विश्व अहिंसा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व अहिंसा दिवस




कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिसंकेतयुक्त विगुल शुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नहभइदिने हो भने... अमेरीकि स्वतन्त्र संग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन...।"



अाज अक्टुबर २, अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागि असाध्यै मानिएका नेता महात्मा गान्धिको आज जन्मदिन पनि हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएको छ, हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् । अर्कोतर्फ हिंसाका विरुद्ध वोल्न, लेख्न अनि अभिब्यक्त गर्नसक्ने आवाजहरुको कमीका कारण सृजना भएको मौनताले गर्दा पनि हिंसात्मक मानसिकताका जमातहरूको मनोबल बढाउन सहयोग गरेको छ । 

मानव समाजको शुरुवात देखिनै द्वन्द्व भइरहेको छ । विभिन्न नाममा र विभिन्न परिवेशका समाजहरूबिचको वैचारीक असहमतीबाट द्वन्द्वको सृजना हुनु सामान्य हो तथापि उक्त द्वन्द्वको उचित ब्यबस्थापन गर्न नसक्दा यहाँ हिंसा बढ्दै गइरहेको छ । अहिंसा दिवसको औचित्य त्यतिबेला अझ गज्जब हुन्छ जतिबेला हामीले अब आउने पुस्तालाई द्वन्द्व अनि असहमतीलाई शान्तीपूर्वक समाधान गर्ने तवरहरु सिकाउन सक्दछौ, मुस्कान र सदाचारको महत्व सिकाउन सक्दछौ अनि बदला र विद्रोहलार्इ धेरैपर धकेलेर मानवताको अर्थ हरेक मन मनमा स्थापित गर्न संभव पार्दछौ ।

अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्रसंघको हेडक्वाटर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस्मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरूद्ध घोचकको रूपमा विश्वप्रसिद्ध छ । 

एउटी आमाले छोराछोरी राती नसुत्दा 'भूत आएर तँलाई खान्छ, छिट्टै सुत' भनेर सुताउँदछिन र केटाकेटी सुत्दछन् तर उक्त भूत अनि त्यसले आफुमाथी गर्नसक्ने संभावित हिंसाको भयलार्इ परिकल्पना गर्दै सुत्दछ । एकदिन आफु ठूलो भएर उक्त भूतलाई ठिक पारिदिने महत्वाकांक्षाकासाथ निदाएको उस्को मानसपटलमा हिंसाको पहिलो पाठ शायद त्यहिबेला नै नकारात्मक रुपमा बस्न जान्छ । 'को खाई को खाई गराएर खुवाँउदा, उ त्यो फलानालाई हैन म त मेरै बावुलाई या नानीलाई खुवाउँछु' भन्दा बाल मानसपटलमा आफूकेन्द्रित र अरु विरोधी भावनाहरु वृद्धी हुन्छ र हिंसाको जड यस्तै सामान्य लाग्नसक्ने कुराहरूमा छ । सँगै वाडेर खानसक्ने अनि भयहीन र निडर पुस्ताले मात्र अहिंसाको वकालत गर्न सक्दछन् ।

अहिंसावादी नेता महात्मा गान्धिले भनेकाछन्, "एउटा हिंसारहित समाजको परिकल्पना त्यतिबेलामात्र संभव छ जतिबेला हामीले हाम्रो बालबालिकाहरुलाई अहिंसाको महत्व बुझाउन सक्छौं ।" यूवा पुस्तालाई पनि अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्न जरुरी छ । आउनुहोस् आज हामी जहाँ छौं त्यहींबाट, चाहे विकसित देशमा छौं या अविकसित ठाउँमा छौ, मकै भटमास चपाइरहेका छौं या महँगो रेष्टुरेन्टमा बसेर भोजन गर्दैछौं? परिकल्पना गरौं, यदि हाम्रो वरिपरि हिंसाजनक कार्य र भावना नभइदिने भए !

जग्गाकोलागि दाजू भाइको मारकाट, राजनीतिक पार्टीकालागि कार्यकर्ताको घम्साघम्सि, धर्मका नाममा भएका घटनाहरु, आतकंवादी श्रृंखलाहरु अनि बमवारुदका घीनलाग्दा कथाहरु नभइदिने हो भने हिंसारहित समाजमा भयहीन हाँसोका खित्काहरु कति खुलेर गुञ्जिने थिए होलान !

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिसंकेतयुक्त विगुल शुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नहभइदिने हो भने... अमेरीकि स्वतन्त्र संग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन...।" 

परिकल्पना गरौं न, एउटा हिंसारहीत शान्त संसार जहाँ कसैलाई कोहीबाट खतरा नहोस्, सबैको पीडा सबैले बुझुन अनि माया र सद्भावका अणुहरु हरेक मानव हृदयमा रहुन् । जहाँ कसैको कोही प्रति रीसराग नहोस्, वैमनस्यता नहोस् क्षमा र सम्मान होस । खै! किन हो ? गल्ती गरेतापनि हामी कसैसंग झुकेर माफी माग्न पर्दा आफूलाई सानो सम्झिन्छौं अनि अात्मसम्मानमाा ठेंस पुगेको महशुस गर्दछौं । हरेक कदमैपिच्छे मायाको साटो रिसराग र बदलाको भावना बोकेर हिड्दछौं, सबैलाई सबैसंग प्रतिस्पर्धा छ, यहाँ हतार छ अर्कालाई धकेलेर अनि लडाएरै भएपनि अगाडी बढ्ने र यस्ता क्रियाकलापहरुले हिंसालाई प्रश्रय दिइरहेको छ । वास्तवमा माफी माग्नु कुनै लज्जाको विषय हैन, झगडा गर्न भन्दा माफी माग्नलाई ठूलो साहस र आँट चाहिन्छ । गल्ति सबैबाट हुन्छ, हामीले आफ्नो गल्तिलाई स्विकार गरेर माफिको बाटो अपनायौं भनेमात्र पनि हिंसा हाम्रो जीवन र समाजाबाट बाहिरीन सक्छ । द्वन्द्वहरु बन्दुकबाट हैन वचनबाट समाधान गरिनुपर्दछ ।

आज विश्व अहिंसा दिवस हो, वुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतीका छौं। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभीइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनिया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरुको विजारोपण गर्न जरुरी छ र यहि शान्तिको अकुंरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे वाइबल होस या त्रिपिटक या अन्य कुनैपनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्देन भनेर उल्लेख गरीएको छ । अब बेला आएको छ मुस्कानको बाटो हिंड्ने, "अहिंसा परमो धरम" अर्थात हिंसा नगर्नुनै सबैभन्दा ठूलो धर्म हो । मुस्कुराउन नछोडनुहोला, हिंसात्मक भावहरुलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।

जय होस सबैको, सबैको मङ्गल होस 


 हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.