षटतिला एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

षटतिला एकादशी




षटतिला एकादशी विशेष अडियो सामाग्री

पद्म पुराणमा सवै प्रकारका एकादशीको महत्वबारे विशेष रुपमा उल्लेख गरिएको पाइन्छ । त्यहि पद्म पुराणमा उल्लेख भए अनुसार माघ महिनाको कृष्ण पक्षको एकादशीलाई षटतिला एकादशी भनिन्छ । धार्मिक कार्यमा पवित्र वस्तुका रुपमा प्रयोग गरिने तिलको नाम जोडिएको यो एकादशीले पनि अन्य एकादशीहरु झैं छुट्टै महत्व बोकेको छ । षटतिला एकादशी ब्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले षटतिला भनिएको हो । 'षट' को अर्थ छ वटा र 'तिला' को अर्थ तिल- जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको ब्रत बस्नेले ब्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै बर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसैगरी अरु एकादशी ब्रत झैं श्रद्धापूर्वक षटतिला एकादशीको ब्रत बस्नाले सवै पापहरुको नष्ट हुने मान्यता रहेको छ ।

पौराणिक कथन अनुसार एकदिन नारदमूनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास बैकुण्ठ पुगे । त्यहाँ नारमूनिलाई बिष्णु भगवानले श्रद्धापुर्वक स्वागत गरे । नारदले सोहि मौकामा षटतिला एकादशी ब्रतका बारेमा बिष्णुसंग जिज्ञासा राखे । बिष्णुले पनि यस एकादशी ब्रत महिमाको सवै कथा वेलिबिस्तार सुनाईदिए । कथा अनुसार त्यतिबेला पृथ्वीलोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी बिष्णुप्रति धेरै श्रद्धाभक्ति गर्दथिन् । एकदिन ती ब्राम्हणीले बिष्णुको भक्ति स्वरुप एक महिना लामो ब्रत बसिन् । ब्रतको प्रभावले ब्राम्हणी सवै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । बिष्णुले आफ्नो भक्त सवै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन् गरे । त्यहि भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे । ति ब्राम्हणीले पनि भिक्षा स्वरुप माटोको डल्लो बिष्णुरुपि भिक्षुका हातमा राखिदिइन् । भिक्षु बिष्णु त्यहि माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ति ब्राम्हणी एकदिन परलोकधाम भई बिष्णुलोकमा पुगिन् । उनलाई बिष्णुलोकमा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकि ती ब्राम्हणीले पुन: बिष्णुको भक्ति गरिन् । बिष्णु प्रकट भए । ब्राम्हणीले आफु सवै धर्मपरायण भएर पनि किन खाली कुटि मिल्यो भनेर बिष्णु समक्ष जिज्ञासा राखिन् । बिष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिंदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताईदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर बिष्णुले त्यसको उपाय स्वरुप- देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यतिबेला मात्रै कुटिको ढोका खोल्नु कि जतिबेला उनीहरुले तिमीलाई षटतिला एकादशीको ब्रत विधी सुनाउँछन्, भनि बताईदिए ।

ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बताईदिएको विधि अनुसार उनले षटतिला एकादशीको ब्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरु प्राप्त भयो । बिष्णुले नारदलाई यसरी षटतिला एकादशी ब्रतको सवै विधि कथा बताईदिए । सोहि अनुसार षटतिला एकादशी ब्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा बैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई बिष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्री समयमा तिल हातमा लिएर १०८ पटक 'ॐ नमो भगवते बासुदेवाय स्वाह' भन्दै मन्त्रोचारण गरी अर्पण गर्ने गरिन्छ । त्यसैगरी बिष्णुलाई अर्पण गर्ने सामाग्रीहरुको अभाव भएमा एकसय वटा दाना सुपाडी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको ब्रतबाट शारीरिक शुद्धि तथा आरोग्यता समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

 - हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.