ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अपरा एकादशी / चित्तधर हृदय जन्मजयन्ती




अपरा एकादशी / चित्तधर हृदय जन्मजयन्ती विशेष अडियो सामाग्री

अपरा एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरलाई ब्रहमाण्ड पुराणमा वताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एकदिन यूधीष्ठिरले जर्नादनलाई सोध्दछन् । जेष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी कुन हो भनेंर । यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सारसंक्षेपमा बुझाउन यूधीष्ठिरले श्री कृष्णसंग आग्रह गर्दछन् ।

श्री कृष्णले वडो आदर अनि प्रेमका साथ उजागर गर्दछन्, राजा तपाईले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसंग अनि पावन कृपाले समग्र मानव जगतको कल्याण हुने श्री कृष्णले बताए ।

कृष्ण जी ले थप्दै गए ।
हे राजन जेष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो, यस एकादशीमा व्रत राखेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रुणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्ना ले कट्नेछ । ब्राहमण को वास्तवीक अर्थ कुनै जात, धर्म या थरसंग समबन्धीत नभईकन ज्ञानको प्राप्तीका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौं ।

श्री कृष्ण आज्ञा गर्नुहुन्छ ।
हे राजन ती व्यक्तिहरु जसले लगत वयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्दछन् तिनीहरु अत्यन्त पापी ठहरिन्छन् । बेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरुलाई ठग्ने, भुुढा पेशा गर्ने हरु सबै महापापी हुने श्री कृष्णको ठम्याई छ । यी सबै महापापीहरु ले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्तिभाव अनि हरिको शरण पर्न सक्ने श्री कृष्णको ठम्याई छ ।

हे राजन म अपरा एकादशीको थप वर्णन गर्दछु, श्री कृष्णले भन्दै जान्छन् र यूधीष्ठिर श्रवण गर्दै जान्छन् ।
कार्तिक मासमा पुस्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैं, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैं, वनारसमा शिवरात्रिको दिनमा आराधना गरे झैं, गयामा पितृलाई पिण्ड दान गरे झैं, सिंह राशिमा बृहस्पती प्रवेश गर्दा गौतम नदिमा पवित्र स्नान गरे झैं, केदार नाथमा शिवको दर्शन गरे झैं, कुम्भ पलामा बद्रिनाथको दर्शन गरे झैं, कुरुक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैं अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ । 

यस दिन व्रत नबस्ने हरु फेरि धर्तीमा जन्म हुनुपर्ने बाध्यता रहन्छ, परमात्मालीनका लागि यस दिनको महत्व धेरै रहेको छ।
यस दिन त्रिबीकर्मको आराधना गरिन्छ, पापमोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्वपूर्ण अन्य तिथीहरु कमै पाइन्छ। अपारको अर्थ हो अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको बिभिन्न अन्य नामहरु पनि छन जस्तै जलक्रीडा एकादशी, भद्रकाली एकादशी ईत्यादि ।

बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान बिष्णुलाई तुलसीको पात, धुप अनि बत्ति बाल्ने, भगवान बिष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबैजना मिलेर वाचकको मुखारबिन्देवाट अपरा एकादशी महात्मय श्रवण गर्ने गरिन्छ । व्रतालुहरु ले फलाहार मात्र सेवन गर्ने या कहिँकतै निर्जल सम्म पनि व्रतदिने गरिएको पाइन्छ तथापी एकादशी महात्मयको श्रवण पश्चात फलाहारका रुपमा कन्दमुल ग्रहण गर्न उचित मानिन्छ। यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ, यी सबै कुराहरुको वैज्ञानीक महत्व पनि उत्तिकै छ। स्मरण रहोस् एकादशी व्रतमा खानाको मात्र नियन्त्रण नभई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी वताइन्छ । बिष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य छ, भजन किर्तन अनि पवित्रताको साथै भक्तिभावको सामीप्यतामा यस एकदशी गुज्रियोस् ।

यस एकादशीको अनुग्रह सबैमा रहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल 


चित्तधर हृदय जन्मजयन्ती
 

चित्तधरको जन्म १९६२ साल जेठ ५ गते काठमाडौंको रक्तकालीमा भएको थियो । उनका बुबा द्रव्यधर तुलाधर साहु र आमा ज्ञानलक्ष्मी गृहिणी थिइन् ।चित्तधरलाई राणा सरकारले मातृविहीन बालक लेख्यो भनेर १९९७ सालमा जेल हुँले । त्यसैबेला अर्थात् २००२ सालमा उनकी पत्नी आफ्नो माइत कालिम्पोङ गइन् । त्यसपछि ज्ञानप्रभा कालिम्पोङबाट कोलकात्ता गइन् । अनि उनी २०१२ सालमा पतिसँग जोडिन काठमाडौं आइपुगिन् ।चित्तधर २००२ सालमा कालो कोठरीको जेलमुक्ति भए । त्यसैबेलादेखि यिनले दाह्री पाले । अनि यिनको परिचय नै यही दाह्री भयो । तर यिनले राजा त्रिभुवन र महेन्द्रको निधन तथा आफ्नी पत्नीको निधनमा मात्रै कपाल र दाह्रीजुङ्गा काटेका थिए ।चित्तधरको बिहे भाजुरत्न कन्साकार र ज्ञानमाया कन्साकारकी छोरी ज्ञानप्रभासँग भएको थियो । त्यसबेला यी १४ वर्षर यिनकी पत्नी १२ वर्षी थिइन् । तर यी दम्पत्तिबाट सन्तान भएनन् ।

