ब्लग - साहित्य / स्वास्थ्य

यस्ता छन् दमका कारण, लक्षण र उपचार




   डा. अशेष ढुंगाना - May 03 2017

दम एक किसिमको एलर्जिक रोग भएका कारण बिरामीलाई रुघा लागिरहने र शरीर चिलाउने पनि हुन सक्छ।



विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा २३ करोड मानिसमा दम रोग छ। दम रोगका कारण बर्सेनी हजारौंले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति छ। विश्वमा दमका कारण हुने जम्मा मृत्युमा असी प्रतिशत नेपाल जस्ता अति कम र विकासोन्मुख देशमा हुने गरेको छ। दमबारे सचेतना फैलाउनका लागि ‘ग्लोबल इनिसिएटिभ फर आस्थमा’ नामक संस्थाले प्रत्येक वर्षको मे महिनाको पहिलो मंगलबारलाई विश्व दम दिवसका रुपमा मनाउने गरेको छ।

दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो। जसले बालबालिकादेखि वृद्ध–बृद्धासम्मलाई समान रुपमा असर गर्न सक्छ। सामान्यता यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ। समयमै निदान र उपचार हुन नसकेको खण्डमा यसले सबै उमेर समूह र लिंगका मानिसलाई दीर्घ प्रभाव पार्न सक्छ। दमका कारण हुने अस्वस्थता र मृत्युदरलाई न्यूनीकरण गर्न समयमै निदान र प्रभावकारी उपचार विधि जरुरी हुन्छ।

यो पनि हेर्नुहोस् : किन हुन्छ पत्थरी? पत्थरी हुन नदिन के गर्ने?

दमका लक्षण

दमका बिरामीलाई सास फेर्न अप्ठ्यारो महसुस हुनेगर्छ। साथै सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउँछ। सुरुसुरुको अवस्थामा यस्तो लक्षण हप्तामा वा दुई हप्तामा या महिना–दुई महिनामा एक पटक हुने गर्छ। तर, रोग जटिल हुँदै गएको खण्डमा दिनहुँ यस्तो समस्या आइपर्छ। धेरैजसो दमको समस्या राति वा बिहानीपख वा धुवाँधुलोको सम्पर्कमा आएको बेला देखिन्छ। त्यसका अलावा सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्थामा पनि दम जटिल बन्दै जाने हुन्छ।

घ्यार–घ्यारजस्तै खोकी पनि दमको एउटा मुख्य लक्षण हो। लामो समयसम्म खोकिरहेमा दमको परीक्षण गराउन जरूरी छ। कसैकसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ। दम एक किसिमको एलर्जिक रोग भएका कारण बिरामीलाई रुघा लागिरहने र शरीर चिलाउने पनि हुन सक्छ।

दमका कारण
दम लाग्नुको ठ्याक्कै कारण ‘मेडिकल साइन्स’ले पत्ता लगाउन सकेको छैन। तर, वंशाणुगत जोखिम र वातावरणीय प्रभावले यो रोग हुने सम्भावना बढी हुन्छ। सामान्यता परिवारका कुनै सदस्यलाई दम छ भने अरुलाई पनि देखिन सक्छ। साथै, वातावरणीय प्रदूषणलाई पनि दम हुने कारण मानिन्छ। धुवाँधुलो, व्यायाम र विभिन्न औषधि (जस्तैः एस्पिरिन) पनि दमका कारक हुन्।

दम भइसकेकाहरुलाई घरभित्र एलर्जी गराउने (उपियाँ, उडुस, साङ्ला, कार्पेट वा सिरकको धुलो, धुवाँ, घर पालुवा जनावरका रौं आदि) कुराले झन् समस्या निम्त्याउँछ। यसैगरी धूमपान, वातावरणीय प्रदूषण र तनावले पनि दम बढाउँछ।

दमको शंका लागेमा के गर्ने?
दम भएको खण्डमा डाक्टरको परामर्श लिइहाल्नुपर्छ। सुरुको अवस्थामा दमका बिरामीलाई रोगका लक्षणहरू मात्र बढी हुने र ल्याब टेस्टमा कुनै गडबडी नदेखिने हुन सक्छ। रोग बढ्दै गएमा ‘पल्मोनरी फङ्सन टेस्ट’ (पिएफटी) गरेर यो रोगको निदान गर्न सकिन्छ। विशेषतः पिएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ। यसका अलावा छातीको एक्स–रे र रगतमा ‘एओसिनोफिल’को जाँच गरेर पनि यो रोग भए/नभएको यकिन गर्न सकिन्छ। केही बिरामीलाई छातीको सिटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ।

दम भएकाले के गर्ने?

दमका बिरामीलाई ‘इन्हेलर’ विधि (जसमा औषधिलाई यन्त्रको मद्दतले सिधै फोक्सोसम्म पुर्याइन्छ) बाट उपचार गरिन्छ। इन्हेलरबाट लिइने औषधिले द्रूत गतिमा मात्र काम गर्दैन। बढी प्रभावकारी पनि हुन्छ। औषधिको नगन्य मात्रा मात्र रक्तसञ्चारमा पुग्ने हुँदा यसले शरीरमा गर्ने ‘साइड इफ्फेक्ट’ पनि कम हुन्छ। त्यसैले इन्हेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ्र। दमका बिरामीले प्रयोग गर्ने ब्रोङ्कोडाइलेटर र स्टेरोइड औषधिहरू इन्हेलरबाट दिइन्छ।

सामान्यतः इन्हेलर यन्त्र तीन प्रकारका छन् १. एमडिआई (मिटर डोज इन्हेलर) २. डिपिआई (ड्राइ पाउडर इन्हेलर) र ३. नेबुलाइजर (नेबुलाइजरको प्रयोग धेरैजसो जटिल र अस्पताल भर्ना भएको अवस्थामा गरिन्छ)। एमडिआई र डिपिआई सजिलोसँग बोक्न र प्रयोग गर्न सकिने भएकाले घरमै प्रयोग गरिन्छ। मिटर डोज इन्हेलरमा औषधि ‘स्प्रे’को रुपमा राखिएको हुन्छ। त्यस्तै ड्राइ पाउडर इन्हेलरमा औषधिको धुलो क्याप्सुलमा राखिएको हुन्छ। जुन इन्हेलर यन्त्रद्वारा लिइन्छ। यसका अलावा एमडिआईसँग श्वासको राम्रो संयोजन गर्न नसक्ने बिरामी र वृद्धावस्थाका व्यक्तिले ‘स्पेसर’ पनि सँगै प्रयोग गर्न सक्छन्।

यी यन्त्रहरुको प्रयोग ठीक तरिकाले गर्न जरुरी छ। त्यसो भएमा मात्रै यिनीहरुको प्रभावकारिता बढी हुन्छ। इन्हेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा भनेको इन्हेलर औषधि फोक्सोको भित्री भागसम्म पुर्‍याउनुपर्छ। यस प्रविधिको सफलता यसैमा निर्भर हुन्छ। इन्हेलर लिने सही तरिका चिकित्सकबाट सिक्नु जरूरी छ। औषधि दिने फर्मासिस्टले पनि औषधि दिँदा बिरामीलाई इन्हेलर लिने तरिका सिकाउनुपर्छ। ठूला र व्यस्त श्वासप्रश्वासका क्लिनिकहरूमा भने यी औषधि लिने विधि सिकाउने छुट्टै इन्हेलर एजुकेटरको व्यवस्था गरिएको हुन्छ।

दम र क्रोनिक अप्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) पनि मधुमेह र उच्च रक्तचापजस्तै दीर्घकालीन रोग हुन्। जसले दीर्घ रूपमा फोक्सोलाई क्षति पुर्याउँछ। लामो समय औषधि लिनुपर्ने हुनाले सबभन्दा प्रभावशाली र सबभन्दा कम साइड इफेक्ट गर्ने इन्हेलर विधि नै यसको सर्वोत्तम उपचार हो।

दमबाट जोगिने उपाय
दमको कारक तत्व पत्ता नलागिसकेको हुनाले यसबाट पूर्णरुपमा जोगिने उपाय विकास हुन सकेको छैन। तथापि रोग लागिसकेकाहरूले समयमै यसको निदान र उपचार गरेमा फोक्सोमा हुने दीर्घ प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ। त्यस्तै, यसका जोखिमहरूबाट बच्नेतर्फ सोच्नुपर्छ। जस्तै, धुवाँधुलोको वातावरणबाट टाढा रहेर र मास्कको प्रयोग गर्ने, रुघाखोकीको समयमै उपचार गर्ने, तनावलाई न्यूनीकरण गर्ने जस्ता उपायले दम बल्झिनबाट जोगिन सकिन्छ।

(छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. ढुंगाना वीर अस्पतालमा कार्यरत छन्)
----

स्रोतः स्वास्थ्य खबरपत्रिका



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.13
  • 103.73
  • European euro
  • 115.58
  • 116.25
  • UK pound sterling
  • 134.44
  • 135.22
  • Swiss franc
  • 106.06
  • 106.68
  • Australian dollar
  • 76.95
  • 77.4
  • Canadian dollar
  • 76.31
  • 76.76
  • Singapore dollar
  • 74.38
  • 74.82
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 14.98
  • 15.07
  • Saudi Arabian riyal
  • 27.5
  • 27.66
  • Qatari riyal
  • 28.32
  • 28.49
  • Thai baht
  • 3
  • 3.02
  • UAE Dirham
  • 28.08
  • 28.24
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 9.23
  • 9.28
  • Swedish Krone
  • 11.82
  • 11.89
  • Danish Krone
  • 15.53
  • 15.62