ब्लग - साहित्य / अध्यात्म

बिश्वगीताको अठारौं अध्याय (अन्तिम अध्याय)




   Bishwa Raj Adhikari - Apr 25 2017

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को अठारौं तथा अन्तिम अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्यायको लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको अठारौं अध्यायका ७८ श्लोकहरु यसप्रकार छन् । 

अध्याय १८ , श्लोक ०१ 
अर्जुनले बिन्ती गरे (हे महाबाहो, हे हृषीकेश, हे केशिनिषूदन सन्यास र त्यागको तत्व अर्थात विषयहरूलाई म पृथक पृथक किसिमले जान्न चाहन्छु।)
अर्जुन उवाच संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम्। त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन।।१।।

अध्याय १८ , श्लोक ०२ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (काम,क्रोध,लोभ,मोह जस्ता भौतिक इच्छाहरूसँग सम्बन्धित रहेका कर्महरूको परित्याग गर्नुलाई निपुण पण्डितहरू सन्यास भन्दछन तर विद्वानहरू भने समस्त कर्मफलहरूको पूर्ण परित्याग गर्नुलाई त्याग भन्दछन्।)
श्रीभगवानुवाच काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदु: सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणा:।।२।।

अध्याय १८ , श्लोक ०३ 
(केही सांख्यवादी मनिषि अर्थात दार्शनिकहरूले भने कर्महरू मात्र दोषयुक्त छन् त्यसकारण यिनीहरूको परित्याग गर्नु पर्दछ भनी भन्दछन् तर मीमांसकहरू भने यज्ञ, दान र तपस्या परित्याग गर्नपर्ने किसिमका कर्महरू होइनन् भनी भन्दछन्।)
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिण:। यज्ञदानतप:कर्म न त्याज्यमिति चापरे।।३।।

अध्याय १८ , श्लोक ०४ 
(हे भरतश्रेष्ठ, अब त्यागबारे मेरो निश्चयात्मक धारणा सुन जुन म संक्षिप्तमा भन्ने छु। हे मनुष्यहरूमा बाघ, त्याग तिन किसिमको हुन्छ भनी भनिएको छ।)
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम। त्यागो हि पुरुषव्याघ्र विविध: सम्प्रकीर्तित:।।४।।

यो पनि हेर्नुहोस् : "विश्वगीता"को सत्रौं अध्याय

अध्याय १८ , श्लोक ०५ 
(यज्ञ, दान र तपस्या रुप कर्महरू परित्याग गर्नु हुँदैन बरु नि:सन्देह गर्नु पर्दछ किनभने यिनीहरूले व्यक्तिहरुको चित्तलाई पवित्र पार्ने कार्य गर्दछन्।)
यज्ञदानतप:कर्म न त्याज्यं कार्यमेव तत्। यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम्।।५।।

अध्याय १८ , श्लोक ०६ 
(हे पार्थ, कर्तापनको अभिमान र कर्मफलको आशा त्यागेर यी सबै कर्महरू गर्नु नै कर्तव्य हो। यो मेरो निश्चयात्मक उत्तम सल्लाह एवं आदेश पनि हो।)
एतान्यपि तु कर्माणि संगं त्यक्त्वा फलानि च। कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम्।।६।।

अध्याय १८ , श्लोक ०७ 
(तर जीवन निर्वाहका लागि गरिने नित्य कर्महरूको त्याग गर्नु आवश्यक छैन्। मोहमा परेर गरिने ती कर्महरूको परित्यागलाई तामसी परित्याग भन्ने गरिन्छ।)
नियतस्य तु संन्यास: कर्मणो नोपपद्यते। मोहात्तस्य परित्यागस्तामस: परिकीर्तित:।।७।।

अध्याय १८ , श्लोक ०८ 
(जो व्यक्तिले दु:खदायी मानेर शारीरिक कष्टको डरले कर्महरूको परित्याग गर्दछ उसले राजस अर्थात उच्च एवं पवित्र त्याग गर्दछ तर त्यस्तो व्यक्तिले राजस त्याग गरेता पनि त्यस्तो त्यागको फलबाट भने वञ्चित हुन पुग्छ।)
दु:खमित्येव यत् कर्म कायक्लेशभयात्तजेत्। स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत्।।८।।

अध्याय १८ , श्लोक ०९ 
(हे अर्जुन, कर्तापनको घमण्ड र कर्मफलको इच्छा परित्याग गरेर नित्य कर्म गर्नु कर्तव्य हो भन्ने सम्झी गरिने कर्म नै सात्विक त्याग हो भनि उल्लेख गरिएको छ।)
कार्यमित्येव यत् कर्म नियतं क्रियतेSर्जुन। संगं त्यक्त्वा फलं चैव स त्याग: सात्तिवको मत:।।९।।

अध्याय १८ , श्लोक १० 
(जो व्यक्ति दु:खदायी कार्यहरूबाट दु:खी हुँदैन र सुखदायी कार्यहरूमा असक्ति राख्दैन ऊ सत्वशील, संशय रहित एवं बुद्धिमान् हो। र ऊ नै त्यागी पनि हो।)
न द्वेष्टयकुशलं कर्म कुशले नानुषज्जते। त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशय:।।१०।।