चित्तधरले व्यापारलाई आफ्नो पेसा बनाए । उनले आफ्ना मामा मानदास तुलाधरसँग मिलेर भोटाहिटीको कमलाछीमा साइकल पसल थापेे । त्यस पसलको नाउँ 'मानदास चित्तधरको साइकल पसल' थियो । यिनले यसै पसलबाट किताबहरू पनि बेच्थे । त्यतिबेला त्यो पसल निक्कै चल्तीको थियो । त्यस पसलमा धेरै साहित्यकारले आफ्नो पत्राचारको ठेगाना पनि दिन्थे । पं.सोमनाथ सिग्देलले पनि आफ्नो पत्राचारको टुङ्गो त्यही दिएका थिए ।चित्तधरले ३३ वटा पुस्तक लेखे । ती नेपालभाषामा नै आधारित थिए । उनको एकनिष्ट लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा 'कविकेशरी'को उपाधि दिए । फणिन्द्ररत्न बज्राचार्यका अनुसार उनलाई च्वसापासाबाट साहित्य शिरोमणि पनि प्रदान गरिएको थियो ।चित्तधरले विभिन्न नाउँबाट साहित्य सृजना गरे । कहिले यिनले बुद्धोपासक चित्तधर भएर लेखे र कहिले चित्तधर उपासक भएर पनि लेखे । यिनले चित्त, हृदय, रूपरत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया र बुद्धिबज्र बज्राचार्य भएर पनि लेखे । वास्तवमा यिनैको प्रेरणाले सिद्धिचरण श्रेष्ठदेखि धर्मरत्न यमीसम्मले मातृभाषामा कविता लेख्न थाले । साथै यिनकै प्रेरणाले केदारमान व्यथित पनि कवि भएका थिए ।

चित्तधरले निजी अध्ययनबाट शिक्षा आर्जन गरे । यिनले कन्यामन्दिर हाइस्कुललगायत विभिन्न शिक्षण संस्थामा पढाए । उनी समाजसेवामा समर्पित थिए । तर साहित्य, शिक्षा र भाषासेवामा उनको मन झट्टै फूर्थ्ये। त्यही कारणले नेपाल भाषापरिषद्को स्थापनामा उनको गुरुत्तर भूमिका थियो । उनी त्यस संस्थाका सचिव, अध्यक्ष र संरक्षकसम्म भए । साथै उनी त्रिभुवन स्मारक समिति र नेपालचीन साँस्कृति परिषद्को उपाध्यक्ष थिए । उनी 'झी' मासिक पत्रिकाको पनि संरक्षक थिए । साथै कोलकात्ता नेपालभाषा साहित्य गोष्ठीको संस्थापक पनि उनै थिए ।चित्तधर नेपालभाषाका पहिलो गद्यकवि थिए । उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्धप्रबन्ध, उपन्यास, नाटक, बालसाहित्य, समालोचना र आत्मकथा लेखे । उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे । उनी प्रकाशक र अनुवादक पनि थिए । यसैक्रममा गणेशमानसिंहले लेखे, '२००७ सालपछि नेपालभाषाको आन्दोलनमा तीव्र गति आयो । 

यो सबै चित्तधरको भाषाप्रतिको अनवरत लगनशीलताको प्रतिफल हो ।'चित्तधर दान दिने कुरामा पनि अग्रसर थिए । उनले आनन्दकुटी पुस्तकालयलाई उनका सङ्ग्रहमा भएका झन्नै एक सयवटा बहुमूल्य किताब दिए । उनले नेपालभाषा परिषद्लाई आफ्नो जग्गा बेचेर नगद दिए । स्वयम्भू विकास मण्डललाई सुनको देउता चढाउने पनि उनै थिए । साथै नेपालभाषा मङ्का खलःलाई विजेश्वरीको झन्नै एक रोपनी जग्गा पनि उनैले दिए । उनी सानाठूला दान गरेर थाक्तैन थिए । खास गरेर नेवारी साहित्य र बौर्द्धधर्मका लागि उनले तन, मन र धन खर्च गरेको बेहोरा डा.चन्द्रमान बज्राचार्यले पनि वर्णन गरे । साथै उनी नेपाली साँस्कृतिक मण्डलको उपनेता भएर भारत, चीन र बर्मा गएका थिए ।

चित्तधरले पन्ध्र वर्षपुग्दानपुग्दै व्यापार गर्न थाले । त्यतिबेला जग्गा धितो राखेर उनले व्यापार सुरु गरे । त्यस पैसाले नपुगेर उनले अरू साहुसँग पनि ऋण काडे । तर उनको व्यापार सफल भएन । ऋण तिर्न नसकेपछि साहुले उनलाई समाते । तर उनकी आमाले चार पट्टिबाट पैसा खोजेर साहुलाई तिरिन् र छोरालाई उकासेर घर ल्याइन् । त्यसपछि यिनीहरूको आर्थिक अवस्थाले ठूलै खाडल खन्यो । तर पनि उनकी पत्नीले बराबर भन्ने गर्थिन्, 'तपाईंले उद्योगधन्दा गर्नुपर्‍यो ।' अनि चित्तधर जवाफ दिन्थे, 'कविहरू भनेकै गरीब हुन्छन् ।'
चित्तधर गरीब भनेर उनलाई ससुरालीले हेप्थे । त्यही कारणले उनकी श्रीमतीले पनि दाइजो पाइनन् । त्यसैले चित्तधरले पनि श्रीमतीलाई हेप्ने गरे । त्यही परिणतिले पत्नीसँग चित्तधर सुत्दैन थिए । उनकी पत्नीको मुखभरी विफरका खत थिए । साथै उनको खानेमुख पनि ठूलो थियो । त्यसैले पनि उनलाई पत्नी मन पर्दैनथ्यो । वास्तवमा विहे गरेपछि उनी घर बस्न चाहँदैन थिए । उनकी पत्नी हाँस्ता पनि उनलाई राक्षेस हाँसेको जस्तै लाग्थ्यो । अनि बरालिएर उनी चित्र कोर्दै हिँड्थे । उनले जेलमा नै चन्द्रमानसिंह मास्केबाट चित्र बनाउन सिकेका थिए ।

एकदिन आमाले रुँदै चित्तधरलाई भनिन् 'अनुहार मात्र केही होइन छोरा ! तँ तेरी स्वास्नीप्रति अत्याचार नगर । तँ उसलाई माया गर्दैनस भने म केही नखाई भोकै मर्छु' त्यसपछि उनकी आमा भोकभोकै बस्न थालिन् । अनि केही दिनपछि चित्तधर आफ्नी पत्नीसँग सुत्न थाले । त्यतिखेर उनी सत्र वर्षभुक्तान गर्ने क्रममा थिए । चित्तधर क्रमशः पत्नीप्रेममा डुब्न थाले । पछि यिनकी पत्नीलाई दमको रोगले आक्रान्त पारेको थियो । त्यतिन्जेलसम्ममा उनको संसार नै उनकी पत्नी भैसकेकी थिइँन् । त्यसैबेलाको कुरा हो, उनकी पत्नीको घाँटीमा खकार अड्केको थियो । उनले बलगरेर त्यस खकारलाई मुखसम्म ल्याएकी थिइँन् । तर थुक्न सकेकी थिइँनन् । अनि चित्तधरले आफ्नी पत्नीको मुखमा आफ्नो मुख गाडेर खकार तानेका थिए ।
उपचारका लागि २०१७ सालमा ज्ञानप्रभालाई कोलकात्ता पुर्‍याइएको थियो । उपचारकै क्रममां उनी त्यहीं दिवङ्गत भइन् । त्यसपछि नेपाल आएर चित्तधरले र्सवप्रथम आफ्नी पत्नीको प्रतिमा बनाए । अनि सधैंको मिर्मिरेमा उनी आफ्नी पत्नीको प्रतिमाको दर्शन गरेर मात्रै पानी खान्थे ।

२०२८ सालमा काठमाडौंमा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो । त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि अर्थात् २०३९ साल जेठ २६ गते उनलाई हृदयघात भयो ।
चित्तधर दिवङ्गत भएको १० वर्षछि उनको मुहार अङ्कीत हुलाक टिकट निक्ल्यो । उनका नाउँमा विभिन्न गुठी र पुरस्कारका स्थापना पनि भइरहे । उनैको सम्मानमा पाँच सय रूपियाँको चाँदीको सिक्का पनि निक्ल्यो । साथै कालिमाटी काठमाडौंमा उनको सालीक पनि निर्माण भयो । किनभने उनी नेपाली संस्कृतिका धरोहर थिए ।

नरेन्द्रराज प्रसाई



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.33
  • 116.93
  • European euro
  • 130.94
  • 131.62
  • UK pound sterling
  • 149.68
  • 150.46
  • Swiss franc
  • 115.23
  • 115.82
  • Australian dollar
  • 83.8
  • 84.23
  • Canadian dollar
  • 88.1
  • 88.55
  • Singapore dollar
  • 84.16
  • 84.59
  • Japanese yen (10)
  • 10.21
  • 10.26
  • Chinese renminbi (Yuan)
  • 16.7
  • 16.79
  • Saudi Arabian riyal
  • 31.01
  • 31.17
  • Qatari riyal
  • 31.95
  • 32.12
  • Thai baht
  • 3.52
  • 3.53
  • UAE Dirham
  • 31.67
  • 31.84
  • Malaysian ringgit
  • 27.78
  • 27.92
  • Korean Won (100)
  • 10.24
  • 10.29
  • Swedish Krone
  • 12.74
  • 12.81
  • Danish Krone
  • 17.56
  • 17.65

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम