‘नइ’ के हो त ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

‘नइ’ के हो त ?




   डा. मोदनाथ प्रश्रित - May 08 2018

नेपाली भाषासाहित्यकाक्षेत्रमा निरन्तर योगदानका निम्ति समर्पित स्रष्टाहरूलार्इ 'नइ प्रकाशन'ले प्रत्येक वर्ष पुरस्कृत गर्दै अाएको छ । यसै क्रममा २०७४ सालका विभिन्न सम्मानहरू प्रदानका सिलसिलामा साहित्यकार डा. मोदनाथ प्रश्रितज्यू पनि 'नइ सुकीर्ति' पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।



'नइ सुकीर्ति' पुरस्कार २०७४ बाट सम्मानित हुनुभएका डा.मोदनाथ प्रश्रितबाट गरिएको सम्बोधनको पूरा पाठः

म जेल जीवनबाट बाहिरिएपछि धेरै साहित्यकारहरूसँगको सम्पर्कमा रहेँ । त्यही क्रममा साहित्यिक अभियन्ता नरेन्द्रराज प्रसाईको लेखनसँग पनि क्रमशः परिचित हुन थालेँ । खास गरेर त्यस बेलादेखि नै उनले लेख्ने गरेका समाजमा विशेष कर्म गरेर पनि अँध्यारामा रहेका मानिसहरूका जीवनीले मलाई निकै प्रभाव पार्दै आएको थियो । किनभने कथा, कविता लेख्नेहरूको त हाम्रो साहित्यमा बाहुल्य नै छ तर अरूको कथा अर्थात् जीवनी साहित्यले भने अझै मौलाउने अवसर पाएको छैन । यसै फाँटका कामहरूमा अविश्रान्त लेखक नरेन्द्र लागिपरेका छन्, जुन समग्र साहित्यिक संसारका लागि नै उपलब्धिको कुरा हो ।

समयको एउटा विशेष परिस्थितिले साहित्यका दुई प्रतिभालाई जोडिदियो र साहित्यको व्यापक विकास गर्ने ‘नइ प्रकाशन’ जन्म्यो । नइमा विषयवस्तुलाई टप्प टिपेर सहज रूपमा साहित्यिक फूलबारी सजाउने अद्भुत क्षमता छ । नरेन्द्र र इन्दिराको जोडाका कारण एक सबल संस्थाको स्थापना भयो र अन्तर्राष्ट्रिय स्तरको साहित्यिक संस्था सञ्चालन र लेखनमा समेत नइ प्रखर र निरन्तर हुन सकेको देखिन्छ ।

नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई दुवै जना सिर्जनात्मक रूपमा मात्र अग्रसर छन् । उनीहरू संस्थागत रूपमा पनि त्यतिकै सक्रिय छन् । नेपाली धरामा यसरी खटेर काम गर्ने मान्छे मैले विरलै देखेको छु । उनीहरूद्वारा स्थापित ‘नइ प्रकाशन’ र ‘त्रिमूर्ति निकेतन’ आज देशको सामु थप ज्वलन्त उदाहरणका रूपमा देखा परेका छन् ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ सालमा ‘नइ प्रकाशन’को स्थापना भएको हो । त्यसै गरेर २०५९ सालमा ‘त्रिमूर्ति निकेतन’को संस्थागत आरम्भ भएको थियो । नेपाली भाषासंसारप्रतिको साधना हेतु जन्मेका यी गैरराजनैतिक संस्था हुन् र यी दुवैले सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएका छन् । विभिन्न राजनीतिक विचारकहरू यी दुवै संस्थामा आबद्ध देखिन्छन् तर यी संस्थाका कार्यहरू विशुद्ध साहित्यमा नै केन्द्रित छन् ।

नेपाली साहित्यमा त्रिमूर्तिका रूपमा प्रतिष्ठित कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका धातुमा कुँदिएका पूर्णकदका सालिक निर्माण र प्रतिस्थापन गरी नइकै सक्रियता र नेतृत्वमा त्रिमूर्ति निकेतन स्थापित भयो । साथै ‘नइ प्रकाशन’को अहोरात्रको साहित्यिक तपस्याबाट प्रभावित आत्मिक कुबेरहरूबाट साहित्यिक पुरस्कारको व्यवस्थापनका अनुरोध पनि बढ्दै गयो ।

म पनि त्रिमूर्ति निकेतनका संस्थापकमध्येको एक हुँ । इन्दिरा प्रसाई निकेतनको अध्यक्ष भएपछि मैले एउटा प्रस्ताव राखेँ, ‘तीन महान् पुरुष स्रष्टाको ‘त्रिमूर्ति निकेतन’ जस्तै विशिष्ट नारी स्रष्टाहरूको पनि त्रिमूर्ति सङ्गम बनाउन सके साहित्यिक क्षेत्रले नारी पुरुष समान मर्यादाको अनुभूति गर्नेछ ।’ मेरो उक्त प्रस्तावलाई ध्यानमा राखी ‘त्रिमूर्ति निकेतन’द्वारा मेरो कृति ‘नारी, बन्धन र मुक्ति’मा उल्लिखित गोमा, प्रेमराजेश्वरी र पारिजात तीन नारी स्रष्टाको पूर्णकदका मूर्ति कलाकार ओम खत्रीबाट बनिसकेका छन् । तिनलाई प्रतिष्ठापित गर्ने उपयुक्त स्थलको खोजी भइरहेका कारण अहिले पनि ती मूर्तिहरू कलाकार खत्रीकै कारखानामा उनकै जिम्मामा रहेका छन् । नारी र पुरुष स्रष्टाहरूलाई समान मर्यादा दिने यो कदम अत्यन्त स्वागतयोग्य कुरा हो ।

‘महाकवि देवकोटा शताब्दी महोत्सव’ त्रिमूर्ति निकेतनको अर्को विशेष कार्यक्रम हो । उक्त शताब्दी महोत्सवको अध्यक्षताको जिम्मेवारी मलाई मिलेको थियो । त्यो जिम्मेदारी मेरा निम्ति गौरवको विषय थियो । महोत्सवअन्तर्गत धेरै कार्यक्रमहरू सञ्चालन गर्दै जाँदा दुई वर्षसम्म विभिन्न कार्यक्रमहरूको आयोजना भएको थियो । अन्य कार्यक्रमका अतिरिक्त उक्त महोत्सवको समापनका अवसरमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको संयोजकत्वमा सञ्चालित पाँचदिने ‘नेपाली भाषासाहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’को आयोजना विशेष रहेको थियो । तेह्र देशका प्रतिनिधि साहित्यकारद्वारा कार्यपत्र प्रस्तुत गरिएको सो सम्मेलनका अवसरमा विभिन्न देशका साधकहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको पूरा भिडियो यहाँ हेर्नसक्नुहुनेछः

देवकोटा महोत्सवजस्तै गरिमामय रूपमा सम्पन्न भएको त्रिमूर्ति निकेतनको अर्को महŒवपूर्ण आयोजना ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ थियो । त्रिमूर्ति निकेतनले नै मनाएको अर्को विशेष उत्सव ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ पनि नेपाली साहित्यमा महत्वपूर्ण रूपले अङ्कित भइसकेको छ । कार्यहरूले नै व्यक्तिको पहिचान गर्छ भनेझैँ नेपाली साहित्यको पृष्ठभूमिमा नइ प्रकाशनको संयोजनमा त्रिमूर्ति निकेतनद्वारा सम्पादित विविध विशिष्ट कार्यहरूको महत्ता नेपाली साहित्यको इतिहासमा सुरक्षित भइसकेको विषय हो । साथै नइकै पहल र सक्रियतामा नेपाल सरकारले आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी देशदेशान्तरमा भब्य रूपमा मनाएको प्रसङ्ग पनि नोपाली भाषासाहित्यको इतिहासमा सुरक्षित छँदैछ ।

महाकवि देवकोटा महोत्सवकै एउटा कार्यक्रमका रूपमा महाकवि देवकोटाको मुहार समाविष्ट चित्रकलाको देशव्यापी प्रतियोगितात्मक कार्यक्रम गरिएको सन्दर्भलाई भने यहाँनेरि मलाई फेरि सम्झन मन लागेको छ । उक्त कार्यक्रममा सहभागी कलाकारहरूका विविध चित्रकला प्रदर्शनी पनि गरिएको थियो । सो अवसरमा मैले पनि अप्रतियोगी रूपमा आफूद्वारा निर्माण गरिएको महाकविको एउटा चित्र प्रदर्शनीमा राखेर सहभागी भएको थिएँ । त्यस प्रदर्शनीमा मैले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ शीर्षक अनुरूप महाकवि देवकोटा रकेटसहित चन्द्रमामा पुगेर हाँसेका, तल आर्यघाटमा उनको चिता जलिरहेको चित्र प्रस्तुत गरेको थिएँ । उक्त चित्रका बारे धेरै दर्शकहरूको रुचि देखेपछि मलाई पनि आफ्ना चित्रावली पुस्तकाकारमा प्रकाशित गर्ने रहर जागेको थियो । तर दुक्खको कुरा पञ्चायती निरङ्कुश व्यवस्थाले मलाई जेलमा जाकेपछि तत्कालीन प्रशासनले मेरा पुस्तकहरू लुट्ने क्रूर कर्मको अभियान थालेको थियो । त्यस बेला ती आततायीहरूले धेरै परिश्रमले बनाएका र विभिन्न ठाउँमा प्रदर्शन गरिएका मेरा चित्रहरू घरबाट लुटेर लगी जलाइदिनेसम्मका कुकर्म गरेका थिए । मेरो युवा कालका ती सिर्जनाहरूको हत्याले अहिलेसम्म पनि मेरो मन पोलिरहेको छ । पछिल्लो चरणमा मलाई पनि आफ्ना चित्रहरूको श्रृङ्खला प्रकाशित गर्ने रहर त बाँकी थियो । तर युवा उमेरमा जस्ता जीवन्त चित्रहरू बनाउन नसके पनि केही बाँकीटाँकी पुराना र नयाँ चित्रहरूको चित्रावली मात्र प्रकाशित गर्न सकिन्थ्यो । नइ प्रकाशनले मेरो चित्रावली प्रकाशन गरिदिएकोमा मेरो भत्केको सपना फेरि ब्यूँझेको छ ।

नेपाली साहित्य संसारमा नइले स्थापित गरेका अन्य केही विशिष्ट विषय संक्षेपमा उल्लेख गर्नु मलाई सन्दर्भ लागेको छ । नइकै पहलमा राज्यले कविवर माधव घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधि प्रदान गरेको थियो । प्रधानमन्त्री सम्माननीय सुशील कोइराला मार्फत डा.वानीरा गिरीलाई ‘नेपाली साहित्यका विश्वनारी रत्न’को उपाधि नइले नै समर्पण गरेको थियो । त्यसै गरी नेपाली वाङ्मयका विशिष्ट व्यक्तित्व डा.सत्यमोहन जोशीलाई नइकै पहलमा राज्यले वाङ्मय शताब्दी पुरुष उपाधि प्रदान गर्यो । नइले भाषासाहित्यको मात्र सेवा गरेको छैन, नइले गैरराजनीतिक चिन्तन र दूरदृष्टि राखेर अमर प्राज्ञहरूको पनि संरक्षणका लागि घरीघरी काम गरिरहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.