मोहिनी एकादशी किन भनिन्छ ?
वैशाख महिनाको शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महत्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ भन्ने विश्वास छ । सांसारिक मोहबाट छुटकारा पाइन्छ मान्यताअनुरूप यो वसन्त ऋतुको एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।
मोहिनी एकादशीको महत्त्व
वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्त्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ ।
अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवार्इँ गरेर भगवान् विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महत्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ ।
मोहिनी एकादशीको व्रत कथा
किंवदन्ती अनुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एक जना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एक जना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धन पाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धन पालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवा तास अनि वेश्या गमनमा उनी आशक्त थिए भने दुर्व्यसनमा उत्तिकै लालायित पनि ।
धन पालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भए पनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धन पालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कौडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धन पालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ ।
यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्सङको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइदियोस्, शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: