विश्व शरणार्थी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व शरणार्थी दिवस




विश्व शरणार्थी दिवस विशेष अडियो सामाग्री

ससाना समुदाय, कबिला या समुहमा बस्ने मान्छे अब भौगोलिक रेखाभित्रका देश अनि सिमाभित्र बस्न थालेका छन् । उनीहरुको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरीक, म ढिस्काना देशको नागरीक आदि ।

तर केही यस्ता मान्छेहरु पनि हुन्छन् जसको देश त हुन्छ तर उनीहरु त्यस देशका नागरीक भएर बस्न पाँउदैनन्, यावत कारणले । यस्ता मान्छेहरु जब अर्कै कुनै देश या सिमामा बास माग्न या बस्न पुग्दछन् तब तिनीहरुलाई शरणार्थी भनिन्छ ।

शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ । संयुक्त राष्ट्रसंघले अरु मानिस झैं शरणार्थी मानिसहरु रहेको र उनीहरुले आफ्नो बसोबासमा सामान्य रुपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवियता, सहअस्तित्व, विविधता र शरणार्थीहरु प्रति खुल्‍ला हृदयहरुको आवश्यकता छ ।

थोरै खानेकुराका पोका, महिला, लालावाला अनि केही गुटिगुन्टा अनि धेरै त्रास र भय बोकेर यसवर्ष पनि थुप्रै देशहरुवाट शरणार्थीका लावालस्कर निस्केका छन् । मध्यपूर्वी एसियाका देशहरु लगायत यसपाला सर्वाधिक चर्चामा रोनिगिया मुसलमानहरु अनि तिनको बंगलादेशको शरण रहेको छ । शरणार्थी चाहे जुनैसुकै देशको हुन तर तिनीहरुले जति गरिबी, भोकमारी, दुख्ख, जोखिम, उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकहरु शायदै अरुले खसाउलान ।

नेपालले पनि पालैपालो गरेर गएका केही दशकमा कहिले तिव्वती त कहिले भुटानी शरणार्थीलाई आफ्नो स्न्ेश र बास साटासाट गरेको छ, देश सानो भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरु भने धेरै छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो । उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन । शायद आजको यस दिवसमा सरोकारवालाहरुको यस तर्फ पनि ध्यान जानेछ भन्ने कामना गरौं ।

आज विश्वभरिका देशका सरकारलाई आधारभूत यि बुँदाहरु मा स्वीकारोक्ति गराउन आव्हान गरिन्छ ।  हरेक शरणार्थी बालबालिकाले पढ्न पाउन शरणार्थी परिवारले यथोचीत वास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउन् । यस विश्वमा हरेक ११३ मान्छेमध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वन्धुत्व र वुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि यूद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आँफै समाधान हुनेछ । जुन २० को शरणार्थी दिवसको सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.