अध्याय १८ , श्लोक ११ 
(देहधारी अर्थात मनुष्यहरूले पूर्णरुपले कर्महरूको परित्याग गर्न सक्तैनन् र त्यस्तो गर्न सक्नु सम्भव पनि छैन्। त्यसकारण ती व्यक्तिहरू जसले कर्मफलहरूको इच्छा राख्दैनन् र परित्याग गर्छन्, त्यस्ताहरूलाई त्यागीको रुपमा लिने गरिन्छ।)
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषत:। यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते।।११।।

अध्याय १८ , श्लोक १२ 
(पहिले वर्णनन् गरिएका त्याग नगर्ने व्यक्तिहरूको मृत्यु भएपछि उनीहरूले पुन: तिन किसिमका नारकीय, देवत्व र मनुषत्व फलहरू प्राप्त गर्छन। तर सन्यासीहरूले भने ती तिन फलहरू मध्ये कुनै पनि फल प्राप्त गर्नु पर्दैन।)
अनिष्टमिष्टं मिश्रं च त्रिबिधं कर्मण: फलम्। भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित्।।१२।।

अध्याय १८ , श्लोक १३ 
(हे महाबाहो, वेदान्तमा भनिएका पाँच कारणहरू, जसले सबै कर्महरूको सिद्धिका लागि कर्महरूलाई समाप्त पार्छन्, ती अब मबाट सुन।)
पञ्चैतानि महाबाहो कारणानि निबोध मे। सांख्ये कृतान्ते प्रक्तानि सिद्धे सर्वकर्मणाम्।।१३।।

अध्याय १८ , श्लोक १४ 
(देह-क्रिया हुने स्थान, कर्ता, इन्द्रियहरू तथा विभिन्न किसिमका चेष्टा-प्रयासहरू एवं पञ्चम स्थानमा रहेको सर्वप्रेरक अन्तरयामी-आत्मा गरी वेदान्तमा यी पाँच कारण भनिएको छ।)
अधिष्ठानं तथा कर्ता करणं च पृथग् विधम्। विविधाश्च पृथक् चेष्टा दैवं चैवात्र पञ्चमम्।।१४।।

अध्याय १८ , श्लोक १५ 
(मनुष्यले शरीर, वाणी र मनले शास्त्रमा उल्लेख भएका धर्म अनुसार वा सो विपरित जे जति कार्यहरू गर्दछ ती कार्यहरूका कर्ता ती पाँच कारणहरू नै हुन।)
शरीरवाङ्मनोभिर्यत् कर्म प्रारभते नर:। न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतव:।।१५।।

अध्याय १८ , श्लोक १६ 
(तर जसले यी तात्विक कुराहरूलाई बुझ्दैनन् र केवल आत्मालाई नै सबै कर्महरूको कर्ताको रुपमा देख्छन ती अपूर्ण बुद्धि हुने अविवेकीहरूले सही किसिमले बुझ्दैनन्। तिनीहरूले वस्तुहरू जस्ता छन् त्यस्तै किसिमले ती वस्तुहरूलाई देख्न सक्तैनन्।)
तत्रैवं सति कर्तारमात्मानं केवलं तु य:। पश्यत्यकृतबुद्धित्वान्न स पश्यति दुर्मति:।।१६।।

अध्याय १८ , श्लोक १७ 
(जुन व्यक्तिमा कर्तापनको घमण्ड छैन् र जसको बुद्धिले कर्मको फलमा आसक्ति राख्दैन त्यस्तो व्यक्तिले यदि संसारका समस्त प्राणीहरूको हत्या गेर पनि यथार्थमा त्यो व्यक्ति हत्यारा ठहर्दैनन् र ऊ त्यो कर्मको फलसँग जोडिंदैन पनि।)
यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते। हत्वापि स इमालँ लोकान्न हन्ति न निबध्यते।।१७।।

अध्याय १८ , श्लोक १८ 
(ज्ञान, ज्ञानको अन्तरवस्तु र ज्ञाता ती तत्वहरू हुन जसले व्यक्तिलाई कर्महरु गर्न उत्प्रेरित गर्छन्। इन्द्रियहरु, क्रिया र कर्ता क्रियाका आश्रयहरू हुन्।)
ज्ञानंम ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना। करणं कर्म कर्तेति त्रिविध: कर्मसंग्रह:।।१८।।

अध्याय १८ , श्लोक १९ 
(गुणहरूको भिन्नताले गर्दा ज्ञान, कर्म र कर्ता गरी सांख्य शास्त्रमा तिन किसिमले भनिएका छन् त्यो तिमी यथावत रुपमा सुन।)
ज्ञानं कर्म च कर्ता च त्रिधैव गुणभेदत:। प्रोच्यते गुणसंख्याने यथावच्छृणु तान्यति।।१९।।

अध्याय १८ , श्लोक २० 
(जुन ज्ञानले प्रत्येक शरीर धारण गरेको अर्थात हरेक प्राणीमा स्थित रहेको आत्मालाई एक अखण्ड र अमर देख्दछ त्यो ज्ञान सात्विक ज्ञान हो भन्ने बुझ।)
सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते। अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम्।।२०।।

अध्याय १८ , श्लोक २१ 
(जुन ज्ञानले सम्पूर्ण देहधारीहरूमा फरक फरक किसिमको जीव अस्तित्व वा फरक फरक शरीरमा फरक फरक आत्मा रहेको देख्दछ त्यस्तो किसिमले देख्ने ज्ञान राजसिक ज्ञान हो।)
पृथक्वेन तु यज्ज्ञानं नानाभावान् पृथग् विधान्। वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम्।।२१।।

अध्याय १८ , श्लोक २२ 
(र जुन ज्ञानले स्नान, भोजन आदि जस्ता शारीरिक कार्यहरूलाई पूर्ण मानेर ती कार्यहरूको कर्ता आत्मालाई देख्दछ अर्थात ती कार्यहरू आत्माद्वारा गराइएको मान्दछ र जुन ज्ञान युक्ति र तत्व अर्थ नभएको एवं पशु समान तुक्ष्य छ त्यस्तो ज्ञानलाई तामसिक ज्ञान भन्ने गरिन्छ।)
यत्तु कृत्स्नवदेकस्मिन् कर्मे सक्तमहैतुकम्। अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम्।।२२।।

अध्याय १८, श्लोक २३ 
(जुन नित्य कर्म कुनै व्यक्तिद्वारा शास्त्रले व्यवस्था गरे अनुरुप तथा फलको आसक्ति र इच्छा त्यागेर एवं राग तथा द्वेष नराखि गरिन्छ त्यो नित्य कर्मलाई सात्विक कर्म भन्ने गरिन्छ।)
नियतं संगरहितमरागद्वेषत: कृतम्। आफलप्रेप्सुना कर्म यत्तत्सात्त्विकमुच्यते।।२३।।

अध्याय १८, श्लोक २४ 

(तर अति क्लेष अर्थात परिश्रमपूर्ण तथा कर्मफलको इच्छा सहित अहङ्कारी व्यक्तिद्वारा गरिएको कर्मलाई राजसिक कर्म भनिएको छ।)
यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुन:। क्रियते बहुलायासं तद् राजसमुदाहृतम्।।२४।।

अध्याय १८, श्लोक २५ 
(अरुलाई घात एवं धर्म तथा ज्ञानको नोक्सानी हुने किसिमबाट आफ्नो कार्य क्षमताको कुनै ख्याल नगरी, कर्मको भावी परिणामलाई बेवास्ता गर्दै भ्रम एवं मोहमा परेर कुनै व्यक्तिद्वारा गरिएको कर्मलाई तामसिक कर्म भनिएको छ।)
अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम्। मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते।।२५।।

अध्याय १८, श्लोक २६ 

(घमन्ड एवं कर्म फलको लालसा शून्य भएर दृढ निश्चय एव उत्साहका साथ तथा सफलता एवं असफलतालाई समान सम्झेर कर्म गर्ने कर्ता नै सात्विक कर्ता हो।)
मुक्तासंगोSनहंवादी धृत्युत्साहसमन्वित:। सिद्ध्यसिद्धयोर्निर्विकार: कर्ता सात्त्विक उज्यते।।२६।।

अध्याय १८, श्लोक २७ 
(विषय भोगहरूमा आसक्ति राख्ने र कर्मफलहरूको चाहना गर्ने, लोभ, हर्ष र शोक अनुभव गर्ने, हिंसागर्ने र साथै आचरण अपवित्र राख्ने स्वभावका व्यक्तिहरूलाई राजस व्यक्ति भन्ने गरिन्छ।)
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोSशुचि:। हर्षशोकान्वित: कर्ता राजस: परिकीर्तित:।।२७।।

अध्याय १८, श्लोक २८ 
(अनुचित कार्य गर्न रुचाउने, आफ्नो स्वभाव अनुसारको इच्छा राख्ने, अनुशासनहीन, मूर्ख, घमन्डी, अल्छी, शोकमग्न र कार्यमा विलम्ब गर्ने व्यक्तिलाई तामसी व्यक्ति भन्ने गरिन्छ।)
अयुक्त: प्राकृत: स्तब्ध: शठो नैष्कृतिकोSलस:। विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते।।२८।।

अध्याय १८, श्लोक २९ 
(हे धनञ्जय, व्यक्तिहरूमा सात्विक, राजसिक र तामसिक गरी तिन किसिमका भौतिक स्वभावहरू हुन्छन्। ती तिन भौतिक स्वभाव अनुसार नै उनीहरूमा बुद्धि र दृढता पनि फरक फरक हुन्छ। अब म तिनीहरूको बारेमा भन्दैछु, सुन।)
बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु। प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय।।२९।।

अध्याय १८, श्लोक ३० 
(हे पार्थ, एक व्यक्तिले जुन बुद्धि अर्थात ज्ञान द्वारा कर्म र सन्यासको मार्गलाई बुझ्छ, उचित र अनुचित कार्य छुट्याउन सक्छ, भय र भय शून्यता जान्दछ, जन्म र मृत्युको बन्धन र मोक्ष बारे थाहा पाउँछ त्यो व्यक्तिमा रहेको त्यस्तो किसिमको ज्ञान सात्विक बुद्धि हो।।)
प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये। बन्धं मोक्षं च या वेत्ति बुद्धि: सा पार्थ सात्त्विकी।।३०।।

अध्याय १८, श्लोक ३१ 
(हे पार्थ, जुन बुद्धिको प्रयोगद्वारा धर्म र अधर्म तथा कार्य र अकार्यलाई सही किसिमले बुझ्न सकिँदैन त्यस्तो बुद्धिलाई राजसी बुद्धि भन्ने गरिन्छ।)
यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च। अयथावत्प्रजानाति बुद्धि: सा पार्थ राजसी।।३१।।

अध्याय १८, श्लोक ३२ 
(हे पार्थ, त्यो बुद्धि जुन अज्ञानतले भरिएको छ, अज्ञानताले भरिएर अधर्मलाई धर्म मान्दछ तथा असत्यलाई सत्य भनी अनुभूत गर्दछ त्यो बुद्धि तामसी बुद्धि हो।)
अधर्मं धर्ममिति या मन्यते तमसावृता। सर्वार्थान् विपरीतांश्च बुद्धि: सा पार्थ तामसी।।३२।।

अध्याय १८, श्लोक ३३ 
(हे पार्थ, त्यो धैर्य जो अडिग छ, योग अभ्यासाद्वारा दृढ रुपमा कायम गरिएको छ र यी दुबै विषेशताहरूले युक्त भएर मन, जीवन र इन्द्रियहरूका कार्यहरुलाई नियन्त्रणमा राख्न सक्षम छ भने त्यस्तो धैर्यलाई सात्विक धैर्य भन्ने गरिन्छ।)
धृत्या यया धारयते मन:प्राणेन्द्रियक्रिया:। योगेनाव्यभिचारिण्या धृति: सा पार्थ सात्त्विकी।।३३।।

अध्याय १८, श्लोक ३४ 
(तर हे अर्जुन, कर्म फलको कामना गर्दै, कर्म फलप्रति आसक्त भएर कुनै व्यक्तिले त्येही किसिमको धैर्यद्वारा धर्मका कार्यहरू, इन्द्रिय सुखका क्रियाहरू र साथै अर्थिक आर्जन पनि गर्दछ भने, हे पार्थ, त्यस्तो धैर्य राजसी धैर्य हो।)
यया तु धर्मकामार्थान् धृत्या धारयतेSर्जुन। प्रसंगेन फलाकाङ्क्षी धृति: सा पार्थ राजसी।।३४।।

अध्याय १८, श्लोक ३५ 
(हे पार्थ, जुन धैर्यद्वारा एक मूर्ख व्यक्तिले सपना, भय, चिन्ता, उदासी, र घमन्ड परित्याग गर्न सक्तैन त्यो धैर्य तामसी धर्य हो।)
यया स्वप्नं भयं शोकं विषादं मदमेव च। न विमुञ्चति दुर्मेधा धृति: सा पार्थ तामसी।।३५।।

अध्याय १८, श्लोक ३६ 
(र अब, हे भरतर्षभ, मबाट तिन किसिमका प्रशन्नताहरू बारे सुन जुन प्रशन्नताहरूको पुन: पुन: अभ्यासद्वारा शरीर धारण गरेको आत्मा आनन्दित हुन्छ र आत्माले सांसारिक दु:खको समाप्ति भएको अनुभूति समेत पनि गर्न सक्छ।)
सुखं त्विदानीं त्रिविधं शृणे मे भरतर्षभ। अभ्यासाद् रमते यत्र दु:खान्तं च निगच्छति।।३६।।

अध्याय १८, श्लोक ३७ 
(जुन प्रशन्नता प्रारम्भमा विषको समान हुन्छ तर अन्तमा अर्थात त्यसको परिणाम भने अमृतमय हुन्छ भने त्यो प्रशन्नता सात्विक प्रशन्नता हो। सात्विक प्रशन्नता व्यक्तिले आत्मविषय निर्मलता अर्थात स्वज्ञानबाट प्राप्त गर्छ। आत्मविषय निर्मलता भने स्वज्ञानबाट उत्पन्न हुने गर्दछ।)
यत्तदग्रे विषमिव परिणामेSमृतोपमम्। तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम्।।३७।।

अध्याय 18, श्लोक 38
(इन्द्रियहरूले भोगगर्दा प्राप्त हुने प्रशन्नता जुन प्रारम्भमा त अमृतमय हुन्छ तर त्यसको परिणाम पछि विषयुक्त हुन्छ भने त्यस्तो प्रशन्नता राजस प्रशन्नता हो।)
विषयेन्द्रियसंयोगाद्यत्तदग्रेSमृतोमम्। परिणामे विषमिव तत्सुखं राजसं स्मृतम्।।३८।।

अध्याय 18, श्लोक 39
(निद्रा, आलस्य, भ्रम तथा जिम्मेवारी बहन नगरेर सम्पन्न गरिएका कार्यहरूबाट उत्पन्न भएको प्रशन्नता जसले व्यक्तिलाई प्रारम्भमा पनि भ्रममा राख्छ र अन्तमा पनि भ्रममा नै राख्दछ भने त्यस्तो प्रशन्नतालाई तामसी प्रशन्नता भन्ने गरिन्छ। त्यस्तो प्रशन्नता अज्ञानताबाट उत्पन्न भएको हुन्छ।)
यदग्रे चानुबन्धे च सुखं मोहनमात्मन:। निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाह्रतम्।।३९।।

अध्याय १८, श्लोक ४० 
(पृथ्वीमा रहेका प्राणीहरू वा स्वर्गमा वा देवताहरूमा नै पनि त्यस्ता कुनै पनि प्राणीहरू छैनन् जो प्रकृतिबाट उत्पन्न हुने यी तिन गुणहरूबाट मुक्त रहेका हुन्।)
न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुन:। सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभि: स्यात् त्रिभिर्गुणै:।।४०।।

अध्याय १८, श्लोक ४१ 
(हे परन्तप, ब्राह्मण, क्षत्री, वैश्य र शूद्रहरूको कर्म उनीहरूको प्रकृतिजन्य गुणहरूका आधारमा विभाजन गरिएको छ।)
ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप। कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै:।।४१।।

अध्याय १८, श्लोक ४२ 

(शान्त, स्व-नियन्त्रण, तपस्या, शुद्धता, सहनशीलता, इमान्दारी, ज्ञान, विद्वता, धर्मपरायणता यी सबै ब्राह्मण- स्वभावबाट उत्पन्न हुने कर्महरू हुन।)
शमो दमस्तप: शौचं क्षान्तिरार्जवमेव च। ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम्।।४२।।

अध्याय १८, श्लोक ४३ 
(वीरता, तेजमय, शक्तिशाली, धैर्यता, चातुर्यता, युद्धमा कुशल अर्थात रणभूमिबाट डराएर नभाग्ने, दानशील, स्वाभिमानी, लोक नेतृत्वकर्ता यी क्षत्री स्वभावका कर्महरू हुन।)
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलानम्। दानमीश्वरभावश्च क्षात्रंम कर्म स्वभावजम्।।४३।।

अध्याय १८, श्लोक ४४ 
(कृषि कार्य, गाईको रक्षा एवं पालन, व्यापार सञ्चालन आदि वैश्य स्वभावका कर्महरू हुन्। सबै समुदायका व्यक्तिहरूको सेवा गर्नु शूद्रहरूका लागि स्वभाविक कर्म हो।)
कृषिगोरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम्। परिचर्यात्मकं कर्म शूदस्यापि स्वभावजम्।।४४।।

अध्याय १८, श्लोक ४५ 
(जन्मजात पाएका गुणहरू अनुरुप आफ्नो आफ्नो कर्म गर्ने व्यक्तिहरूले परमसिद्धि प्राप्त गर्छन्। आफ्ना तोकिएका कर्महरू गरेर व्यक्ति कसरी सिद्ध हुन्छ त्यस बारे भने अब मसंग सुन।)
स्वे स्वे कर्मण्यभिरत: संसिद्धिं लभते नर:। स्वकर्मनिरत: सिद्धि यथा विन्दति तच्छृणु।।४५।।

अध्याय १८, श्लोक ४६ 
(जसबाट सम्पूर्ण प्राणीहरूको उत्पत्ति भएको छ र जो यस लोकमा सर्वत्र व्याप्त छन् उनको पूजा व्यक्तिहरूले आ-आफ्नो धर्म अर्थात कर्महरू अनुसार गरेर सिद्धि प्राप्त गर्दछन्।)
यत: प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम्। स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानव:।।४६।।

अध्याय १८, श्लोक ४७ 

(उत्तम आचरणद्वारा गरिएको अरुको धर्मभन्दा उत्तम आचारणद्वारा नगरिएको भए पनि आफ्नो धर्म नै श्रेष्ठ हुन्छ। आफ्नो जन्मजात गुण एवं स्वभाव द्वारा निर्धारित कर्महरू गर्नाले पापको भागेदार हुनु पर्दैन।)
श्रेयान् स्वधर्मो विगुण: परधर्मात् स्वनुष्ठितात्। स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम्।।४७।।

अध्याय १८, श्लोक ४८ 

(हे कौन्तेय, दोषयुक्त भएता पनि आफ्ना स्वभाविक कर्महरूको परित्याग गर्नु हुँदैन किनभने सम्पूर्ण कर्महरू दोषद्वारा त्यसरी नै बेरिएका छन् जसरी आगो धूवाँद्वारा बेरिएको हुन्छ।)
सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत्। सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृता:।।४८।।

अध्याय १८, श्लोक ४९ 
(तिनीहरूले मोक्षको उच्च सिद्धि प्राप्त गर्छन् जसको बुद्धिले कतै पनि आसक्ति अर्थात लोभ, मोह, क्रोध आदि राखेको छैन्, आफ्नो मनमाथि नियन्त्रण कायम गरेको छ र योग अभ्यासको बलद्वारा इच्छाहरूबाट मुक्ति पाएको छ।)
असक्तबुद्धि: सर्वत्र जितात्मा विगतस्पृह:। नैष्कर्म्यसिदधिं परमां संन्यासेनाधिगच्छति।।४९।।

अध्याय १८, श्लोक ५० 
(हे कौन्तेय, सिद्धि प्राप्त गरेको व्यक्तिले जुन तरिकाबाट ब्रह्म प्राप्त गर्दछ र जुन ब्रह्म ज्ञानको उच्च गति पनि हो, त्यो तरिका बारे मबाट संक्षेपमा सुन।)
सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे। समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा।।५०।।

