श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी मंसिर शुक्ल पक्षको एकादशीलाई भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । त्यहि भएर यस एकादशीलाई गीता जयन्तिका रुपमा पनि मनाइन्छ । एकादशी भन्नाले विशेष गरी भगवान बिष्णुको पूजा हो । आज बिष्णु प्रतिमा स्थापना गरी धूप, दीप, नैवेद्य चढाइन्छ । त्यसैगरी ब्राह्मण भोजन गराई दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने विश्वास छ । सवै पापहरुबाट मोक्ष प्राप्त हुने भएकोले यस एकादशीको ब्रत लिनु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ । पापबाट मोक्ष गराउने भएकोले नै यस एकादशीलाई 'मोक्षदा' भनिएको हो । मोक्षदा एकादशीको ब्रत बसेपछि पुर्वजहरुले सवै पापबाट मुक्ति पाई स्वर्गको बास पाउने धार्मिक मान्यता रहेको छ ।
पौराणिक कथन द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजाले राज्य गर्दथे । राजा वैखानसले एकपटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्दारका लागि आफुलाई अनुनय विनय गरेको देखे । यस्तो सपनाले वैखानस चिन्ताले ब्याकुल बने । उनले बिहानै उठि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा सबिस्तार सुनाए । त्यसपछि गुरु ब्राम्हणहरुले पर्वत नाम गरेका एकजना तपश्वि ऋषिमुनिलाई भेटे उद्दारको तरिका थाहा लाग्ने लगाए । वैखानसले पनि पर्वत मुनिकहाँ पुगि सवै बेलिबिस्तार सुनाए । पर्वत ऋषिले ध्यानदृष्टिले हेरि सवै जानी बुझि पूर्वजन्मको पापले गर्दा तपाँईका पिताले नरक भोग्नु परेको हो भनि वैखानसलाई बताइदिए । त्यसबाट मुक्तिका लागि सवै विधी पुरा गरी मंसिर शुक्ल एकादशी अर्थात मोक्षदा एकादशीको ब्रत गरेको खण्डमा नरक बासमा परेका पित्रीको उद्दार हुने कुरा पर्वतमूनिले बताइदिए । वैखानसले पनि पर्वत ऋषिले भने अनुसार मोक्षदा एकादशीको ब्रत बसि नरकमा फसेका आफ्ना बुबाको उद्दार गरे । त्यसैबेलादेखि यहि धार्मिक कथा अनुसार अहिले पनि भक्तालुहरु मोक्षदा एकादशीको ब्रत बस्ने गर्दछन् र पापमा फसेका पित्रीहरु उद्दार गर्ने गर्दछन् ।
आज गीता उपदेशको पुस्तक सहित श्रीकृष्ण र वेदव्यासको पनि भक्तिपूर्वक पूजा गरिन्छ । मोक्षदा एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमिकै दिन शुद्ध भई नियमपूर्वक जौको रोटी र मुँगको दाल बनाई एक पटक मात्रै भोजन गर्नु पर्दछ । त्यसैगरी एकादशीको ब्रत समाप्त गरी भोलिपल्ट द्वादशीका दिन बिहानै स्नान गरी एक छाक खाएर उपबास बस्नु पर्दछ । एकादशीका दिनमा भने भगवानको पूजा आराधना गरी रात्री समयमा गीता श्लोक गाउँदै जाग्राम बस्नु पर्दछ । गीताले अज्ञानता र अन्धकारबाट मुक्त गरी मानव जीवनलाई समृद्धि र सत्कर्म तर्फ लैजान्छ । यसो गर्नाले मानव जीवनमा विचारको श्रेष्ठता प्राप्त हुने विश्वास रहेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस
डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएकाछन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदा औपचारिक रुपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरु गरिन्छ ।
रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रकृयालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरुले आफु र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् । नेपालमा वैदेशिक रोजगार विभागले प्रत्येक दिन करिब १७ सय नेपालीहरु कामका लागि विदेशिने गरेको बताउँदै आएको छ । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएकाछन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आयश्रोतमा बढोत्तरी भएको छ ।
संयूक्त राष्ट्रसंघको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरेको छ भने मानव गतिशिलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रुपमा अङ्गीकार गरिएको छ । नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएकाछन् ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: