गणेश चतुर्थी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गणेश चतुर्थी




गणेश चतुर्थी विशेष अडियो सामाग्री

:: श्री गणेशाय नम ::

शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।

आज गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाअाजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनार्इ नै छ, "शुभ कार्यको श्री गणेश गर्ने" । काठमाडौं लगायत देशका प्रमुख गणेश मन्दिरहरुमा आज भगवान् शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पुजा आराधनागर्दै मनाईन्छ । यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।


महिनौदेखिको तिजको रौनक हिजो सकियो । महिलाहरूले हिजो गरेको कठोर निराहार, निर्जल व्रतको थकान छ अझै केही बाँकी नै छ होला तर नयाँ उर्जाका साथ पक्कैपनि आजको दिन यदि शुरु गर्ने तरखरमा हुनुहुन्छहोला । हिजो तृतिया तिथि अर्थात् तिज अनि अाज भाद्र शुक्ल चतुर्थी अर्थात मंगलमुर्तिको जन्मदिन । कसैकसैले आजको दिनलाई विनायक चतुर्थि पनि भन्दछन् । गणेश भनौं या विनायक भनौं या गजाधर जे नामले सम्झिएपनि यी सम्पूर्ण नाम भगवान गाणेश कै हो ।

१०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ र उनको जन्मकाबारेमा दुइखाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको अाकृतबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलार्इ जानकारी थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेकोछ ।

अर्को किवंदन्तीका अनुसार देवताहरुको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थि नेपाल लगायत भारत, मरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थिमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरु लगाएर ४ चरणमा पुजा गरिन्छ । प्राणप्रतिष्ठा अर्थात भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, उत्तरपुजा अर्थात प्रतिमालाई एकठाउँबाट अर्को ठाँउ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरु हुन्छन् । यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारीक रुपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ । 

यस दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ । विशेषतः तराइक्षेत्रमा विभिन्न फलफूल र अन्य तिउन तरकारी छिमेकिका करेसाबारीबाट या गोठवाट चोर्ने चलन छ । यस याममा हुने फलहरु जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका माैसमी फलहरु आजको रात चोरिन्छ । एउटाको गोठबाट गाइगोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने या खेतमा वाली खानेगरि छोडिदिने, रुखहरु काटिदिने आदिजस्ता रमाइलोको नाममा उत्पट्याङ्ग हर्कतहरु पनि गरिन्छ जुन अवश्य पनि राम्रो हैन ।

चाडपर्वहरु समानता र सौहार्दताको परीधिबाहिर जान हुँदैन र चाडपर्वले समाजमा वैमनस्यता हैन अपनत्व र सदाशयता बढाउन सक्नुपर्दछ । आजको साझँमा चन्द्र देखिहाल्नुभयोभने दोष कटाउनकालागी रचनात्मक तरिका अपनाउनुहोला । अनि यदि तपाइको घरमा फलका बृक्षहरु छन् भने राती बसेर तिनको सुरक्षा गर्नुहोला किनभने आज चाैथीको चोर चाैथि हान्न सक्रिय हुन सक्छन् । 

हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.