आज डिसेम्बर ७ तारिख । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) स्थापनाको स्मरणमा यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । आइकाओ हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो । यो दिवस सन् १९९४ देखि आइकाओ दिवसका रुपमा मनाइदै आएको छ । आइकाओमा नेपाल सहित करीव २ सय सदस्य राष्ट्रहरु छन् । यो दिवस मनाउनुको अर्को उदेश्य भनेको हवाई यात्रालाई सुरक्षित र मर्यादित बनाउनु तथा हवाइ यात्राको पहुँच विस्तारका लागि सवैले भूमिका निर्वाह गरुन भन्ने पनि हो ।
यस दिवसका अवसरमा हवाई प्रदर्शनी, पुष्पवृष्टि, र्याली जस्ता गतिविधिहरु गरिंदै आएकाछन् । नेपाल पर्यटकीय हवाई उडानका लागि उत्कृष्ठ गन्तव्य मानिन्छ । हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम सहित एक दर्जन निजी कम्पनिका साना ठुला बिमानहरुले बाह्य तथा आन्तरिक उडान गर्दै आएकाछन् ।
उत्पत्तिका एकादशी
पञ्चाङ्ग अनुसार एघारौं तिथिलाई एकादशी भनिन्छ भने एकादशी पनि महिनामा दुई पटक आउँदछ । यसै अनुसार मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई उत्पतिका एकादशी भनिन्छ । यस दिन एकादशीको उत्पति भएको हुनाले उत्पतिका एकादशी नामाकरण गरिएको हो । सवै एकादशी मध्ये यो पहिलो भएको हुनाले एकादशीको ब्रत लिने व्यक्तिहरुले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको प्रारम्भ गर्नु पर्दछ । पद्मपुराणमा बताइएअनुसार सत्ययुगमा मुर नाम गरेको भयंकर हिंस्रक दानवले देवराज इन्द्रलाई युद्धमा पराजित गरेको थियो । मुरले जव इन्द्रको राज्य स्वर्गमाथि नै आफ्नो आधिपत्य जमायो, तव स्वर्गमा रहेका सवै देवदेवताहरु शरणका लागि कैलास पर्वतमा सुस्ताएका महादेवकहाँ पुगे । महादेवले समस्त देवगणलाई देखेपछि सवै बृतान्त बुझि सवैका साथ लागि मुर रहेको क्षीर सागरतर्फ प्रस्थान गर्नुभयो । त्यहाँ शेष नागासनमा लीन भएका भगवान विष्णुलाई इन्द्रले स्तुतिगान गरेपछि देवताहरूको अनुरोधमा विष्णुले अत्याचारी मुर राक्षसलाई आक्रमण गर्नुभयो । युद्ध चल्दै जाँदा असंख्य असुरहरु मारेर थाकेका भगवान विष्णु बद्रिकाश्रम गई बाह्र योजन लामो सिंहावति गुफाभित्र पसेर सुत्नुभयो । त्यहि बखत दानव मुरले भगवान विष्णुमाथि आक्रमण गर्न गुफामा प्रवेश गर्यो । मुर गुफामा प्रवेश गर्ने वितिक्कै विष्णुको शरीरबाट दिव्य अस्त्रयुक्त अति रूपवति कन्या उत्पन्न भईन । ती दिव्य कन्याले हुंकारयुक्त नजरले दानव मुरलाई आक्रमण गरी भष्म गरिन् । विष्णु निन्द्राबाट ब्युँझिदा आफ्नो अगाडि दानव मुरको मृत शरीर सहित ती कन्यालाई देख्नुभयो । कन्याले उक्त दैत्यको वध आफूले गरेको कुरा सुनाएपछि यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले ति कन्याको नाम एकादशी राखिदिनु भयो । कन्याले आफ्नो मनोकांक्षा पनि पुरा भएको बताइन् । भगवान विष्णुको वरदानले परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन् । त्यहि भएर यसै दिन एकादशीको नामाकरण भएका कारण एकादशी ब्रत प्रारम्भको सवैभन्दा समूचित दिन मानिएको हो । एकादशीको ब्रत उपवास गर्नाले वैकुण्ठ बास हुने पौराणिक विश्वास रहेको छ । एकादशीको माहात्म्य वयान सुन्नाले मात्र पनि सहश्र गोदानफल प्राप्त हुने धार्मिक विश्वास छ ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: