नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Oct 20 2023

नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्य-पति तारकासुरको वध गर्नुभएको थियो । स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेकोछ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुनुहुन्छ ।

तारकासुरले कठोर तप गरेर ब्रह्माजीसङ्ग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो, जसले गर्दा तारकासुर एक प्रकारले अमर जस्तै भएको थियो । दैत्यराजको कारण तीनै लोक त्रसित भएको थियो, तारकासुरले सबै देवताहरूलाई स्वर्गबाट निष्कासित गरेर भगायो र स्वयं नै समस्त भोगलाई भोग्न थाल्यो र सतीको मृत्यु पश्चात् भगवान् शिवजी निरासक्त भएर संधै नै ध्यान मग्न रहन थाल्नुभयो, सतीले पुनः पार्वतीको रूपमा हिमालयको घरमा लिएपछि पनि भगवान् शिवजीले आफ्नो योग तथा साधनाको त्याग गर्नुभएन र अन्ततः माता पार्वतीको कठोर साधनाको फलस्वरूप शिवजीले आफ्नो योग एवं साधनाको त्याग गर्नुभयो र अन्ततः पार्वतीसंग विवाह भयो तत्पश्चात यिनै दम्पतीको सन्तान कुमार कार्तिकेय भए । ७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुरपति तारकासुरको वध गर्नुभयो त्यसै समयदेखि सबै देवताहरूको सेनापति हुनुभयो ।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त हुनुहुन्छ । देवी नाना प्रकारको आभूषण एवं अर्ध चन्द्र धारण गरेकी, देवी आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्नुहुन्छ, तर देवीमा कमलको आसनमा पनि बस्नु हुन्छ । देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

ज्यो प नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.