ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व रेडियो दिवस्




"वि.सं. २०४९ सालमा सञ्चार नीतिमा स्वतन्त्र रेडियो स्थापनार्थ एैन नियमकालागि सम्बन्धित निकायमा दवाबमूलक कार्य निरन्तर हुन थाले र जसअनुरूप सामूदयले रेडियोको फ्रिक्वेन्सि प्राप्त तथा प्रशारण गर्न सक्ने प्रावधान सञ्चार नीतिमा राख्न सफलता प्राप्त भयो तर त्यसपछि मन्त्रालय एैनमा प्रावधान नै छैन भनेर पन्छन थाल्यो र त्यो पनि नियमितको छलफल र दवाबपछि २०५० सालमा एैनमा पार्न हामी सफल भयौं । सोहि एैनको आधारमा सरकारलार्इ सामूदायीक रेडियोको पहिलो प्रस्ताव हाम्रो समूहले अघि सार्यो र त्यहि साल शिक्षा मन्त्रालय अन्तर्गत UNSECO आयोगले समेत रेडियो सम्बन्धमा प्रतिवेदन पेश गर्यो । साथै IPED UNESCO ले अध्ययन गर्ने भनी नेपालमा एउटा टिम पठायो र रेडियो सगरमाथा परियोजना मन्त्रालयलार्इ हस्तान्तरण गर्यो तर उक्त विषयमा मन्त्रालय लगायतका सम्बन्धित निकाय ६ महिनासम्म पनि केहि नबोलि बसिदिए, लामै समय मौन बस्यो सिस्टम ।"


विश्व रेडियो दिवस् विशेष अडियो सामाग्री

आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले 'विश्व रेडियो दिवस्' को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलार्इ जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान छ रेडियोको ।

रेडियोले एउटा ईतिहास बोकेको छ, सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी अाजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भूत अविष्कार जसले एउटाले बोलेको अावाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलोहर्जसम्मको ध्वनी तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधी बाहिरका रेडियो तरङ्गहरुलाई हामी रेडियो मार्फत् सुन्दछौं ।

सन् २०११ मा UNESCO ले विश्व समूदायकालागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदानस्वरूप यससंग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरुको सम्मानमा आजको विशेष दिनलार्इ विश्वभर 'विश्व रेडियो दिवस्' को रूपमा मनाउन थालेको हो र यसकै निरन्तरता स्वरूप आज छैठौं विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससंग जुटेका अर्बौं श्रोताकालागि विशेष बनेको छ ।

प्रथम रेडियोको स्थापना
नेपालको १०४ वर्ष लामो जहानीया राणा शासनको जरो उखेली २००७ साल फाल्गुण ७ गते एतिहासिक निर्दलीय प्रजातन्त्र प्राप्तिको एक मिहना नबित्दै वि.सं. २००७ साल चैत्र २० गते देशको पहिलो रेडियोका प्रमुख तारीणी प्रसाद कोइरालाले, "यो प्रजातन्त्र रेडियो हो..." भनेसंगै जनताले सहज सूचना प्राप्तिको श्रोतको रूपमा "प्रजातन्त्र रेडियो" प्राप्त भयो । अनि प्रारम्भ भयो पहिलो विद्यूतीय सञ्चार माध्यम जुन ५०० वाट क्षमताको Short Wave मार्फत् ललितपुरको, खुमलटार स्टेशनबाट प्रशारण भएको थियो ।


खुमलटार स्टूडियोको उद्घाटन गर्नुहुँदै तत्कालिन राजा विरेन्द्र । संग्रहित तस्बिर पुनः खिचिएको हो । 

यस्तै जनतालार्इ सञ्चारमा सहज पहुँचको उद्देश्यले सरकारी सञ्चार विस्तारको क्रममा वि.सं. २०३९ सालमा ललितपुरको भैंसेपाटी र पोखरा गरी दुर्इ ठाउँबाट १०० किलोवाट क्षमताको पहिलो Medium Wave रेडियोको प्रारम्भ भयो जसलार्इ क्रमशः २०४९ सालमा वर्दिवास, धरान-धनकुटा, सुर्खेत, दिपायल गरी ५ वटै विकास क्षेत्रबाट सेवा विस्तार गरिएको थियो ।

त्यस्तै ८८ मेगाहर्ज देखि १०८ मेगाहर्ज निर्धारण गरी देशको पहिलो Frequency Modulation (FM) रेडियोको प्रारम्भ रेडियो नेपालले १००० वाट क्षमताको FM ट्रान्समिटरबाट २०५३ साल कार्तिक २३ गते ललितपुरको खुमलटारबाट सेवा प्रारम्भ गर्यो । नेपाली सङ्गीत र सङ्गीत प्रवर्धन तथा तात्कालिन सरकार, सरकारी सूचनामा केन्द्रित रेडियो नेपाल एउटा रफ्तारमा थियो, जापानको सहयोगमा सिंहदरबारले स्तरीय सुविधा र प्रविधियूक्त प्रशारण स्टूडियो सञ्चालनमा ल्याइसकेको थियो ।



दक्षिण एसियाको पहिलो स्वतन्त्र रेडियोको पहल
सोहि समय नेपाली समूदाय र स्वतन्त्र सञ्चारकालागि वकालत गर्ने अभियानमा UNESCO संगको निरन्तर सहकार्यको लागि 'नेपाल वातावरण पत्रकार समूह' (NEFEJ) अन्तर्गत् मुरारी सिवाकोटी, अन्तराष्ट्रिय मेडिया सहकार्यकालागि ओम खड्का तथा देशमा सरकार, मेडिया र कानूनी सहकार्यमा वरिष्ठ सञ्चारकर्मी तथा सामूदायीक रेडियो अभियन्ता रघू मैनालीसहितको लबिङ्ग कमिटि सहितको समूह सक्रिय भयो । जसलार्इ रघु पन्त, हेम ब. बिष्ट, कनकमणि दिक्षित तथा भारतदत्त कोइराला जस्ता सञ्चार दिग्गजहरूको जमातले रणनीतिक सहकार्यमा निरन्तर साथ दिइरहेको थियो । यसै क्रममा तयारी थालियो दक्षिण एसियाकै प्रथम सामूदायीक रेडियो स्थापना गर्ने ।

हाम्रो पात्रोले यस विषयमा त्यस रेडियो अभियानका सन्दर्भमा सामूदायीक रेडियो अभियन्ता तथा वरिष्ठ सञ्चारकर्मी रघू मैनालीसंग कुराकानी गर्यौं, प्रस्तुत छ वहाँसंग भएको अक्षरस कुराकानीः

"वि.सं. २०४९ सालमा सञ्चार नीतिमा स्वतन्त्र रेडियो स्थापनार्थ एैन नियमकालागि सम्बन्धित निकायमा दवाबमूलक कार्य निरन्तर हुन थाले र जसअनुरूप समूदायले रेडियोको फ्रिक्वेन्सि प्राप्त तथा प्रशारण गर्न सक्ने प्रावधान सञ्चार नीतिमा राख्न सफलता प्राप्त भयो तर त्यसपछि मन्त्रालय एैनमा प्रावधान नै छैन भनेर पन्छन थाल्यो र त्यो पनि नियमितको छलफल र दवाबपछि २०५० सालमा एैनमा पार्न हामी सफल भयौं । सोहि एैनको आधारमा सरकारलार्इ सामूदायीक रेडियोको पहिलो प्रस्ताव अघि बढ्यो र त्यहि वर्ष शिक्षा मन्त्रालय अन्तर्गत UNSECO आयोगले समेत रेडियो सम्बन्धमा प्रतिवेदन पेश गर्यो । IPED UNESCO ले अध्ययन गर्ने भनी नेपालमा एउटा टिम पठायो र रेडियो सगरमाथा परियोजना मन्त्रालयलार्इ हस्तान्तरण गर्यो तर उक्त विषयमा मन्त्रालय लगायतका सम्बन्धित निकाय ६ महिनासम्म पनि केहि नबोलि बसिदिए, लामै समय मौन बस्यो सिस्टम, अचम्मको बेइमानी थियो त्यो ।"

"६ महिनापछि फ्रान्सका पूर्व राजदूत तथा UNSECO का नेपाल प्रतिनिधि केशव राज झाले UNESCO को बैठकमा यो प्रोजेक्ट नेपाल लैजान अत्यन्त आवश्यक छ भन्ने कुरा प्रस्ताव गर्नुभयो । २०५२ सालमा आएको सञ्चार नियमावली जारी त भयो तर सञ्चालनको अनुमति हामीले अझै प्राप्त गर्नसकेनौ । यस बारे UNESCO संग कुरा भयो र बिजयानन्द जयबिराले सञ्चार मन्त्रालयमा गएर कुरा गरे तर ठिक विपरीत मन्त्रालयले रेडियो नेपालको क्षमता वृद्धिकालागि UNESCO लार्इ अनुरोध पो गर्यो, मन्त्रालयको उक्त अाशयलार्इ यूनिस्कोले सामूदायीक रेडियो स्थापनार्थ गरेको पुरानो प्रस्तावमा ठोस निर्णय नभएसम्म केहि गर्न नसक्ने जवाफ दियो, त्यहि नै शायद् रेडियो सगरमाथा जन्मिने टर्निङ प्वाइन्ट थियो तर लाइसेन्स बारे कुनै सङ्केत केहि प्राप्त हुन सकेन ।"

"त्यो महत्वपूर्ण दवाबपछिको केहि समयपछि UNDP को नाममा १ प्रतिशत कर बुझार्इ ब्रिटेनमा बनेको ३०० वाट क्षमताको Mallard ट्रान्समिटर नेपाल भित्रियो जसलार्इ १०० वाटमा समेत स्विच गरेर सञ्चालन गर्न सकिने खालको थियो । अब प्रारम्भ भयो मन्त्रालयमा लाइसेन्स प्राप्तिको अभियान र पेश भयो लाइसेन्सकालागि अनुरोध पत्र जसमा, "प्रशारण सामाग्री परिक्षण गर्नुपर्ने भएकोले अस्थार्इ फ्रिक्वेन्सिको अनुमति पाउँ" भन्ने आशय उल्लेख थियो । त्यसबेला पनि सकारात्मक, नकारात्मक कुनै प्रतिकृया मन्त्रालयले जनाएन बरू पुरानै रवैयामा मौन थियो । धरै समय सम्म पनि मन्त्रालयको कुनै जवाफ नआएपछि साथीहरूसंगको सल्लाहमा विना अनुमति उक्त ट्रान्समिटर परिक्षण गर्ने निर्णय भयो र २०५२ चैत्र १८ देखि ४ दिन सम्म काठ्माण्डौको काल्धाराको एउटा कोठाबाट मसंग भएको Voice of America को केहि श्रब्य सामाग्रीहरू बजाएर परिक्षण प्रशारण सुरू गर्याैं, अनि त हल्लिखल्लि मच्चिगो नी ! तात्कालिन रेडियो नेपालका डाइरेक्टर शैलेन्द्र राज शर्मालार्इ मैले दिउँसोको ३:३० मा टेलिफोन मार्फत् परिक्षण ट्रान्समिसनबारे जानकारी गराएँ । अब यो कुरा कसरी सह्य हुन्थ्यो सिस्टमलार्इ १५ मिनेटको अन्तरालमा अर्थात् सोहिदिन ३:४५ मा सञ्चार सचिवको गाडीमा सरकारी पिउन NEFEJ को कार्यालय पुगेर पत्र बुझाउने काम गरे । तर त्यो पत्र आउनु अघि नै बारको सल्लाहमा यस्तो केहि भइहाले रिट हाल्ने हाम्रो तयारी थियो साथै मेडियालार्इ समेत अग्रिम जानकारी गराएका थियौं र सोही अनुरूप NEFEJ ले प्राप्त गरेको पत्र मेडियामा प्रसार गर्यौं । त्यसबेलाको Rising Nepal र गोरखापत्रले हाम्रो पक्षमा समाचार बनायो भने BBC ले यसबारे श्रब्य सामाग्री नै प्रशारण गर्यो । थप केहि भइहाले के गर्ने भनेर कुटनीतिक पाटो तर्फको पहल पनि गरिसकिएको थियो, अर्थात् हामीमाथी प्रयोग हुनसक्ने सबैखाले पूर्वाग्रहको सामना गर्न तयार थियाैं ।"

"एक त एैन नियममा उल्लेख भइसकेको विषय झन पटक पटक पहल हुँदा पनि कर्मचारीतन्त्र मौन बसिदिएर गैरजिम्मेवारी प्रस्तुत गरिसकेका थिए । जनताको एउटा सकारात्मक प्रस्ताव उनीहरूले रोक्न कसरी पाउँछन्, झन नियम विपरीत कारवाहीको धम्कि दिने तर प्रोसेसको टुंगो नलगार्इ चुप बस्ने, मन्त्रालयसंग २०५३ सम्म घम्सा घम्सी चलिरह्यो । २०५४ जेष्ठ १३ मा तत्कालिन सञ्चारमन्त्रि झलनाथ खनाल सहित सञ्चार सचिव भोजराज पोखरेलबिच यसबारे कुरो चल्यो तर हुन केहि सकेन । अमेरीकि राजदूतको समन्वय सहितको सहयोगलार्इ प्रयोग गरी २०५४ को बैशाखमा सञ्चारमन्त्रिलार्इ पत्र लेखियो जसमा, 'जेष्ठ ९ बुद्ध जयन्तिमा लाइसेन्स नपाए प्रशारणमा जाने' भन्ने दवाबसहितको अाशय थियो । यस सन्दर्भमा रघू पन्तको सैद्धान्तिक दवाब सत्ता र कर्मचारीतन्त्रमा बढ्न थाल्यो । चुनावको तयारी हुँदै थियो, सरकार रिस्क लिने मूडमा थिएन । कस्तो अप्ठेरो भने मन्त्रिसम्म मन्त्रालयले फाइल नपुर्याएर लुकाइराख्यो अनि लम्ब्याइरह्यो तर कम्तिमा अब २ घण्टा मात्र प्रशारण दिने भन्ने जानकारी प्राप्त भयो तर सो कुरोसंग सम्बन्धित फाइल सञ्चारमन्त्रिसम्म फेरी पनि पुगेन । त्यसपछि हामी आफै मन्त्रिको क्वाटरमा पुगेर २ घण्टे प्रशारण अनुमतिकालागि मन्त्रिलार्इ सहि गर्न लगायाैं । जेष्ठ ५ गते म इजाजत नलिइ जान्न भनेर सञ्चार मन्त्रालय ढुकि बसें । साँझ अफिस सक्किएको आधा घण्टा पछि एकछिनमा श्रव्य दृष्यको श्रेष्ठ थरका उपसचिवले तिमिहरूले युद्ध जित्यौ भन्दै दक्षिण एसियाको पहिलो रेडियोको लाइसेन्स मेरो हातमा थमाए । त्यसपछि त २०५४ जेष्ठ ९ गते आम निर्वाचन अगाडि नै इजाजत पछिको परिक्षण प्रशारण प्रारम्भ भयो दक्षिण एसियाकै प्रथम सामूदायीक रेडियो 'रेडियो सगरमाथा १०२.४ मेगाहर्ज' ।"

रेडियो श्रवणको सम्झना
नेपाली रेडियोसंग जोडिएका केही पुराना यादहरु ताजा गरौं न ? बाक्लो आवाजमा 'यो रेडियो नेपाल हो, ...बाट समाचार सुन्नुहोस्' भनेर रेडियो नेपालबाट दिने समाचार, सङ्गीत तथा कार्यक्रमहरु कान थापेर सुन्ने ति दिनहरुलाई अनुभूत गर्ने नेपालमा आज सामूदायीक र व्यवसायीक गरी झण्डै ६५० वटा एफएम रेडियोहरू सञ्चालनमा छनभने ९१८ हाराहारीमा मन्त्रालयले इजाजत दिइसकेको छ । विश्व एफएम रेडियोको विस्तार र प्रयोगमा हामीले प्रविधिमा काम गर्न नसकेपनि स्वतन्त्र रेडियो स्थापना र रेडियो सामाग्री उत्पादनमा हामी धनी छाैं 

दलीनमा झुण्ड्याइएको रेडियो अनि त्यसमा लगाएको एरियल, स्याँ स्याँ गर्दै बज्ने तरङ्गहरूबाट आजको दिनमा प्रष्ट अनि सफा रुपमा सुन्न सकिने एफएमका माध्यमसम्मबाट नेपालीहरूले सूचना, सङ्गीत अनी मनोरञ्जन लिइरहेका छन् । अझ अब त ईन्टरनेट मार्फत् सुन्नसकिने अनलाईन रेडियोहरुले गर्दा संसारका् कुनै पनि कुनामा आफूलाई मनलागेको रेडियो सुन्न सकिने भएको छ । नेपालीहरुको साझा मोबाईल एप हाम्रो पात्रोले नेपालभरिका स्थानिय र राष्ट्रिय गरि ३०० भन्दा वढी एफएम रेडियो र ५ दर्जनभन्दा बढी अनलाईन रेडियोहरुको जडान तथा प्रशारण सहकार्य गरिरहेको छ ।

एकफेर च्यानल घुमाउने हो भने शहर बजारमा त थेगीनसक्ने रेडियो स्टेशनको फ्रिक्वेन्सि हामीले पाउँछौ ।

रेडियो नेपालका माध्यमवाट नेपालीलाई रेडियोको अद्भूत स्वाद चखाउने अग्रजहरुलाई नमन गर्न चाह्यौं र केही रेडियो कार्यक्रमहरुको सररर सझंना गर्न चाह्यौ । शनिवारको दिन रेडियो नेपालको केन्द्रिय प्रशारणबाट आउने स्वर्गीय पाण्डव सुनुवारको कार्यक्रम फोन ईन अनि नेपाल भरिबाट आउने फोन कलहरु, जयन्ती माला राज भण्डारीको तपाई यो गीत गाउनुहोस्, शनिबार आउने रेडियो नाटक लगायत अशेष मल्लको निर्देशन रहने बाल कार्यक्रम, रामविलास धनियाको ब्यङ्ग्य अनि थुप्रै अन्य रेडियो कार्यक्रमहरु नेपालीजनले आज विश्व रेडियो दिवसको दिन यी कुराहरु सम्झिन र रेडियोमा आएको परिवर्तनलाई आत्मसाथ गर्नै पर्दछ ।

साबुन पानीले हात धुने देखि झाडापखाला अनि जीवन जलका कुरासम्म, कन्डमको प्रयोग देखि चेलीवेटी बेचबिखनका कुराहरुसम्म एउटा पुस्ताले रेडियो मार्फत सुनेर हुर्केको छ, नेपालमा । टिभी अहिलेको जस्तो सुलभ थिएन तर रेडियोले बहुतै साथ दियो कहिले काँधमा झुन्डिएर त कहिले दैलोमा अडेर, खेतवारीको आली देखि मेलापातको डाले घाँसमाथीसम्म रेडियो घन्किने गरेको छ ।

तर यो लेख्दै गर्दा अब रेडियोमा प्रविधिगत विस्तारको पनि समय नभएको होइन, रेडियोको संख्या बढ्दैमा रेडियोको विकास भइरहेकोछ भन्न शायद नमिल्ला, यूगक्रममा आएका नयाँ नविन प्रविधिलार्इ अत्मसाथ गर्दै अघि बढेमात्र रेडियो बाँच्नेछ । यहि जनवरी सन् २०१७ देखि नर्वेले एफएम बन्द गरी Digital Audio Broadcasting (DAB) प्रविधि अपनाएर उत्कृष्ट रेडियो श्रवणको अनुभव लिइरहेको छ । हाम्रो देशले विश्व रेडियो जगतमा संख्यात्मक रूपमा एफएम रेडियोमा प्रगति गरेता पनि DAB अथवा DAB+ जस्ता महङ्गा प्रविधि अपनाउन सकेको छैन अर्थात अझैपनि हामी एनालग प्रशारण पद्धतिमै झुलिरहेका छौं ।

रेडियो प्रविधिका एक अथक अभियन्ता
गत २०७२ सालको दशैंले पवन प्रकाश उप्रेतिको रूपमा रेडियो प्रविधिका नामूद हस्ति पनि गुमाएको छ । वहाँले नेपाली रेडियोमा सुरूवाति समयदेखि रेडियोको एनालग कार्यप्रणालीलार्इ डिजिटल माध्यममा लान ठूलो योगदान पुर्याउनुभयो, Marantz बाट MD, Cassette बाट CD र सफ्टवेयर सम्मको अध्ययन र सैकडाैं रेडियो प्राविधिकहरूमा दक्षता हस्तान्तरण महत्वपूर्ण रह्यो । देशमा सन् २००८ मा भएको रेडियोको पहिलो BAS Survey होस् या सोहि वर्ष स्थानीय एफएम रेडियोको प्रशारण पहुँचबारे भएको प्रथम स्याटेलाइट नक्शांकनको काम, उज्यालो ९० नेटवर्कलार्इ स्याटेलाइट प्रविधिमा जोड्ने पहल या World Space Satellite जस्तो मल्टिमेडिया परियोजना नेपाली रेडियोको विकासमा वहाँले पुर्याउनुभएको योगदान महत्वपूर्ण छ, हार्दिक श्रद्धाञ्जलि ।

देशमा रेडियोकर्ममा उदाहरण बन्न सफल उज्यालो ९० नेटवर्क लगायत नेपाल एफएम नेटवर्क, रेडियो नेपालवाणी नेटवर्क, जनता नेटवर्क आदि विभिन्न नेटवर्कहरुले स्थानीय रेडियोलाई राष्ट्रियस्तरका साम्रगी अनि खुराक प्रदान गर्दै आएका छन् । अधिकांश विहानको धार्मिक कार्यक्रमहरुबाट शुरुहुने रेडियोका खुराकहरु क्रमशः विभिन्न समाचार, मनोरञ्जन अनि सामाजिक विषयवस्तु पस्किंदै नेपाली समाजको अभिन्न पाटोका रुपमा माटो सुहाउँदो सञ्चारको साधनका रुपमा परिचीत छ । नेपालीकालागि रेडियो एउटा सञ्चारको साधनमात्र नभई असल मित्र पनि हो, यो तरङ्गको मित्रता कायम रहिरहोस् । सम्पूर्ण रेडियोकर्मी तथा रेडियोप्रेमी श्रोताहरूमा रेडियो दिवसको शुभकामना ।



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.81
  • 103.41
  • European euro
  • 115
  • 115.67
  • UK pound sterling
  • 131.57
  • 132.34
  • Swiss franc
  • 105.51
  • 106.12
  • Australian dollar
  • 76.56
  • 77.01
  • Canadian dollar
  • 76.43
  • 76.87
  • Singapore dollar
  • 74.44
  • 74.87
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15
  • 15.08
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.02
  • 3.04
  • UAE Dirham
  • 27.99
  • 28.16
  • Malaysian ringgit
  • 24.09
  • 24.23
  • Korean Won (100)
  • 9.19
  • 9.24
  • Swedish Krone
  • 11.82
  • 11.89
  • Danish Krone
  • 15.45
  • 15.54