झोलुंगे पुल बनेपछि खुशियाली : डेढ घन्टाको बाटो अब दश मिनेटमै
abhiyandaily.com
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा न ६ पाखापानीका दुई गाउँलाई जोड्ने पुल बनेपछि गाउँवासी खुशी भएका छन् ।
पाखापानी गाउँ र कोटगाउँ जोड्न जिल्लाकै दोस्रो लामो झोलुंगे पुल बनेपछि यहाँका स्थानीय उत्साहित भएका छन् । पुल नहुँदा कोटगाउँका सर्वसाधारण पाखापानी पुग्न करीब डेढ घन्टा हिँड्नुपर्नेमा अब समय छोटिएको छ । पुल सञ्चालनमा आएपछि करीब डेढ घन्टाको बाटो १० देखि १५ मिनेटमै छोटिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीस्थित घोप्टेखोलामा कोटगाउँलाई जोड्नेगरी २६५ मिटर लामो पुल निर्माण गरिएको जानकारी दिएको छ । पुल निर्माणका लागि हिमशिखर जयलक्ष्मी जेभी बागलुङसँग भ्याटबाहेक दुई करोड दुई लाख रुपैयाँमा सम्झौता गरिएको थियो । पुल निर्माणका लागि कार्यालय र ठेकेदार कम्पनीबीच २०७६ चैतमा ठेक्का सम्झौता गरिएको थियो । पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई आवतजावतका लागि सहज भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । पुल नहुँदा खोलानाला, भीरपहराबाट यात्रा गरेका सर्वसाधारणलाई पुल बनेसँगै सहज भएको उनको भनाइ छ ।
पाखापानी गाउँमा विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमार्फत सेवा लिन कोटगाउँ र रायखोरका बासिन्दा जाने गरेका छन् । कोटगाउँका गमबहादुर घर्तीले पुल बनेपछि आफूहरूलाई आवतजावतमा सहज भएको बताए । ‘पहिले निकै असहज र बर्खामा गाह्रो हुने गरेको थियो,’ उनले भने, ‘अहिले यो पुलले सजिलो भएको छ ।’
कोरोना महामारीको समयमा पनि निर्माण व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गरेर निर्माणलाई निरन्तरता दिएपछि पुल समयभन्दा एक महीना अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए । निर्माण व्यवसायी र स्थानीयको सक्रियताले पुल निर्माण सम्झौता अगावै सम्पन्न गर्न सकिएको उनको भनाइ छ ।
यसैबीच म्याग्दीमा यस वर्ष थप तीन स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका इन्जिनीयर केशव श्रेष्ठका अनुसार मंगला गाउँपालिकाको सिमलचौरदेखि लुलियाघाट जोड्नेगरी म्याग्दी नदीमाथि, अर्मनको खोलाखर्क र रघुगंगाको चिमखोलामा झोलुंगे पुल निर्माण भएका छन् ।
Read full story at source (abhiyandaily.com)