Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

ग्याल्पो ल्होसार





तीन प्रकारका ल्होसारहरु मध्ये नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातजातीले फरक-फरक समय र साँस्कृतिक मान्यताहरुका साथ फरक-फरक रुपमा ल्होसार मनाउँदछन् । पुषमा थकाली तथा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ भने माघमा तामाङ समुदायले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ । फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्वो ल्होसार भनिन्छ । प्रकृतिका १२ वटा जीवजन्तु तथा पंक्षीहरुको नामबाट ल्होसारका १२ वटा बर्षको नामाकरण गरिएको छ । जस अनुसार शेर्पा समुदायले यो बर्षलाई बाँदर (प्र) बर्षका रुपमा मनाउँदैछन् ।

'ल्होसार' दुई शब्द मिलेर बनेको हुन्छ, 'ल्हो' को अर्थ वर्ग र 'सार' को अर्थ नयाँ भन्ने हुन्छ । यसर्थ 'ल्होसार' भन्नाले नयाँ वर्ष बुझिन्छ । शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पनि नयाँ बर्ष आगमन र यसैको स्वागत हो । ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ । तर दुवैको अर्थ भने एकै हो । ग्याल्वो ल्होसारमा नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याएको पानीले घरका कुल देवतालाई चढाउने गरिन्छ । साथसाथै यस अवसरमा मिठो मसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायत देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

ग्याल्पो ल्होसारका दिन शेर्पाहरुले बिदाइ हुने साल बर्षको ग्रहदशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर गुम्बाहरुमा ङिस्युगु पूजा अर्थात ग्रहदशा विसर्जन गर्दछन् । शेर्पाहरु लोसारको पहिलो दिन शुभ दिन हुने भन्दै आफ्नै घरमा बसेर रमाईलो गर्दछन् । उनीहरुले घर अगाडि आँगनमा राखेको पुराना ध्वजापतकाहरु निकालेर नयाँ ध्वजाहरु लगाउँदछन् । त्यसरी टाँङ्ने ध्वजालाई लङ्दार भनिन्छ । एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान्) का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार शेर्पा समुदायका घरघरमा टाँङ्ने प्रचलन सुरु भएको मानिन्छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार शुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्ग्याउने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनहरुले सम्बोटा लिपिमा सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा 'टाँसी देलेक' भन्ने वाक्यांश र अष्टमंगलका चिन्हहरुले घर सजाउने गर्दछन् । ल्होसार सुरु हुनुभन्दा केहि हप्ता अगावै खाप्से अर्थात मैदाको पिठोबाट बनाइने विशेष परिकार तयार पार्ने गर्दछन् । शेर्पाहरुले आफ्नो ठाउँको हावापानी अनुसार ल्होसारको पहिलो दिनमा उम्रने गरी लोफुत अर्थात गहुँको बीउलाई एउटा भाँडामा राखेर उमार्ने गर्दछन् । ल्होसारका दिन उम्रिएको उक्त विरुवालाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गर्दछन् । शेर्पा समुदायहरुले ल्होसार अघिनै गुथुक गर्ने अर्थात घरभित्रको फोहोरमैला फाल्ने गर्दछन् । उनीहरुले आफ्नो घर सफागर्दा निस्किएको फोहोरलाई परिवारको ग्रहदशा फाल्ने भन्दै चोकमा लगेर विसर्जन गर्दछन् । उनीहरु ल्होसारको साँझमा विभिन्न नौ प्रकारका अन्न मिसाइएको खाना अर्थात गुथुक खान्छन् । उक्त खाद्य परिकार आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक आँटाको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र अलग-अलग सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको एक परिकार हो । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सवैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रा पर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने शेर्पा समुदायमा विश्वास रहेको छ ।

 - हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.77
  • 109.37
  • European euro
  • 115.93
  • 116.57
  • UK pound sterling
  • 134.13
  • 134.87
  • Swiss franc
  • 108.07
  • 108.67
  • Australian dollar
  • 81.98
  • 82.43
  • Canadian dollar
  • 81.59
  • 82.04
  • Singapore dollar
  • 76.25
  • 76.67
  • Japanese yen (10)
  • 9.47
  • 9.52
  • Chinese renminbi (Yuan)
  • 15.82
  • 15.9
  • Saudi Arabian riyal
  • 29
  • 29.16
  • Qatari riyal
  • 29.87
  • 30.04
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 29.61
  • 29.78
  • Malaysian ringgit
  • 24.46
  • 24.59
  • Korean Won (100)
  • 9.25
  • 9.3
  • Swedish Krone
  • 12.2
  • 12.27
  • Danish Krone
  • 15.59
  • 15.68