OCTOBER 31, 2015 / LENDAAI
ऊ फेरि चिच्याई !
उस्तै नमीठो र कर्कश स्वर !
यो लगातार आठौं दिन थियो । अघिल्लो शनिबारदेखि आजको शनिबारसम्म हरेक दिन राति ९ बजेतिर ऊ यसैगरी चिच्याइरही ।
दिनभरि लखतरान भई सुतेर थाकेपछि निदाउनै लागेको थिएँ, चिर्रर चिच्याएको सुनेपछि जर्याकजुरुक उठें । मलाई असह्य भइसकेको थियो ।
घडीको सुईं ९ बाट नेटो काटेर १० मा उक्लियो । अनि क्रमशः शिथिल हुँदै गयो ।
कोठा सरेर आएको १२ दिनयता ८ दिन पल्लो घरबाट आउने यस्तै कर्कश स्वरले मेरो शरीरमा तरंग ल्याएको थियो । सुरुसुरुमा छिमेकीकी छोरी रोई होली भनेर ध्यान दिइनँ । २ दिन, ३ दिन हुँदै पूरै हप्ता बितिसक्दा पनि त्यो रुवाइ हराएन । एउटै समय, एउटै लय, एउटै बच्ची !
म बिरालोको चालमा बाहिर निस्किएँ । कालो ग्रिलको ढोकानेरै पुगेर अडिएँ र चनाखो भएर सुनें । भित्र चाइँचुइँ केही थिएन । अलि बेर अडिएँ । गेटमा बिस्तारै छोएको मात्र थिएँ, कटकट च्वाइँय्य गरेको आवाज आयो । भित्रको कुकुर जोडले भुक्यो । डरैडरले उल्टो पाइला फर्किएँ– बिरालोकै चालमा ।
अलिबेरमा सन्नाटा छायो । सन्नाटासँगै मेरा कान चनाखो हुन्छन् । फोर्समा हुँदा सिनियरहरु भन्थे, “शान्त तलाउमा ढुंगा फ्याँक्दा ठूलो तरंग आउँछ । वरपर सन्नाटा छ भने बुझ्नू– त्यहाँ जतिखेर पनि तरंग आउन सक्छ ।”
नभन्दै एकैछिनमा तरंग आयो । बच्ची फेरि रोई ।
ऊ एकछिन चिच्याएपछि वयस्क पुरुष र महिलाको आवाज सुनियो तर प्रष्ट बुझिएन । बोली नबुझिए अन्दाज लगाउन सकिन्थ्यो– उनीहरु बच्चीलाई हकार्दै छन् । खहरे आकाश गड्याङगुडुङ गरेर रोकिएझैं निमेषमै सबै चुपचाप भए । बच्ची रुन छाडी, उनीहरु कराउन ।
फेरि सन्नाटा छायो । सन्नाटासँगै मेरो मनको तुफान ‘बुलिस ट्रेन्ड’मा बत्तियो ।
३० वर्षको पुलिसको जागिरले मलाई हरेक कुरामा शंकालु बनाएको थियो । शंका कहिल्यै शून्यतामा जन्मिन्न, यसका पनि केही क्रोमोजोम हुन्छन् । पात हल्लिन हावा चल्नैपर्छ भन्ने हुन्न, हातैले रुख हल्लाउने हो भने पनि पात आफ्नै लयमा हल्लिन्छ । तर, शंका जन्मिन शंकाको भ्रुण बसेकै हुनुपर्छ । मैले यही सिकेको थिएँ ।
० ० ०
म बिहान १० बजे उठ्दा पल्लो घरमा केही मान्छे ओहोरदोहोर गर्दै थिए । छेवैबाट भुर्रर बाइक कुदेर अलप भयो ।
वरपर कोही थिएनन्, घाँटी तन्काएर पर्खालभित्र हेरें– एउटी अधवैंशे महिला भित्तामा ढाड तेर्स्याएर चोर औंलाले देखाउँदै कसैलाई केही अह्राउँदै थिइन् । पर्खाल त्यस्तै साढे ३ फिटजतिको हुनुपर्छ, मैले कुर्कुच्चा उठाएर तन्किँदा महिलाको छातीसम्ममात्रै देखें । गुलाबी सुरुवाल कुर्तामा ठाँटिएकी ती महिलाका औंलैभरि औंठी थिए । उनी र मेरो दूरी लगभग २० मिटर थियो । उनले नदेखून् भनेर म कुनाको पिलरले छेलिएँ ।
“एकपटक भनेर सुने पो हुन्छ, पानी खन्याएर ब्रुसले दल् त,” तिखो स्वरमा उनले हातको हाउभाउ निकाल्दै चिच्याइन्, “सुख्खा सिमेन्टीमा दलेर हुन्छ ? पानी हाल् ।”
मैले उनको वायाँ भागमात्रै देख्थें । उनी पूर्वतिर फर्किएर उभिएकी थिइन् । उनको वायाँ गालामा अचम्मको खतजस्तो देखिन्थ्यो ।
एकपटक चर्किएर बोलेपछि उनी बोल्न छाडिन् । त्यसपछि एकटक खस्यारखस्यार आवाज आइरह्यो– खाक्सीले प्लाइउड दलेझैं । करिब २ मिनेटजति भुईं खस्रिएपछि आवाज आउन छाड्यो । म अलि तन्किएँ ।
“यत्रो उमेर हुँदा हाम्ले संसार भ्याउँथिम्, अचेलका केट्केटीको ताल हेर,” उनी गनगन गर्दै थिइन्, “कस्तो साइतमा ल्याइएछ कुन्नि यस्लाई !”
