युआन बन्यो चीनको सीमापार कारोबारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा, पहिलो पटक डलरलाई उछिन्यो
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : युआन चीनको सीमापार कारोबारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा बनेको छ । मार्च महिनामा भाएको सीमापार कारोबारमा चीनको राष्ट्रिय मुद्रा ‘युआन’ ले अमेरिकी डलरको भन्दा बढी हिस्सा ओगटेको रोयटर्सले उल्लेख गरेको छ । चीनको सीमापार कारोबारमा युआनले इतिहासमै पहिलो पटक अमेरिकी डलरलाई उछिनेको हो । यसले युआनको प्रयोगलाई अन्तर्राष्ट्रियकरण गर्न बेइजिङले गरेको प्रयासलाई प्रतिबिम्बित गरेको छ ।
युआनमा भएको सीमापार कारोबार मार्च महिनामा रेकर्ड ५ खर्ब ४९ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । जुन अघिल्लो महिना अर्थात फेब्रुअरीमा ४ खर्ब ३४ अर्ब डलर बराबर रहेको रोयटर्सले जनाएको छ । रोयटर्सको गणना अनुसार मार्चमा चीनको कुल सीमापार लेनदेनमध्ये ४८.४% मा युआनको प्रयोग भएको छ । जबकि एक महिना अघि ४८.६% रहेको डलरको हिस्सा घटेर ४६.७% मा आएको छ । सीमापार लेनदेनको परीमाणले चालु र पुँजीगत खाता दुवैलाई समेटेको छ ।
चीनले लामो समयदेखि आफ्नो मुद्राको प्रयोगलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको छ । यसका लागि सीमापार व्यापारहरु व्यवस्थित गर्न युआनको प्रयोगलाई बढावा दिइरहेको छ । विश्वव्यापी व्यापार र वित्तीय क्षेत्रमा युआनको प्रयोग निकै कम रहने गरेको छ । यद्यपि, पछिल्लो समय यसले स्थिर वृद्धि पनि हासिल गरिरहेको छ । स्वीफ्टको तथ्यांक अनुसार ट्रेड फाइनान्सको लागि विश्वव्यापी मुद्रा लेनदेनमा युआनको हिस्सा बढेर मार्चमा ४.५% मा पुगेको छ भने डलरको हिस्सा ८३.७१% रहेको छ ।
Read full story at source (nepalipaisa.com)