हामी हरेक आइतवार साताभरी चर्चामा रहेका ७ विशेष खबरहरु यहाँहरुलाई एकैस्थानमा समेटेर पस्कने प्रयासमा छौं । गत सप्ताहको कुरा गर्न पर्दा सम्पूर्ण नेपालीहरुले कोरोना महामारीको बिच महान चाड दशैं मनाएका छन्। कोरोनाको डरका कारण यसवर्षको दशैं सोचे अनुरुप नभएको हुनसक्छ । तर, जस्तो जे भएपनि सावधानी अपनाउँदै गत साता यो वर्षको दशैं सकिएको छ । दशैं सकिए लगत्तै भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणको लागि आउने खबरले सम्पूर्ण नेपालीहरुको आकर्षण पाएको छ । रअका प्रमुख नेपाल आएको केही समय नबित्दै प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरावणे यहि बुधवार तीन दिने भ्रमणको लागि नेपाल आउने खबर अहिले चर्चामा छ। त्यसबाहेक, कर्णाली प्रदेशको मन्त्रिपरिषद पुनर्गठनलाई लिएर ओली प्रचण्ड बिच फेरी मनमुटाव शुरु भएको आँकलन गरेर आएका समाचारहरु पनि गत साता देखि निरन्तर चर्चामा रहेको छ । आइतवारलाई तोकिएको कर्णाली प्रदेशको मन्त्रिपरिषद पुनर्गठन भने पछिको लागि स्थगित गरिएको छ । दुई दिन अघि टर्की र ग्रीसमा आएको ७ म्याग्निच्युडको भूकम्पमा परेर टर्कीको २४ र ग्रीसको २ जनाको मृत्यु भएको खबर आएको छ भने सैयौं मानिसहरु घाइते भएका छन्। यता नेपालमा कोरोना महामारीको संक्रमण दिन प्रतिदिन बढ्दो छ, गत साता नेपालमा संक्रमितको सङ्ख्या १ लाख ७० हजार नाघेको छ भने मृतकको सङ्ख्या पनि एक हजारको नजिक आइपुगेको छ । विश्वभरीका विभिन्न देशहरुमा अहिले कोभिड १९ चिन्ताको विषय बनेको छ भने अमेरिकामा कोरोनाको बावजुद चुनावी लहर चलेको छ । चुनाव केही दिन बाँकी रहँदा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका जो बाइडन कोरोना बिरुद्दको सम्पूर्ण सावधानी अपनाउँदै चुनावी प्रचार प्रसारमा लागि परेका छन्। खेलकुद क्षेत्रमा भने गत साता विश्व फुटबलमा विशेष महत्व राख्ने एल क्लासिकोको खेलमा बार्सिलोनालाई ३-१ ले हराउंदै रियल म्याड्रिडले सिजनको पहिलो एल क्लासिको खेलमा जीत फेला पारेको छ ।