व्यक्तिगत जीवनमा पारिवारको महत्वलाई सम्मान गर्दै आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदैछ । हरेक वर्ष मे १५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेको थियो । सन् १९९३ मा भएको राष्ट्रसंघीय बैठकको निर्णय नम्बर A/RES/47/237 अनुसार परिवारको महत्वलाई अझ धेरै उजागर गर्न यो दिवस मनाउने घोषणा भएको थियो । त्यसपश्चात विश्वभर परिवार दिवस मनाउन थालिएको हो । परिवारको महत्वलाई कायम राख्न उत्प्रेरणा जगाउने उदेश्यका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
परिवार दिवसका लागि सन् २०१६ को नारा 'परिवार, स्वस्थ जीवन र दिगो भविष्य' राखिएको छ । सामाजिक जीवनमा परिवारको निकै ठुलो भूमिका रहने हुँदा परिवारको संरक्षणबाट मात्रै त्यहाँका केटाकेटी र अन्य सदस्यहरु शिक्षित र सामाजिक बन्न सक्दछन् । साथै युवा सदस्यहरुले जिम्मेवारीको बोध गर्ने थलो नै परिवार हो । राष्ट्रसंघले समेत परिवारकै पहलबाट गरिवी विरुद्ध लड्न र दिगो विकासको ढोका खोल्न सकिने विश्वास राख्दछ ।
केहि मानिसहरु सँगै रहनुलाई परिवार मानिदैन । परिवार बन्नलाई सम्बन्धको मजबुद डोरी पनि गाँसिनु आवश्यक हुन्छ । परिवारमा व्यक्तिको जिम्मेवारी यो हुन्छ कि- यस्तो डोरीलाई सवै मिलेर लम्ब्याँदै जानु र डोरीका रेसाहरु नखुस्किने गरी कसिदै जाउन । एकता नै बल हो भन्ने कुरामा पनि परिवारकै ठुलो भूमिका हुन्छ । परिवार एउटा साधन पनि हो, यसबाट सत्व्यवहारको आपसी गरिमा कायम हुँदै जान्छ ।
परिवार दिवस परिवार, व्यक्ति, समाज तथा संस्कृतिको महत्वलाई दर्शाउने र त्यसैको निरन्तरताको अभियान हो । खण्डिकरण, विश्वव्यापिकरण जस्ता समस्याले जहाँसुकै पनि पारिवारिक संरचनाहरु भत्किदै जाने र मानिसहरु जीवन निर्वाहकै लागि एक्लिदै जाने क्रम बढेको देखिन्छ । धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा कठिन किसिमका चुनौतिहरु देखिदै गएको छ । त्यसै अनुरुप मानिसहरुलाई सामाजिक एवं आर्थिक संरचनामा परिवारको खण्डिकरणबाट हुँदै गएको अप्ठेरो विरुद्ध सघाउन यो दिवसले नयाँ उत्तरदायित्व थप्ने विश्वास गरिएको छ । विश्वका करौडौं मानिसले पेशा तथा अरु कारणले आफ्ना परिवारलाई समय दिन नपाएको र आर्थिक रुपमा सहयोग गर्न नपाएको अवस्थामा यो दिवसले महत्वपूर्ण अर्थ राख्दछ ।
समाजमा आर्थिक सम्पन्नताका लागि कामका पछि दौडिने प्रवृत्ति बढ्दै गएकाले समाज र परिवारसँग व्यक्तिहरु टाढिंदै जानुमा समाजशास्त्रीहरुले चिन्ता जनाएकाछन् । उनीहरुले जीवन निर्वाहका लागि रोजगारी आवश्यक भए पनि परिवार र समाजसँग सम्पर्क र सम्बन्ध टुट्न त्यो कारक बनेको भन्दै सम्मानित रोजगारीलाई भने जोड दिएका छन् ।
Liked by: