ब्लग - साहित्य / स्वास्थ्य

प्रदुषणले गर्छ के, जोगिने कसरी ?




   डा. अर्पणा न्यौपाने - Mar 27 2017

नेपालका विभिन्न सहरको वायु प्रदूषणको स्थिति आँकलन गर्दा खतराको घण्टी बजिसकेको छ । प्रदूषणको असर तत्कालीन र दीर्घकालीन हुन्छ । केही सामान्य स्वास्थ्य समस्या तुरुन्तै देखिए पनि गम्भीर समस्या देखिन समय लाग्छ । चिकित्सकहरुका अनुसार अबको चारदेखि पाँच वर्षमा अहिलेको प्रदूषणको असर देखिनेछ। यही तरिकाले वायु प्रदूषण बढ्दै गएमा केही वर्षमै वायु प्रदूषणको चरम संकट भोगेका विश्वका केही सहरकै हविगतमा नपुगिएला भन्न सकिन्न ।

अहिले नै भविष्यमा आउन सक्ने खतरालाई मूल्यांकन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । काठमाडौँको धुलोले आजित भएका यहाँका बासिन्दाले काठमाडौँलाई ‘धुलोमाडौँ’ भनेर ब्यंग्य गर्न थालिसकेका छन् । हुन पनि घर बाहिर निस्किसक्नु छैन । धुलैधुलो, सास फेर्न पनि सकस पर्ने अवस्था । अहिले काठमाडौँको आकासमा मडारिरहेको धुवाँधुलो वायु प्रदूषणको कुन चरणमा होला भनेर धेरै चिन्तित छन् ।

वायु प्रदूषण कसरी ?
प्रदूषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो । अर्थात् श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छाैं । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो । तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ ।

हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन् । तीमध्य कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ । कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन् ।

घाँटी चिलाएजस्तो हुने, खसखस हुने, औषधि खाँदा कम भएजस्तो हुने तर ठीक नहुने । खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता समस्या अहिलेको धुलोका कारण निम्तिएका हुन् ।

हावाको गुणस्तर हावामा रहेका हानिकारक कणहरुको मात्रा र साइज अनुसार मापन गरिन्छ । विश्व स्वास्थ्य संगठानले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर (पिएम) भन्दा सानो र २ दशमलब ५ पर माइक्रोमिटर (पिएम) भन्दा सानो भन्ने मापन बिन्दु तय गरेको छ । हावामा साना कणको संख्या जति धेरै भयो उति यसको गुणस्तर कम ठानिन्छ । साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छन् । हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ । त्यसअनुसार २ दशमलब ५ पिएमभन्दा साना कणलाई खतरनाक मानिएको हो । किनभने यी फोक्सोको भित्री भाग हुँदै शरीरका अन्य अंगसम्म फैलिन सक्छन् ।

हावामा हुने हानिकारक तत्व
धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन् । दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बन्डाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ । ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो । यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न । यसको असर तुरुन्तै नदेखिन सक्छ । अबको चार–पाँच वर्षपछि देखिएला । भविष्यमा काठमाडौँबासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ ।

सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ । सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ । यसलाई पचाउन वा फुटाउनन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ । विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ । पछि खत बस्छ र फाइब्रोसिस हुन्छ । सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

आँखा बिझाउने, आँखा रातो हुने, आँशु आइरहने र सुख्खा हुने समस्या पनि अघिल्ला वर्षको तुलनामा बृद्धि भएको छ ।

वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कणहरु कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ । ती त साना कणले पार्ने असर हुन् । ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन् । काठमाडौँको धुवाँधुलोले नाक र घाँटी सम्बन्धी विभिन्न समस्या निम्त्याएका छन् । धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन् । सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ । जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेनेन्जाटाइटिस बढिरहेको छ ।

खोकी लाग्ने कारण
हामीले सास फेर्दा हावामा रहेका ससाना कणहरु फोक्सोमा रहेको हावाको फोकाहरु (एलबिआई) मा पुग्छन् । ती कण फोक्सोमा पुगेपछि त्यहाँ हुने रक्त कोषिकामा बस्छन् । हानिकारक तत्व नभएका कणहरु त्यहीँ पच्छन् वा शरीरको प्रक्रियाले बाहिर निकाल्छ । त्यस्ता कणलाई बाहिर निकाल्ने एउटा प्रक्रिया हो खोकी । घाँटीदेखि फोक्सोसम्म रहेका कणहरु निकाल्ने क्रममा खोकी लाग्ने गर्छ । ठूला कणहरु खोक्दा वा खकारका माध्यामबाट निस्किन्छन् । तर, साना कण फोक्सोमा यस्तरी गडेका हुन्छन् कि हत्तपत्त निस्किँदैनन् । शरीरले भने बाहिर निकाल्ने प्रक्रिया जारी राख्छ, त्यसैले लामो समयसम्म खोकी लागिरहन्छ ।

अघिल्ला वर्षमा भन्दा निमोनिया भएर अस्पताल आउने बिरामीको संख्या बढेको छ । यसको कारण वायू प्रदूषण पनि हो ।

खोकी हावाका माध्यमबाट शरीरभित्र पसेका अनावश्यक कणहरु निकाल्ने प्रक्रिया हो । तर सबै अवस्थामा यी कणहरु बाहिर निस्किँदैनन् । निस्कन नसक्ने कणलाई शरीरको प्रणालीले फुटाएर निकाल्ने, अन्यत्र सार्ने वा पचाउने काम गर्छ । तर, कतिपय यस्ता कण हुन्छन्, जो फुट्दैनन्, पच्दैनन् र अन्यत्र सर्दैनन् पनि । फोक्सोमै गडेर बस्छन् । ती कण बसेको ठाउँमा एकखालको संक्रमण हुन्छ । जुन अन्यत्र फैलिँदै दीर्घकालमा फोक्सो सम्बन्धी विभिन्न रोगमा परिणत हुन्छ । क्रोनरी आर्टरी डिजिज, स्ट्रोक, क्यान्सर आदि रोग यसैको कारण हो ।

किन आइरहन्छ खकार ?
घाँटी चिलाउने, खसखस हुने, औषधि खाँदा कम हुने तर निको नहुने, खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता समस्या अहिलेको धुलोका कारण निम्तिएका हुन् । कतिपयलाई खकार ननिकाल्ने तर निकाल्न खोजिरहने बानी परेको हुन्छ । यो चाहिँ प्रदूषणले निम्त्याएको मानसिक समस्या हो । जसले घाँटीमा केही छ भन्ने महसुस गराइरहेको हुन्छ ।

शरीरको प्रणालीले घाँटीभन्दा तल पुगेका कणलाई खकारका माध्यमबाट निकाल्न खोज्छ । खकार शरीरको रोग प्रतिरोधी प्रणालीमै पर्छ । खकारले बाहिरबाट आएको फोहोरलाई बाहिरै निकाल्ने काम गर्छ । साथै, श्वासप्रश्वासलाई सुख्खा हुनबाट जोगाउँछ पनि । प्रदूषणका कारण धेरै फोहोरका कण भित्र पुग्न थालेपछि यो प्रणाली बढी सक्रिय हुन्छ । अर्थात् खकार धेरै निस्किन थाल्छ । खकार लगातार निस्किरहने प्रक्रियालाई ‘एक्युड ब्रोन्काइटिस’ भनिन्छ । वर्षाैंसम्म यस्तै भइरह्यो भने यो ‘क्रोनिक ब्रोन्काइटिस’मा रुपान्तरित हुन्छ । खकार आइरहने भएकाले श्वासनलीमा स्थायी परिवर्तन आउँछ ।

लगातार फोहोर बाहिर निकाल्नुपर्ने भएपछि खकार निकाल्ने ग्रन्थी ठूलो बन्छ । शरीरका हरेक अंग वा प्रणाली सामान्य रहे मात्र मानिस स्वस्थ रहन्छ । यसरी ग्रन्थी ठूलो भयो र निरन्तर खकार आइरह्यो भने त्यो असजिलो प्रक्रिया हुन जान्छ ।

जोगिन के गर्ने ?
वायु प्रदूषण नियन्त्रणको सवालमा सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ । धुलोका कारण आउने समस्या एकातिर छँदै छ । समग्र वायु प्रदूषणकै कारण आउने समस्या झन् जटिल बन्दै छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ । तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ । जसलाई हानिकारक हावा मानिन्छ ।

अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन उपाय अपनाउनुपर्छ । औषधि–उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ । औषधिको सहायताले शरीरभित्र पसेका हानीकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन ।

सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ । सुरक्षित मास्क यसकारण भनिएको हो कि, बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्नै सक्दैनन् ।

बिरामी, बच्चा र बृद्धलाई प्रदूषणले बढी असर गर्छ । त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन । हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन् । बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन् ।

लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ । बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन ।
- डा. न्यौपाने काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी मेडिसिन विभाग प्रमुख हुन्

----------
स्रोतः स्वास्थ्य खबरपत्रिका

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53