उनी बोल्नुभन्दा बढी हातको हाउभाउ गर्थिन् । बेलाबेला नबोली हात फन्काउँदा भर्खरको सिकारु नाच्न थालेजस्तो देखिन्थ्यो ।
गोजीको मोबाइल घ्यार्रर गर्यो । एकटकले पर्खालभित्र हेरिरहँदा एकाग्र भएछु, आवाजले झस्किएँ । घन्टी सुनेर महिलाले चाल पाउलिन् भनेर थचक्क भुईंमा बसें ।
उमेशले गरेको रहेछ ।
“साप्, फ्ल्यास न्युज हेरिसियो ?” ऊ हडबडाएझैं बोल्यो, “वीरेनलाई समात्यौं । वि सक्सिड ।”
ख्याति हत्याकाण्डले सिंगो राजधानी उम्लिएको थियो । मैले यो घटनालाई एकदमै चाखपूर्वक हेरिरहेको थिएँ । अनुसन्धान गर्ने केटो (उमेश खत्री) मेरै अन्डरमा थियो कुनै बेला ।
अखबारहरुले यसबारे निरन्तर खबर छापिरहेका थिए, त्यसैले यसका हरेक अपडेटका लागि मान्छे उत्सुक थिए ।
त्यस्तै उत्सुकमध्ये म पनि थिएँ । कारण– यो एउटी बालिकाको हत्यासम्बन्धी केस थियो । म कहिल्यै बाउ बन्न नसकेको मनोविज्ञानले कताकता छाप पारेको थियो । वीरेन भन्ने मान्छेप्रति भयंकर ठूलो आक्रोश पलाउनुमा पनि शायद यही मनोविज्ञानको प्रभाव थियो ।
“ग्रेट, एन्ड कङ्ग्य्राचुलेसन्स्,” स्पिकरलाई दायाँ हातले ढाकेर बिस्तारै बोलें, “कम फ’ कफी टुमरो, गफ गरौंला ।”
“थ्यांक यु सर, म आउँछु !”
इन्स्पेक्टर भएयता उसको यो सबैभन्दा ठूलो र जबर्जस्त सफलता थियो । बेलैमा बिहे गरेर बेलैमा कुरो मिलेको भए शायद ऊजत्रो मेरो छोरो हुन्थ्यो, या छोरी हुन्थी !
फोन राखेर जुरुक्क उभिँदा त्यहाँ मान्छे थिएनन् । म त्यही भित्तामा अडेस लागेर उभिइरहें धेरै बेर । पर्खालभित्र कुनै गतिविधि थिएनन् । म सिधै घरभित्र छिर्न सक्दिनथें ।
१ घण्टा बित्यो, घडी घुम्दै २ बजायो । उभिँदाउभिँदा खुट्टा गले, भित्रबाट कुर्सी ल्याएर बसें । ३ पनि बज्यो ।
अहँ न भित्रका मान्छे बाहिर निस्किए, न बाहिरबाट मान्छे भित्र गए ।
साढे ३ बजे फुच्ची बाहिर निस्किई । हातमा पैसा थियो । रातभरि रोइरहने फुच्ची शायद त्यही थिई, जसलाई म पहिलोपटक आँखाले देख्दै थिएँ ।
ऊ हतारिएर गेटबाहिर निस्किई र खुर्रर दौडिई । म कुर्सीबाट जुरुक्क उठेर बिस्तारै पछिपछि लागें । करिब २ सय मिटरजति पर पसलमा गएर पाउरोटी र दूध किनी । म आधा बाटोमै उभिएर पर्खिएँ ।
ऊ त्यसैगरी खुर्रर दौडिएर फर्किई । मलाई नहेरी मेरै छेउबाट हावाझैं गई ।
“ए नानी सुन त,” मैले पछाडिबाट बोलाएँ, “स्यानो काम छ ।”
ऊ पछाडि नफर्किई सरासर हिँडी । अलि जोडले चिच्याएँ, “ए नानी… पख न !”
सुनेको नसुन्यै गरेर उसले गेट खोली र भित्र छिरी । म त्यही ठाउँमा उभिइरहें ।
१५ मिनेटसम्म पनि ऊ आइन ।
साँझ पर्यो, रात पर्यो । घडी हेरें– ९ बजेको रहेछ ।
टिभीमा ख्याति हत्याकाण्डकै समाचार र स्कुले विद्यार्थीले गरेको प्रदर्शनीसम्बन्धी खबर आइरहेको थियो ।
९ बजेर १० मिनेट जाँदा पल्लो घरमा त्यही फुच्ची चिच्याई ।
नेपथ्यमा कताकता कुकुर भुकिरहे । कुकुरसँगै फुच्ची हिँक्कहिँक्क गरिरही ।
० ० ०
बिहानै बाइकको एक्सिलिरेटर बटारेको सुनेपछि झ्यालबाट चिहाएँ । हेलमेट लगाएको एकजना मान्छे र पछाडि महिला थिइन्, जसलाई मैले हिजो पर्खालभित्र देखेको थिएँ ।
बाइकको इन्जिन तातिएपछि उनीहरु हुइँकिए ।
घरमा कोही नभएपछि म गेटभित्र छिरें । फुच्चीले हिजोझैं बरन्डा घोटिरहेकी थिई ।
म टक्क उभिएँ, उसले पुलुक्क मेरो अनुहार हेरी र फेरि चुपचाप भुईं घोट्न थाली ।
यो त्यही फुच्ची थिई, जो ९ दिनदेखि हरेक रात रोइरहन्थी । उमेर पनि ९ वर्ष काटेकी थिइन । तर, सानै उमेरमा कामको भीमकाय बोझले ख्याउटिएर नित्रिसकेकी थिई ।
मैले हिजो जुन लुगामा देखेको थिएँ, आज पनि त्यही आकाशे सर्ट, जामा र सुरुवाल थियो शरीरमा । कपाल भने कसैले बाटिदिएको झैं थियो, सर्लक्क परेको ।
छेउको बाटामा टालो चोब्दै भुईं घोटिरही एकनासले । म उभिइरहँदा पनि उसले ध्यान दिइन । मलाई अचम्म लाग्यो ।
“नानी, तिम्रो नाम के हो ?” आइसब्रेक गरें ।
ऊ आफ्नै गतिमा भुईं पुछ्दै थिई । हिजो बोलाउँदा पनि तर्केर हिँडेदेखि मलाई लागेको थियो– ऊ मसँग डराउँछे ।
केही बेर अडिएर उत्तर पर्खिएँ । ऊ केही बोलिन । भित्रबाट मुढा ल्याएर छेउमा राखिदिई ।
“तिम्रो नाम सोधेको नानी, के हो ?” दोस्रो पटक त्यही प्रश्न गरें । उत्तर दिनु त कता हो कता, उसले मेरो मुखमा समेत हेरिन ।
वरिपरि हेरें, कोही थिएनन् । उसले बरन्डा सबै पुछेर चम्काई । अलि परबाट बाल्टिनमा पानी ल्याएर खन्याई र सिठाको झाडुले धोई ।
यति गर्दा उसको शरीरको आधा भाग भिजिसकेको थियो । घरिघरि पुलुक्क मेरो अनुहारतिर हेरेजस्तो गर्थी । म एकटक उसलाई हेरिरहेको छु भन्ने छनक पाएर उत्तिखेरै नजर हटाएर भुईंतिर लैजान्थी ।
हातको इसाराले बोलाएर अलि जोडले चिच्याएँ, “नानी, कान सुन्दिनौ कि के हो ? अघिदेखि बोलाइरा’छु त झन् !”
हात फन्काएर बोलाएपछि उसले आँखा सोझ्याएर मतिर हेरी । हातैले इसारा गरी । दाहिने हात कान र मुखमा लगेर पाँच वटा औंला पूर्व–पश्चिम घुमाई ।
प्रष्ट थियो–– ऊ कान सुन्दिनथी, बोल्न सक्दिनथी ।
मेरा आँखा खुलेका खुल्यै भए ।
मनमा उनेर राखेका कैयौं प्रश्न अवशेष बनेर भित्रै कतै हराए । हाउभाउमा उसको नाम कसरी सोध्ने ? घर कहाँ, कसरी थाहा पाउने ? ऊ रातभरि किन रुन्छे, पत्तो कसरी लाउने ?
फेरि उस्तै सन्नाटा छायो । ऊ चाहेर पनि बोल्न सक्दिनथी, म सक्थें र पनि बोल्न सक्दिनथें ।
जेठको अन्तिम भइसक्दा पनि पानी परेको थिएन । गर्मीले सिंगो देश प्याकप्याक थियो । यस्तो गर्मी यसअघि कहिल्यै थिएन । सूर्य यतैकतै चन्द्रागिरिवरपर आएर घुमिरहेझैं लाग्थ्यो ।
त्यसमाथि मभित्र अर्को जेठको धुपौरो उम्लिरहेको थियो ।
० ० ०
लोग्ने–स्वास्नी घाम नअस्ताउँदै फर्किए । बाहिर मोटरसाइकल आइपुग्दा म आफ्नो कोठामा बसेर समाचार हेर्दै थिएँ ।
लोग्ने–स्वास्नी गेट खोलेर भित्र छिरेपछि म बाहिर निस्किएँ । बिस्तारै गेट खोलेर डोरबेल बजाएँ ।
माथिल्लो तलाको झ्यालबाट टाउको झिकेर महिला कराइन्, “कल्लाई खोज्नुभो ?”
मैले पुलुक्क माथि हेरेर भनें, “तपाईंलाई नै हो, तल आउनुस् । श्रीमान्लाई पनि बोलाउनुस् ।”
उनले अनौठो मानेर हेरिन् । शायद अहिलेसम्म नदेखेको अनुहार भएर होला । त्यसमाथि मेरो आवाज थियो नै त्यस्तै ।
“कसलाई खोज्नुभएको ?” ढोका खोल्दै सोधिन्, “चिनेनौं नि !”
“तपाईंले चिन्नुहुन्न, म चिन्छु,” मैले आफ्नै पाराको उत्तर दिएँ, “चिनजान गर्दै गरौंला– पहिले फुच्चीलाई बोलाउनुस् ।”
अचम्म मानेझैं उनले आँखा फट्टाएर हेरिन् ।
भनें, “पुलिस हुँ, सोधपुछ गर्नु छ ।”
लोग्ने–स्वास्नी एकाएक अँध्यारा भए ।
“हजुर ?” लोग्ने लर्बराउँदै बोले, “के भो र कसलाई ?”
पुलिस भन्नेबित्तिकै उनीहरुको अनुहारबाट कान्ति हरायो । बेलुकी घरमा एकाएक पुलिस आउँदा जोकोही चकित पर्छ ।
महिला भित्र छिरेर फुच्चीलाई लिएर आइन् । त्यतिन्जेल कोही कसैसँग बोलेन ।
“ल यहाँ बस्नुस्,” पेटीमा देखाउँदै भनें, “अलि लामै कुरा छ ।”
फुच्चीलाई वर सारें ।
“यी नानी को हुन् ?” मैले धेरै बेर कुरिनँ, ९ दिनदेखिको एक–एक हिसाब लिनु थियो ।
बिहान पुछेर टल्काएको बरन्डामा फुच्ची टुसुक्क बसी । ऊसँगै लोग्ने–स्वास्नी पनि क्रमैसँग त्यही बरन्डामा बसे ।
ममा धैर्य थिएन ।
“भन्नुहुन्छ कि भ्यान बोलाऊँ ?” लोग्नेको काँध हल्लाउँदै भनें ।
गोजीबाट मोबाइल निकालेर डायल गरेझैं गरें । लोग्ने जुरुक्क उठेर च्याप्प मोबाइल समात्यो ।
“सर, उसको नाम पार्वती हो, त्यसबाहेक अरु केही थाहा छैन,” उसको बक फुट्यो, “हामीलाई नि अर्कैले ल्याएर दिएको हो ।”
त्यो ‘अर्कैले ल्याएर दिएको’ वाक्यले मलाई घोच्यो ।
“कसले ?” जंगिएँ, “को हो त्यो ?”
उनीहरु नबोली घोसेमुन्टो लगाएर बसिरहे । मैले झक्झकाएँ । लोग्नेले मोबाइल झिकेर खेलाइरह्यो ।
“सर, सन्ते भन्ने मान्छेले ल्याएर दिएको । बल्ल आज १५ दिन त भयो ल्याएको,” ओइलाएको स्वरमा लोग्नेले भन्यो ।
“रातभरि किन रुन्छे ? कोर्रा हान्नुहुन्छ ?” उसको बोली भुईंमा खसिनसक्दै म कड्किएँ ।
लोग्ने–स्वास्नी कालोनीलो भए । मरुभूमिमा तिर्खाएको फकिरझैं ओठमुख सुके ।
“त्यो सन्ते भन्ने मान्छेलाई २० हजार तिरेर ल्याका हम्,” लोग्ने नबोलेपछि श्रीमतीले मुख खोली, “त्यसबाहेक हामीलाई केही थाहा छैन सर ।”
पुलुक्क फुच्चीतिर हेरें । संसारबाट बेखबर रहेर ऊ ट्वाल्ल परेर घरि मतिर हेर्थी, घरि मालिक–मालिक्नीतिर ।
“केटाकेटीलाई यसरी काममा जोत्दा सजाय के हुन्छ थाहा छ ?” उस्तै रवाफमा कड्किएँ ।
उनीहरु फुच्चीझैं चुपचाप थिए ।
“खैर, तपाईंहरुको हिसाब गर्दै गरौंला, मलाई सन्तेको ठेगाना भन्नुस् ।”
‘एकछिन है’ भन्दै महिला भित्र छिरिन् र छिनमै आइन् । कागजमा टिपेको ठेगाना देखाएर भनिन्, “कुलेश्वर सब्जीमन्डीनेर बस्छ सर । मन्दिरदेखि खोला छिर्ने बाटोको तेस्रो पसल ।”
कागज समातेर मोबाइल झिकें र फुच्चीको फोटो खिचें । गेटबाहिर आएर उमेशलाई फोन गरें र कुलेश्वर बोलाएँ । गेटबाहिर निस्किनै लाग्दा पछाडि फर्केर सोधें, “तपाईंको नाम के हो ?”
लोग्नेले फटाफट भन्यो, “मेरो दिनेश, उनको सावित्री ।”
० ० ०
हामी सरासर तेस्रो पसलमा गएर टक्क अडियौं ।
तराजुमा आलु जोखिरहेकी महिलाई सोध्यौं, “सन्ते खै ?”
उनले स्वाभाविक नजरले हामीतिर हेरिन् र चिच्याएर बोलाइन् । भित्रबाट भर्खरको ठिटो निस्कियो । उमेर त्यस्तै २८–२९ वर्षजतिको थियो । पहेंलो टि–सर्ट र जिन्स हाफपाइन्ट लगाएर अदवले उभियो ।
“भन्नुस्, के चाहियो ?” दुवै हात काखीमुनि बाँधेर अन्दाजले सोध्यो ।
उमेश मतिर हेरेर फिस्स हाँस्यो । हाँसोको अर्थ थियो– केटोले अब पक्का दुःख पाउँछ । म पनि उसैगरी फिस्स हाँसें ।
हेर्दा दक्षिण भारतीय फिल्मको साइड हिरोझैं लाग्ने सन्तेले ‘तेरे नाम’ अन्दाजमा कपाल पालेको थियो । उस्तै परे भीडमा पकेटमार भनेर सोझै चिनिने लवाइ थियो । यस्ता मान्छे हामी आँखा चिम्म गरेर चिन्छौं ।
“लु आऊ भाइ बाहिर, आलुको हिसाब गर्नु छ,” उमेशले उसको हात समातेर बिस्तारै तान्यो । केटो अक्क न बक्क पर्यो । अलि वर मन्दिरतिर ल्यायौं ।
मोबाइल खोलेर बच्चीको फोटो देखाएँ, “चिन्छस् ?”
ऊ हच्कियो । घोप्टिएर फोटो हेर्दा आँखाअघि झुल्किएको जुल्फीलाई झट्कारेर पछाडि धकेल्यो र भन्यो, “खै हेरम् त !”
हातमा मोबाइल लिएर एकछिन गढ्यो । दायाँ हातका तीन वटाजति औंला ओठ वरपर लगेर पियानो बजाएझैं गर्यो ।
“थाहा छैन सर, देखेकै छैन अहिलेसम्म ।” उसले बोलिसकेको थिएन, उमेशले झ्याम्म गाला पड्कायो ।
“तेरिमा बज्या, फेरि भन् त,” उमेशले मुठीभरि जुल्फी समातेर कड्कियो, “देखेकै छैनस् ?”
सन्ते रातोपिरो भयो । वायाँ गाला सुम्सुम्याउँदै उसले तरर आँखा भिजायो ।
“मलाई केही थाहा छैन साप्, पन्थीले ल्याइदेको हो,” हड्बडाउँदै बोल्यो, “२–३ हप्ताअघि अनामनगर पुर्याइदेको हुँ ।”
उसको हात गालामै थियो । हामीतिर आँखा जुधाउन नसकेर भुईंतिर हेरिरहेको थियो ।
सन्तेको रूप ‘तेरे नाम’बाट फेरिएर एकाएक ‘हम दिल दे चुके सनम’ भएको थियो । पुलिसको झापड एक, दर्द अनेक भनेको उसले बुझ्यो होला ।
“को पन्थी ?” उमेशले उसको पहेंलो टिसर्ट झट्कारेर आफूतिर सा¥यो ।
“नारायण पन्थी हो सर, सबैले आइते भन्छम्,” फेरि गाला पड्किन्छ भन्ने डरले टाउको ह्वात्तै पछाडि सार्दै सन्ते बोल्यो, “हनुमानथानमा बस्छ ।”
उमेशले उसलाई हुत्याइदियो । मन्दिरको भित्तामा ट्याक्क अडिएर उसले दायाँ खुट्टा भित्तामा अड्यायो अनि फेरि अन्दाजले उभियो ।
० ० ०
हनुमानथानबाट किस्ट बैंक पुग्नुअघिको गल्लीबाट अलि माथि पुगेपछि मोड आउनुअघि सन्तेले भन्यो, “सर, मलाई नलैजानुस् है, घर ऊ त्यही हो ।”
सन्तेले रातो चाइनिज इँट्टाले बनेको घर देखायो । जानुअघि भनें, “यहीँ बस्, कतै गइस् भने खुट्टा भाँच्छु ।”
ऊ त्यहीँ उभियो । ‘तेरे नाम’को जुल्फी मालिंगाजस्तो भइसकेको थियो । त्यही घरमा गयौं, जहाँ सन्तेले भनेको थियो । ढोका खोल्न पनि त्यही मान्छे आयो, जसको हुलिया सन्तेले बताएको थियो । घरमा ऊबाहेक कोही थिएनन् ।
“यो बच्चीलाई चिन्छस् ?” घरभित्र छिरिनसक्दै मैले मोबाइल झिकेर फोटो देखाएँ ।
आइते एकाएक कालोनीलो भयो ।
“कसलाई के भयो सर ?” हड्बडाएर सोध्यो ।
“धेरै नाटक नगर्,” उमेश अघि सरेर भन्यो, “काँबाट ल्याइस् यो नानीलाई ?”
आइते चारैतिरबाट फसिसकेको थियो– के बोलोस् !
सेतो बन्डी र हाफ पाइन्टमा उभिएको आइतेको शरीरमा पसिनाका धारा चुहिए । गर्मीले हो या डरले– ऊ प्याकप्याक थियो । नजिकैको बोतल उठायो र घटघटी पानी खायो ।
“बस्नुस् न सर,” निगालोका कुर्सी देखाएर भन्यो, “बसेरै कुरा गरम् ।”
हामी कुर्सीमा बस्यौं ।
“म मान्छे चिन्दिनँ सर,” सुस्तरी बोल्यो, “मलाई पनि अरुले ल्याएर दिएका हुन् ।”
उमेशले उसको बन्डी समात्यो, “को अरु भन् ।”
लल्याकलुलुक गलेर आइतेले भन्यो, “नाम थाहा छैन सर, फोन नम्बरमात्रै छ ।” अलि परको टेबुलबाट मोबाइल ल्याएर हेर्दै भन्यो, “९८०११६८८९६ । लास्ट टाइम यही मान्छे आएको थियो ।”
आइते पूरै ओइलाएको थियो । हामीले त आफ्नो परिचय पनि दिएका थिएनौं ।
“चिन्दै नचिनेको मान्छेले कसरी ल्याएर दिन्छ तँलाई ?” उमेश पाखुरा सुर्किंदै बोल्यो, “उल्लू बनाउँछस् ? तेरिमा स्वाँठ !”
आइतेले आँखा फट्टाएर हामीतिर हेर्यो र फरर भन्यो, “होइन सर । हामीलाई मान्छे चाहियो भने यही नम्बरमा फोन गर्छौं । अरु नै मान्छेले ल्याइदिन्छ, पैसा उसैको हातमा पठाइदिन्छौं । आउने मान्छे फरक–फरक हुन्छन् सर ।”
उसको कुरा सुनेर मलाई ठूलै नेक्ससको गन्ध आइसकेको थियो । उमेशलाई पनि त्यस्तै लागेछ– भन्यो, “ठूलै माछा हो सर । आई थिंक वि आर अन अ राइट ट्रयाक ।”
मैले मुन्टो हल्लाएर आइतेलाई सोधें, “कतिमा किन्छौ ?”
“मान्छे हेरेर हुन्छ सर । १० वर्षसम्मकोलाई १५ हजार, १५ वर्षसम्मकोलाई ३५ हजार र २० वर्षसम्मकोलाई ५० हजार ।”
एकै सासमा उसले रेट भन्यो । उमेश र मैले सम्भवतः पहिलोपटक यस्तो केस ह्यान्डल गर्दै थियौं ।
थचक्क कुर्सीमा बस्यौं । मेरो दिमागमा अजंगको जालो घुमिरहेको थियो ।
उमेशले फोन झिकेर डायल गर्यो ।
“कार्की साप, नम्बर नोट गर्नुस् त–– ९८०११६८८९६ । इमडियिट्ली सर्भिस प्रोभाइडरमा चिठी पठाउनुस् । आजै कल डिटेल र लोकेसन चाहिन्छ ।”
मैले त्यही नम्बरमा डायल गरें– सम्पर्क हुन सकेन भन्यो । करिब १० पटक डायल गर्दा पनि लगातार त्यही सूचना आइरह्यो ।
हनुमानढोकाबाट चिठी पठाएको करिब २ घण्टाजतिमा कल डिटेल र अन्तिम लोकेसन थाहा हुन्छ । यो केसमा यस्ता प्राविधिक समस्या आइपर्छन् भनेर मैले उमेशलाई बोलाएको थिएँ ।
घडी हेरें– सवा ३ बजेको थियो ।
उमेशतिर फर्केर सोधें, “यहीँ बस्ने कि हनुमानढोका जाने ?”
उमेशले आइतेतिर फर्किएर सोध्यो, “के छ विचार ? यहीँ बस्ने कि हनुमानढोका जाने ?”
आइते लगलग भयो । अघिदेखि करिब २ जग पानी रित्याइसकेको थियो । यसबीचमा करिब ५ पटक ट्वाइलेट गइसकेको थियो ।
दुई हात जोडेर लम्पसार पर्यो, “मेरो केही दोष छैन हजुर, मैले त काम गर्ने मान्छे पुर्याइदिनेमात्रै हो । कसम से, मलाई केही थाहा छैन सर ।”
कोही केही बोलेनौं । २ घण्टा पनि बित्यो । उमेशको मोबाइल बज्यो ।
“हजुर… हजुर… नुवाकोट ? जिलिङ ?” उसले डायरीमा टिप्यो, “हजुर…हजुर… ए ! अनि कसको नाममा रजिस्टर्ड छ ?”
सबै टिपिसकेर उमेश मतिर फर्कियो ।
“सर, नाम भेषराज बुढाथोकी हो रे ! अस्ति, हिजो र आज बिहान ११ बजेको लोकेसन एउटै छ । ११ बजेदेखि फोन स्विच्ड अफ छ । धेरैजसो अफ नै हुन्छ मोबाइल, के गर्ने ?”
“केही नगर्ने, भोलि बिहानसम्म कुर्ने, मोबाइलमा प्रयास गरिराख्ने, अन भएन भने जाने ।” मैले सहज रूपमा भनें ।
“यसलाई के गर्ने सर ?” आइतेलाई देखाउँदै उमेशले भन्यो ।
“यसलाई हनुमानढोका लैजाऊ, बाँकी केरकार उतै गर्नू ।”
म बोलिनसक्नै आइतेले पिलित्त आँसु झार्यो ।
० ० ०
भोलिपल्ट बिहान ११ बजेसम्म पनि आइतेले दिएको मोबाइल नम्बर अन थिएन । उमेशलाई फोन गरें ।
“फोन लाग्दैन, उतै जानुपर्ला जस्तो छ ।”
“सर, आज विरेन र मेरिनालाई अदालतमा पेस गरेर म्याद लिनु छ,” उमेशले भन्यो, “के गर्ने ?”
ख्यातिको केस अनुसन्धान गर्ने उमेश अदालत जानैपर्थ्यो । म एकदिन अरु कुर्न सक्ने अवस्थामा थिइनँ । यो केसले ममा रस भरेको थियो ।
“म जान्छु, यु क्यारी अन,” फोन राख्नुअघि भनें, “टेक्निकल सपोर्ट चाहिए भन्छु, अलर्ट रहनू ।”
‘हस् सर’ भनेर उमेशले फोन राख्यो ।
म सरासर छिमेकीको घरभित्र छिरें । उनीहरुलाई कहीँ नजान हिजै भनेको थिएँ । लोग्ने–स्वास्नी हतास अनुहारमा शायद मलाई नै पर्खेर बसेका थिए । पार्वती पनि उनीहरुसँगै थिई । सब चुपचाप थिए ।
“ल नानी हिँड,” इशारामा बोल्दै उसको हात समातेर तानें ।
लोग्ने–स्वास्नी मुखामुख गरे ।
“गोजीमा २५–३० हजार राख्नुस्,” दिनेशलाई भनें, “बाँकी हिसाब यतै आएर गरौंला ।”
ऊ असमञ्जसमा पर्यो । त्यहाँ के भइरहेको छ, उसले भेउ पाएको थिएन ।
“किन सर ?”
“यो नानीको घरमा दिन । बाँकी कानुनी कुरा फर्किएर गरौंला ।” मैले नअडिएर जवाफ दिएँ ।
मैले उसलाई पनि साथै लिएर जान लागेको छनक पाएपछि दिनेशको अनुहारबाट चमक गायब भयो ।
“म पनि जाने हो सर ?” मेरो आँखामै नहेरी उसले सोध्यो । मैले मुन्टो हल्लाएर ‘अँ’ भनें । ऊ सरासर भित्र गएर एकछिनमा फर्कियो ।
हामी गाडी चढ्यौं ।
० ० ०
काठमान्डूबाट ४ घण्टा उत्तर–पश्चिम हिँडेपछि देवीघाट आइपुग्यो । त्यहाँबाट करिब डेढ घण्टा उकालो लागेपछि जिलिङ आयो । सल्लाघारीलाई छेउ पार्दै उकालो लागिरहँदा मैले दिनेशलाई सोधें, “३ महिना के गरी काट्ने हो जेलमा ?”
ऊ केही बोलेन । काठमान्डूबाट हिँडेदेखि कोही कसैसँग बोलेको थिएन । पार्वती त जन्मजात नबोल्ने थिई, दिनेश पनि ऊजस्तै चुपचाप र शान्त थियो । शब्द हुँदाहुँदै पनि निःशब्द हुनुजत्तिको पीडा अरु के होला र !
बाटोमा क्रमैसँग तीन वटा चौतारा आए, गए । कच्ची बाटोको धूलो उडाउँदै गाडी आफ्नै गतिमा हुइँकियो । स्कुल, गाविस भवन, हेल्थपोस्ट आउँदै, हराउँदै गए । हामी डाँडोको टुप्पातिर आइसकेका थियौं, जहाँबाट पूरा नुवाकोट देखिन्छ । अलि पर पुगेपछि केही पसल देखिए । गुचमुच्च परेका ६–७ वटा पसलको गाउँले बजार रहेछ ।
गाउँ छिरिनसक्दै एक हुल मलामी शंख फुक्दै खोलातिर झर्दै थिए । बाटो साँघुरो भएकाले किनारामा गाडी रोकें । १०–१२ जना मलामीमध्ये धेरैजसो बूढा थिए । उनीहरुलाई देखेपछि पार्वती फुत्त बाहिर निस्की । सबैभन्दा अगाडि काँधमा शव बोकेको मान्छे उसलाई देखेर टक्क अडियो । पाइला जहाँका तहीँ रोकिए । ऊसँगै अरु ३ जना पनि ठिंग उभिए । मुखामुख गरे ।
काँधबाट शव भुईंमा राखेर एकजना बूढाले तरर आँसु झारे र पार्वतीलाई सुम्सुम्याए ।
पार्वती अक्क न बक्क थिई । दिनेश पनि गाडीबाट ओर्लियो र नजिकै गयो । म पनि गएँ ।
बूढाले बिस्तारै कात्रो पन्छाए । पार्वतीको अनुहारमा एकाएक कालो बादल छायो । थचक्क भुईंमा बसेर चिर्रर चिच्याई र मूर्दा शरीरलाई ग्वाम्म अँगालो हालेर भक्कानिई ।
अब भने मलाई अन्दाज भयो– पक्कै पार्वतीका कोही आफन्त हुन् । नजिक गएर हेरें– बूढी महिला रहिछन् । काठमान्डूमा हरेक रात रोइरहने पार्वती अहिले पनि उसैगरी चिच्याइरहेकी थिई ।
मेरो मनमा अचम्मको सिरेटो चल्यो । बोल्न खोज्दा मुखबाट शब्द झरेनन् । ठूलो कष्टपछि तिनै बूढालाई कानैमा गएर सोधें, “बित्ने को हुन् ?”
बूढा लगलग काँपिरहेका थिए । आँखा भरिएका थिए ।
“घोर्साइने नानी हुन्,” काँपेरै भने, “यै पार्वतीकी आमा ।”
पछिल्लो वाक्य सुनेर मलाई भननन्न रिंगटा लाग्यो । पैतला चिसा भए ।
फेरि उस्तै कष्टले सोधें, “के भएर ?”
बूढाछेउ उभिएका अर्का अधवैंशे अघि सरेर भने, “झुन्नेर गइन् बरा । खान–लाउन कैल्यै पुगेन । ब्यान खायो, बेल्कीको ताप । १५ हजारमा पार्वतीलाई बेची पठाएँ भनेर हिजो दिनभरि रोइछन् । पार्वती गएपछि एकसुरे भएकी थिइन् । टोलाइरन्थिन् । घरिघरि दलिनमा झुन्नेर मोर्चु भनिरन्थिन् । त्यो लाटी सहर गएर कसरी बाँच्ली भन्दै भक्कानिएर रुन्थिन् । आज घरको दैलो नउघ्रिएपछि फोडेर जाँदा यस्तो बिजोग भइसकेछ !”
मेरो पैतलामुनिको जमिन चिरियो, मुटुमा पनि एकैपटक हजार चिरा परे । यस्तो भयानक तस्बिर मैले कहिल्यै कल्पना गरेको थिइनँ । मलाई भयंकर ऐंठनले बटारेझैं भयो ।
पार्वती अझै आमालाई अँगालो हालेर रोइरहेकी थिई । बोल्न नसके पनि ऊभित्रको वेदना आँसु बनेर पोखियो जमिनमा ।
ऊसामु आमाको शरीर त थियो, आमा थिइनन् !
Photo Credit : Annapurna Post
Liked by: