किन हुन्छ पाइल्स ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

किन हुन्छ पाइल्स ?





तपाईं हामीले सुनेको अनि कतिले वर्षौदेखि भोग्दै आएको समस्या हो, पाइल्स । यसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । यो प्राइमरी र सेकेन्डरी गरी २ प्रकारको हुन्छ । यसको मुख्य कारण नै कब्जियत हो । मानिसको दिसा गर्ने ठाउँ वरिपरि रहेका रक्तनशा विविध कारणबाट सुन्निने अवस्थालाई ‘हेमोरोइड’ भनिन्छ । साधारणतया ती रक्तनशाले दिसा गर्ने प्रक्रियालाई सघाउ पुर्याइरहेका हुन्छन्।

यो पनि हेर्नुहोस् : बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु

ठूलो आन्द्राको अन्तिम भागको रुपमा रहेको मलद्वारको भित्तामा अशुद्ध रगत भएका स–साना रक्तनली हुन्छन् । यी नली मलद्वारको भित्री तहमा रहेका हुन्छन् । लगातार कब्जियत भइरहनु, दिसा गर्दा कन्नुपर्ने हुनु, आउँ पर्नु, धेरै पखाला लाग्नु, खानपिनमा रेसादार खानाको कमी, पानीको सेवनमा कमी, बढी मात्रामा रक्सी, मासु, चुरोटको सेवन आदिका कारण यी रक्तनलीमा तनाव उत्पन्न हुन्छ । त्यसपछि रक्तनली सुन्निन्छन् । यो अवस्था धेरै समयसम्म रहिरयो भने तिनीहरू फुट्छन् र दिसा गर्दा रगत देखा पर्दछ।

पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण दिसा गर्दा रगत आउनु हो । यसरी आएको रगत स्वच्छ, ताजा, चम्किलो, रातो रंगको हुन्छ र यस्तो अवस्थामा दुख्दैन । दिसा गर्दा अन्त्यतिर थोपा–थोपा भएर आउने गर्छ । दिसा कडा भएको बेलामा मलद्वार दुख्छ तर रगत आएको बेला कुनै पनि प्रकारको पीडा नहुनु नै यसको प्रमुख लक्षण हो । यसका साथै मलद्वारमा मासुको डल्लो भएको जस्तो अनुभव हुनु, मलद्वार भिजेको हुनु, चिलाउनुजस्ता लक्षण पनि देखा पर्छन् । कहिलेकाहीँ मलद्वारमा संक्रमण भएमा पीडा पनि हुने गर्छ । यो समस्या धेरै समयसम्म रहिरहेमा रक्तअल्पता पनि हुने गर्छ।

पाइल्समा ४ अवस्थामा रगत आउने हुन्छ । रगत मात्र आयो भने यसलाई पहिलो अवस्था भनिन्छ । मलद्वारमा रहेको गाँठो केहीँ तल आयो भने दोस्रो, रगत देखिनुका साथै बाहिर आउने र दिसा भैसकेपछि पुनः भित्र जान्छ भने तेस्रो अवस्था र बाहिर नै रहिरहने छ भने त्यसलाई चौथो अवस्था भनिन्छ । चौथो अवस्था केही जटिल अवस्था हो । यसमा बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र छिराउन सकिदैँन । हेमोरोइडमा दुखाई नभएपनि बाहिरी हेमोरोइड भने चिलाउने र दुख्ने हुन्छ।

पाइल्स एक साधारण समस्या हो भनेर हेलचेक्र्याईँ गरेको खण्डमा बिरामीले विभिन्न कष्टदायक समस्या भोग्नुपर्ने हुन सक्छ । रक्तनली च्यापिनाले असह्य पीडा हुन्छ र नलीहरू कडा भएर रक्तसञ्चार रोकिनाले घाउ बन्न पनि सक्छ । त्यसैले सुरुकै अवस्थामा चिकित्सककहाँ गएर उपचार गराउनु उचित हुन्छ । सुरुकै अवस्थामा भयो भने एन्टिबायोटिक, सिज वाथजस्ता उपचार विधि अपनाउनु पर्छ।

सिज बाथ पाइल्समा प्रारम्भिक उपचार प्रक्रिया हो । यसमा एउटा बाटामा मनतातो पानी राखेर त्यसमा केही मिनेटसम्म बस्नुपर्दछ । सिज बाथले हेमोरोइडलाई छिटो निको पार्न मद्दत गर्दछ । मनतातो पानीले रक्त सञ्चालन प्रक्रियालाई सामान्य बनाएर सुन्निएको भागलाई राहत दिन्छ । यसरी सुरुको अवस्थाबाट सुधार गर्दै लानुपर्छ । यदि बाहिर निस्किएको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । सुरुको अवस्थामा शल्यक्रिया गर्नुपर्दैन । पाइल्स भयो भन्दैमा शल्यक्रिया नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो।

हेमोरोइडबाट जोगिन दिसालाई नरम बनाउने उपाय अवलम्बन गर्नुका साथै जीवनशैलीमा परिवर्तन ल्याउन जरूरी हुन्छ । जसमा सजिलै पच्ने खानेकुरा हरियो सागपात, फलफुल, रेसादार खाना, पानी तथा झोलपदार्थ प्रशस्त सेवन गर्नुपर्छ । त्यसैगरी माछामासु र रक्सीको सेवन बन्द गर्नुपर्छ । विशेष गरेर कब्जियत हुने र दिसा कडा पार्ने खालको खानाबाट बच्नु नै यसको बच्ने प्रमुख उपाय हो।
-----------
स्रोतः स्वास्थ्य खबरपत्रिका



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.