गजक्क पर्थें- छोरो टाठो छ । मोबाइलका हरेक एप्स खोलेर हामीलाई देखाउँथ्यो । मैले नचलाउने कतिपय एप्स चलाउन उसैले सिकाउँथ्यो । लाग्थ्यो- उसले एकदिन संसार खान्छ ।
ऊ एउटा हातमा मोबाइल र अर्को हातमा रिमोट समातेर उपरखुट्टी लगाउँदै पल्टिन्थ्यो । युट्युबमा ‘हुक्का बार’ र टिभीमा ‘मोटु पतलु’ हेर्थ्यो । कदाचित मोबाइल दिइनँ भने ठुस्किँदै मम्मीसँग माग्थ्यो र मतिर फर्किएर ङिच्च हाँस्थ्यो ।
दाङ आएको ८ दिनमा उसले कसैसँग एकपटक पनि मोबाइल मागेको छैन । टेबुलमा राखेको मोबाइल दिनभरि जस्ताको तस्तै डङ्ग्रङ्ग पल्टिरहेको हुन्छ । ऊ जतिखेर पनि हजुरबुवा र आमासँग लुकामारी खेलिरहेको देख्छु । हजुरबुवाले औंला समातेर घोराही बजार घुमाएको देख्छु । दिनभरि पसलले कमाएको पैसा सँगसँगै गनेको देख्छु ।
काठमान्डूको दैनन्दिन घटना-परिघटना सिनेमाको फ्ल्यासब्याकझैं मनभरि आए एकाएक । सम्झिएँ- ऊ मसँग किन हरेक दिन, हरेक क्षण मोबाइल मागिरहन्थ्यो !
म काठमान्डूमा उसको ‘नजिक’को साथी हुन सकिनँ शायद– त्यसैले मोबाइल र टिभीलाई साथी बनायो उसले । काठमान्डू फर्किएपछि फेरि उसैगरी मोबाइल माग्दै हात फिँजाउनेछ उसले, “बाबा, हजुरको मोबाइल दिनुस् न !”
ऊ मेरो छोरा भएर त जन्मियो, म उसको ‘बाउ’ हुन सकिनछु !
#आत्मालाप #साथी