अन्तर्राष्ट्रिय मातृभाषा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तर्राष्ट्रिय मातृभाषा दिवस



हरेक बर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइदै आएको छ । तत्कालिन पुर्वी पाकिस्तान (हालको बंगलादेश) मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरुको विविधतालाई स्विकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरुप संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तराष्ट्रिय भाषा वर्ष रुपमा मनाईएको थियो ।

विक्रम सम्बत् २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको संख्याभन्दा पनि बढि हो । २०६८ को कै गणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ४४ दशमलव ६ प्रतिशतले नेपाली भाषालाई आफ्नो मातृभाषा बताएकाछन् । नेपाली भाषालाई दोश्रो भाषाका रुपमा ७७ दशमलव ३७ प्रतिशत जनसंख्याले स्विकार गरेकाछन् । त्यसैगरी ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ । यस तथ्यांक अनुसार नेपाली भाषापछि नेपालमा सवैभन्दा बढि बोलिने भाषा मैथिली हो भने सवैभन्दा कम बोलिने भाषा संस्कृत हो । संस्कृत भाषा बोल्ने जनसंख्या १ हजार ६ सय ६९ रहेको छ ।नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सवै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सवै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ ।

नेपालको सरकारी कामकाजको भाषा भने नेपाली हो । यो भाषा खस सभ्यतासंगै विकास भएको प्रमुख भाषा हो । बाँकी अधिकांश भाषाहरु भारोपेली तथा चिनियाँ/तिब्बती भाषा परिवारका हुन् । ती मध्ये धेरैजसो भाषाहरु लोपोन्मुख भाषाको सूचिमा छन् । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिंदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ । मातृभाषा दिवसका अवसरमा नेपालमा विविध कार्यक्रमहरु गरिंदैछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज भाषा तथा संस्कृति संरक्षण सम्बन्धि कार्यक्रमहरु गर्दैछन् । मातृभाषा संरक्षणका लागि सचेतना जगाउने उदेश्यले साँस्कृतिक पहिरनहरु सहित र्याली तथा झाँकीहरु प्रदर्शन गरिंदैछ । त्यसैगरी मातृभाषामा विभिन्न साहित्यिक गतिविधी र साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । नेपालमा ६० को दशकयता भाषिक जागरणले गति लिएको छ । नेपालमा विभिन्न जाती तथा समुदायहरु आफ्नो भाषा तथा भेषभूषाको संरक्षण र सम्वर्द्धनका लागि जुट्न थालेकाछन् । भाषाहरुको संरक्षणका लागि भाषिक सम्मेलनहरु पनि आयोजना हुन थालेकाछन् । नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण तथा सम्वर्द्धनको मुख्य उदेश्य लिएर यस्ता कार्यक्रमहरु आयोजना गरिन्छन् । कुनै पनि मातृभाषा लोप भएको खण्डमा समग्र भाषा, संस्कृति र संस्कारमै नकारात्मक असर पर्दछ ।

मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको सम्वाहक हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिंदैन । मातृभाषाले देशको राष्ट्रियतालाई मजबुत बनाउँदछ र देश प्रेमको भावनालाई एकाकार गराउँदछ । मातृभाषा अल्पसंख्यक समुदायहरुको आत्माको आवाज हो ।- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.