नवरात्रको आठौँ दिन "महागौरी"को महत्त्व | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नवरात्रको आठौँ दिन "महागौरी"को महत्त्व




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Oct 20 2023

नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।

पौराणिक कथा अनुसार देवी महागौरी नाना प्रकारको दिव्य आभूषण धारण गरेकी, चार भुजाहरूले युक्त हुनुहुन्छ देवी महागौरी दाहिने भुजामा त्रिशूल तथा अभय मुद्रा प्रदर्शित गर्नुभएको, बायाँ भुजामा देवी वरद मुद्रा प्रदर्शित गरेकी तथा डमरू धारण गर्नुभएको छ । देवीको वाहन वृषभ अर्थात् साँढे हो त्यसैले देवी महागौरी वृषभमा सवारी गर्नुहुन्छ । यिनै देवीले नारद मुनि द्वारा उपदेश दिंदा, भगवान् शिवजीलाई पतिको रूपमा प्राप्त गर्नको लागि कठोर तपस्या गर्ने प्रतिज्ञा गर्नुभएको थियो । आफ्नो दुष्कर तपको कारण देवी पार्वतीको शरीर कालो भएको थियो,वहाको जस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ यस्तो स्वयं ब्रह्माजी ले देवी लाई भन्नुभएको थियो । देवीको तपस्याबाट सन्तुष्ट भएका भगवान् शिवजीले गंगा को पवित्र जलबाट वहाँको शरीरलाई खूब मजाले धुनुभयो, जसको कारण विद्युतको प्रभा जस्तै देवी कान्तिमान गौर वर्णकी हुनुभयो ।

नवरत्रको आठौँ तिथि अर्थात् अष्टमी यिनै महागौरीलाई समर्पित छ, दुर्गाजीको महागौरी रूपको साधना एवं पूजा गर्ने गरिन्छ । देवीको उपासना साधकको लागि पूर्ण रूपले कल्याणकारी रहेको छ, पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,अविवाहिता हरूको विवाह हुने, दीन दुःखीको कष्ट निवृत्त हुने, साधक अक्षय पुण्यको अधिकारी बन्ने र असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति महागौरीमा रहेको छ भने देवीको कृपाले अलौकिक सिद्धिहरू प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ । महागौरीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् । कालरात्रिलाई वैज्ञानिक दृष्टिले Light अर्थात् प्रकाश शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

ज्यो प  नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.