राम नवमी/चैते दशैं | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

राम नवमी/चैते दशैं




हामीसबैमा सत्य वोल्न सक्ने सार्मथ्य वढिरहोस् । जय होस्


राम नवमी बिशेष अडियो सामाग्री

शुरु गरौं वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट, एकदिन वानवासको बेला मर्यादा पुरुषोत्तम भगवान श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरुबिच चलिरहेको लुकामारीमा राम एक्कासी धेरै बेरसम्म लुकेपछी जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो विलौना अझ भनौ पुकार गर्नुहुन्छ जसलार्इ भक्त कविर लगायत थुप्रै भजन श्रष्टाले छन्द अनि गधका रूपमा लेख्नुभएको छ । आउनुहोस्, सरल नेपाली भजनकारुपमा हाम्रो आफ्नै नेपाली भाषामा प्रस्तुत छ, केवल हाम्रो पात्रोमाः

सीता रानी आज्ञा गर्नुहुन्छ!
हे राम , कहाँ लुक्नुभएको,
आउनुहोस राम, हृदयको दियो जलाउनुहोस् राम
पुरुष महिलाबाट नै बनेको संसार, एउटा बिना अर्को बेकार
छुटेको साथ, मिलाउनुहोस राम, हृदयको दियो जलाउनुहोस् मेरा राम
मेरो बचन निभाउनु मेरा राम, हृदयको दियो जलाउनुहोस् राम

यी अनि यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरुले रामायणको समग्र  प्रस्तुतिलार्इ एउटा महान ग्रन्थ बनाउन सकेको हुनुपर्छ । 

राम अनि सीताको जीवनको वरीपरी रहेर तुलसीदासले 'रामचरित्रमानस'मा अवधी भाषामा कथेका छन् । यसै रामचरित्रमानसका अवधी श्लोकहरुका आधारमा आज नेपालको तराई लगायत भारतका विभिन्न ठाँउमा रामलिला अनि श्लोकहरुकै लय अनि माधुर्यतामा रामसिताका कथाहरु प्रस्तुत गरिन्छ ।

कवि तुलसीदास प्रभू लेख्नुहुन्छः 
राम राम कहि जे जमुहाहीं ।
तिन्हहि न पापांपुज समुहाहिं ।
तर्जनीभ्यायं नमः


अर्थात् पापका असरहरु तिनकालागि निस्तेज रहनेछ, जसले हाई काढ्दापनि रामको नाम लिन्छ ।

आउनुहोस् यिनै पापमोचन गर्ने जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् अाज राम नवमी, असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले अाजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलङ्का, फिजी टापू, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरुको अायोजना गर्ने गर्दछन् । हिन्दू धर्ममा आस्थावान जो कोही राम नवमीका दिन सबेरै नुहाइधुवाइ, शुद्ध बनी राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्दछन् ।

राम नवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिअाएकोछ । 

राम मन्दिरहरुमा विहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतीक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्नकालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी राम नामको कृपाले हामीसबैमा सत्यमार्गको द्वार खुलोस् ।

त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ । 

। अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मिकी पुराण अनुसार भगवान रामको जन्म पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान रामको राज्य (राम राज्य) पनि न्यायकालागि नूमना मानिन्छ ।

रामलाई वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै बढि पुजिने भगवानका रुपमा लिइन्छ । त्यहि भएर रामका भार्इहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरु तीनजना भाईहरु थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सवैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लङ्का तहननहस बनाउने प्रमुख पात्र पनि हुन् ।

राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएतापनि रावण आँफै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोक्तम रामको हताबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरि रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरु पनि छन् । 

बैकुण्ठ निवासी भगवान विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक( रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यहि कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरुलाई सुखशान्ति दिएका कारण भगवान रामलाई युगपुत्रका रुपमा पुजिन्छ ।

आजभोली सनातन धर्मका भगवानरुपी पात्रहरु राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा ब्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन्, भागवत गीता देखि पुराण्हरुका कुना कुना सम्म पनि हिन्दुधर्म लाई धर्म भन्दा पनि जिवन वाँच्ने शैलीका रुपमा मात्र ब्याख्या गरिएको छ । सत्यपथ, धर्म अनि मानवता लाई प्रकृतीप्रेम सगँ एकढिक्काका रुपमा सनातन धर्मले ब्याख्या गरेको छ ।

राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैकालागी एउटा अनुकरणीय उदहारण हो, सत्यको जीत होस् अनि हामीसबैमा सत्य वोल्न सक्ने सार्मथ्य वढिरहोस् ।
जय होस् 


चैते दशैं


 


यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको रौनक चढेको छ ।

दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । यस वर्ष २०७३ को चाडपर्वको श्रृखलालाई यस वर्षको चैते दशैं अनि भोलीको रामनवमीले समापन गरेको छ, यी पवहर्रु नै यस वर्षकालागि लगभग अन्तिम पर्व हो है । अब आजको अष्टमी पछीको भोलीको राम नवमी... अनि सकिए यस वर्षका चाडहरु ।

वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ ।

चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन्, पर्यटकिय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचिन समय देखिनै काठमाण्डौ उपत्यकाका यी देवालयहरुमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ ।

आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् ।

मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।


छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।

असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भईरहोस् । जय होस् !!!!

-----
हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.