बच्चन परिवारलाई कोरोना संक्रमण, संखुवासभाको सिलिचोङमा पहिरो
शनिबार राती हिन्दी चलचित्र क्षेत्रका महानायक अमिताभ बच्चन र उनका सुपुत्र नायक अभिषेक बच्चनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको खबरले भारतका मात्र हैन विश्वभरकै चलचित्रप्रेमीहरुलाई दुखी बनाएको थियो। संक्रमितको परिवारको चेकजाँच गर्दा आज अमिताभको बुहारी नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । अमिताभकी श्रीमती जया बच्चनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ । अहिलेसम्म ७७ वर्षीय अमिताभ बच्चनको स्वास्थ अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यममा चर्चा रहेको छ । अहिले बच्चन परिवारलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। आफ्नो अभिनयको जादु विश्वभर चलाउन सफल अभिताभ र उनको परिवारको शिघ्र स्वास्थ लाभको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्नुभएको छ । आज बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा परि आठवटा घर बगेका छन् भने ११ जना बेपत्ता भएका छन् ।