नाममा के छ र ! | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

नाममा के छ र !





माघको कठ्याङ्ग्रिने चिसो । चिसोमा झनै चिसियो मन,

जब—

समीरले कानैमा आएर फुस्फुसायो, “राधिकालाई त शिवेले लाने भो, तँ हेर्दाहेर्दै गइस् खोलैखोला ।”

“हँ? के भन्छस् बे ? फुस्किस् ?”

“हो बे हो, शिवे र राधिका आज सँगै कलेज आए बिहान ।”

“हात समा’थे ?”

“हात त समा’थेनन् तर खुप मस्क्या’थे बाटामा । बरु सक्चस् भने आजै दे चिठी, नत्र शिवेले जिप्टायो, स्योर !”
गोजीभित्र बडो जतनले पट्याएर राखेको चिठीले भत्भती पोल्न थाल्यो । चिठीका अक्षरले पालैपालो घोच्न थाले । रातभरि बसेर कनिकुथी लेखेको दुई पेजको चिठी समीरको समाचारले फतक्कै गल्यो, शित परेपछि ओइलाएको कागजझैं ।

समीरले मलाई त्यस्तो दर्दनाक र भयंकर खबर सुनाएको थियो, जसले छिनभरमै मेरो सास लैजान सक्थ्यो वा निमेषमै भावशून्य भएर मैले तुरुक्क आँसु खसाल्न सक्थें । रुम् कि नरुम्, रुम् कि नरुम् भयो ।

तर, समीरकै कुराले आँसु खसालिहाल्नु अघि बीस पटक सोच्नुपथ्र्यो । बेफ्वाँकका खबर सुनाएर मान्छे रुवाउँदै हिँड्ने र पछि रामधुलाइ भेटेर आफैं रुँदै हिँड्ने मान्छे थियो ऊ । ‘तेरी स्वास्नी पोइल गई’ भनेर उसले थुप्रैका हातबाट थुतुनो सुन्नाएको थियो । टोलका प्रायः लोग्नेमान्छेले उसलाई धेरैपटक धोइसकेका थिए । कतिपटक त नांगै पारेर ।

पेच हल्का ढिला भए पनि ऊ हाम्रो ग्याङको भरपर्दो र जंगी थियो । हामी तीन-चार जनाबाहेक अरु सबै ऊसँग कुनै न कुनै कारणले बिच्किएका थिए । किनकि उसले सुनाएका ९८ प्रतिशत खबर कि त हावा हुन्थे, कि त हावाका झोंक्का ।

अब राधिकालाई शिवेले लान्छ भन्ने समीरको खबर म कसरी पत्याऊँ ?

आत्मविश्वासका साथ भनें, “अनि शिवेले त ह्याप्दिसकें भन्थ्यो त अस्ति ?”

“नापेर ह्याप्थ्यो ! मैले मेरै आँखाले देखेको ।” उसले थप्यो, “स्याला, शिवेका पो गरदशा चम्क्या रैछन् यसपालि !”

कालो अनुहार झन् कालो भयो, “धड्कनजस्तै त हुन्न बड्डा ?”

समीर बडो घत लाग्नेगरी हाँस्यो, “हेर्दाहेर्दै तँ सुनील सेट्ठी भइस् बे ।”

“दाइ, त्यस्तो कुरा नगर् यार, मुटुमा गाँठो पर्‍यो ।”

ऊ झनै हाँस्यो ।

“के गरुँ यार ? मर्छु कि के हो ?” मेरो कलेजो भित्रभित्रै कताकता बटारियो ।

“हाहाहा, नमर् नमर् । त्यो शिवेलाई तह लाउनपर्छ पैला ।”

“कसरी लाउनी तह ?”

“सब कुरा मलाई छाड्दे, बरु हिँड् चाउमिन ख्वा ।”

समीरको चाउमिन खाने दाउ हो कि जस्तो पनि लाग्यो । भर परिहाल्ने मान्छे थिएन, खाजा खान जस्तोसुकै नाटक पनि गर्न सक्थ्यो । उसले मात्रै खायो चाउमिन, मेरो मनले खान सकेन । छाति गह्रुंगो भएपछि त सास फेर्न पनि मन नहुँदो रहेछ !

खाइवरी निस्किने बेलामा उसले भन्यो, “नडरा नडरा ! राधिका तेरै हो, तेरै हुन्छे । त्यो शिवे त्यसै फन्किएर हुन्छ ?”

स्याला, मन त गुलाफको बगैंचामाथि फिँजाएजस्तो पो भयो एकैछिनमा । खस्न लागेका आँसु पनि पिलित्त भित्र गए ।

“विद्यानाश ?”

“माकसम, नडरा ।”

मैले चिठी च्यातें र संकल्प गरें, “जे भए पनि मुखैअगाडि गएर भन्छु अब, यस्ता चिठीसिठीको भर हुन्न !”

० ० ०

हिन्दी फिलिम ‘धड्कन’ को ट्रेलर आएदेखि नै कलेजमा साथीहरूले हाम्रो कित्ता काटे-
कालो भएकोले म सुनील सेट्ठी, राधिका हिरोइन नै भई शिल्पा सेट्ठी र, हर्लक्क बढेको खाइलाग्दो शिवे, अक्षय कुमार ।

मलाई लाग्थ्यो- हिरोनी त आखिर सुनीलकै हो ।

प्रायः हरेक दिन कलेजमा मेरो र राधिकाको कुरा चल्थ्यो । राधिका शिल्पा हुन्थी, म सुनील । ‘तुम दिल की धड्कनमें” गीतमा धेरैपटक राधिका र म नाच्यौं हर्नोकको डाँडोमा पुगेर । ऊ कम्मर मर्काउँथी, म भुतुक्क हुन्थें । मनमा हुन्डरी चल्थ्यो, मुटु बेस्सरी धड्किन्थ्यो । हाम्रा वरिपरि २५-३० जना केटा-केटीहरू झुम्म परेर नाच्थे, चारैतिर गीत बज्थ्यो । चराहरू हाँगामा बसेर गीतको भाकामा रमाउँथे, कतिकतिखेर भुर्र उड्थे । अलि पल्तिर खोला बग्थ्यो आफ्नै गतिमा ।

अनि कताकताबाट दौडिँदै आउँथ्यो शिवे र एकाएक बन्द गथ्र्यो गीत । म झल्यास्स हुन्थें ।

कल्पनामै सही–

हरेक दिन हर्नोकको डाँडोमा कम्मर मर्काउँदा-मर्काउँदा राधिका पूर्णरूपमा मेरी भइसकेकी थिई । कक्षाबाहेक हरेक क्षण ऊ मसँग हुन्थी, मसँग हिँड्थी, मसँगै खान्थी । कलेज जाँदा, फर्किंदा मेरै दायाँ कुममा हात राख्थी । ऊ मेरो घरमा आउँथी, म उसको घरमा जान्थें । मेरी आमासँग बसेर लुगा धुन्थी, भाँडा माझ्थी, तरकारी काटिदिन्थी । कहिलेकाहीँ मेरो हरियो एटलस साइकलमा बसेर गाउँ डुल्थी ।

मलाई थाहा थियो- मसँग गर्ने व्यवहार राधिकाले शिवेसँग पनि गर्छे ।

कल्पनामै सही–

राधिकाले उसको घर गएर पनि लुगा धोइसकेकी थिई, तरकारी काटिसकेकी थिई । जीवेको हिरोहोन्डा स्प्लेन्डरमा बसेर उसले गाउँमात्रै होइन, सिंगो देश घुमेकी थिई । उसको बाइकअघि मेरो हरियो एटलस कताकता दुब्लो र मरन्च्याँसे देखिन्थ्यो, सुकेको सिमल रुखझैं ।

त्यसैले मनमा एउटा डर थियो, ‘धड्कन’ मा शिल्पा सेट्ठीलाई अक्षय कुमारले जसरी उछिट्टायो, शिवेले राधिकालाई त्यसैगरी लैजान्छ । म बर्बाद हुन्छु ।

० ० ०

शिवे र म राधिकाका ‘दिवाना’ थियौं, त्यो उसलाई पत्तो थिएन । पालैपालो शिवेको बाइक र मेरो साइकलमा घुम्दा पनि उसले कहिल्यै खबर पाइन ।

त्यसैले लाग्यो, शिवेले भन्दा अगाडि मैले जसरी पनि राधिकालाई भन्नुपर्छ । तर आँट थिएन । एकपटक फोन गरेर ‘आई लभ यु’ भन्ने १० कक्षाको प्रकाश (गुप्ता)लाई राधिकाले धोइसकेकी थिई । “एक त मभन्दा नि फुच्चे, त्यैमाथि घरमा फोन गरेर आई लभ यु भन्छस् ?” भन्दै राधिकाले तेलले लरक्क वायाँतिर फर्काएको प्रकाशको कपाल गोडेर चौरमै पछारेको मैले देखको थिएँ । त्यस दिनदेखि राधिकाले मेरो हंश लगी ।

कलेज छुट्टी भएपछि एकदिन समीरले उक्सायो, “आँटी छोरालाई बाघले खान्न, जा गएर भनिहाल् । यही मौका हो ।”
हो त ! डराएर पनि के लभ गर्नु !
जुरुक्क उठें ।
राधिका अरु साथीभन्दा पछि थिई । घुँडाघुँडासम्म आउने फ्रक लगाएर हिँडेको असाध्यै सुहाउँथ्यो उसलाई । भर्खर पुसमा १८ टेकेकी, त्यसमाथि ज्यान पनि भगवान्ले टाइम लिएरै बनाएको जस्तो । अझ गफिएर हाँस्दा म झनै खुत्रुक्कै हुन्थें ।

“ओए राधिका, सुन् न ।”

ऊ फरक्क पछाडि फर्की र भनी, “अँ, भन् ।”

मुटु ढक्क फुल्यो । चिटचिट पसिना आए ।

भित्रै कताकताबाट एकाएक सुलुलु बग्दै आए शब्दहरू- “तँलाई मन पराउँछु यार ।”

तर घाँटीमै आएर ठ्याप्प अड्किए ।

“श्याम सरको नोट दे न !”

मुसुक्क हाँस्दै ब्यागबाट कापी निकालेर दिई ।

थरथर थरथर काँपेका हातले च्याप्प कापी समाएर झोलामा हालें ।

एकमन सोचें- “अहँ ! ज्यान गए सक्दिनँ अब, शिवेले नै लगोस् बरु ।”

शिवे र मबीच अलिखित सम्झौता भएको थियो, “जसले सक्छ, उसैले राधिकालाई लान्छ ।”

मैले राधिकासँग घरजमकै योजना नबनाए पनि हर्नोकको डाँडोमा घाम तापेर सँगै सुन्तला खाएको सपना भने देखेको थिएँ ।

अलि पर समीर उफ्रीउफ्री हाँस्दै थियो ।

“दाइ, सकिनँ यार ! मर्चु कि के हो ! बरु तैंले भन्दे न !”

म निकै सकस परेझैं बोलिरहेको थिएँ ।

“ह्या ऽऽ ऽऽ नडरा के ! कुमारेले मिलाउँछ सब् कुरा, पख् ।”

लभसभको कुरामा कुमार अनुभवी थियो । भर्खरै उसले हाम्रै कक्षाकी यमुनालाई घुमाउन थालेको थियो ।
दौडिदै कुमारलाई लिएर आएर समीरले उसलाई सबै वृतान्त सुनायो ।

मैले थपें, “मुखेन्जी भन्न सकिएन, चिठी लेखम् त ?”

ऊ कड्किएर बोल्यो, “ह्या ऽऽ ऽऽ, यो चिठीसिठीको चक्कर छोड्, बरु हात चिर् । चिरेको देखेसि केटीहरू खुत्रुक्कै हुन्छन्,” कुमारले आफ्नो वायाँ हात देखाउँदै भन्यो, “यी, मैले नि चिरेर यमुनालाई पटाएँ, थाहा छ नि ?”
एकाएक हात चिर्ने कुराले मुटु ढुक्क फुल्यो । सुइँ लगाउँदा त सास अड्किन्छ, हात कसरी चिर्नू ?

कुमारले कलेजका आधाउधी केटाहरूको देव्रे हात चिराएको थियो । तीमध्ये धेरैको फलिफाप भएको नि थाहा थियो ।

“सुरुमा हल्का चसक्क हुन्छ, मनमनै राधिकालाई सम्झेस् क्यै हुन्न ।”

कुमारको कुराले आँट आयो । त्यही रात टोपाज ब्लेडले वायाँ हातमा ‘आर’ लेखें । घरमा देख्छन् भनेर ह्यान्डीप्लास्ट लगाएँ । घाउ चहराए पनि मन पुलुक्क थियो । अब राधिका मेरी भई, शिवे सिवे भाँडमे जाऊन् ।

हात त चिरियो, राधिकालाई देखाउने कसरी ? सर्टको बाहुला माथि सारुँ भने अरु सबैले देख्लान् र गिज्याउलान् भन्ने डर, बाहुला नसारुँ त त्यत्रो कष्टले लेखेको नाम खेर जाने डर । सीधै गएर हात देखाउन पनि भएन !

कक्षाका एकातिर केटीहरू बस्थे, अर्कातिर केटा । राधिका तेस्रो लहरको सबैभन्दा छेउमा बस्थी । प्रायः सबैका आ­­-आफ्ना सिट हुन्थे, म छैटौं लहरमा बस्थें । तेस्रो लहरसम्म पुग्नु सबैभन्दा महाभारत थियो किनकि त्यही लहरमा शिवे बस्थ्यो । मैले हात चिरिसकेको कुरा शिवेलाई पत्तो थिएन ।

शिवेलाई भनें, “दाइ, पछाडि बस्दा खासै सुनिएन यार, श्याम सरको क्लासमा म तेरो सिटमा बस्छु है ?”
उसले मानेन ।
“दाइ, प्लिज यार । श्याम सरको क्लासपछि फेरि पछाडि बस्छु के । दे न !”
ऊ अझै मानेन ।
कानैमा गएर फुस्फुसाएँ, “राधिकालाई लगेस् के बरु तैंले, दे न !”
पुलुक्क मतिर हेरेर ङिच्च हाँस्यो, “साले !”

ऊ उठेर मेरो सिटमा गयो, म उसकोमा । मैले घोसेमुन्टो लगाएर किताब हेरेको बहानामा मेरो दायाँपट्टकिो अर्को लहरमा बसेकी राधिकातिर छड्के हान्थें, ऊ आफ्नै कापीको संसारमा थिई ।

बिस्तारै वायाँ हातको बाहुला माथि सार्दै गएँ । अलिअलि गर्दा ‘आर’को टुप्पो देखियो । अझै माथि सारें­- आधा ‘आर’ देखियो । तर, अहँ ! राधिकाले आँखै लगाइन ।

श्याम सरको क्लास सकिनै लाग्दा पुलुक्क हेरी, मेरो हातको ‘आर’ । मुसुक्क हाँसी, म पनि हाँसें । हाँस्दै चिर्कटोमा केही लेखेर मतिर फुत्त फाली ।

म कालोनीलो भएँ । यति छिटै जवाफ आउला भनेर कहिल्यै चिताएको थिइनँ । यति सजिलै पनि कसैको लभ पर्दो रहेछ ! मान्छेहरू किन मरिहत्ते गरेका ?

अनि एकै रिलमा फ्ल्यासब्याकझैं सुरुदेखिका सबै सिन घुम्न थाले- स्वार्र्र …. ढ्याक्क ।

राधिकाको चिर्कटो समाएपछि हात थर्थरी काँपे, मुटुको गति एक्कासि बढ्यो । श्याम सर कताकता नेपथ्यमा कराइरहेको जस्तो लाग्यो । एन्टन चेकोभको ‘अबाउट लभ’बारे उनले के भनिराखेका थिए, केही सुनिनँ ।

किताबको बीचमा चिर्कटो राखेर हेरें । मुटु झनै धड्कियो । छेउछाउ सबै अँध्यारो भयो । शरीरभरि काँडैकाँडा उमि्रए । कन्चटमा पसिना रसाए ।

त्यहाँ त्यस्तो चिज लेखिएको थियो, जुन मेरो अड्कल, अन्दाज र आशाभन्दा कोसौं टाढा थियो ।

“रञ्जितालाई मन पराउँछस् तैले ? काले, छुपारुस्तम ।”

म सपनाको वायुपंखी घोडाबाट सीधै भुइँमा खसें, जसरी कुनै कथामा इकारस खसेको थियो ।

“हैन, आर भनेको राधिका हो, तँ होस् ।”

फेरि घाँटीमै आएर अड्कियो सास ।

० ० ०

मेरो लभस्टोरीको पहिलो असफल अध्याय कलेजभरि गसिप बन्यो । समीरले सबैलाई भनेर मरेछ । अझ हात चिरेको कुरा सबैभन्दा बढी चर्चित भयो । जसले भेट्थे, हात देखाउन भन्थे । म मरेजस्तो हुन्थें । कतिपयलाई बंगारा झार्ने धम्की दिएर तह लगाउँथें, कसैसँग आफैं तर्किन्थें । तर, जब श्याम सर अघि पर्नुभो, मुटु हर्ल्याकहुर्लुक गर्दै घुँडासम्म आयो ।

श्याम सरको व्यक्तित्व रहरलाग्दो थियो । अंग्रेजीमा राम्रो दख्खल राख्नुहुन्थ्यो र प्लस टुको पि्रन्सिपल पनि । उहाँले आक्कलझुक्कल पत्रिकामा मेरो नाम देखेर धेरैपटक काँध थपथपाउनु भएको थियो । साहित्य पढाउने भएकाले मप्रति उहाँको अलि बढी ‘निगाह’ थियो । कहिल्यै नराम्रो वचन लगाउनुहुन्थेन तर उहाँलाई देख्दै हामी कायल हुन्थ्यौं । आज उहाँका अगाडि म नुन खाएको भालेझैं थिएँ ।

“मिस्टर बञ्जाडे, यु आर बिइङ मिस्चिभियस,” श्याम सरले अंग्रेजीमा थर्काउनुभो, “आई विल नट टोलरेट दिस् फ्रम नाउ अन । डिड यु गेट मी ?”

“एस सर,” मैले भनें, “आई एम सरी सर ।”

“सरी भन्छ मुला,” उहाँ जंगिनुभो, “तँबाट मैले यस्तो अपेक्षा गरिको थिइनँ केटा । खै हात देखा !”

मैले सुलुक्क हात तेर्स्याएँ । ‘आर’ देखेर एकपटक भित्रभित्रै काउकुती लागेझैं मुस्काउनु भो ।

“को हो यो आर भन्ने ?”

के बोल्नु, कसरी बोल्नु ! अनुहार भुइँतिर थियो । केही बोलिनँ ।

“को हो भनेको सुनिनस् ?”

“र…. र… राधिका हो, सर,” हड्बडाउँदै भनें, “सरी सर, दिस वन्ट ह्याप्पेन अगेन ।”

“मुला, चिठी लेख्न सकिनस् ? हात चिर्नपर्ने तँलाई ? त्यत्रो मुटु छ तेरो ?”

छ भनूँ कि छैन भनूँ ? हात चिरेकै थिएँ ब्लेडले, तुरुक्क रगत झरेकै थियो ।

” … “

“तँ राम्रो विद्यार्थी होस्, हरिजीले मसँग तेरो बारेमा जेजस्ता कुरा गरे पनि तँभित्र मैले केही देखेको छु । कविता लेख्छस्, कहिलेकाहीँ लघुकथा नि लेख्छस्, मलाई राम्रो लाग्छ । ‘युगबोध’मा तेरो नाम देख्दा मैले स्टाफहरूलाई देखाएको छु धेरैपटक, तैंले यस्तो गर्ने ? मेरो अनुहार सम्झिइनस् एकपटक पनि ?”

श्याम सरको डर र मायाले मेरा आँखा रसाए । गाली त सहन्थें तर श्याम सरले इमोसनली ब्ल्याकमेल गर्नुभो, म लल्याकलुलुक भएँ । लाज र लघुताभाषले घोप्टो परेका आँखाबाट तुरुक्क आँसु झरे, जसरी ब्लेडले चिर्दा हातबाट रगत झरेको थियो ।

यसको दुई दिनपछि नै श्याम सरका अर्ती धानको भुसमा पोलें र सबैलाई बाँडेर खाएँ । राधिका झन्पछि झन् मनमा टाँसिदै गई । ऊ अझै पनि हरेक दिन मेरो घरमा आमासँग तरकारी काटिरहन्थी, रातो धोती लगाएर । ऊ अझै पनि आमालाई सघाउँदै भाँडा मस्काइदिन्थी । कहिलेकाहीँ हरियो एटलस साइकलको पछाडि बसेर बाह्रकुने र चौघेरातिर घुमिरहन्थी । कलेज जाँदा आउँदा मेरो कुममा हात राखिरहन्थी ।

सोचें, अब यसरी भएन । हाम्रो लभगुरु कुमारले कुनै जुक्ति निकाल्थ्यो कि ?

सोधें, “कुमारे, के गरुँ यार, म त भोकभोकै बसेर मर्चु कि के हो । अरु कुनै उपाय छैन ? हात चिरेको खेरै गो । कलेजभरि बेजत भो, श्याम सरले हकार्नु भो ।”

कुमार धेरै बेरसम्म बोलेन । दुई हप्ता नहुँदै यमुनासँग ब्रेकअप भएकोले ऊ पनि मभन्दा कम वेदनामा थिएन । उसको हातको ‘वाई’ पनि खेर गएको थियो । तर पनि उसको अनुहारमा तुष थिएन, सधैंझैं लाली भरिएको कान्तिमय अनुहार ।

“पख्, भ्यालेन्टाइन्स डे आउन ला’छ, त्यो दिनाँ कार्ड दिनी हो भने फेल खान्न रे !” उसले आशा देखायो, “मैले पनि शर्मिलालाई दिनी हुँ कार्ड । अनि साँच्चै, राधिकाले त अस्ति तेरो बारेमा यमुनासँग कुरा गर्दै थिई रे नि ! त्यो लेनिन काले भए पनि दिलवाले छ भन्थी रे !”

“हँ ?”

कुमारको कुराले मेरो होश उडायो । देव्रे हातको घाउ आलो भएर जुर्मुरायो । मुटु, फोक्सो, कलेजो एकैपटक उफ्रिएर कुद्न थाले । वरिपरि ‘तुम दिल की धड्कनमे’ गाना बज्न थाल्यो, ३०-३५ जना मेसैसँग नाच्न थाले । राधिकाले कम्मर मर्काउन थाली, म पनि रुमाल हल्लाउँदै नाच्न थालें । चराहरू हाँगामा बसेर गीतको भाकामा रमाउँदै कतिकतिखेर भुर्र उड्न थाले । अलि पल्तिर खोला आफ्नै गतिमा बग्न थाल्यो । बारम्बार राधिकाको भिजेको कपालले मेरो अनुहार छोपिन्थ्यो, पुच्छरे हाडदेखि फोक्सोसम्मका आन्द्रा तिनिक्क हुन्थे ।

कुमारलाई थाहा थिएन, उसले मेरो १८ वर्षे जिन्दगीको सबैभन्दा उल्लासमय र सुखद खबर सुनाएको थियो ।
“लेनिन काले भए पनि दिलवाले छ … ।”

राधिका र मेरो जुठो चल्थ्यो । जुठो चल्नु घनिष्ठताको प्रतीक थियो, हामी त्यही बुझ्थ्यौं । उसले मलाई र मैले उसलाई ‘तँ’ भन्थ्यौं । यही घनिष्ठताले मलाई उसको नजिक-नजिक पुर्‍याएको थियो । ऊ के सोच्थी- मलाई कहिल्यै थाहा भएन । म दिलवाले छु भन्नेसम्म ठान्थी होली शायद ।

सहर हुँदै कलेजसम्म भ्यालेन्टाइन्स डेको चर्काचर्की आयो । हरेक ठिटा त्यसको तयारीमा थिए । यो संसारमा भ्यालेन्टाइन्स डेले कसैलाई भित्रैसम्म छोएको थियो त त्यो म थिएँ । त्यही दिन मैले राधिकालाई ‘आई लभ यु राधिका’ भन्नेवाला थिएँ, कार्ड पठाएर ।

भ्यालेन्टाइन्स डे आयो । ४५ रुप्पेको कार्ड किनें र लेखें, “राधिका, गाली नगरेस् तर म तँलाई असाध्यै मन पराउँछु । आई लभ यु ।”

मध्यान्तरमा सबै बाहिर निस्किएका बेला मैले राधिकाको ‘रिडिङ बिटविन द लाइन्स’ किताबमा कार्ड घुसारें । यसको कक्षा मध्यान्तरअघि भएकोले कक्षामै खोलिहाल्ने सम्भावना थिएन, ऊ घर गएर खोलेपछि देखाजाला ! भोलिको दिन कसले देखेको छ र !

कलेज सकिएपछि अर्को दिन कलेज नलागुन्जेल म धेरैपटक मरेर बाँचें । धेरै पटक मेरो सास अड्कियो, धेरै पटक मेरो मुटुले काम गरेन । कतिकतिखेर दिमागले एउटा सोच्थ्यो, काम अर्कै हुन्थ्यो । भात खाने बेला चिया खान्थें, अचानक पेट दुख्थ्यो । दौडिएर ट्वाइलेट जान्थें, आधा घण्टाजति टोलाउँथें । यो एकदिन बाँच्दाबाँच्दै सिंगो एक जुनीबराबर भइदियो ।

डराउँदै कलेज गएँ । राधिकासँग आँखा जुध्छ भन्ने डरले कक्षा सुरु भएपछि छिरें र छैटौं लहरमा गएर बसें । शिवे तेस्रो लहरमै बसेर खुरुखुरु श्याम सरले भनेको सार्दै थियो । उसले हिजो राधिकालाई पर्पोज त गरेन ? मन फेरि एकपटक ढक्क फुल्यो । छेवैमा राधिका पनि आफ्नै गतिमा नोट सार्दै थिई । श्याम सर के भन्दै हुनुहुन्थ्यो, एउटा अक्षर पनि कानबाट छिरेन । बेलाबेला राधिकालाई छड्के हान्थें, कापीसम्म कपाल झार्दै र बेलाबेला फट्कार्दै सारिरहन्थी ।

त्यसपछि दुइटा अरु कक्षा आए, गए, मध्यान्तर भयो । म सबैभन्दा पहिले कक्षाबाट निस्किएर क्यान्टिन गएँ । कुनामा गएर एक्लै बसें ।

राधिका, यमुना र अरुअरु बिस्तारै क्यान्टिन छिरे । म घोसेमुन्टो लगाएर चाउमिन तान्दै थिएँ ।

“ओए, राधिकाले बोला’छे, जाऊ रे !” कानैमा आएर यमुनाले फुस्फुसाएर भनी, “मन दह्रो बनाएर जाऊ ।” अनि ऊ हाँसी ।

म लुरुलुरु क्यान्टिनको कुनामा गएँ, जहाँ राधिका मलाई कुरेर बसेकी थिई ।

कानकै नजिक आएर राधिकाले सोधी, “ओए, त्यो कार्ड तैले हाल्या होस् किताबमा ?”

उसलाई ‘तँ’ भन्ने कलेजकै एकमात्र केटो म थिएँ, चिन्न गाह्रै परेन ।

त्यसमाथि अक्षर मेरै- भनें, “अँ, हो ।”

त्यसपछि ऊ फन्की, “तँलाई बाँदर, मरेस् ।”

उसले बाँदर भनेपछि एकाएक मेरो पुच्छर पलाएझैं भो, रुख चढेर बेस्सरी हाँगा हल्लाएझैं भो । पुच्छर हल्लाउँदै नाकमा काउकुती लगाएझैं भो । उत्तिखेरै ‘तिमी मेरी सुन्दरी’ भनूँभनूँ झैं लाग्यो । डरले भनिनँ, भनेको भए जगल्ट्याउँथी । मभन्दा अघि प्रकाशलाई उसले धोइसकेकी थिई, बिनापानी ।

० ० ०

घरको ठ्याक्कै अघिल्तिर धारा । बिहान र बेलुकी टोलभरिका मान्छे झुम्मिने चियापसलजस्तो- जहाँ बिन लादेनदेखि इन्द्रेका बाउले सर्प मारेकासम्म गफ हुन्थे । इन्द्रेले खुसुक्क भन्थ्यो, “बाले यत्रो मार्थे सर्प, माछा मार्ने गड्यौला हुन् सप्पै ।” इन्द्रे यानेकि मेरो जिग्री, जसले भर्खरको कल्कलाउँदो मेरो वैंशमा अनेक फूलबुट्टा भरिदिएको थियो ।

धारामा पानी थाप्न आउने करिब २० जनामध्ये कम्तीमा १० जनाको अनुहारका भावभंगी हेर्नलायक हुन्थे । कसैले फोल्डिङ दाँत हालेका, कसैले कपालमा कालो मोसो दलेका, कोही नानी पाउन ठिक्क परेर ठस्ठस् कन्दै उभिएका । तीमध्ये कपालमा मोसो दल्नेवाला इन्द्रेका बाउ थिए, जो चौथी ल्याउने तरखरमा थिए । यसअघिका तिन्टी ल्याउने बेला प्रत्येक पटक उनले कपालमा त्यसैगरी मोसो दलेका थिए ।

इन्द्रे सुनाउँथ्यो, “बाले र्‍याक गर्छन् यार गट्ठी, छोरोलाई खोज्ने बेला आफैं टप्काउँछन् जैल्यै । बुढाले मेरो जवानीलाई लात हान्छन् ।”

बाउ कन्याराशि भएकैले इन्द्रे अलि रंगिलो थियो । बाउले आमाहरू कसरी पट्याउँथ्यो, उसले सबै तिकडम बुझेको थियो । सेतै फुलेको टाउकोमा मोसो दलेको एक हप्ताभित्र उसकी अर्की आमा आइपुग्थी । आमा भित्र्याइसकेपछिका केही दिन ऊ फरक मान्छे हुन्थ्यो । कहिले उपद्रै खुसी भएर केटाकेटी कुट्दै हिँड्थ्यो, कहिले आफैं कुटिन्थ्यो । अलि च्याँटि्ठने आमा परेकी बेला ऊ भन्थ्यो, “यसपालि माल गतिलो परेन यार ।”

इन्द्रेका बाउ इन्डियन आर्मीमा थिए । बाउ आर्मीमै हुँदा आमाले उसलाई छाडेर अर्को घरजम बसाएकी थिई । रिटायर्ड भएर फर्किएपछि बाउले अर्की स्वास्नी भित्र्याएको थियो । तर रक्सी खाने बानीले गर्दा उसलाई सबैले छाडेर गए । रक्सीले टुन्न भएर ऊ धेरैपटक कटुवा खोलाको बगरमा चङ्ग्रङ्ग उत्तानो परेको भेटिन्थ्यो । कपाल फुले पनि मन फुलेनको थिएन, एउटी गए अर्की ल्याउँथ्यो ।

‘प्लेब्वाई’ बाउले सुनाएका रंगिला गफ इन्द्रले मलाई क्रमैसँग बताउँथ्यो । एउटी आमा भागेपछिको दुःखभन्दा अर्की कस्ती आउने हो भन्नेमा ऊ चिन्तित हुन्थ्यो ।

“यसपालि गतिली आमा आइनिन् भने त नेपालगन्जतिर जान्छु गट्ठी म,” ऊ भन्थ्यो, “राम्री परिन् भने तँलाई दुई पिलेट सुकुटी ख्वाम्ला, बुटोल रेस्टुरेन्टमा ।”

गाउँ, टोल, सहर सबैतिर चहार्ने हुँदा उसलाई हरेक घरका खबर थाहा हुन्थ्यो । सबैभन्दा बढी कसले कसलाई भगायो भन्नेमै उसको चियोचर्चा केन्दि्रत हुन्थ्यो ।

उसको संगत मेरो लागि बिन्दास टाइमपास थियो । एक्सनबाहेक कुनै फिल्मले नतान्ने मलाई उसले हलमा गएर लभस्टोरी हेर्ने बानी बसालेको थियो ।

अनि गीत गाएर हिरोइनलाई वशमा पार्ने हिरोजस्तै ठान्दै गएँ आफूलाई । हरेक भावभंगीका हिरोको सधैं एउटीमात्रै हिरोनी हुन्थी, राधिका ।

० ० ०

बेलुकी धारामा पानी थाप्न आउँदा इन्द्रेले चिच्याउँदै गाउँथ्यो-
“लाइदेऊ, लाइदेऊ माया लाइदेऊ, हे संगीता ! हे संगीता !”

यो गीत सुनेर संगीताले धारे हात लगाउँथी, “साले कुत्ता, मर्लास् … !”

इन्द्रे खितीतीती गर्दै कुलेलम ठोक्थ्यो ।

डल्लो अनुहार, कालो कपाल, त्यसमाथि हाइलाइट गरिएका आठ-दस वटा धर्का । गुलाबी सुरुवाल कुर्ता लगाएर बेलुकी ५ बजे संगीता धारामा आउँदा धेरैको ध्यान भंग हुन्थ्यो । इन्द्रेका बाउ, पसले प्रेमदाइ, ठेक्दार ध्रुव सबै चनाखो हुन्थे । अघिसम्म छट्टाएर गफ हाँकिरहेकाहरू संगीताको आगमनसँगै गम्भीर हुन्थे । उनीहरूको हाउभाउ देख्दा लाग्थ्यो- सबै संगीता भित्र्याउने दाउमा छन् ।

दाहिने कम्मरतिर खाली गाग्री लिएर संगीता धारामा आउँदा म दौडिएर घरको छतमा जान्थें, पढ्ने बहानामा ।

इन्द्रे बाउसँगै धारैमा हुन्थ्यो धेरैजसो । संगीता मस्किएर गफ गर्थी सबैसँग, त्यै बहानामा इन्द्रेसँग पनि मस्याकमुसुक गर्थी । इन्द्रे घरिघरि संगीताको नजिक पर्न खोज्थ्यो, बाउले आँखा सन्काएर आफूतिर बोलाउँथे । मलाई थाहा थियो, इन्द्रले जिस्काए पनि संगीताप्रति उसको भावना थिएन ।

सबैले पानी भरिसकेपछि संगीताले बडो सम्हालिएर गाग्री थाप्थी र भरेर थपक्क कम्मरमा राख्थी । कम्मरको डिलैमा गाग्री अडेस लागेर अँगालो पथ्र्यो । भरिएको गाग्री कम्मरमा ढल्किँदा तपतप पानी चुहिन्थ्यो र सुरुवाल छपक्कै हुन्थ्यो ।

उसले त्यसरी पानी थापेको, गाग्री अड्याएको र सुरुवाल भिजेको मलाई खुब मन पथ्र्यो । कहिलेकाहीँ छततिर हेरेर मुसुक्क हाँस्थी । उसको मुस्कान बतासले मछेउ ल्याउँथ्यो, समाएर थपक्क छातीको देव्रे कुनामा राख्थें । मन त्यसै खुसीले पुत्ताउँथ्यो ।

एकदिन इन्द्रेले सुनायो, “संगीता त नछुनी जातकी हो रे, बाले छेउ नपरेस् भन्या’छन् ।”
मलाई विश्वास लागेन, त्यस्ती रूपवती संगीता कसरी नछुनी हुनसक्छे ?

“तेरा बाउले जाँड धोक्छन्, जसलाई पनि जेप्पायो त्यै भन्छन् । सधैं हावा कुरा गर्छन् ।”

“हैन के, एकराजकी आमाले नि त्यै भन्थिन्, छुन हुन्न रे हाम्ले !”

मलाई रिस उठ्यो । ‘क्रान्तिवीर’ फिल्ममा नाना पाटेकरले भनेको डाइलग याद थियो, भनिदिएँ, “जसका बाउले, जसकी आमाले जे भने पनि मान्छेको रगत रातो हुन्छ । रगतै रातो भएपछि को सानो को ठूलो ?”

इन्द्रे ट्वाँ पर्‍यो ।

त्यसपछि पनि हरेक दिन संगीता सधैं गुलाबी सुरुवाल कुर्तामा धारामा आइरही, मैले छतमा गएर हेरिरहें ।
कुमारको भाउँतोमा लागेर देव्रे हातमा लेखेको ‘आर’ आलै थियो । इन्द्रेलाई कलेजका सबै घटना बेलुकी सुनाउँथें, ऊ रमाउँथ्यो ।

राधिका मसँग बोली ।

राधिकाले नोट मागी ।

राधिकाले माया गरेर ‘काले’ भनी ।

यस्ता गफ सुन्दा इन्द्रे रल्ल पथ्र्यो । कतिपटक त उसले पनि भन्थ्यो, “राधिकालाई चिठी लेख्, म पुर्‍याइदिन्छु । उसले फर्काइदिई भने नाम फेरेर संगीतालाई दिम्ला । कसका बाउको के जान्छ र ए गाँठे !”

म मरीमरी हाँस्थें । मलाई हँसाउन सकेकोमा ऊ पनि दंग पर्थ्यो ।

राधिकासँगको घनिष्ठता र संगीतासँगको दूरी- दुवैबीचको भेद म खुट्याउन सक्दिनथें बेलाबेला । दिउँसो कलेज जाँदा राधिकाबिना बाँच्न नसक्ने हुन्थें, बेलुकी धारामा संगीतालाई देख्दा मन कटक्क काट्थ्यो । घुँडासम्म फ्रक लगाएर बारुली कम्मर भाँच्ने राधिका राति सपनामा आउँथी, उत्तिखेरै रुप फेरेर संगीता बन्थी ।

संगीता पनि – सपनामै सही – धेरैपटक मेरो घर आई, मलाई घुमाई, आमालाई सघाई । ऊ पनि मेरो साइकलको पछाडि बसेर बाह्रकुने दह घुमी । साइकलमा बस्दा पछाडिबाट चपक्क समाउँथी, मलाई काउकुती लाग्थ्यो । र, ढुक्क हुन्थें- यतातिर शिवे थिएन, उसको बाइक थिएन ।

त्यस्तो समय पनि आयो, जतिबेला राधिका र संगीता को मेरी हो खुट्याउन सकिनँ ।

म दोबाटोमा थिएँ- एकातिर राधिकाको मायाले बोलाउँथ्यो, अर्कातिर संगीताको वैंशले ।

र, भ्यालेन्टाइन्स डे आयो- फेब्रुअरी १४ मा । कुमारको आँटले फुरुंग थिएँ ।

बजार गएँ, ४५ रुप्पेका दुइटा कार्ड किनें पानको पात आकारमा काटिएका ।

एउटामा लेखें, “राधिका, गाली नगरेस् तर म तँलाई असाध्यै मन पराउँछु । आई लभ यु ।”

अर्कोमा लेखें, “संगीता, नरिसाए है, म तिमीलाई असाध्यै मन पराउँछु । आई लभ यु । मलाई जातभात मन पर्दैन ।”

० ० ०

दिउँसो कलेजको क्यान्टिनमा राधिकाले ‘बाँदर’ भनेपछि म केही बोलिनँ । साला आँसु पनि झरेन । लाग्यो- अब राधिका कहिल्यै मेरी हुन्ने । मलाई माया गर्थी त किन रिसाएर बाँदर भनी ? बरु अलि समय कुरेको भए आफैं पो चिठी लेख्थी कि !

हर्नोकको डाँडोमा नाचेका सबै रिल फ्ल्यासब्याक भएर मनभरि नाच्न थाले ।

तर, आशा मरेको थिएन, इभिनिङ सिफ्ट त बाँकी नै थियो । संगीताले ‘आई लभ यु टु’ भन्ने सम्भावना पनि त छ नि !

संगीतालाई कार्ड दिने जिम्मा इन्द्रेको थियो । कुरामा जति फट्याइँ भए पनि इन्द्रे मभन्दा बढी लद्दु थियो । त्यसमाथि कहिल्यै केटीको फेला नपरेको मान्छे !

“सक्छस् यार तैले, नडरा,” मैले भरोसा दिँदै भनें, “रिसाइछ भने लेनिनले दिएको हो भनेर टाप कसेस् ।”
परिवार क्रिश्चियन भएकाले सबै चर्च गएका थिए । त्यही मौकामा इन्द्रेले संगीताको हातमा कार्ड थमाएर भागेछ, केही नबोली ।

दोस्रो दिनसम्म कुनै उत्तर आएन । राधिकाको गाली सुनेपछि यसै पनि मेरो मन ठेगानमा थिएन । अरु जे भए पनि ‘बाँदर’ भनेर गाली नगर्नुपर्ने । खुरुक्क ‘आई एम सरी, बट मैले तँलाई मन पराउन्नँ’ भनेको भए पनि त हुन्थ्यो !

‘बाँदर’ले धेरै बेरसम्म चस्काइरह्यो ।

० ० ०

तेस्रो दिन बिहानै इन्द्रे चिटचिट पसिना निकाल्दै आयो । र, झ्याल बाहिरबाट सुस्तरी भन्यो, “ओए, ह्याँ आ त, बर्बाद भो बे !”

‘बर्बाद’ भन्ने शब्दसँगै मेरो हंशले ठाउँ छोड्यो । लाग्यो- संगीताले पनि धोई क्यार !

“के भो ?”
“ला हेर् त स्याला, क्या केटी हो यार !”

हत्त न पत्त उसको हातबाट चिठी तानेर हेरें ।

चिठी देखेर दुइटै कान एक्कासि बम्म भए- पानीभित्र डुब्दा हुने सन्नाटाजस्तो । भित्रभित्रै नशामा असारे भल बगेजस्तो गह्रुंगो भयो । आँखा धमिला भए । रुद्रघण्टीनेरै आएर सास अड्कियो ।

संगीताले लेखेकी थिई, “आई लभ यु टू, इन्द्र । जातभातको कुरा मन पर्दैन भन्यौ, खुसी लाग्यो ।”

त्यसको धेरै बेरसम्म इन्द्रेको मुखमा हेर्न सकिनँ । भर्खरै उदाउन लागेको सूर्यले पनि भत्भती पोलेजस्तो लाग्यो ।

विलियम सेक्सपियरले कतै लेखेका थिए, “नाममा के छ र ?”

तर, नाममा धेरैथोक हुन्छ ।

मैले कार्डमा त्यही नाम छुटाएछु !!

 / LENDAAI

(अजित बरालद्वारा सम्पादित ‘फस्ट लभ’ नामक पुस्तकको अंश । यो पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो ।)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.