बाढी प्रभावित १५० जना विद्यार्थी गीतामातामा
gorkhapatraonline.com · Thu Sep 10 00:58:05 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीलाई व्यवस्थापन सुरु गरिएको छ । बाढीबाट प्रभावितमध्ये १५० जनालाई डल्लुस्थित गीतामाता माध्यमिक विद्यालयमा पढाउन थालिएको छ । यसअघि रसुवा जिल्लाका विभिन्न विद्यालयमा पढेका तर बाढीबाट विस्थापनमा परेका उनीहरूलाई तत्कालका लागि उक्त विद्यालयमा भर्ना गरेर पढाउन थालिएको हो । ती विद्यार्थीलाई रसुवाबाट उद्धार गरेर नागार्जुन नगरपालिका–२ मा रहेको गोसोक गुम्बामा राखिएको छ ।
विद्यार्थीहरू अहिले गुम्बाबाट नै स्कुल आउजाउ गर्ने छन् । बाढीबाट विस्थापित विद्यार्थीलाई सरकारले भविष्यमा एकीकृत प्याकेज ल्याएर अन्यत्रै राख्ने योजना बनाएमा र विद्यार्थी आफैँ अन्यत्रै गएर पढ्न चाहेमा भने जान पाउने छन् । उक्त गुम्बामा बालबालिकादेखि वृद्धसमेत गरेर पाँच सयभन्दा बढीले आश्रय लिइरहेका छन् ।
Read full story at source (gorkhapatraonline.com)