नवरात्रको नवौं दिन "सिद्धिदात्री"को महत्त्व | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नवरात्रको नवौं दिन "सिद्धिदात्री"को महत्त्व




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Oct 20 2023

नवरात्रको नवौं दिन सिद्धिदात्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो नवौं स्वरूपमा सिद्धिदात्रीको नामले प्रसिद्ध हुनुहुन्छ । नाम अनुसार देवी यस विग्रहमा आफ्नो साधकलाई सबै प्रकारको सिद्धि प्रदान गर्नुहुन्छ । देवीको सम्पूर्ण अङ्गहरू दिव्य कान्तियुक्त, सुन्दर तथा मनोहर छ, नाना प्रकारको रत्न जडित अमूल्य आभूषण धारण गर्नुभएको, कमल तथा सिंहको आसनमा विराजमान देवी चार भुजाहरूले युक्त हुनुहुन्छ ।

दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी सिद्धिदात्री मार्कण्डेय पुराणको अनुसार अष्ट सिद्धिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व समस्त सिद्धिहरू यिनै भगवतीको कृपा द्वारा पाईने छ । ब्रह्माण्डको सृष्टिमा यस्तो कुनै पनि चिज जो देवी सिद्धिदात्रीको लागि अगम्य तथा असम्भव छैन ।

देवी भागवत अनुसार भगवान् शिवजीले पनि वहाँकै कृपा द्वारा सम्पूर्ण सिद्धिहरू प्राप्त गर्नुभएको थियो, वहाँबाट युक्त भएर अर्धनारीश्वर रूपमा शिवजी प्रसिद्ध हुनुभयो । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैलाई सिद्धि प्राप्त गर्न सक्नेछन् । नवरत्रको नवौंदिन अर्थात् नवमी तिथि यिनै सिद्धिदात्रीलाई समर्पित छ, देवी दुर्गाको सिद्धिदात्री रूपको साधना एवं पूजा गर्ने गरिन्छ । देवी सिद्धिदात्री नव दुर्गाको श्रेणीहरूमा अन्तिम स्थानमा आसीन हुनुहुन्छ । देवीको साधनाले सम्पूर्ण ब्रह्माण्डमा विजय प्राप्त गर्न सकिन्छ, लौकिक तथा पारलौकिक सबै प्रकारको मनोकामना पूर्ण हुनसक्छ ।

देवीको उपासना साधकको लागि पूर्ण रूपले कल्याणकारी रहेको छ, सिद्धिदात्रीलाई आफ्नो श्रद्धा र भक्तिले गरेको पूजा अर्चनाको प्रभावले पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,अविवाहिताहरूको विवाह हुने, दीन दुःखीको कष्ट निवृत्त हुने, साधक अक्षय पुण्यको अधिकारी बन्ने र असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति महागौरीमा रहेको छ भने देवीको कृपाले अलौकिक सिद्धिहरू प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् । सिद्धिदात्रीलाई वैज्ञानिक दृष्टिले Light अर्थात् प्रकाश शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

ज्यो प नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.