अध्याय १८, श्लोक ५१-५३ 
(शुद्ध बुद्धिले युक्त भइ सात्विक धारणाद्वारा अन्त: करण आफ्नो नियन्त्रणमा गरेको, शब्द आदि विषयहरूलाई परित्याग गरेको, द्वेषहरूलाई नष्ट पारेको, निर्जन एकान्तबासी, अल्पआहारी, वाणी र शरीर माथि विजय प्राप्त गरेको, निरन्तर ध्यान योगमा निष्ट भएर वैराग्य प्राप्त गरेको, घमण्ड, काम, क्रोध र सञ्चयलाई त्याग गरेको, ममता रहित एवं शान्त अन्त:करण भएको पुरुष ब्रह्ममा मिल्न योग्य हुन्छ।)
बुदध्या विशुद्धा युक्तो धृत्यात्मानं नियम्य च। शब्दादीन् विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च।।५१।। विविसक्तसेवी लध्वाशी यतवाक्यायमानस:। ध्यानयोगपरो नत्यं वैराग्यं समुपाश्रित:।।५२।। अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम्। विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते।।५३।।

अध्याय १८, श्लोक ५४ 
(ब्रह्ममा अवस्थित प्रशन्न चित्त भएको व्यक्तिले न त कसैको लागि शोक गर्दछ न त कुनै कुराको आकांक्षा नै गर्दछ। सम्पूर्ण प्राणीहरूलाई समान भावले हेरेर उसले प्रेमले भरिएको मेरो भक्ति प्राप्त गर्दछ।)
ब्रह्मभूत प्रसन्नत्मा न शोचति न काङ्क्षति। सम: सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम्।।५४।।

अध्याय १८, श्लोक ५५ 
(म जुन किसिमले विभूति सम्पन्न छु र मेरो जुन स्वरुप छ त्यो कुरा कसैले भक्तिद्वारा, ज्ञानले जान्न सक्दछ। अनि जसले भक्तिद्वारा यो कुरा जान्दछ उसले मलाई यसरी जानेर ऊ मेरो लिलामा प्रवेश गर्दछ, ममा विलीन हुन्छ।)
भक्त्या मामभिजानाति यावान् यश्चास्मि तत्त्वत:। ततो मां तत्त्वातो ज्ञात्वा विशते तदनन्तरम्।५५।।

अध्याय १८, श्लोक ५६ 
(सँधै सबै किसिमका कार्यहरूमा संलग्न भएता पनि मेरा अनन्य भक्तहरूले मेरो नै संरक्षणकत्वमा मेरो आशिर्वादले गर्दा अव्यय अर्थात अविनाशी वैकुण्ठधाम प्राप्त गर्दछन्।)
सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रय:। मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम्।।५६।।

अध्याय १८, श्लोक ५७ 

(मनले सम्पूर्ण कर्महरूलाई ममा समर्पण गर्दै मत परायण बुद्धियोगको प्रयोग गरेर नित्य ममाथि चित्त लगाउने होऊ।)
चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्पर:। बुद्धियोगमुपाश्रित्य मच्चित्त: सततं भव।।५७।।

अध्याय १८, श्लोक ५८ 
(यदि तिमी ममाथि चित्त लगाउने भएमा मेरो कृपाले सम्पूर्ण बाधा एवं सङ्कटहरूलाई पार गर्नेछौ तर यदि अहङ्कारी भयौ र यी कुराहरू सुनेनौ भने चाँहि संसाररुपि नाश प्राप्त गर्नेछौ। हराउने छौ, अस्तिव्वहीन हुनेछौ।)
मच्चित: सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि। अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्षसि।।५८।।

अध्याय १८, श्लोक ५९ 
(यदि तिमी अहङ्कारमा परेर मैले यो युद्ध गर्नु उचित छैन् भन्ने निश्चय गर्छौ भने तिम्रो त्यो निश्चय मिथ्या प्रमाणित हुनेछ किनभने युद्ध गर्ने तिम्रो प्रकृति जुन मेरो रजोगुणि मायाबाट तिमी भित्र उत्पन्न भएको हो त्यसले तिमीलाई युद्ध गर्न अनिवार्य रुपमा निर्दैशित गर्ने छ नै।)
यदहंकारमाश्रित्य न योत्स्य इति मन्यसे। मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति।।५९।।

अध्याय १८, श्लोक ६० 

(हे कौन्तेय, मोहमा परेर अहिले जुन कर्म तिमी गर्न चाहिरहेको छैनौ अर्थात युद्ध गर्न चाहिरहेको छैनौ, त्यो कर्म पनि तिमीले तिम्रो स्वभावको कर्म अनुरुप बाँधिएर विवश भएर गर्नेछौ।)
स्वभावजेन कौन्तेय निबद्ध स्वेन कर्मणा। कर्तुं नेच्छसि यन्मोहात् करिष्यस्यवशोSपि तत्।।६०।।

अध्याय १८, श्लोक ६१ 
(हे अर्जुन, ईश्वर सम्पूर्ण प्राणीहरूको हृदमा बास गर्नु हुन्छ र शरीररुपि यन्त्रमा आरुढ भएर ती प्राणीहरूलाई आफ्नो माया अर्थात ईश्वरीय शक्तिले संसार-चक्रमा भ्रमण गराउनु हुन्छ।)
इश्वर: सर्वभूतानां हृद्देशेSर्जुन तिष्ठति। भ्रामयन् सर्वभूतानि यन्त्रारुढानि मायया।।६१।।

अध्याय १८, श्लोक ६२ 
(हे भारत, सम्पूर्ण भाव, विचार र ज्ञानहरूलाई ईश्वरमा समर्पित गर्दै तिमी ईश्वरको नै शरणमा जाऊ। उनका कृपाले तिमीले उच्च शान्ति र नित्य धाम पाउने छौ।)
तमेव शरणं गच्छ सर्वभावेन भारत। तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम्।।६२।।

अध्याय १८, श्लोक ६३ 
(यस किसिमले मैले यो गोप्य भन्दा पनि महा गोप्य ज्ञान तिमीलाई सुनाएको छु। यस ज्ञानमाथि विश्लेषण सहित पूर्ण विचार गर अनि तिमीलाई जे गर्ने इच्छा लाग्छ त्येही गर।)
इति ते ज्ञानमाख्यातं गुह्याद् गुह्यतरं मया। विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु।।६३।।

अध्याय १८, श्लोक ६४ 
(मेरो यो गोप्य भन्दा पनि अति गोप्य तथा सबैको तुलनामा सर्वश्रेष्ठ वचनहरू तिमी पुन: सुन। तिमी मेरो अति प्रिय भएकोले नै तिम्रो हितका लागि यसलाई फेरि दोहर्याउँदैछु।)

अध्याय १८, श्लोक ६५ 
(तिमी आफ्नो चित्त ममा समर्पण गर, मेरो नाम, रुप, लिला आदिबारे सुन र तिनको किर्तन गरेर मेरो अनन्य भक्त बन। मेरो पूँजा गर्ने होऊ। मलाई नमस्कार गर्ने होऊ। यस प्रकारका कार्यहरू गरेर तिमीले मलाई नै प्राप्त गर्नैछौ। यस्तो हुनेछ भनी म तिमीलाई सत्य एवं अडिग प्रतिज्ञा गर्दैछु किनभने तिमी मेरो परम मित्र पनि हौ।)
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु। मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोSसि मे।।६५।।

अध्याय १८, श्लोक ६६ 

(वर्ण, आश्रम आदि सम्पूर्ण शारीरिक तथा मानसिक धर्महरूलाई परित्याग गरेर तिमी केवल मेरो मात्र शरणमा आऊ। तिमीलाई म सबै पापहरूबाट मुक्ति दिनेछु। तिमी शोक नगर।)
सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज। अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:।।६६।।

अध्याय १८, श्लोक ६७ 
(मैले तिमीलाई भनेको यो गीताशास्त्र सर्वश्रेष्ठ एवं गोप्य ज्ञान तपस्या नगर्ने अभक्त एवं सुन्न इच्छुक नभएका श्रद्धाहीन व्यक्तिहरूलाई नसुनाउनु। ती मूढ व्यक्तिहरू जसले मेरो निन्दा र द्वेष गर्दछन् तिनीहरूलाई पनि यो सर्वश्रेष्ठ शास्त्र गीताशास्त्र कहिले पनि नसुनाउनु।)
इदं ते नातापस्काय नाभक्ताय कदाचन। न चाशुश्रूषवे वाच्यं न च मां योSभ्यसूयति।।६७।।

अध्याय १८, श्लोक ६८ 
(जसले मेरा अनन्य भक्तहरूलाई यो अति गोप्य ज्ञान अर्थात गीताशास्त्रको शिक्षा दिन्छन् तिनीहरूले महान् प्रेममय कार्य गर्नेछन्। त्यस्तो गर्नेहरू नि:सन्देह ममा विलीन हुनेछन्।)
य इदं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति। भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशय:।।६८।।

अध्याय १८, श्लोक ६९ 
 (मनुष्यहरूमा, गीताको वर्णनन् गर्ने व्यक्ति मेरो लागि सर्वाधिक प्रिय हो। ऊ सम्पूर्ण व्यक्तिहरूमा मेरो लागि सर्वश्रेष्ठ पनि हो किनभने उसले मेरो लागि अति प्रिय कार्य गीताको वर्णनन् गर्ने कार्य गरेको छ। त्यसकारण ऊ भन्दा बढी प्रिय मेरो लागि अरू कोही पनि हुनसक्तैन)
न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तम:। भविता न च मे तस्मादन्य: प्रियतरो भुवि।।६९।।

अध्याय १८, श्लोक ७० 
(र ती व्यक्तिहरू जसले हामी दुईका यी धर्ममय वार्तालापहरू सुन्ने, पढ्ने र मनन् गर्नेछन् तिनीहरूले मलाई अवश्य पनि ज्ञानयज्ञले पूजा गर्नेछन्। यस्तो मेरो विचार छ।)
अध्येष्यते च य इमं धर्म्यं संवादमावयो:। ज्ञानयज्ञेन तेनाहमिष्ट: स्यामिति मे मति:।।७०।।

अध्याय १८, श्लोक ७१ 
(विश्वासका साथ र इर्षारहित भएर केवल यो ज्ञान अर्थात गीतशास्त्रको श्रवण मात्र गरे पनि त्यस्तो गर्नेहरूले सांसारिक कार्यहरू गर्दा उत्पन्न हुने अनेक पापहरुबाट मुक्ति पाएर पून्यकर्मीहरूलाई प्राप्त हुने शुभलोक प्राप्त गर्न सक्नेछन्।)
श्रद्धावाननसूयश्र्च शृणुयादपि यो नर:। सोSपि मुक्त शुभालँ लोकान् प्राप्नुयात् पुण्यकर्मणाम्।।७१।।

अध्याय १८, श्लोक ७२ 
(हे पार्थ, तिमीले यी उपदेशहरू अर्थात गीताशास्त्रमा वर्णित ज्ञानहरू अति नै ध्यानपूर्वक सुन्यौ त? हे धनञ्जय, यो सुनेर अज्ञानताबाट उत्पन्न भएको तिम्रो त्यो मोह के समाप्त भयो?)
कच्चिदेतच्छुतं पार्थ त्वयैकाग्रेण चेतसा। कच्चिदज्ञानसम्मोह: प्रणष्टस्ते धनञ्जय।।७२।।

अध्याय १८, श्लोक ७३ 
अर्जुनले बिन्ती गरे (हे अच्युत, हे कहिले पनि नहार्ने, हजुरको कृपाले मेरा सम्पूर्ण भ्रमहरू समाप्त अर्थात ज्ञानहरूद्वारा विस्थापित भएका छन्। ज्ञानहरूले मेरा मनका आँखाहरू उघारी दिएका छन्। अब म हरेक किसिमको शङ्काबाट मुक्त भएकोले यथा ज्ञान अवस्थित हुनु पुगेको छु। म उचित ज्ञानले भरिएको छु। अब हजुरको निर्दैशन अनुसारको कार्य गर्न म पूर्णतया राजी छु।)
अर्जुन उवाच नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत। स्थितोSस्मि गतसन्देह: करिष्ये वचनं तवं।।७३।।

अध्याय १८, श्लोक ७४ 
सञ्जयले भने (मैले यसप्रकार महात्मा वासुदेव र पार्थका बीच भएका ज्यादै रोमाञ्चित गराउने एवं अद्भुत सम्वादहरू सुने।)
सञ्जय उवाच इत्यहं वासुदेवस्य पार्थस्य च महात्मन:। संवादमिममश्रौषमद्भुतं रोमहर्षणमम्।।७४।।

अध्याय १८, श्लोक ७५ 
(श्री वेद व्यासजीको कृपाले गर्दा मैले यो अति गोप्ययोग अर्थात गीताशास्त्र योगेश्वर श्रीकृष्णको मुखबाट नै सुन्ने मौका पाएँ।)
व्यासप्रसादाच्छुतवानेतद् गुह्यमहं परम्। योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयत: स्वयम्।।७५।।

अध्याय १८, श्लोक ७६ 
(हे राजन हे धृतराष्ट्र, श्रीकेवश र अर्जुन बीच भएका पुन्यकारी एवं अद्भुत अनेक सम्वादहरू पटक पटक स्मरण गरेर, मनमा गुनेर, म पटक पटक हर्षित हुँदैछु।)
राजन् संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम्। केशवार्जुनयो: पुण्यं हृष्यामि च मुहुर्मुहु:।।७६।।

अध्याय १८, श्लोक ७७ 
(हे राजन, श्रीहरिको त्यो अति नै अद्भुत रुप पनि पटक पटक मेरो स्मरणमा आएर म सीमाहीन किसिमले आश्चर्यचकित भइरहेको छु र पटक पटक हर्षित एवं रोमाञ्चित समेत पनि भइरहेको छु।)
तच्च संस्मृत्य संस्मृत्य रुपमत्यद्भुतं हरे:। विस्मयो मे महान् राजन् हृष्यामि च पुन: पुन:।।७७।।

अध्याय १८, श्लोक ७८ 
(जहाँ योगेश्वर श्रीकृष्ण हुनुहुन्छ, जहाँ धनुर्धर पार्थ छन् त्यहाँ नै श्री अर्थात कहिले पनि समाप्त नहुने समृद्धि, विजय, ऐश्वर्यवृद्धि, र न्याय छ। र न्यायको पालना पनि त्यहाँ नै छ। यो मेरो दृढ विचार हो।)
यत्र योगेश्वर: कृष्णो यत्र पार्थो धनुर्धर:। तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम।।७८।।

*यो  बिस्वगीताको अन्तिम अध्याय हो ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.32
  • 102.92
  • European euro
  • 120.36
  • 121.07
  • UK pound sterling
  • 131.88
  • 132.65
  • Swiss franc
  • 105.92
  • 106.54
  • Australian dollar
  • 81.16
  • 81.64
  • Canadian dollar
  • 81.3
  • 81.77
  • Singapore dollar
  • 75.12
  • 75.57
  • Japanese yen (10)
  • 9.39
  • 9.44
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.87
  • 24.01
  • Korean Won (100)
  • 8.99
  • 9.04
  • Swedish Krone
  • 12.65
  • 12.72
  • Danish Krone
  • 16.18
  • 16.28