भारी वर्षाले एसियाली खेलकुद प्रभावित
reportersnepal.com · Wed Sep 09 09:00:16 GMT 2026

टोकियो, २४ भदौ । जापानको नागोयामा भएको रेकर्ड भारी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी सयौँ खेलाडीलाई बुधबार केही समयका लागि आफ्नो आवासबाट सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनमा पनि वर्षा जारी रहने पूर्वानुमानबीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएका छन् ।
मङ्गलबार नागोयामा एक घन्टामै करिब १०४ मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले सहरका केही क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएका थिए । नागोया पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डेन पियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका सयौँ खेलाडीलाई पनि सुरक्षित स्थानमा सारिएको थियो । करिब दुई घन्टापछि आदेश हटाइएपछि खेलाडीहरू आफ्नो आवासमा फर्किएका थिए । यस वर्षको एसियाली खेलकुदमा छुट्टै खेलाडी गाउँ निर्माण गरिएको छैन । आयोजकले खेलाडीको आवासका लागि क्रूज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेका छन् । वर्षाका कारण विभिन्न खेलस्थलमा पानी चुहिएको रिपोर्ट आए पनि तत्काल क्षतिको पूर्ण विवरण भने सहरका अधिकारी र खेल आयोजकले सार्वजनिक गरेका छैनन् । एसियाली खेलकुदको औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुने भए पनि केही खेल यसअघि नै सुरु हुँदैछन् । बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने कार्यक्रम छ । प्रतियोगितामा १७ हजारभन्दा बढी खेलाडी तथा अधिकारी सहभागी हुने अपेक्षा गरिएको छ । यो सङ्ख्या ओलम्पिकमा सहभागी हुनेभन्दा पनि बढी हो । भारी वर्षाका कारण मङ्गलबार नागोयाका सबवे र बस सेवा केही समय रोकिएका थिए । जापान मौसम विज्ञान एजेन्सीले क्षेत्रका प्रमुख नदीमा उच्चतम तहको बाढी चेतावनी जारी गरेको थियो । नागोया नगरले अचानक भएको भारी वर्षाका कारण वर्षाजन्य गम्भीर विपद्को जोखिम बढेको भन्दै तल्लो क्षेत्रमा बाढी, नदीको बढ्दो पानीको सतह र अन्डरपासमा पानी जम्ने सम्भावनाप्रति सावधानी अपनाउन आग्रह गरेको छ । वैज्ञानिकहरूका अनुसार मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनले जापानलगायत विश्वका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढाइरहेको छ । नागोयामा खेलकुदको ठूलो अन्तर्राष्ट्रिय जमघट सुरु हुनुअघि आएको भारी वर्षाले प्रतियोगिताको तयारीसँगै सहभागीको सुरक्षामाथि पनि थप चुनौती खडा गरेको छ । रासस
Read full story at source (reportersnepal.com)