ऋषि पञ्चमी | राष्ट्रिय बाल दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

ऋषि पञ्चमी | राष्ट्रिय बाल दिवस




आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ । वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋृषि पञ्चमीको शुभकामना । महिनावारीको समयमा छुवाछुत पनि यसवर्षदेखि नेपाल सरकारले अपराधका रुपमा कायम गरेको छ


ऋषि पञ्चमी विशेष अडियो सामाग्री

तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछिको हिजोको एकदिन विट मारेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो 'ऋषि पञ्चमी' ।

हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको स्पर्शले माटोहरु पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन ।

यो पनि हेर्नुहोस : कथा 'छाउभोट'

आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।

ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास । नारीलाई रजस्वालाको ४ दिनहरुलार्इ चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।

शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

शत्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।

महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छः
महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरण रहोस् नारीहरुको रजस्वालाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट त हुरु हुन्छ ।

आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतीक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।

पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएकोभए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।

आजका दिन काठमाण्डौ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्नेगर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।

वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना । महिनावारीको समयमा छुवाछुत पनि यसवर्षदेखि नेपाल सरकारले अपराधका रुपमा कायम गरेको छ । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्यूवरण गरेका नमिठा खबरहरु सुन्न नपरोस्, यस जगले रजस्वालाको महत्व चालपाओस् ।

सप्तऋषिहरुको कृपा सदैव रहोस्, सबैजना सुखी होउन्, सबैको जय होस् !

राष्ट्रिय बाल दिवस

 


निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यीनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ । 


बालपनको यादहरु हामीहरुसबैसग ताजा छ, हामीमध्य धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । छाला चाउरीपरेका बुढाबुढीहरु देखि भर्खरै जुगाको रेखी पलाउदैगरेका किशोरसम्म, ठूलाठूला दार्शनिक देखि गणितज्ञसम्म सबैजनाहरुलाई बालापन प्रिय छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा हो ।

बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ, पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौं होला, आमाको हातले खुवाएको गाँसहरु चपाउदै हामीले आफै खान सिक्यौं होला, हामीले पहिले 'क' सिक्यौ अनि 'क' बाट कछुवा . विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला र कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला ।

बालापनाका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका छन् । यस अर्थमा संसारमा एउटा बालक या बालिक भन्दा स्वतन्त्र अरु कोही छैन, निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरु छर्न जरुरी छ ।

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा बसेर अफिस जाने मान्छे बिचमा सम्पत्तिबिचको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका बालबालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन । समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धतगर्न पाउँदाको असिम आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।

सानामा प्रशस्त माया पाएका बालबालिकाहरुलेमात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन र बालपनको यो संसार मायामा अडेको छ तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलार्इ उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ , अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ ।

आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतकालागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो ।

आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा-आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन? के तपार्इ-हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।
---
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.