"विश्वगीता"को सोह्रौं अध्याय | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

"विश्वगीता"को सोह्रौं अध्याय




   Bishwa Raj Adhikari - Apr 11 2017
"विश्वगीता"को सोह्रौं अध्याय बिशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को सोह्रौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्यायको लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको सोह्रौं अध्यायका २४ श्लोकहरु यसप्रकार छन् । 

अध्याय १६ , श्लोक ०१-०३ 

भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (डर नहुनु, चित्त प्रशन्न रहनु, ज्ञान प्राप्तिका लागि निष्ठावान् हुनु, दानशील हुनु, बाहिरी इन्द्रियहरू माथि नियन्त्रण गर्नु सक्ने हुनु, यज्ञ र स्वअध्ययन गर्नु, तप गर्नु, अन्त:करणलाई सरल राख्नु, अहिंसक हुनु, सत्य बोल्नु, क्रोधी नहुन, स्त्री, पुत्र आदिमा ममताको त्याग गर्नु, शान्त रहनु, अरुको निन्दा नगर्नु, सम्पूर्ण प्राणीहरूमा दया भाव राख्नु, लोभ नहुनु, मिठो बोल्नु, लाज मान्नु, चंचलताहीन हुनु, बुद्धिमा तेज हुनु, क्षमाशील हुनु, धीरता राख्नु, भित्री र बाहिरी शुद्धता राख्नु, द्रोहभाव विहीन हुनु, घमन्ड नभएको हुनु, हे भारत यी गुणहरू त्यो व्यक्तिले पाउँछ जो दैवी सम्पत्तिका साथ जन्मेको हुन्छ। अर्थात शुभ क्षणमा जन्मेकाहरूले यी गुणहरू प्राप्त गर्छन्।)
श्रीभगवानुवाच अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोव्यवस्थित:। दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम्।।१।। अहिंसा सत्यक्रोधस्त्याग: शान्तिरपैशुनम्। दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम्।।२।। तेज: क्षमा धृति: शौचमद्रोहो नातिमानिता। भवन्ति सम्पदं दैवीमभिजातस्य भारत।।३।।

अध्याय १६ , श्लोक ०४ 
(हे पार्थ, दम्भ, गर्व, अभिमान, क्रोध, निष्ठुरता र अज्ञानता आसुरी सम्पत्तिका साथ जन्मेका व्यक्तिहरूलाई प्राप्त हुन्छ। दुष्ट प्रवृतिका व्यक्तिहरूमा यी गुणहरू हुन्छन्।)
दम्भो दर्पोSभिमानश्च क्रोध: पारुष्यमेव च। अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम्।।४।।

अध्याय १६ , श्लोक ०५ 
(हे पाण्डव, दैवी सम्पत्ति मोक्षलाई र आसुरी सम्पत्ति बन्धनलाई भनिएको छ तर तिमीले दैवी सम्पत्तिमा जन्म लिएको हुनाले तिमीले शोक गर्ने कुनै पनि कारण छैन्।)
दैवी सम्पद् विमोक्षाय निबन्धायासुरी मता। मा शुच: सम्पदं दैवीमभिजातोSसि पाण्डव।।५।।

अध्याय १६ , श्लोक ०६ 
(हे पार्थ, यस जगत्मा दैवी र आसुरी गरी प्राणीहरूको स्वभावलाई दुई वर्गमा विभाजन गरिएको छ। यस मध्ये दैवी स्वभाव बारे मैले विस्तारमा तिमीलाई भने। अब मबाट आसुरी स्वभाव बारे सुन।)
द्वौ भूतसगौं लोकेSस्मिन् दैव आसुर एव च। दैवो विस्तरश: प्रोक्त आसुरं पार्थ मे शृणु।।६।।

अध्याय १६ , श्लोक ०७ 
(आसुरी स्वभावका व्यक्तिहरूमा धर्मप्रति लगाब राख्ने र अधर्म परित्याग गर्ने प्रवृति हुँदैन। उनीहरूको व्यवहारमा शुद्धता, सदाचार र सत्यता पनि हुँदैन।)
प्रवृत्तिं च निवृत्तिचं च जना विदुरासुरा:। न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते।।७।।

अध्याय १६ , श्लोक ०८ 
(आसुरीहरू यस जगत्लाई असत्य, आश्रयहीन, ईश्वर नभएको, पुरुष र स्त्री जातिको शारीरिक सम्बन्धबाट उत्पत्ति भएको वा स्वत: उत्पन्न भएको भन्दछन्। यति मात्र होइन, उनीहरु यो जगत्लाई केवल यौन क्रियाहरूले भरिएको मात्र देख्दछन्।)
असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम्। अपरस्परसम्भूततं किमन्यत् कामहैतुकम्।।८।।

अध्याय १६ , श्लोक ०९ 
(यस किसिमको आसुरी दृष्टिकोण राखेर नष्ट आत्मा, अल्प बुद्धि, अरुको अहित गर्ने, क्रुर तथा दुष्टहरू यो जगत्को क्षय गर्नका लागि जन्मेका हुन्छन्।)
एतां दृष्टिमवष्टभ्य नष्टात्मानोSल्पबुद्धय:। प्रभवन्त्युग्रकर्माण: क्षयाय जगतोSहिता:।।९।।

अध्याय १६ , श्लोक १० 
(यिनीहरू कहिलै पनि पूरा हुन नसक्ने काम वासनाहरूको पछि लागेर, घमन्ड, मान, मदले युक्त भइ मोहमा परेर असत्य सिद्धान्त लिन पुगेका हुन्छन् र यी कारणहरूले गर्दा आसुरीहरू खराब काम गर्न निरन्तर उत्प्रेरित रहन्छन्।)
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता:। मोहाद गृहीत्वासद्ग्राहान् प्रवर्तन्तेSशुचिव्रता:।।१०।।

अध्याय १६ , श्लोक ११ 
(आसुरीहरू मृत्यु नहुनजेलसम्म पनि गणना गर्न नसकिने एवं सीमाहीन चिँताहरूको बोझले थिचिएका हुन्छन् र विषयहरूको भोग र सम्पत्ति सृजनालाई नै जीवनको प्रमुख उद्देश्य ठान्दछन्।)
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिता:। कामोपभोगपरमा एतावदिति निश्चिता:।।११।।

अध्याय १६ , श्लोक १२ 
(असंख्य कामनाहरूको बन्धक बनेका तथा काम एवं क्रोधले युक्त यी आसुरी प्रवृत्तिका व्यक्तिहरू इन्द्रिय सुख अर्थात केवल भोग विलासका लागि अवैध तरिकाबाट धन कमाउन हरपल क्रियाशील रहन्छन्।)
आशापाशशतैर्बुद्धा: कामक्रोधपरायणा:। ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान्।।१२।।

अध्याय १६ , श्लोक १३-१५ 
(आसुरीहरू के सोच्छन् भने आज मसँग यति बढी सम्पत्ति छ मेरो चतुर्याइँले यो भन्दा अझ बढी कमाउने छु। अहिले मसँग यति सम्पत्ति छ भविष्यमा अझै बढी कमाउने छु। ऊ मेरो शत्रु हो, मैले उसलाई मारेको छु र मेरा अन्य शत्रुहरू पनि मदवारा मारिने छन्। म हरेक कुराको स्वामी हुँ र म सर्वाधिक सुखी पनि छु। म पूर्ण छु, शक्तिमान छु र म अति सुखी छु। म अत्यधिक धनी छु र वरिपरिका मेरा बन्धु बान्धवहरू पनि वैभवशाली छन्। म जत्तिको शक्तिशाली र खुसी अरु कोही पनि छैन्। म यज्ञ गर्नेछु र यसरी यज्ञ गरेर मैले आनन्द प्राप्त गर्नेछु। तर ती आसुरी वा आसुरी प्रवृत्तिका व्यक्तिहरूले उनीहरूमा रहेको अज्ञानबाट भ्रमित भएर यस्तो भन्ने गर्दछन्।)
इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम्। इदमस्तीदमपि मे भविष्यति पुनर्धनम्।।१३।। असौ मया हत: शत्रुर्हनिष्ये चापरानपि। ईश्वरोSहमहं भोगी सिद्धोSहं बलवान् सुखी।।१४।। आढ्योSभिजनवानस्मि कोSन्योSस्ति सदृशो मया। यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता:।।१५।।

अध्याय १६ , श्लोक १६ 
(अनेक किसिमका कामनाहरूबाट चित्त भ्रमित भएका, मोहको पासोमा बेरिएका र भोग विलासमा जहिले पनि लिप्त रहने यस्ता अपवित्रहरूको नर्कमा पुगेर पतन हुन्छ।)
अनेकचित्तविभ्रान्ता मोहजालसमावृता:। प्रसक्ता: कामभोगेषु पतन्ति नरकेSशुचौ।।१६।।

अध्याय १६ , श्लोक १७ 
(असुरहरू आफैले आफ्नो प्रशंसा गर्ने एवं अविनम्र तथा घमन्डी हुन्छन्। धन र मानको नशामा डुबेका हुन्छन्। शास्त्र र यसका विधिहरू यिनीहरूलाई थाहा हुँदैन। केवल नाम मात्रको लागि, विधि नपुर्याएर यज्ञ गर्दछन्। र त्यस्तो यज्ञ घमन्डले भरिएर गरेका हुन्छन्।)
आत्मसम्भाविता स्तब्धा धनमानमदान्विता:। यज्ञन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम्।।१७।।

अध्याय १६ , श्लोक १८ 
(अहङ्कार, बल, मूर्खता, काम र क्रोध जस्ता दुर्गुणहरू असुरहरूमा भएको हुनाले यिनीहरूले आफ्नै एवं अरु व्यक्तिहरूको शरीरमा रहेको मेरो उपस्थितिको डाहा तथा निन्दा गर्दछन्।)
अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिता:। मामात्मपरदेहेषु प्रद्विषन्तोSभ्यसूयका:।।१८।।

अध्याय १६ , श्लोक १९ 
(साधुहरूको डाहा गर्ने ती पापाचारी र क्रुर एवं नीच स्वभाव हुनेहरूलाई म यो भौतिक संसारमा पटक पटक आसुरी योनीमा उत्पन्न गराउँछु।)
तानहं द्विषत: क्रूरान् संसारेषु नराधमान्। क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु।।१९।।

अध्याय १६ , श्लोक २० 
(हे कौन्तेय, ती मूर्खहरूले हरेक जन्ममा आसुरी योनीमा जन्म लिन्छन् र मलाई प्राप्त गर्न असफल भएर त्यो भन्दा पनि खराब गति पाउँछन्।)
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि। मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्।।२०।।

अध्याय १६ , श्लोक २१ 
(काम, क्रोध र मोह गरी तीन द्वारहरू छन् जसले व्यक्तिलाई स्वयंले नै आत्मा नष्ट गर्नका लागि नर्कतिर पुर्याउँछन्। त्यसकारण सबै व्यक्तिहरूले काम, क्रोध र मोह परित्याग गर्नुपर्दछ।)
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन:। काम: क्रोधस्तथा लोभस्तस्मादेतत्रयं त्यजेत्।।२१।।

अध्याय १६ , श्लोक २२ 
(हे कौन्तेय, जब त्यक्तिले यी तिन नर्कका द्वारहरूबाट आफूलाई मुक्त पार्दछ तब उसले आफ्नो कल्याण गर्दछ र उसले उत्तम गति पनि प्राप्त गर्दछ।)
एतैर्विमुक्त: कौन्तेय तमोद्वारैस्त्रिभिर्नर:। आचरत्यात्मन: श्रेयस्ततो यति परां गतिम्।।२२।।

अध्याय १६ , श्लोक २३ 
(तर जो व्यक्तिले आफूखुसी आचरण गर्दछ र शास्त्रमा बताइएका विधिहरूको अवज्ञा गर्दछ उसले सुख र सिद्धि पाउँदैन। उसले परागति गति अर्थात उत्तम गति पनि प्राप्त गर्दैन।)
य: शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत:। न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम्।।२३।।

अध्याय १६ , श्लोक २४ 
(त्यसकारण तिमीले के कार्य गर्नु पर्ने हो र के नगर्नु पर्ने हो भन्ने कुराको निर्धारक शास्त्रहरूलाई हुन दिनु पर्दछ। तसर्थ तिमीले शास्त्रका आदेश र शिक्षाहरूको मनन गर अनि सोही अनुसार कार्यहरु गर पनि।)
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ। ज्ञात्वा शस्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि।।२४।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.