आज पाचौं संविधान दिवस मनाइयो, यसवर्षको आईपीएल शुरु
कोरोना महामारीको त्रासको बीचमा नै यस वर्षको संविधान दिवस आज मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बिहाननै देशवासीको नाममा सम्बोधन गर्दै पाचौं संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो भने धेरै स्थानहरुमा हर्ष र उत्साहका दिप प्रज्वलन गरेर संविधान दिवस मनाइयो । कतैकतै भने संविधानको विरुद्ध विरोध प्रदर्शन पनि भएको छ । आज संविधान दिवसको उपलक्ष्यमा देशका विभिन्न कारागारबाट २८९ जना कैदीहरुले कैद मिनाहा तथा माफी पनि पाएका छन् । त्यसबाहेक, कोरोनाको कारण तोकिएको समयमा शुरु हुननसकेको यसवर्षको इण्डियन प्रिमियर लिग आजबाट शुरु भएको छ । पोहोर सालको विजेता र उप विजेता बीच भएको पहिलो खेलमा एम एस धोनीको चेन्नईले रोहित शर्माको मुम्बईको टिमलाई हराएको छ ।