अक्षय तृतीया / परशुराम जयन्ती / विश्व सम्पदा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अक्षय तृतीया / परशुराम जयन्ती / विश्व सम्पदा दिवस




आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिइन्छ, आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो भने महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको हो ।


अक्षय तृतीया / परशुराम जयन्ती / विश्व सम्पदा दिवस विशेष अडियो सामाग्री

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । 

शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल ब्याख्या सातु खाने दिनका रुपमा रहेको छ । सातु अर्थात् चना, जाै जस्ता गेंडागूडी अथवा अन्नलार्इ भुटेर तयार पारीएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणीक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिंड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरु बेग्ला बेग्लै भूटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीबाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकैपटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरु प्राय सबै अकुंरण गर्न सक्नेअन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरुको महिमालाई प्राचीनकाल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो । 

यी त भए सातुका कुराहरु, आजको दिनलाई अन्य धेरै कुराहरुले पनि सम्झना र सर्मपण लायक बनाएका छन् । आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिइन्छ, आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो भने महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ । 

पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईं सफल हुने पक्का छ है, इतिहास साक्षी छ । 

अक्षय भन्ने वित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौं । आज अक्षय पूण्य प्राप्त गर्नका लागप वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरु दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तरपुस्ता मायाका लागि पनि अत्यन्त महत्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिब्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया । 

---
परशुराम जयन्तीभार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत यूद्धका असाधारण योद्धाहरु भिष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरु हुन् भने परशुरामका साक्षात गुरुका रुपमा भने देवादिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बञ्चरो जस्तो हतियार बुझिन्छ । भगवान रामको त्यो रूपले बञ्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैंले धारण गरेको अमोघ परशु (बञ्चरो) उनलाई दिएका थिए । त्यहि अमोघ बञ्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र संकल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पुजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

पौराणिक कथनहरु अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरु लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरन्जीवी अर्थात अमर थिए । । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरन्जीवी तिथि भनिन्छ ।

परशुरामलाई पितृवचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवद् गीतामा उल्लेख भएअनुसार संसारका सबैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्र थिए जो कालबाट समेत अपराजित थिए ।

कलाकौशल अनि भौतीक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारतवर्षका सम्पूर्ण प्राचीन गाँउ अनि नगरहरु यिनैको योजना र कला मुताबिक बनाईएका हुन् । उत्खननक्रममा समुन्द्र विचमा भेटिएको प्राचीन द्वारीका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानीक संरचनाले पनि प्राचीन कालदेखिनै भएको वैज्ञानीक विकासमा परशुरामको योगदानको ब्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरु मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामीसबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना । 

विश्व सम्पदा दिवस



बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, कालखण्ड र सभ्यताका क्रमहरू सञ्चित थिए । सोंच आउँथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने । यि सम्पदा उस्तै रहन्छन् तर म उस्तै रहन्न भन्ने सोच हुन्थ्यो तर राम्रो सम्बर्द्धन अनि सुरक्षा नपाँउदा क्रमशः हामीले हाम्रो सम्पदा अनि पहिचान गुमाइरहेका छौं ।

नुवाकोटको दरवार बांगिएको छ, बझागें राजाको दरवारदेखि चाँगुनारायण सम्म, गृहेश्वरी देखि धनुषाको क्षिरेश्वरसम्मका हाम्रा सांस्कृतक एवं इतिहासिक धरोहरहरु टुलुटुलु संरक्षणको आशामा बसेका छन् । हरेक दिन इँटाहरु घट्दै छन्, काठहरु हराँउदै छन् अनि मूर्तिसंगै भगवान, आशिष अनि नेपालीपना बेचिँदैछ । 


७२ सालको भुकम्पले ढलाएका हाम्रा पहिचानहरु उठ्न नसकेर चिच्याएर कराएको भान हुन्छ, अव्यबस्थित शहरीकरणले निस्सासिएका हाम्रा इतिहासहरु गुम्सिएर एैठन भएको भान हुन्छ । यि सम्पूर्ण सम्पदा अनि संरचनाको सम्बर्द्धन अनि रक्षा गरेर आँउदा पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्ने गहन जिम्मेवारी यस पुस्ताको हो । आज विश्व सम्पदा दिवस, हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यस दिवस मनाइन्छ र आज नेपालमा पनि विभिन्न कार्यक्रमका बिच यस दिवस मनाउने गरिन्छ ।

अफगानीस्तान बामीयान उपत्यकामा तालिवानले बारुदले उडाएका बुद्धका मूर्तिहरु अब के फेरि ठड्याउन सकिने छ र? हाम्रो देशमा काष्ठमण्डप पूनः बनाउन सकिने छ । समयमै बिचार गर्न नसक्दा आज शहरहरूको जीवन नाम जुन सम्पदाका नामहरूबाट प्राप्त भयो त्यो सम्पदा नै बुच्चो रहेको छ । काष्ठमण्डप बिनाको काठमाडौं, धरहरा बिनाको नेपाली शहर यो पुस्ताले देख्न परेको छ । अझ केही अन्य सम्पदाहरु त ९० सालको भुकम्पले मासेको अनि कहिल्यै उठ्न नसकेको पनि छन्, जुन हामीलाई थाहै छैन् ।

ढलेको धरहरा, दरवार स्क्वाएरहरु अनि रानी पोखरीको सुकेको पानी साक्षी राख्दै आज नेपालीहरुले सम्पदरा र सम्पती संरक्षणको कसम खानुपर्ने दिन आएको छ । दूर्भाग्य कस्तो भने; विकासका नाममा कहाँबाट कस्ले लादीदिएको एजेण्डा हो के नियत हो खै कुन्नी धार्मिक, सांस्कृतिक तथा एैतिहासिक महत्व बोका कतिपय पाटी पाैवा, मठ मन्दिरहरूमा डोजर चलाइदैछ । अाधूनिकताका नाममा अाफ्नो माैलिक रूपै बिग्रिनेगरी गरीने विकास निर्माणका कार्यले हाम्रो भावी पुस्ताले कस्तो इतिहास पढ्नेछन् ? 

सडक बिस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्नु हाम्रो कर्तब्य हो । आजको दिनमा यि कुराहरुको चेतना सबैमा होस् ।

नेपाल एउटा इतिहास वोकेको प्राचीन शहरहरुको देश हो, बसन्तपुर दरवार त केवल एउटा प्रतिनीधी स्थल मात्र भयो यस्ता धेरै एतिहासिक नेपाली संस्कार तथा सभ्यता बोकेका सम्पदाहरु नेपालका कुनाकन्दरामा छन् । हजारौं वर्ष अनूभूत गरेका अनि देखेका यस्ता सम्पदाहरुलाई हामीले कत्तिको जोगाउन सकेका छौं त रु आज नेपालीहरु सकलले यो प्रश्नको उत्तरमा गहनतापूर्वक सोंच्ने बेला मात्र हैन अबेला नै भएको छ ।

होर्डिगं वोर्डले छेकेका मन्दिरका गजुरहरु हुन या पार्किङ स्थल बनाइएका एतिहासिक सत्तलहरु हुन्; भुकम्पले छरपष्ट पारेका मन्दिरका टुक्राहरु एकै ठाँउमा राखेर अर्को मन्दिर ठड्याउन नसक्नु अनि दरवारहरु उभ्याउन नसक्नु हाम्रो असक्षमता हो या हैन्, मनन गर्ने दिन पनि आजै हो ।

कति सम्पदा त अहिले भवन अनि चौरमा परिणत भइसकेका छन् । ति कुराहरुलाई व्यूँताउन सफल नेतृत्वको उदय होस्, सम्बन्धीत निकाय र सरकारको ध्यान जाओस् ।

विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन शुरु गरिएको हो र यस दिवसमा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना !

हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.