भाइ टिका | किजा पूजा | विश्व स्वतन्त्रता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

भाइ टिका | किजा पूजा | विश्व स्वतन्त्रता दिवस




आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीवहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।


भाइ टिका विशेष अडियो समाग्री

तिहारको रौनक उत्कर्षमा छ । इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै न अोइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगटे तथा बिमिरो लगायतका फलहरु, झिलीमिलि बत्तिहरु अनि झिल्केमिल्के कागज, कपडा तथा प्लाष्टिकबाट बनेका तोरणका सजावटहरु ।

भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमारहेको छ । यस शुभ साइतमा दाजू-भाइहरू पश्चिम मुखासन भर्इ बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भर्इ दाजू-भाइहरूलार्इ टिका लगार्इ शुभाशिष दिर्इ शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।

काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो अाजको पालो दाजुभाईको पूजा गर्ने । स्वागत छ दाजू-बहिनी, दिदि-भाइहरूको अात्मिय चाड 'भातृद्वितिया' अर्थात् 'भाईटिका'मा । निधार रङ्गाउने हातहरु छन् या रङ्गाएका यादहरु मात्र छन् या अलि फरक मेसो छ यस वर्ष ? जे छ, जहाँ हुनुहुन्छ अनि जे गर्दै हुनुहुन्छ भाईटिकाको यस पावन दिनको कृपाले सबै दिदी-बहिनी दाजू-भाइको कल्याण होस् ।

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज "भाइटिका" । विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ?

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँर्इमा चकटि अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टि लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

अाजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको अाज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदार्इले साह्रै नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले अाफ्नो गति लिनथाल्दछ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ

काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्शिवाद हामीलाई लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् ।

------
किजा पूजा

किजा पूजा
विभिन्न माैलिक चाडवाड, सभ्यता तथा संस्कारका धनी नेवाः समूदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाईटिका मनाउँदै आएका छ । तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो ।

कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब-किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा
राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा 'जाकि सिन्ह' भनिन्छि । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि साैगन दिने चलन रहेको छ । पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाइको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समूदायमा तिहार प्रसिद्ध छ । सबैको मङ्गल होस्, शुभकामना !

विश्व स्वतन्त्रता दिवस

 


हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयूक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्वराष्ट्रपती जर्ज डब्लु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वि र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वि यूरोपमा कम्यूनिष्ट शासनको औपचारीक अन्त्यभएको उपलक्ष्यमा सोही दिन अर्थात नोभेम्वर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यू वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।

विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन यूवा विधार्थीहरु अनि रिपब्लिकन पार्टीका यूवाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।

विश्वमा शितयूद्धको अन्त्य गर्दै शोभियत यूनियनलाई धराशायी पार्न ठूलो भुमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ ।

अमेरिकीहरुले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाएपनि विश्वका अन्य राष्ट्रहरु विशेषतः यूरोपी राष्ट्रहरु भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाउन उदासिन देखिन्छन् । शितयूद्धकालदेखिनै संसारमा पूजिँवादी, कम्यूनिष्ट र केही समाजवादी देशहरुमा वैचारीक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ ।

न्यू ग्लोवलाइजेसन अनि न्यू न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका वासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ ।

चाहे हामी कम्यूनिष्ट विचारधाराका हौं या पूजिँवादी विचारधाराका हौं या अन्यकुनै विचारधाराका हौं तर स्वतन्त्रताको प्रत्याभूती अनि स्वतन्त्र जीवनयापनको महत्व मानव समूदायमा अतिनै महत्वपूर्ण छ । नेपालमा पनि क्रमैसंग विसं २००७, २०४६ अनि २०६३ गर्दै स्वतन्त्रताका नयाँ नयाँ आयामहरु थपिदै गएको छ । स्वतन्त्रताको परिधीभित्र सहज जीवनयापन गर्न पाउने सहजता पनि पर्दछ । बाटोको अत्याधिक सवारी जाम देखि ग्याँस अनि तेलको लाइन, मूल्य वृद्धी, भ्रष्टाचार अनि कानूनी राज्यको कमी नेपाली समाजको स्वतन्त्रताका समस्याहरू हुन यसलार्इ हामी कुनै न कुनै रूपमा हरेकदिन हामीसबैले भोगीआएका छौं । आशा छ नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरुको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै पर्नेछ । स्वतन्त्रताको शुभकामना ।
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.