श्री शंकराचार्य जयन्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

श्री शंकराचार्य जयन्ति




श्री शंकराचार्य जयन्ति विशेष अडियो सामाग्री

शंकराचार्यको इतिहासबाट आज कुरा उक्काउन जाँदैछौं र त्यसअघि नेपाली तथा विश्व सनातन हिन्दु लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि जोड्न चाह्यौं । अहिले नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शंकराचार्य इतिहासमा प्रथम महिला शंकराचार्य बन्नसक्ने प्रबल सम्भावना छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनका लागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो । तर जे होस् यसपाला वैदिक सनातन संस्कारको १२०० बर्षको इतिहासमा प्रथम महिला शंकराचार्य हुने यात्राको अन्तिम खुड्किलोमा पुग्न साध्वी हेमानन्द गिरी सफल हुनुभएको छ । यसरी यस वर्षको शंकराचार्य जयन्ती वैदिक सनातन संस्कार अनि हिन्दु धर्मका अनुयायीका लागि अन्य वर्ष भन्दा फरक र गौरवमय पनि छ । 

यस वर्ष अाधूनिक इतिहासका शंकराचार्य पिढिबाट कांचीका शकंराचार्य जयन्द्र सरस्वतीको देहावसान भयो । यस वर्ष पीठहरुमा नयाँ शंकाराचार्यको आगमनको चर्चाको उत्तरार्धमा उनको देहावसानले सारा हिन्दूलोक मर्माहित भएको छ । वैदिक सनातन हिन्दु संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानीकरणका लागि शंकराचार्यको यूगान्तकारी देन छ । भारतवर्षका आधूनिक धर्म संस्थापक शंकराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरु अहिले पनि धर्मशास्त्रहरुमा कालजयी वचन बनेर रहेकाछन् । उनले अद्यात्मदर्शनलाई उजागर गरेका थिए । उनकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शंकाराचार्य अद्वैत वेदान्तका संस्थापक थिए । श्री शंकराचार्यले नेपाल सहित सम्पुर्ण हिमवत्खण्डमा महत्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरु छन् ।

धार्मिक मान्यता अनुसार शंकाराचार्यलाई अादीदेव भगवान शिव शंकरका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार शंकराचार्यका पिता शिवगुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरुका सन्तान भएका थिएनन् । शिवगुरुले सन्तान प्राप्तिको इच्छा पुरा गर्न श्रद्धापुर्वक भगवान शिवको तपस्यामा लीन भए । उक्त तपस्याका प्रभावले भोले शंकरले शिवगुरुलाई सपनामा दर्शन दिए । भगवान् शंकरले वरदान माग्न भने, शिवगुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे; तर भगवान शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।

शिवगुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिंदै उक्त पुत्रका रुपमा स्वयं आफ्नो जन्म हुने बताईदिए । यसरी शिवगुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रुपमा शंकरलाई जन्म दिइन् । त्यहि शिवको अवतारका रुपमा जन्मिएका कारण उनलाई शंकराचार्य भनिएको थियो । शंकराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्वशास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरू शंकराचार्यका नामबाट प्रसिद्ध भए । 

प्रत्येक बर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान हिन्दु दार्शनिक एवं धर्मगुरु शंकाराचार्यको जन्म जयन्ती मनाइन्छ । शंकराचार्यको जन्म ईशापूर्व ७८८ मा भएको थियो भने मृत्यू ९२० मा भएको थियो । आदि जगतगुरु शंकराचार्यको २५२७ औं जन्म जयन्ती आज भव्यताका साथ मनाइदैछ । शंकराचार्य जयन्तीका अवसरमा मठहरुमा पूजाआजा गरिन्छ । वैदिक विद्वानहरुले वेद पदहरु वाचन गर्दछन् । शोभायात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरु आयोजना गरिन्छन् ।

भारत केरलाको कलाडीमा जन्म भएका शंकराचार्य केवल ३२ वर्ष सम्म मात्र बाँचेको पाइन्छ, यसै बिचमा हजारौं वर्षमा गर्न नभ्याइने कार्य शकंराचार्यबाट भएको पाइन्छ । शंकराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौं किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसंग दिक्षा लिएको पाइन्छ । नर्मदा तटको ४ वर्षको बसाईमा शंकराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम विन्दु हासिल गरेको बताइन्छ । भारतवर्षका ४ कुनामा ४ वटा मठहरु स्थापना गरेर सनातन धर्मको सस्थागत रक्षार्थ शंकराचार्यले गरेको संरचना अझै कायम छ ।

भारतवर्षको लम्वाई र चौडाई हुनेगरि शंकराचार्यले सबैजसो भू-भागमा गएर दिक्षा दिने र त्यहाँ भएका अन्य विद्वानसंग शास्त्रार्थ गर्ने बताइन्छ । यसक्रममा अन्य धर्म या दर्शनमा गएकाहरुलाई पनि सनातन धर्ममा पुनः ल्याउने पावन कार्य शंकराचार्यले नै गरेको इतिहास छ । शंकराचार्य एउटा असल कवी पनि हुन्, सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कवीताहरु शंकराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शंकराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शंकराचार्य अमर रहुन् । 

----
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.