दुई जना मात्रै र कहिले अरू साथीहरूका साथमा पनि इन्दिरा रेस्टुराँमा घण्टौँ रमाउँथे । त्यस बेला साँझपख इन्दिरामा पुग्ने जोकोहीले प्रेमा, बस्नेतको प्रेमिल जोडीको दर्शन गर्न सक्थे । यसबाहेक प्रेमा, बस्नेतको जोडी साहित्यिक साथीहरूका साथ काठमाडौँ वरपरका कतिपय स्थानहरूमा पनि प्रेमिल भ्रमण गर्थे ।

प्रेमा शाहलाई राजनीतिको कुनै चस्का थिएन, उनी साहित्यमै हुरुक्क थिइन् भने पुरुषोत्तम बस्नेत साहित्यभन्दा बेसी राजनीतिमा आबद्ध थिए । बस्नेत त्यस बेलाको प्रतिबन्धित नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए । त्यसैले बाहिरबाहिर साहित्यिक क्रियाकलापमा लागेका देखिने बस्नेत भित्रभित्रै नेपाली काङ्ग्रेसको सक्रिय राजनैतिक क्रियाकलापमा थिए । पञ्चायती व्यवस्थाको समय थियो । त्यसैले विपरीत ध्रुवी राजनीतिप्रति सरकारको कठोर दृष्टि थियो । त्यस बेला नेपाली काङ्ग्रेसका सर्वोच्च नेता बीपी कोइराला जेल बस्दा बस्नेत उनलाई पत्रपत्रिका पठाइरहन्थे । कोइराला जेलबाट छुटेर बनारस पुगेपछि पनि बस्नेत पटकपटक कोइरालालाई भेट्न बनारस नै पुग्ने गर्थे । खास गरेर त्यस बेला बनारस नै नेपाली काङ्ग्रेसको मूल थलो थियो ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेमको यात्रा विवाहको दैलो उघार्ने तरखरमा पुगिसकेको थियो । त्यसैले यस जोडीले विवाहपूर्व नै बनारसको युगल यात्रा गर्ने मन गरेका थिए । अनि जहाजबाट उनीहरू बनारस गए । त्यसै बेला बस्नेतसँगै प्रेमा शाहको पनि बीपी कोइरालासँग भेटघाट भयो । त्यस समय उनीहरू एक हप्तासम्म बनारस बसेका थिए । त्यतिखेर बिहानभरि उनीहरू बनारसका गल्ली चाहर्थे । उनीहरू गङ्गानदीमा पुगेर ढुङ्गामा प्रेमयात्रा र जलक्रीडामा पनि रमाउँथे । प्रेमको मनोरम दुनियाँमा रमाउँदैरमाउँदै प्रेमा, बस्नेतको जोडी नेपाल फर्किएको थियो ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेत नेपाल फर्केपछि लगत्तै अर्को वर्ष यस जोडीको विवाह बन्धनमा बाँधिने टुङ्गो लागिसकेको थियो । तर त्यसै समयमा बस्नेतगृहमा दुर्भाग्यको घटना घट्यो । पुरुषोत्तम बस्नेतका बुबा मकरध्वज बस्नेतको २०२७ साल वैशाखमा स्वर्गारोहण भयो । अनि उनीहरूको विवाह पनि थन्को लागेको थियो । आफ्ना बुबाको बरखी सक्न पाउँदानपाउँदै बस्नेतका नाउँमा सरकारले पक्राउको आदेश जारी गरेको थियो । त्यस कारण बस्नेतले आफ्नी प्रेमिकालाई समेत छोडेर भूमिगत हुनुपरेको थियो ।

पुरुषोत्तम बस्नेतका नाउँको वारेन्टका साथसाथै बस्नेतका सम्भावित अड्डाहरूमा पनि पुलिसले खोजी ग¥यो । यसै क्रममा विज्ञानशमशेर राणाका घरमा पनि पुलिसले बस्नेत त्यहीँ होलान् भनेर खानतलासी गर्यो । अनाहकमा आफ्ना घरमा पुलिसको खानतलासीका कारणले राणापरिवार बस्नेतको झनै खुलेर विरोधमा लाग्न थाले । प्रेमालाई उनको परिवारले बस्नेतसँगको प्रेम परित्याग गर्न र उच्च घरानियाँ राणा र ठकुरीसँग नै विवाह गर्न चारैतिरबाट दबाब दिन थाले ।

राज्य विपरीत भूमिगत मान्छे उच्च स्थानमा उक्लिने कुरामा प्रेमा शाहलाई नै पनि त्यति सारो आफ्नो आत्मविश्वासले साथ दिएको थिएन । यसैबीच पुरुषोत्तम बस्नेत विवाहित पुरुष हुन् भन्ने कुरा पनि राणा परिवारले निकै जोडतोडले प्रेमाउपर बराबर व्याख्या गरेका थिए । राष्ट्रको संविधानविपरीत राजनीति गर्ने र त्यसमाथि विवाहित पुरुषसँग विवाह गर्नुको औचित्यहीनताप्रति पनि प्रेमा क्रमशः सचेत हुन थालेकी थिइन् । त्यसो त बस्नेतले प्रेमालाई आपूmले इच्छा नगरेकै बेला बाल्यावस्थामा गरिएको आफ्नो विवाहप्रति आपूmले कहिल्यै कुनै चासो नराखेको कुरा व्यक्त गरिसकेका थिए । बस्नेतको इमानलाई सुरुसुरुमा प्रेमाले पनि मनमा गाँठो त पारेकै थिइन् । यति हुँदाहुँदै पनि घरपरिवारको बस्नेतउपरको एकोहोरो विरोध र भूमिगत बस्नेतसँग त्यस बखतको सम्बन्धहीनताका कारण प्रेमाले बस्नेतको प्रेमलाई एक्कासी परित्याग गर्ने आँटसमेत गरिदिइन् । उनकी दिदी शशी राणा र वरुणशमशेर राणाकी पत्नी कनकराज्यलक्ष्मी राणा अथवा भनौँ उनकी माइजूको ललाईफकाईमा परेर प्रेमा बस्नेतसँग टाढिने क्रममा नै उभिइन् । त्यस बखत प्रेमाको वरिपरि बसेर घरपरिवारका मान्छेबाट प्रेमालाई भनिरहने गरिन्थ्यो— ‘सरकारका विरोधमा लागेर राजनीति गर्ने मान्छे अब यस दुनियाँमा कहिल्यै पनि उक्सिन सक्दैनन् । यसरी ओरालो लागेको मान्छेसँग आँखा फुटेकाले मात्र विवाह गर्छन् । त्यस्ता मान्छेसँग विवाह गरेर कसैले पनि कहिल्यै सुक्ख पाउँदैनन् । त्यस्ता सरकारद्रोहीसँग विवाह गर्नेले सधैँ रोएरै बस्नुपर्छ ।’ साथै प्रेमाकी दिदीद्वारा आकाश पातालको उपमाले सिँगारिएका भारतीय धनाढ्य जानवीप्रताप शाहीको नाउँ मात्र प्रेमाका अगाडि उभ्याइने गरिन्थ्यो । त्यस बेला उनलाई कति बाध्य पारियो भने यसबारे अरू विकल्प सोच्ने उनले मौका नै पाइनन् । अन्ततः प्रेमाको विवाह हुने निश्चित नै भयो । अनि प्रेमालाई भारतमै लगेर शाहीसँग लगनगाँठो कस्न लगाइएको थियो । यसरी नै बस्नेतको प्रेमको महल प्रेमाका तर्फबाट खण्डहरमा रूपान्तरित गरिएको थियो ।

प्रेमा शाह भारतीय जानवीप्रताप शाहीकी पत्नी भएकोमा राणापरिवारले हर्षबढाइँ गरेको थियो । त्यसै उमङ्गका बेला प्रेमाका मामा वरुणशमशेर राणाले पुरुषोत्तम बस्नेतका घनिष्ट मित्र कृष्णभक्त श्रेष्ठलाई मुख लोपारेको हात देखाउँदै भनेका थिए— “ला।।। ! हाहाहा।।। ! मैले मेरी भान्जीलाई जोगाएँ कि जोगाइनँ रु तिम्रो साथीले मेरी भान्जीलाई विवाह गर्न सक्यो त ! तिमीहरू अब फेरि फुटानी हाँक्छौ ?” त्यस बेला राणा गोरखापत्र संस्थानको मुखपत्र ‘द राइजिङ नेपाल’ दैनिकका सम्पादक र श्रेष्ठचाहिँ सोही पत्रिकाका उपसम्पादक थिए । श्रेष्ठ पछि ‘गोरखापत्र’ दैनिकका सम्पादक र गोरखापत्र संस्थानका महाप्रबन्धक भएका थिए ।

२०४८ सालको कुरा होस पुरुषोत्तम बस्नेत गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष थिए । अनि वरुणशमशेर राणाचाहिँ उनैका मातहतमा काम गर्थे । अथवा भनौँ त्यस समय राणा गोरखापत्र संस्थानको अङ्ग्रेजी साप्ताहिक ‘सन्डे डिस्प्याच’ का सम्पादक थिए (त्यो पत्रिका धेरै चलेन पनि) । त्यस बेलाचाहिँ बस्नेतसँग आज्ञापालक भई राणाले आफ्नो पदीय कार्य निर्वाह गरेका थिए । उनीहरूमाझ संस्था र पत्रिकाबारे विचारविमर्श पनि भइरहने गथ्र्यो । मानौँ पहिलाका सबै घटना र चोटबाट दुवै जना अनविज्ञझैँ देखिन्थे ।

पुरुषोत्तम बस्नेत ज्ञानगुन र इमानले भरिएका पुरुष थिए । पढाइकै कुरा गर्ने हो भने पनि उनले एमए, बीएल पास गरेका थिए । शिष्ट, सरल र सौम्यका साथै बस्नेत सादा रहनसहनका उच्च बौद्धिक व्यक्ति थिए । त्यति मात्र होइन बस्नेत लोभलालचबाट पनि टाढै देखिन्थे । उनी नेपाली काङ्ग्रेस पार्टीमा बिराला कोटिका स्वच्छ छविका रूपमा पनि चिनिन्थे । अझैसम्म पनि बस्नेतको जीवन त्यसरी नै परिचालित भएको पाइन्छ ।

२०२७ सालको कुरा होस भूमिगत अवस्थाबाट नै पुरुषोत्तम बस्नेत पक्राउ परेका थिए । त्यतिखेर सत्तासित नजिक भएका राणापरिवारले नै बस्नेतलाई जेल हाल्ने कडी अपनाएका थिए । त्यसपछि बस्नेत जेलमा कोचिएका थिए । राजनीतिज्ञ बस्नेत मुटुभित्र प्रेमा शाहको प्रेमदहमा डुबेका भए पनि भौतिक रूपमा आफ्नी पे्रयसीबाट टाढा भइरहे । जेल परेको केही वर्षपछि नै उनी जेलबाट बाहिरिएका थिए । त्यस समय उनले आफुलाई जिन्दगीबाटै थाकेको महसुस गरे । तर पनि उनले बिस्तारै खुट्टा टेक्न थाले । अनि प्रेमासँगको प्रेमसम्बन्ध असफल भएपछि बस्नेतले कसैसँग प्रेम गरेनन् । प्रेमासँगको प्रेम नै उनको पहिलो प्रेम थियो र प्रेमासँगकै उनको प्रेम अन्तिम प्रेम पनि थियो ।

पुरुषोत्तम बस्नेत प्रेमा शाहसँगको मायामा मात्र हुरुक्क थिएनन् । उनी प्रेमाको प्रतिभाउपर पनि अत्यन्तै प्रेम गर्थे । आफ्नी प्रियाको सिर्जनात्मक प्रतिभामा खिया नपरे हुन्थ्यो भन्ने उनको हरदम चाहना हुन्थ्यो । नइसँगको भेटघाटमा पनि बस्नेत बराबर दोहोर्याएर भन्ने गर्थे— “पछिल्ला समयमा प्रेमाले लेख्नै छाडिन् । उनले लेखिरहनुपथ्र्यो ।”

प्रेमा शाहको पहिलो विवाह असफल भएको अथवा विवाहित पुरुषले नै झुक्याएर प्रेमालाई बिहे गरेको कुरा सुनेर पुरुषोत्तम बस्नेत रमाउन सकेनन् । विवाहितका साथसाथै पर्याप्त सन्तानका पिता भइसकेका शाहीले भ्याक्सेटोमी गरेर प्रेमासँग विवाहको खेल खेलेको कुरा चाल पाएपछि प्रेमाले शाहीलाई त्यागेको समाचार पनि बस्नेतसमक्ष पुगेको थियो । आपूmले अतिशय प्रेम गरेकी प्रेमाले पटकपटक पुरुषहरूबाट धोका पाएको कुरा मात्र सुनिरहँदा बस्नेतको मन कुँडिइरहन्थ्यो । शाहीसँगको वैवाहिक जीवन असफल भएपछि पनि विजय मल्लले पुनः बस्नेतसँग प्रेमाको मिलन गराउन खोजेका थिए । तर प्रेमाले विजय मल्लको उक्त प्रस्ताव अस्विकार गरेकी थिइन् ।

शाहीसँगको विवाह भङ्ग भएपछि प्रेमा शाहले रमेश कर्माचार्यसँग विवाह गरेको कुरा पनि पुरुषोत्तम बस्नेतले जानकारी पाएका थिए । जे गरी भए पनि प्रेमाले सुख पाएको खबर सुन्न बस्नेत सधैँ लालयित रहन्थे ।  २०४२ सालको कुरा होस पुरुषोत्तम बस्नेत न्युरोडको पीपलबोटमुन्तिर आफ्नो जुत्तामा पालिस गराउँदै थिए । त्यसै बेला प्रेमा शाह कतैबाट त्यहीँ आइपुगेकी थिइन् । उनले मोचीलाई आफुले लगाइरहेको छालाको चप्पल सिलाइदिन अनुरोध गरेकी थिइन् । मोचीले चप्पल समाएर ओल्टाईपल्टाई हेरेपछि ‘यो चप्पल त सिलाउन सकिँदैन’ भन्ने प्रेमालाई जबाफ दिएको थियो । प्रेमाले लगाइरहेको चप्पल वास्तवमै निकै थोत्रो भइसकेको थियो । प्रेमाको त्यस्तो अवस्था देखेर बस्नेतलाई प्रेमाप्रति करुणा जागेको थियो । ‘त्यहीँ पर यो चप्पल सिलाउने ठाउँ मैले देखेको छु, जाऊँ न !’ बस्नेतको आग्रह प्रेमाले सुनिन् । वास्तवमा त्यस ठाउँमा बस्नेत र उनका साथीहरू पनि उभिएका छन् भन्ने उनले चाल पाएकै थिइनन् । बस्नेतले प्रेमालाई जुत्ता पसलमा पु¥याएर नयाँ चप्पल किनिदिने अभिप्रायले ती संवाद पोखेका थिए । तर प्रेमाले बस्नेतको अनुरोधलाई ठाडै अस्वीकार गरेकी थिइन् । दुवै जनाको सामान्य औपचारिक कुरापछि प्रेमा थोत्रो चप्पल घिसार्दै बस्नेतबाट बिदा भएकी थिइन् । यसै सन्दर्भमा ईश्वरवल्लभले पछिसम्म पनि भनिरहे— “प्रेमा शाहजस्ती स्रष्टाको दयनीय आर्थिक अवस्था देख्दा जीवनदेखि नै वितृष्णा लागेर आउने गर्छ ।” त्यतिखेरसम्ममा प्रेमा शाह गतिलो लुगा लगाउने हैसियतबाट पनि टाढा पुगिसकेकी थिइन् ।

त्यस बखत पनि प्रेमा शाहलाई सहयोग गर्न पुरुषोत्तम बस्नेत उत्सर्गिक हुन्थे । तर प्रेमामा भएको स्वाभिमान र अभिमानसँग पनि बस्नेत राम्रैसँग परिचित थिए । बस्नेतको सहयोग कुनै पनि हालतमा प्रेमाले स्वीकार नगर्ने कुरामा पनि उनी जानकार थिए । त्यसैले प्रेमाको दुर्दशा परैबाट हेरेर दुःखी हुनुबाहेक बस्नेतले प्रेमाको जिन्दगीमा केही गर्न सकेका थिएनन् ।

प्रेमा शाहले अलि गतिलो मानिससँग विवाह गरेर राम्रोसँग बसेकी भए हुन्थ्यो भन्ने पुरुषोत्तम बस्नेतलाई लाग्थ्यो । आफुले भुतुक्क भएर प्रेम गरेकी स्त्रीले फेरि घरीघरी दुक्ख पाएको सुन्नु र हेर्नुपर्दा बस्नेतलाई कहिल्यै रमाइलो लागेको थिएन ।
पुरुषोत्तम बस्नेतका दृष्टिमा प्रेमा शाह अति प्रतिभाशाली थिइन् । तर प्रेमा अत्यन्त अव्यावहारिक पनि छिन् भन्नेमा बस्नेत अनविज्ञ थिएनन् । बस्नेतको युवा अवस्थाको छोटो यौवन प्रेमासँगकै प्रेममा सकियो । अझै भनौँ पछिसम्म पनि बस्नेतले किटानी बयान दिन छाडेनन्, “मेरो पहिलो र अन्तिम प्रेमिका नै प्रेमा शाह हुन् ।”

प्रेमा शाहकी छोरी जल नेपाली सिनेमामा माथिल्लो कोटीकी नायिका भएको समाचारले पुरुषोत्तम बस्नेतलाई निकै खुसी दिएको थियो । बस्नेतले जललाई हेर्नकै लागि पनि जल शाह अभिनित सिनेमा हेरेर खुसी भएका थिए ।  २०५९ सालमा नेपाली काङ्ग्रेस पार्टीले पार्टी कार्यालयमा तत्कालीन राजनीतिक वातावरणका बारेमा चर्चा गर्नका लागि सिनेकलाकारहरूको जमघट गराएको थियो । सोही कलाकारहरूको समूहमा जल शाह पनि पार्टी कार्यालयमा पुगेकी थिइन् । त्यस बेला ‘प्रेमालाई दिनू’ भनेर आफ्नो भिजिटिङ कार्ड जललाई दिने इच्छा पुरुषोत्तम बस्नेतलाई भएको थियो । तर ‘प्रेमाले कस्तो ठान्लिन् र जलले के सोच्लिन्’ भनेर बस्नेतले त्यो कार्ड दिन सकेका थिएनन् । त्यस बेला उनले जल शाहलाई चाहिं एकोहोरो हेरिरहेका थिए ।

‘मैले भारतीयसँग हतार गरेर विवाह गर्नु नै गलत गरेकी रहेछु, मलाई बस्नेतजीले कति माया गर्थे’ भन्ने कुरा प्रेमा शाहले केही आफन्त र विजय मल्ल, ईश्वरवल्लभ, ध्रुवचन्द्र गौतम, हरिभक्त कटुवाल आदिसँग भनेकी पनि रहिछन् । विजय मल्लले प्रेमाको यस्ता विचारकै फेरो समातेर प्रेमालाई पुनः पुरुषोत्तम बस्नेतसँगै जीवन गाँस्ने सल्लाह दिएका थिए । जुन कुरा प्रेमाले फेरि पनि अस्वीकार गरेकी थिइन् । ‘तपाईंको र प्रेमाको सम्बन्ध लभ एन्ड हेटको रहेछ ।’ प्रेमा र बस्नेतको समग्र पहिचान गरेका मल्लले कुनै बेला बस्नेतसँग यी संवाद अभिव्यक्त गरेका थिए । ‘तर मैले त सधैँ प्रेमासँग प्रेम मात्र गरेँ, मैले उनलाई कहिल्यै घृणा गरिनँ’ भन्ने शब्दको आडमा बस्नेतले भने प्रेमाको प्रेमको पुजारी भएर नै एकल जीवन व्यतित गरे । प्रेमाको निधनपछि पनि बस्नेतको अवस्था प्रेमाकै सेरोफेरोको मायामा बाँधिएको मात्र देखियो । यसै प्रसङ्गमा इन्दिरा प्रसाईले भनिन्— “पुरुषोत्तम बस्नेतजस्ता शिष्ट, मर्यादित र समर्पित प्रेमी आजसम्म मैले देखेकै थिइनँ ।”

© नरेन्द्रराज प्रसाईकृत ‘विद्रोही प्राज्ञ स् प्रेमा शाह’ नामक जीवनी कृति २०७५ को एउटा पाठ



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.6
  • 112.2
  • European euro
  • 126.93
  • 127.62
  • UK pound sterling
  • 142.24
  • 143
  • Swiss franc
  • 112.19
  • 112.8
  • Australian dollar
  • 81.13
  • 81.56
  • Canadian dollar
  • 84.79
  • 85.25
  • Singapore dollar
  • 81.05
  • 81.49
  • Japanese yen (10)
  • 10.11
  • 10.17
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.76
  • 29.92
  • Qatari riyal
  • 30.65
  • 30.82
  • Thai baht
  • 3.34
  • 3.36
  • UAE Dirham
  • 30.38
  • 30.55
  • Malaysian ringgit
  • 27.27
  • 27.42
  • Korean Won (100)
  • 9.82
  • 9.88
  • Swedish Krone
  • 12.19
  • 12.25
  • Danish Krone
  • 17.03
  • 17.12

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम