हरियाको सलमान आफ्नी करिस्मामाथि उक्लिएको देखेर बुधनले सपना हो कि भन्ठान्यो । अनि त अझ बढी नियालेर हेर्याे । मनमनै भगवानलाई पुकार्याे । हे भगवान बिपना नै होस् । सत्य नै होस ।
यो पनि हेर्नुहोस् : कथाकार- छाउभोट
आफूलाई चिमट्दा चस्स भएपछि आँखा पुनः त्यही दृष्यमा गाढ्यो । सलमान करिस्माको जिउमा घरि आफ्नो जिउ दराल्थ्यो, घरि मुख । तीन चार पटक नै सलमान करिस्मामाथि उक्लेको देखेपछि ऊ खुसीले झण्डै उफ्रेर पागल भएको । तर त्यो खुसी प्रकट गर्ने माध्यम नै पाएन उसले । न त खुसी बाँड्ने व्यक्ति नै । ऊ आफैँमा खुसी दबाएर ढुक्कसँग भन्यो आफैँसँग, “जे होस्, अब भने मेरा दुःखका दिन गइहाल्छ रे । अब करिस्माले एकटा बछडा दिइहाली भने त म उसको बड्का बनाएर बेचि लिइ हाल्छु । अनि गोपीसरले ऐलानी जग्गा मिलाईदिन्छु भनिलिएको छ । त्यहीँ फूसके घर बनाइलिइहाल्छु । अनि चन्दुलाई शादी करके ल्याइहाल्छु ।”
सौराहा चोक टाँडीबाट एकहुल पर्यटक लगेर सौराहा बजारमा ओह्रालेपछि टाँगाबाट करिस्मालाई खोलेर चर्न छोडिदिएको थियो उसले राप्ती नदीको किनारमा । अलिक पर हरियाको ‘सलमान’ पनि चरिरहेको थियो । उसले उद्धेश्यले चाहिँ छोडेको थिएन करिस्मालाई । न त त्यस्तो होला भन्ने आशा वा शङ्का नै तर अकस्मात र अप्रत्याशित काम गरे सलमान र करिस्माले ।
उसले वरिपरि नियालेर हेर्यो, कतै हरिया चाचाले त देखिलिएन ? यदि उसले देखेको भए फेरि आफ्नो घोडाको बालको रकम दिइहाल् भन्ने पो हो कि...। घोडाको एकचोटि बाल लगाइलिएको पच्चीस सय लिन्छ अरुलाई । आ...के मैले उसकहाँ लिएर गइलिएको हैन नि करिस्माको । चरनमा उसको सलमान नै दौडेर आइलिएको त हो नि करिस्माके सँग । तर के थाहा ? चाचाले यसैमा निहुँ खोजेर दुस्मनी गरिलिने पो हो कि ? आ गरे नि गरोस् । गरिलिएछ नै भने पनि करिस्माले एउटा स्वस्थ बछेडा दिइहाली भने त्यसको पच्चीस सय हैन तीन हजार नै दिदिन्छु लौ जा । आफैलाई प...र पुर्याएर सोचेको थियो बुधनले । तर अहँ वरपर चियापसल तिर कतैपनि देख्दैन हरियालाई उसले । सायद चिया खान वा त सवारी खोज्न बजारतिर गइलिएको हुन सक्छ हरिया चाचा ।” यस्तै सोच्यो बुधनले ।
क्यामरा तेर्साएर मनोरम दृष्य कैद गरिरहेका अनि चियाको चुस्कीसँगै किनारामा आराम कुर्सीमा आराम गरिरहेका खैरे पर्यटकहरू प्रायः सबैको क्यामेरा सोझिएका थिए करिस्मा र सलमानको प्रणय क्रिडातिर । उनीहरूलाई यो अकस्मात र क्षणिकको सुन्दर र दुर्लभ दृष्य थियो । क्यामेरामा कैद गर्न पाएका कुइरे पर्यटकहरू ल्यापटपमा डाउनलोड गरेर हेर्दैे थिए । किनभने प्राणी वा जनावरको प्रजननका यस्ता दृष्य जहाँतहाँ कहाँ पाइन्छ र ? अकस्मात र अप्रत्यासित भेटिएको यस्तो दृष्यलाई कैद गर्न पाएका कुइरेहरू दंग थिए । भिन्दै मनोरन्जन पाएका थिए सबैले । मोबायल र ल्यापटपले देश विदेशमा पुर्याइरहेका थिए करिस्मा र सलमानको प्रणय लिला ।
किनाराको एउटा ढिस्कोमा झोक्राएर बसेको बुधनलाई पनि खुसी गराएकी थिई करिस्माले । किनभने उसले सोचेको सपना आज पूरा हुने सङ्केत दिएकी थिई करिस्माले ।करिस्मालाई किनेदेखि नै उसले एउटा सपना देखेको थियो । भरपर्दाे सपना । करिस्माले बछेडा पाएपछि ठूलो बनाएर बेच्ने । बेचेपछि आएको पैसाले घर बनाउने । घर भएपछि घरजम गर्ने ।
“करिस्मा गाभिन भइलियो भने त ...? आफ्नो सपना पूरा हुन दुइ चार वर्ष त हो नि !” दंग पर्याे बुधन सपना पूरा हुाने सपना देखेर । वरपरको वातावरण बदलिइसकेको थियो । सलमान करिस्मालाई छोडेर नदीतिर झरिसकेको थियो पानी खान । पर्यटकहरू तितर–बितर भइसकेका थिए । करिस्मा पनि चर्न थालेकी थिई । बुधन करिस्माको नजिक गयो र चरिरहेको करिस्मालाई बिस्तारै सुम्सुम्यायो । कानका जरी र गाला मुसार्यो र अंगालो मार्याे । करिस्माले पनि आफ्नो नाक दराली उसको टाउकोमा । भरोसा दिएजस्तै लाग्यो बुधनलाई करिस्माले ।
बेजुवान नै आफ्नो खुसी साट्यो करिस्मासँग बुधनले । दश बजेको पालो थियो बुधनको टाँगाको । तर किन किन उसलाई आज करिस्मालाई सवारी गराउन मन लागेन । घरमै लगेर आराम गर्न दिने सोच्यो । उसले डोर्याउँदै लग्यो टाँगा भएतिर ।
सौराहा चौकनेर आइपुग्दा अकस्मात आफ्नो सामुन्ने हातमा दुवाली लिएको हरियालाई उभिरहेको देख्यो । झण्डै सातो पुत्लो उडेको उसको । उसलाई लाग्यो, हरियालाई सब पता चलिसकेको छ । सलमान र करिस्माको कुरा । त्यसैले त उसलाई गाली गर्न वा पैसा माग्न उभिएको छ यहाँ । “हे रे बुधन, मलाई नसोधि मेरै सलमानसँग मिसाइलिस आफ्नो करिस्माको ? यही भनेर उसको गर्धनमा भएको गाम्छा समात्ने छ अनि पच्चीस सय निकालीलिन्छस कि यही दुवालीले मारिलिइहालुँ रे तँलाई ?” यसै भन्ला भन्ने डरले डराएर नीलो...भयो बुधन् ।
“हे रे बुधन .., मेरो सलमानको....” यति मात्र बोलेको थियो हरिया, बोली टुंग्याउनै दिएन बुधनले । अत्तालिँदै दाहिने हातले आफ्नो रुद्रघण्टी समाउँदै भन्यो, “राम कशम हरिया चाचा, मैले करिस्मालाई... सलमानको सँग...।” डराएर पूरा वाक्य बोल्नै सकेन बुधनले । हडबडाएर काँपेको स्वरमा बोलेको देखेर आशा विपरित उसको काँध थपथपाउँदै हरियाले भन्यो, “रे के भयो रे बुधन तँलाई ? किन यसरी डराइलिएको ? मलाई भूत देखिलिइस कि के हो रे ? मैले त मेरो सलमानको देखिहालिस कि भनेर सोधिलिन खोजेको थिएँ, त करिस्मासँगै ल्याइदिहालेको भए हुने भनिलिन खोजेको थिएँ । मैले अच्छा खासा सवारी भेटेको छु । खैर छोडिहाल् । त्यही खोलोके छेउमे चर्न छोडिलिए थेँ । अब म गएर ल्यैहाल्छु रे । तँ जाँदै गर्...।” बोल्दै हिँडिसकेको थियो हरिया ।
यो पनि हेर्नुहोस् : उपन्यास “अनुष्का”
हरिया र बुधन बिपरित दिशातिर लागे । बल्ल बुधनको सास आयो । “धेत्तेरी... हरिया चाचाको त मालुम नै रहेनछ, बित्थामा म पनि यतिधेरै डराइलिएँ । आफनै टाउकोमा प्याट्ट पार्यो बुधनले अनि करिस्मातिर हेर्दै भन्यो, पता नचलोस चाचालााई एैले । बस् तँ एउटा राम्रो बछेडा दिइदिहाल, त्यसपछि त पच्चीस सय हैन तीन हजार नै दिदिन्छु रे ।” ढुक्क हुन खोज्यो बुधन ।
टाँगा लिएर घरसम्म पुग्दा उसले बाटाभरि केही र कसैलाई देखेन । रातो रातो, चिल्लो चिल्लो राम्रो, सानो करिस्मा जस्तै बछेडा उसको आँखाभरि दौडिरह्यो । बेलुका उसले अलिक बढी गुँड मिसाएर धान दियो करिष्मालाई । मायाले सुम्सुम्यायो । पानको पात तताएर उसको सुत सेकिदियो । कोइलामा खोर्सानी डडाएर करिस्मालाई सुँघायो र वरिपरि घुमायो अनि दोबाटोमा लगेर राखिदियो ।
गोपीसरकोमा कुनै गाई भैँसीलार्इै बहर, राँगासँग मिसाएर ल्याएको दिन बेलुुका यसै गरेको देखेको थियो । त्यस्तै दोहोर्यायो उसले पनि । यसो गर्नुको अर्थ न त उसलाई थाहा थियो न त यसो गर्दा के हुन्छ भनेर कहिल्यै सोध्यो गोपीसरलाई नै ।
बुधन एकातिर धेरै खुसी थियो भने अर्काेतिर त्यत्तिकै डराएको पनि । किनकि हरियालाई थाहा छैन । थाहा पाएको दिन बुधनलाई बाँकी राख्दैन । हरिया रिसाहा छ । उसको रिसको घानमा एकदिन आफू पक्कै पनि पर्छु, यहि डरले कुट कुट खाइरहन्छ भित्र भित्र बुधनलाई । हुनपनि पच्चीस सयको कुरा छ । कसरी छोड्छ त हरियाले सित्तैमा ? ढाँटिलिइस भनेर पछि पैसा दोब्बर छेराइलियो चाचाले भने ..? बिर्सन खोजे पनि बेला बेला झस्कन्थ्यो यो कुराले बुधन ।
हुनत हरियाले सलमानको प्रणय क्रिया नदेखेता पनि पछि करिस्मा बियाउने भएपछि, बियाएपछि त पक्कै पनि सत्य त लुक्दैन । थाहा पाइहाल्छ । किनभने सौराहा भरि नै उसको एउटा त हो नि बहर घोडा । त्यो पनि बिउकोलागि भनेर नै पालेको । त्यसैले हरिया सधैँ टाँगा चलाउँदैन । यदा कदा भने सलमानलाई लिएर बिदेशी पर्यटक ओसार्छ ।
केही महिना त ढुक्कै भयो बुधन । चार पाँच महिना पछि त टाँगावालहरूमा गाइँ गुइँ हल्ला चल्यो । बुधनको घोडी बियाउने छ । हरियाले पनि सुन्यो यो कुरा । सम्झन खोज्यो उसले, अहँ करिस्मालाई लिएर बाल लगाउन त बुधन कहिल्यै पनि उसकोमा आएजस्तो लागेन । उसले स्वास्नीलाई पनि सोध्यो । “रे...झोँकुके माई, बुधन कहिले आकोथ्यो रे म नभइलिएको बेला ? उसको करिस्मालाई सलमानके सँग् मिसाउन ?”
“ना रे ...। नहीँ आको छ ..।” स्वास्नीले भनी ।
“त पक्कै पनि गडबड छ रे ...। रे झौँकुके माइ, तँ भौजाई, चाची, मुन्नी के अम्मा सबैको लेकर गोपीसरकोमा आइहाल । कचहरी गरिलिनु पर्छ । म बिरादरीमा कुरा गरेर ल्याइहाल्छु” हरियाले भन्यो र निस्कयो । उसकी स्वास्नी झौकुलाई च्यापेर छिमेकतिर लागी ।
टाँडीबाट सवारी लिएर मेघौली छिर्ने बित्तिकै सरदुले भेट्यो बाटोमा र भन्यो, “रे बुधन ? के गरिलिस रे तैँले ? हरियाले त गोपीसरकोमा कचहरी बोलाइलिएको छ रे तेरो लागि...। सबै बिरादरी बसिराखेको छ । तँलाई कुरिरहेको छ सबै । छिटै गै हाल । बचाइहाल रे आफूलाई । हरियाको रिस त मालुम छ नि तेरो....।”
सल्याक सुलक भयो बुधन । अखिर जे कुराको डर थियो त्यही भएर छोड्यो । यो त एक दिन हुने नै थियो । फेरि आफैलाई दह्रो बनायो । “मैले सलमानके सँग करिस्माको पठाइलिएको हैन त सलमान खुदै दौडेर आइलिएको हो करिस्माकेसँग् । मैले त चाचाको नभनिलिएको मात्र त हो । अनि बाल दिदिन्छु भन्ने ठानीलिएकै छु ।” आफैले आफ्नो दोष केलायो र आफैलाई सान्त्वना पनि दियो बुधनले ।
गोपीसरको आँगनभरि धेरै मान्छे देख्यो परैबाट । घर पुगेर टाँगबाट करिस्मालाई खोलेर तबेलामा बाँध्यो, आज धेरै दिन पछि उसले टाँगा चलाएको थियो । नत्र आजकल करिस्मालाई गाह्रो हुन्छ भनेर टाँगा चलाउँदैनथ्यो ।
बुधनलाई सत्य थाहा थियो । किन किचहरी बसेको भन्ने । ऊ कपाल कन्याउँदै निन्याउरो मुख पारेर आँगनमा आयो । गोपीसर उठेर बुधनलाई थपथपाउँदै भने, “के रे बुधन् हरिया के भन्छ ? तैँले तेरो करिस्मालाई उसको सलमानसँग उसलाई जानकारी नै नगरी बाल लगाइस अरे, के साँचो हो यो कुरा ?”
करिस्मा सलमानके सँग नै बाल गइलिएको छ सही हो, तर मैले हरिया चाचाके नभनी मिसाइलिएको भने होइन । सलमान त मेरो करिस्मा चरिलिएको ठाउँमा आफै दौडेर आएहाल्यो र करिस्मासँग मिसिहाल्यो । त मेरो कुनो गल्ती नही छैन गोपीसर यसमा ।
“हे हरिया ..? किन झुट बोलिस् तैँले ? तेरो सलमान आफैँ गाको अरे त करिस्मासँग चरनमा ?”
“आफै गइलिए त पनि बाल त मेरो सलमानकेसँग गएपछि बालको पैसा त तिरिलिनु पर्छ” बुधनले हरियाले भन्यो ।
“अब जे भए पनि आफैँ लागेको भए पनि बालको पैसा दे भन्छ त हरिया । फेरि तेरो करिस्मा पनि त गाभिन भाकै रैछ त .?” गोपीसरले भने बुधनलाई ।
पुलुक्क हेर्याे बुधनले हरियालाई ।
“हे रे बेइमान् । पैसा तिरिलिनु पर्छ भनेर तैँले भनिनस् रे मलाई ? तो अब खुरुक्क तिरिहाल...।” बुधनपटि हेरेर जंगियो हरिया ।
“मैले ठानिलिएको छु चाचा, तिमीलाई पैसा दिदिन्छु । तर करिस्माले बछेडा दियोस, बादमे दिइहाल्छु रे ।” डराएरै भन्यो बुधनले, हरियापटि हेरेर ।
“ना रे ...। न हुन्छ रे । पछि त । दिइहाल त अहिले दिइहाल । पछि के कुरा रे ..? सासके धनको कुनो भरोसा हुन्छ रे ...? दु चार दिन बाद हि तेरो घोडी मरिलियो भने ? बच्चा तुहाइलियो भने..? कसरी तिरिहाल्छस् रे ...?” हरियाकी स्वास्नीले बिरोध गरी ।
त्यसैमा हो मा हो मिलायो हरियाले पनि । “झौकुके माइको कुरा ठीक त छ नि ! यसैले बालको पैसा दिहाल त ऐले दिहाल । यसले त पाँच पाँच महिना मेरेको पता दिएन । ढाँटिलियो । मेरो धेरै रिस चढेको त्यैमा छ ।”
चसक्क भयो बुधनको छाती चाचीको कुरा सुनेर । बर्रर आँसु नै खसाल्यो करिस्मालाई सम्झेर । आशापूर्ण नजर फ्याँक्यो गोपीसर तिर । गोपीसरले बुधनको आँखाको भाव पढेर पुन काँध थपथपाउँदै बिस्तारै भने,
“के गर्छस त बुधन, तँ अब ? हरिया त छोड्दिन भन्छ ।
“अब चरनमा आफ्नो मनखुश सलमान करिस्मामे लाग्यो त मेरो कुन दोष ? मैले तिरिलिन्छु भनिलिएकै छु । चाचा दिहाल भनिलिन्छ । यसो मिलाइदे भनिलिनुस म पन्ध्र दिनमे तिरिलिन्छु ”। रुँला रुँला जस्तै गरेर बुधनले भन्यो ।
“हेर् हरिया, अब उसले जानाजान पठाएको हैन रहेछ । अब पशुलाई रोकेर रोक्न पनि त सकिन्न । तँ भएको भए के सलमानलाई नगर भन्थिस् ? आफै लागेको भए ता पनि बाल तिर्छु त भनेकै छ त बुधनले पनि । हेर । उसले तेरो घरमा ल्याएर बाल लगाको हैन त्यसैले अब अलिकति पैसा घटाइदे । दुइहजार मात्र लिइदे ऊसँग । बिचरा ऊ पनि त तेरो छोरा जस्तै त हो नि ! पन्ध्र दिनको भाका मागेको छ उसले ।” गोपीसरले हरियातिर फर्केर भने ।
यो पनि हेर्नुहोस् : उ एउटा सभ्य बलात्कारी !
गोपीसरको कुरा का्ट्ने हिम्मत थिएन मेघौली भरि कसैको पनि । हरिया पनि चुप भयो किनकी सबैलाई थाहा छ गोपीसरको फैसला निष्पक्ष र न्याय संगत हुन्छ । त्यसैले दुवै चुप भए । “चाचा मलाई माफ गरिदिहाल । मैले बालको पैसा तिर्न नचाहेको हैन । पैसा नभएर नभनिलिएको तिमीलाई ।” बुधनले हरियालाइ हात जोर्याे ।
सरकारी र नीजी बाहेक भाडाका गाडी सौराहा प्रवेशमा निशेध थियो । भाडामा गाडि छिर्न दिए वर्षैँ देखि टाँगा चलाएर जिविका गर्नेको रोजिरोटि बन्द हुन्थ्यो । त्यसैले पनि टाँगा चालक सँघले कुनै भाडाका गाडि छिर्न दिँदैनथे टाँडी बजाारबाटै । टाँढी–मेघौली–सौराहामा टाँगा गाडिको मात्र आनन्द लिन पाइन्थ्यो । पर्यटक(आन्तरिक तथा बिदेशी)बढीआउने भएकोले राम्रो आम्दानीको आशले टाँडी चितवनको यातायात व्यवसायी वा केही व्यक्तिहरूपटक पटक जबर्जस्ती गर्न खोज्छन् भाडाका गाडी कुदाउन । कसैले त निजी वा सरकारी नम्बर प्लेट टाँसेर पनि कुदाइहाल्छन् । यसका बिरुद्ध टाँगावालहरू पनि बेला बेलामा आन्दोलनमा उत्रिहाल्छन् । यस्ता कैयाैँ आन्दोलनमा बुधनले पनि नेतृत्व गरेको छ । आफ्नो करिस्मासँगै ।
नेताहरूले सिकाएका नेपाल बन्दको प्रभाव टाँगावाल हरूममा पनि पर्छ बेलाबेला । उनीहरूले पनि बिरोध गर्ने माध्यम त्यही टाँगा बन्द त हो । यही टाँगा बन्दको नराम्रो र गहिरो घटना जोडिएको छ बुधनको जिन्दगीसँग पनि ।
बुधन जन्मदाँ सौराहा मेघौली टाँडी सडक बन्द थियो । सडक बन्द भएपछि टाँगा पनि बन्द । सुत्केरी व्यथा लागे पनि तत्काल अस्पताल लैजाने साधन नपाएकोले बच्चा जन्मेपछि बढी रक्तश्राव भएर बुधनकी आमाको मृत्यु भएको थियो । गोपी सरले मोटरसाइकलमा राखेर डाक्टर ल्याइपुर्याए पनि ढिलो भैसकेको थियो आइपुग्दा । सात महिना सकेर आठौँ महिना नलाग्दै जन्मेको बुधनले आफ्नी आमालाई देख्दै देखेन । उसको बाबु को हो ? ऊ मात्र हैन गाउँघर, गोपीसर कसैले पनि चिनेकै छैन आजसम्म पनि । केवल उसकी आमा गोनुरीले बाहेक ।
आफ्नो तीनओटा छोराछोरीबाट उबारेर दिएको गोपीसरको मायाँले नै जीवन बुझ्न सक्यो बुधनले पनि । उसले पाएको आफन्तको तातो स्पर्श भनेको त्यही करिस्मालाई किनेर ल्याएपछि उसको मात्र हो । उसको आँत नभरिए पनि उसको त्यही एक मुठी मायाले जीवनको गोरेटो कोरिरहेको छ बुधनले । बूढो बाबुसँग बस्दै आएकी लठेब्री र बोल्न नसक्ने बुधनकी आमा गोनुरी त्यतिबेला पन्ध्र वर्षकी मात्र थिई । एकदिन बेलुका मुट्ठिभरि दुई तीन सय खुजुरा पैसा र रक्ताम्मे पिँडुला लिएर आई । गोपीसरकोमा कचहरी बस्यो । त्यस्तासँग जाइलाग्ने कुनचाहिँ नरपशु थियो, कसैले पनि देखे, सुने, चिनेको बताएनन् । गोनुरीले इशारामा बताएको हुलियाबाट धेरैलाई अड्कल गरेतापनि को हो यकिन साथ भन्न सकिएन । चार पाँच दिनसम्म थला परी गोनुरी । बल्ल बल्ल तंग्रीएकि गोनुरीले आठ महिना नलाग्दै बुधनलाई जन्म दिएकी थिई ।
सत्य के हो कसैलाई पनि थाहा नभए पनि सबै भन्थे, गोनुरी पनि बूढोकै छोरी हो । दुई तीन वर्षकी गोनुरीलाई कतै भेटेर छोरी बनाएर पालेको अरे । उसका अरु परिवार को छन् ? कहाँ छन् ? कसैलाई पनि थाहा छैन । छ सात वर्ष अघि एकदिन गोपीसरकोमा शरण लिन आइपुगेका थिए बाबु छोरी । आफ्नो बारेमा कसैलाई केहीपनि बताएको थिएन उसले । गोपी सरले नै चोक निरको ऐलानी जग्गामा एउटा झुप्रो हाल्ने व्यवस्था मिलाइदिएका थिए । गोनुरी आफूले सकेको काम सघाउँथी गोपीसरकोमा ।
बुधनलाई आमालबाबु सबै बनेर बूढोले नै सघायो । एक त उमेरै नपुगेकी आमाबाट जन्मेको सन्तान, त्यसमा पनि मैन्हा नपुगी जन्मेको, अर्काे जन्मने बित्तिकै आमा मरेको, तेस्रो लोग्नेमान्छेले सह्यारेको बच्चा । बुधन कुपोषकणको शिकार थियो । लुरे र मरन्च्याँसे । आँत छिनेको । ऊ तीन पुगेर चार लागेपछि बूढो पनि उसलाई एक्लै छोडेर गयो कहिल्यै पनि नफर्कने ठाउँमा ।
गोपीसरकै छत्र छायामा उसले छ कक्षा सम्म पढ्यो । छुट्टिमा र फुर्सदमा कहिलेकाहीँ हरिया चाचा र अरु हरूकै टाँगामा चढेर कहिले टाँडी र कहिले सौराहा गर्दा टाँगा चलाउन सिकिसकेको थियो । ऊ भागि भागि टाँगा हाँक्न जान्थ्यो । उसले कति गर्दा पनि पढ्नमा ध्यान लगाउन सकेन । पछि उसले टाँगा चलाउने रहर गरेकोमा एउटा बछेडी किनिदिए गोपीसरले नै । शिक्षाको महत्व बुझेका गोपीसरले पढाउने हर प्रयास गरे । तर बुधन धेरै जसो त बिरामी भएर नै पढ्न सकेन । पछि पछि पटक्कै मन पनि गरेन ।
सबै टाँगावालहरले आफ्नो घोडाको घोडीको नाम हिन्दी सिनेमाका हिरो हिरोइनहरूका नाम राख्थे । उसले पनि घोडीको नाम आफूलाई मनपर्ने हिरोइन करिस्माको नाम राखेको थियो । एकपटक राजा हिन्दुस्तानी फिल्म हेरेपछि उसलाई करिस्मा एकदम मनपरेकी थिई ।
राजा हिन्दुस्तानीमा पनि गरिब ट्याक्सी चलाउने ड्राइभरसँग धनी बाबुकी छोरी करिस्माको प्रेम भएको थियो । ऊ पनि मख्ख पथ्र्याे करिस्मालाई सम्झेर । करिस्मा जस्तै केटी आफ्नो टाँगामा बसाएर सवारी गराउने मीठो कल्पनामा मग्न हुन्थ्यो बुधन ।
००
महिनादिन सम्मको भाका राख्नु पर्नेरहेछ । यस्तै यस्तै सोच्दै आयो घरमा बुधन । आजकल करिस्मा पनि त्यति फुर्तिली छैन । भारी जिऊ । एकक्षण हिँड्दा पनि फ्याँ फ्याँ गरी हाल्छे । मानछे पनि कम राख्नु पर्छ । छ जना राख्दा त तान्नै सक्दिन कुइरे भेट्यो भने त हुन्थ्यो । तर कुइरेहरू प्रायः सबै होटलको गाडिमा नै सौराहा आउने जाने गर्छन् । कुनै कुनै टाँगा चढ्ने रहेले मात्र त हो ।
हरियाले दिएको समयमा पाँच दिन त त्यत्तिकै बित्यो । दुई दिन करिस्मा नै बिरामी परी । बसीरही । कति गर्दा पनि उठ्दै उठिन । एक दिन उसले राम्रो सवारी भेट्यो । एक हजार रूपैञा पाएको थियो उसले । आज सम्म यस्तो चिठ्ठा त कहिल्यै परेको थिएन । उसलाई । तर यसैमा आफ्नो खाना, करिस्माको दाना, घाँस सबै किनेर बाँकी रह्यो पाँचसय । यस्तै सवारी दुइ खेप भेटि लिए त आसानले तिरिहाल्थेँ रे.. पैसा । यहि सोचेर अबेर निदायो बुधन ।
अब सधैँ करिस्मा टाँगा तान्न पनि त सक्दिन । र सकेसम्म जोत्नु पनि हुँदैन । आराम गर्न दिए पछि मात्र स्वस्थ्य बछेडा जन्माउँछे । बियाएको बेला पनि खुवाउनलाई दाना धान गुँड पनि किनेर राख्नुपर्छ । फेरी आफ्नो टाँगा पनि हुन्न । ल्याउन पनि । टाँडि बजारबाट नै किनेर ल्याउन त गाह्रो हुन्छ बा । सँधै बेलुकी यस्तै सोच्छ बुधन ।
अरु एकदिन ऊ आफै ज्वरो आएर सुत्यो । टाँगा यसै बस्यो । दुइसय रुपिञाको त औषधि नै खायो । नत्र निमोनियाले निमोनियाले समाइहाल्छ उसलाई । तराई मधेश संघियताको विषयमा पुःन बिद्रोह चर्किएर नेपाल बन्द भयो । दुइ दिनसम्म चक्का जाम भयो । टाँगा पनि चक्का भित्र नै पर्याे । सधैँ चहलपहल हुने सौराहा सुन्य भयो । सडकमा घोडाको टाप बजेको पनि सुनिएन ।
जम्मा पाँचदिन बाँकि थियो हरियालाई दिएको भाका । पहिला दिन बिराएर टाँगा चलाउँथ्यो । करिस्मालाई ध्यान दिएर । अब त जम्मा पाँच दिन । उसले दिन दिनै लग्यो टाँडी तिर । एक दिन तीनसय । दुइदिन दुइ दुइ सय । जम्मा सातसय । पहिलाको तीनसय गरेर जम्मा एक हजार । बाँकी एक हजार ।
तोकिएको म्यादको अघिल्लो दिन टाँडी हानियो टाँगा लिएर । सायद नारायणघाटबाट वा पुर्व बन्द नै रैछ । सवारी पटक्कै भेटेन । दिनभरि टाँडी चोकमा कुरेर बसिरह्यो । भोलि हरियाले आफूलाई गर्न सक्ने कुरा अनुमान लगाइरह्यो बेला बेला । सिरिंग हुन्थ्यो जिउ नै उसको ।
यो पनि हेर्नुहोस् : कथाकार - 'ओ माई भूत !'
पाँचबजे बन्द खुलेपछि सवारी पाइने आशाले ऊ बारम्बार राजमार्ग हेरिरहन्थ्यो । अगाडिको चियापसलमा झुण्डयाइएको घडीमा बेला बेला आँखा पुर्याउँथ्यो । बाह्र घण्टाको दिन पनि उसलाई पचहत्तर घण्टा जत्तिकै लामो लाग्यो ।
पाँच बजेपछि बन्द खुल्यो । नभन्दै एक्कासी सवारी साधन चल्न थाले । बाटोमा अडकिएका पर्यटकहरू बोकेका गाडीहरू धमाधम हुइँकिन थाले धूलो उडाउँदै । बुधनले कहिल्यै नसम्झने भगवानलाई आज मनमनै पुकारा गरिरह्यो । सिरुवा मेलामा एक जोर परेवाको बच्चा र भन्टाको भार बनाएर चढाउँछु भनेर भाकल गर्याे ।
जति जति समय बित्थ्यो, बुधन पनि निराश बन्दै जान्थ्यो । ऊ भन्दा पनि थकित करिस्मा देखिन्थी । । दाना पनि राम्ररी खाएकी थिइन । बुधन मानसिक रूपमा र करिस्मा शारीरिक रूपमा । केही दिन देखि करिस्मालाई पनि बिसन्चो भएकोले ऊ भन्दा पनि थकित करिस्मा देखिन्थी । बुधन मानसिक रूपमा र करिस्मा शारीरिक रूपमा । करिब सात बजेतिर पाँच जनाको एउटासमूह आयो र उसको टाँगा सोधे सौराहा जाने भकति हो ?
पुरै रिजर्भ हो कि सिंगल हो हजुर ? बुधनले सोध्यो ।
हामी पाँच जना छौँ । कति हो ..?
दिनमे त आठसय हो हजुर । अब रात झर्न लागि गो हजार दिइलिनुस । हजार लिन सके मात्र उसको समस्या टर्ने थियो । राम्रो होटल सम्म पुर्याउने शर्तमा मन्जुर भए सबै ।
करिस्माको अवस्थाबाट परिचित बुधन विवश थियो सवारी बोक्न । करिष्मा गाभिन भएको चार महिना पछि त उसले चार जना भन्दा बढि सवारी पनि हालेकौ थिएन । पातला मान्छे र केटाकेटी भए मात्र पाँच जना ।
चल रे करिष्मा चल.. ।
यात्री चढेपछि सवारी चलाउन खोज्यो बुधनले । अहँ करिष्मा सुस्त देखिई । उसले बिस्तारै सुम्सुम्यायो । चल करिष्मा चल रे ..। तीन चार चोटि बिस्तारै फकायो । मनमनै माफ गरिदिहाल रे करिष्मा आज मलाई । भोलिदेखि मा कसम । म टाँगा नै चलाइलिन्न रे । तँ चंगा नहुन्जेल सम्म । कसैले नसुन्ने गरी भन्यो । हरिया चाचाको पैसा भोलि नै दिनु दिइदिहाल्नुपर्ने भएर मात्रै हो रे.. । आफ्नो पीडा पनि पोख्यो उसले करिष्मालाई । करिष्माले कति बुझि थाहा भएन ।
टाँगामा जोतिएको घोडाले के नै पो गर्न सक्थ्यो र । जति अशक्त भए पनि । घोडाको गति पनि माहुतेको हात र इशारामा हुने । खुट्टा कपाउँदै करिष्मा बिस्तारै हिँड्न थाली बुधनको इशारामा । सुनसान सडकमा करिष्माको टापको टक टक बाकेक बेला बेला बुधनको चल करिष्मा चल....। बाहेक अरु आवाज सुनिदैनथ्यो । बन्दले गर्दा बाटो सुनसान थियो । लामो बाटो हिँडेर थाकेर हो कि टाँगाका यात्रि पनि चुपचाप थिए ।
करिब पाँच मिनेट हिँडे पछि करिष्माको गति क्रमशः कम हुन्थ्यो । पुनः बुधन एकचोटि दुवालीले उसको डँडेल्नोमा बिस्तारै हान्थ्यो र भन्थ्यो चल करिष्मा चल....। तर फेरि केही पाइला चलेपछि पुन सुस्त हुन्थी करिष्मा ।
के हो टाँगावाला, तिम्रो टाँगा हो कि यो गोरु गाडा हो ? एउटा यात्री झर्कियो ।
यस्तै हो भने त टाँगा चढेर हैन हिँडेर नै पो छिटो पुगिन्छ होला है ....? अर्काेले थप्यो ।
अलिक छिटो कुदाओ रे भैया...अघिकै फेरि बोल्यो. ।
यसपालि बुधनले अलिक साह्रै स्वाँट्ठ हान्यो दुवालीले करिष्माको डँडेल्नोमा । झस्केर अलिक तेजले दौडी करिष्मा । तर एकक्षण पछि उहि गति भो उसको ।
जसो तसो खोलाको पुल तरेर उकालो लागेपछि अलि अलि गर्दै स्थिर भइ करिष्मा ।
बुधनले धेरै चोटि फकायो । चल करिष्मा चल ...। फ्याँ फ्याँ गरिरहि करिष्मा ।
अघिकै यात्रु फेरि झर्कियो, के हो टाँगावाल...? पैसा मात्र लिने ? के हो यस्तो घोडा पनि.....?
ना हजूर ...। अलिक बेरामी भएकोले...।
डराएको स्वर थियो बुधनको । कतै यात्रु ओर्लेर नहिँडिदिउन...भनेर ।
अनि यस्तो टाँगा तान्न नसक्ने घोडा किन राख्नु त ? ल अब हामी हिँडेर नै जान्छौँ । ओर्लन खोज्यो अघिकै यात्रु ।
ना हजुर ना..... । एकैछिन सुस्ताइलिन दिहाल्नुस । अनि त हजुर हिँडिलिइहाल्छ नि ...।
पुःन दुवाली बर्सायो डँडेल्नोमा करिष्माको । अहँ करिष्मा हल्लिन । डेगै चलिन । उसले धेरै पटक भन्यो, चल करिष्मा चल... । तर नसुने झैँ नै भई करिष्मा । खुट्टा थरथरी काँपिरहेका थिए । कोखा भुक्लुक भुकलुक गरिरहेको थियो । नाकको पोरा फूलाउँदै हर्याक हर्याक गरिरहेकी थिई । जिउ पुरै तातो थियो । आँखाबाट बरबरी आँसु झरिरहेको थियो । करिष्माको अवस्था थाहा भए पनि बुधन विवश थियो । यात्रु उत्रेर हिँडेभने उसले कबोले जति पैसा पाउँदैनथ्यो । पैसा नभए भोलि हरियाले उसको हुर्मत लिनेमात्र हैन ढुकढुकी नै छाम्छ ।
यो सम्झँदा उसलाई चिसो भयो । अनि अलिक जोडले फेरि दुवाली बर्सायो । अहँ करिष्मा अटेरी नै भइरही । सिरिंग आगं जर्काउँदै ऊ उभिइरही । नाक र मुखबाट र्याल काडिरही । चल रे करिष्मा चल... । अलि कड्केर बोल्यो र अझै साह्रो दुवाली मार्याे । गाभिन भएको करिष्मा माथि निर्दयी भयो बुधन दुवाली बर्सायो । लाचार भएर आड. थापिरही करिष्माले पनि । तर पाइला चाल्नै सकिन । बल गरेर अगाडि बढ्न खोज्दा पनि तानिँदै तानिएन टाँगाको भार करिष्माको शरीरले । डँडेल्ना भरि सुम्ला भए ।
बुधन टाँगबाट तल ओर्लियो । एकक्षणको लागि मोटा खालका दुइ जना यात्रुलाई पनि अनुरोध गरेर तल ओराल्यो र बिस्तारै करिस्माको याल खेलाउँदै फकाउँदै भन्यो चल रे करिस्मा चल ...। टाँगा अलिक हलुका भएपछि करिष्मा बिस्तारै हिँड्यो । उकालो कटेपछि बुधनले पछाडिको उनार मिलायो । अगाडि पातला खालका र पछाडि मोटा यात्रुहरू मिलाएर राख्यो ।
यात्रुहरू एक मुख लगाएर घुर्काउन थाले यस्तो टाँगामा पनि नचढ्ने र पैसा पनि नदिने । याात्रुको रिस उसले करिस्मामाथि पोख्यो । कसेर तीन स्वाँठ दुवाली हिर्काएपछि लाचार करिस्मा फ्याँ फ्याँ गर्दै हिँड्न थाली । परिवन्दले निर्दयी बन्यो बुधन । आवस्यकताका अघि उसको मानवता हरायो । पशुनै भए पनि संसारमा आफ्नो भन्ने त्यही करिष्मा माथि उसले पहिलेचोटि कठोर हुनुपर्याे ।
घिस्रेर सौराहा पुर्याई करिष्माले टाँगा । बेजुवान पशुको दर्द र पीडा कस्ले पो बुझ्ने ? एकातिर बुधन उसले भनेजति वा चाहिएजति पैसा पाएकोमा खुसि थियो भने अर्कातिर जान्दा जान्दै पनि परिस्थितिबस करिस्मा माथि कठोर भएकोमा आत्मग्लानी र पश्चाताप लागिरहेको थियो । मन हुँडलीरहेको थियो । उसको ।
टाँगाबाट खोलेर तबेलामा पुर्याउने बित्तिकै करिस्मा भ्यात्त परेर बसी । पुरै जीउ छोडेर र टाउको र खुट्टो पनि तन्काई । आँखाबाट बर्बर आँसु झरिरहेको थियो । जिऊ पनि आरानमा हालेजस्तो तातो थियो । मुखबाट हरयाक हरयाक भइरकेको थियो । र्याल झरिरहेको थियो ।
त्यति दयनीय अवस्थामा आफ्नी करिष्मालाई देख्दा बुधनको पनि धैर्यको बाँध टृुट्यो । ऊ करिस्माको टाउकोलाई अँगालो हालेर सिरानी बनाएर धुरुधुरु रोयो । बेजुवान नै पीडा साट्यो । मलाई माफ गरिदिहाल रे करिष्मा...। बरु हरिया चाचाको कुटाइ खाइलिएकै भए हुन्थ्यो । पैसाको लोभ बेक्कारमा गरिलिएँ मैले...।
निकैबेर रोएपछि उसको मन अलिक हलुका भयो उसको । उसले करिष्माको आँखा, मुख पुछिदियो । पानी ल्याएर खान दियो । अहँ, उसले कुनै प्रतिक्रिया देखाइन । बेला बेला आँखा झिम्काउनुबाहेक...।
उसले पिठोको तातो खोले पकाएर ल्याएर दियो तर करिष्माले हेर्दा पनि हेरिन । तेल तताएर कानको जरी, नलिखृुट्टा, टाउकोमा लगाइदियो । दुवालीले बर्साएको सुम्लोमा पनि तातो तेल लगाएर मालिस गरिदियो । सायद दुखेर होला, यसो गर्दा चाहिँ करिष्माले जिउ मर्काइ ।
उसले सधैँ झैँ बिस्तारै करिष्माको भुँडीमा हात लगेर सुम्सुम्यायो । यसो गर्दा करिष्मा नाकका पोरा दरालिदिन्थी बुधनलाई तर आज केही गरिन करिष्माले ।
बुधनलाई घरभित्र पसेर सुत्न मन लागेन । त्यहि करिष्मा छेउमा बोरा ओच्छ्याएर पल्ट्यो । गर्मी, भोक र थकाइ र करिष्माको पीरले निन्द्रा लागेन । करिष्मालाई सुम्सुम्याएर माफि मागिरह्यो आफ्नो बुद्धि बिग्रिएकोमा पश्चाताप गरिरह्यो । रातको तेस्रो प्रहरतिर मात्र उसको आँखा लागेछ चराहरूको चिर्बिराहटले उसको निन्द्रा खुल्यो ।
बेला बेलामा करिष्मा छटपटिरहेको देख्यो उसले र एकाएक तर्सियो । करिष्माको पुचछर रगतको आहालमा डुबेको रहेछ । के भएको हो उसले खुट्याउनै सकेन । अनिष्टको शङ्काले हत्त न पत्त थानदेउतालाई सम्झेर एकजोर परेवा र एक भार बैगनको भाकल गर्याे । भगवान करिष्माके केही नभइलियोस् ..।
बुधन करिष्मको टाउको काखमा राखेर मुसारेर बसिरह्यो । करिष्माका जस्तै उसका आँखा पनि बर्सिरहेका थिए । बेला बेला करिस्मा छटपटाएर खुट्टा फ्याँक्थी । त्यो देख्दा करिष्मालाई सहनै नसक्ने पीडा भएको छ भन्ने बुझ्यो बुधनले तर के पो गर्न सकथ्यो र ऊ..? आफूलाई सराप्नुबाहेक..।
आधा घण्टा जति त्यसैगरी छट्पटाएपछि एकचोटि झण्डै डल्लो पर्ने गरी छटपटाइ करिष्मा । मुखबाट एकखालको आवाज पनि निकाली । यहि आवाज सँगै उसको बच्चा निस्कियो । रगतको खोलो बग्यो सँगै । हत्त न पत्त बुधनले हेर्याे, भर्खर स्वरूप मात्र राम्ररी बनिसकेको कलिलो कालो कालो बच्चा जन्माएकी थिई करिष्माले तर त्यसमा प्राण थिएन ।
त्यसैबेला हरिया पाँच, छ जनाको जमात लिएर बुधन भएतिर आउँदै गरेको देख्यो बुधनले । बुधनले एकचोटि हिजो बेलुका पाएको पैसा छाम्यो गोजीमा राखेको अनि हेर्याे घरि हरिया र घरि करिष्माको निर्जीव बछेडातिर ...।
Liked by: