विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस




प्राकृतिक प्रकोपसंग हामी जुध्न सक्दैनौं, हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलार्इ न्यूनिकरण मात्र गर्न सक्दछौं, हैन र ?


विश्व प्राकृतीक प्रकोप नियन्त्रण दिवस विशेष अडियो सामाग्री

सन् २०१७ अक्टोबर १३ तारीख

आज फलाना ठाँउमा बाढी आयो रे !
आज यो ठाँउमा पहिरो गयो !
भुईचालोले यति मान्छे लग्यो !
ज्वालामुखी ले यसो गर्यो !

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै बिभिन्न प्राकृतिक प्रकोपहरुको संभाव्य जोखिममा रहेको छ । अझ मानविय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको ११ तारीखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ । बिभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठि इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्व धेरै छ ।

प्राकृतिक प्रकोपसंग हामी जुध्न सक्दैनौं, हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलार्इ न्यूनिकरण मात्र गर्न सक्दछौं, हैन र ?

सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्ति बिरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको शुरुवात गरिएको हो र आज पनि यस दिनमा बिभिन्न सञ्चार माध्यमहरुले विश्वभर यस बिषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् ।

यस वर्ष सन् २०१७ को प्राकृतिक प्रकोप नियन्त्रण दिवसले भने सन् २०३० सम्म प्राकृतिक प्रकोपका पीडितहरुको संख्या कम गर्नमैं आधारित र केन्द्रित हुनेछ । यसकासाथै समूदाय, राष्ट्र अनि क्षेत्रकै जागरणस्तर बढाउन्, पूर्वतयारी संरचनामाथिको पहूँच बढाउन अनि पीडितहरुको संरक्षणकालागि विशेष आह्वान गर्ने संयूक्त राष्ट्रसंघको योजना रहेको छ ।

छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानीकालागि विश्व समूदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक बिपत्तिहरुको सामना गर्नु परेकोछ, समय-समयको भूँईचालो होस् या यस वर्षको भिषण बाढि पहिरो, भौगोलिक रुपमा विविधतासंगै जटिल नेपाल सदैव प्राकृतीक बिपत्तिको उच्च जोखिम मैं छ ।

दुखद् कुरा चाँही नेपालीहरुको अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी रहेकाले हुने थप हानी र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाण्डौ कै मूलधारको खानेपानी, स्वास्थ सुबिधा र आधारभूत कुराहरुको सुलभतामाथि भुँईचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौं । राजधानीको त्यो हविगतले सापेक्षिक रुपमा दूरदराजका गाँउहरुको अवस्था सहजै बयान गर्दछ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रणका प्रयोगात्मक अभ्यास र व्यवहारीक शिर्षकहरु नहुनु झनै दुखदायी कुरा हो ।

अझ अव्यबहारीक विकासे ज्ञान जस्तै भुँईचालो आँउदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरुले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नपर्ने ज्यान पनि मृत्यू र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधी र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुनसक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्वतयारी पनि छैन् ।

फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुष्ठ जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दूर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात धर्म परिवर्तन र मानव तस्करका कुराहरु आएका हुनसक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुबै तहको समान सहभागिता जरुरी छ । आजको दिन यि सबै कुराहरु विश्व समूदायसंगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।

यस पटक त स्थानीय स्तरको चुनावसंगै नेपाली गाँउठाँउमा २० वर्षपछि स्थानीय शासनको लहर छाएको छ । नयाँ नेतृत्वले आफ्ना समूदाय र टोललाई प्राकृतिक प्रकोपको पूर्वतयारी गराउने गहन कुरा नबिर्सुन भन्ने कामना पनि छ ।
प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरु बनाऔं, आँउदा पुस्तालाई यसको पूर्वतयारीप्रति सजग गराऔं ।

----
हाम्रो पात्रोकोलागि सुयोग ढकाल ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.